निकुञ्‍जभित्रै मानव बस्ती बस्यो तर विस्तार भएन वन्यजन्तुको बासस्थान- फिचर - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निकुञ्‍जभित्रै मानव बस्ती बस्यो तर विस्तार भएन वन्यजन्तुको बासस्थान

भवानी भट्ट

कञ्चनपुर — पाँच दशकअघि शिकार आरक्षका रुपमा स्थापना हुँदा शुक्लाफाँटाको क्षेत्रफल १ सय ५० वर्ग किलोमिटर थियो । विभिन्न समयमा शिकार आरक्षबाट वन्यजन्तु आरक्ष हुँदै राष्ट्रिय निकुञ्ज हुँदासम्म यसको क्षेत्रफल पनि विस्तार गरेर ३ सय ५ वर्ग किलोमिटर पुर्‍याइयो ।


४० को दशकमा विस्तार गरिएको निकुञ्जको पूर्वी क्षेत्रमा अझै पनि वन्यजन्तुको विचरण भने बढ्न सकेको छैन । निकुञ्ज क्षेत्रमै रहेको मानव बस्ती, सडक र नहरलगायत संरचनाका कारण उक्त क्षेत्रमा वन्यजन्तुको विचरण हुन सकेको छैन ।

यसबीचमा निकुञ्जको पूर्वी क्षेत्र ढक्कामा ६ सयभन्दा बढी परिवार घरटहरा बनाएर बसेका छन् । उनीहरूले उक्त क्षेत्रमै खनजोत गरेर खेतीपाती गरिरहेका छन् । यस्तै निकुञ्जकै तारापुर क्षेत्रमा पनि साढे ७ सय परिवारको बसोबास छ । आरक्ष विस्तारका क्रममा विस्थापित भएका उनीहरूको पुनर्स्थापना नहुँदा पुनः निकुञ्ज क्षेत्रमै बस्न थालेका हुन् ।

निकुञ्जभित्रै रहेको बस्तीले वन्यजन्तु विचरणमा मात्रै बाधा पुर्‍याएको छैन, वन्यजन्तु संरक्षणमा जोखिमसमेत बढेको छ । अहिले पनि निकुञ्जको पूर्वी क्षेत्रमा वन्यजन्तुको विचरण देखिँदैन । बाघ, गैंडा, बाह्रसिंगालगायत वन्यजन्तु चौधर खोलाको पश्चिम क्षेत्रमा मात्रै विचरण गरिरहेका छन् ।

‘कोर एरियामै बस्ती भएपछि अवरोध त हुन्छ नै,’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले भने, ‘वन्यजन्तुको घनत्व बढ्दै गएपछि झनै समस्या भएको छ ।’ उनका अनुसार निकुञ्जभित्रै भएका बस्तीका कारण वन्यजन्तुको करिडोर नै अवरुद्ध भएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पछिल्लो गणना अनुसार बाघको संख्या १९ पुगेको छ । शुक्लाफाँटाका लागि निकै राम्रो घनत्व हो । जसमध्ये एक बयस्क पोथी बाघ गत साता ढक्का शिविरकै साढे ३ किलोमिटर पश्चिमतिर पथरिया खोलाकिनारमा मृत वअस्थामा भेटियो । करिब डेढ क्वीण्टल तौल भएको उक्त पोथी बाघको पञ्जा र पुच्छर भने नभेटिएको प्रमुख संरक्षण अधिकृत पुनले बताए ।

‘वृद्ध भएर शिकार गर्न नसकेर वा शिकार गर्दा घाइते भएर मृत्यु भएको हुनसक्ने देखिन्छ,’ उनले भने, ‘पोष्टमार्टम रिपोर्टमा पनि केही देखिएन, पेट खाली थियो ।’ उनका अनुसार उक्त बाघको एक साताअघि मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।

निकुञ्जमा गत चैतमा गरिएको गणना अनुसार १७ गैंडा छन् । बाह्रसिंगाको संख्या २४ सयभन्दा बढी छ । यसबाहेक चित्तल, बंदेललगायत थुप्रै वन्यजन्तु छन् ।

‘वन्यजन्तुको घनत्व निकै राम्रो छ,’ राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रमका प्रमुख लक्ष्मीराज जोशीले भने, ‘ठूला वन्यजन्तुको विचरण पुरानै क्षेत्रमा मात्रै सीमित छ, विस्तार गरिएको क्षेत्रमा फाटफुट रुपमा मात्रै भेटिन्छन् ।’

विस्तार गरिएको क्षेत्रमा रहेको मानव बस्तीकै कारण वन्यजन्तुको विचरणमा अवरोध सिर्जना भएको उनले बताए । मानव बस्ती मात्रै होइन छाडा चौपायाका कारण समेत वन्यजन्तुको विचरणमा समस्या भएको छ ।

‘निकुञ्जको क्षेत्रफल विस्तार भएपछि वन्यजन्तुको बासस्थान विस्तार हुन सकेन,’ जोशीले भने, ‘विस्तार गरिएको क्षेत्रमा वन्यजन्तुको उपस्थिति नै देखिँदैन ।’ अहिलेकै अनुपातमा बाघ लगायत अन्य वन्यजन्तुको संख्या निरन्तर वृद्धि भइरहे मानव र वन्यजन्तुबीच द्वन्द्व सृजना हुनसक्ने उनले बताए । निकुञ्ज आसपासका क्षेत्रमा अहिले पनि हात्तीले ठूलो धनजनको क्षति गर्दैआएको छ । फाटफुट मात्रामा गैंडा र बाघ पनि बस्ती नजिक पस्न थालेका छन् ।

निकुञ्जमा मात्रै होइन राष्ट्रिय वन क्षेत्रमा पनि बाघ देखिन थालेका छन् । सन् २०१८ को राष्ट्रिय गणनामा लालझाडी मोहना संरक्षित क्षेत्रमा पनि एक बाघ क्यामेरा ट्र्यापमा परेको थियो ।

आरक्ष विस्थापितहरूको उचित पुनर्स्थापना नहुँदा निकुञ्जभित्रैको मानव बस्ती हटाउन सकिएको छैन । विस्थापितहरूको पुनर्स्थापनाका लागि हालसम्म २९ वटा आयोगसमेत गठन भइसकेका छन् । हरेक वर्ष विस्थापित परिवारको संख्या बढ्दै गए पनि उनीहरूको उचित समाधान हुन नसक्दा समस्या झन् झन् विकराल बन्दै गएको छ ।

विस्थापितको बसोबाससंगै निकुञ्जभित्र विभिन्न किसिमका संरचनाहरूको निर्माणले पनि वन्यजन्तुको विचरणमा अवरोध सिर्जना गरेको छ । अहिले निकुञ्जभित्र महाकाली सिंचाइ आयोजनाको नहरसँगै हुलाकी सडक, पूर्वपश्चिम राजमार्ग, कलुवापुर–बेलौरी सडक छन् । चुरे फेदीमा महाकाली सिंचाइ आयोजना तेस्रो चरणको नहर निर्माणाधीन अवस्थामा छ ।

प्रकाशित : कार्तिक २९, २०७८ १९:२०
प्रतिक्रिया
पठाउनुहोस्

पेट्रोलियम पदार्थको मूल्य नघट्ने, अझै बढाउने निगमको संकेत

विद्यार्थीको एकसूत्रीय माग: मूल्य खारेज हुनैपर्छ, तर निगम भन्छ - ‘अनुदान नदिए आईओसीलाई भुक्तानी गर्न सक्दैनौं’
कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल आयल निगमले अहिलेकै मूल्यमा अब इन्धन खरिद गर्नका लागि भारतीय आयल कर्पोरेसन (आइओसी)लाई  भुक्तानी गर्न नसक्ने जनाएको छ । अहिले पाक्षिक नोक्सानी २ अर्ब ६२ करोड रुपैयाँ रहेको भन्दै निगमले घाटा कम गर्न सरकारले अनुदान नदिए मूल्य समायोजनको विकल्प नरहेको स्पष्ट पारेको छ ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा आन्दोलनरत विद्यार्थी संगठनहरुसँग सोमबार वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईको संयोजकत्वमा छलफल भएको थियो । छलफलमा निगमले तथ्याङ्क प्रस्तुत गर्दै घाटा थेग्न सक्ने अवस्था नरहेको स्पष्ट पारेको छ ।

‘सचिवज्यूको आह्वानमा भएको छलफलमा ८ वटै विद्यार्थी संगठनको सहभागिता थियो । उनीहरुको एक सूत्रीय माग नै बढेको मूल्य खारेज हुनुपर्ने थियो’ निगमका प्रवक्ता बिनितमणी उपाध्यायले भने, ‘हामीले अहिलेको अवस्थामा नोक्सानीको यथार्थ विवरण प्रस्तुत गऱ्यौँ । आइओसीलाई पैसा तिर्न सरकारबाट अनुदान वा ऋण लिनु पर्ने अवस्था आइसकेको छ ।’

निगमले अझै मूल्य बढ्ने संकेत समेत गरेको छ । उपाध्यायले भने ‘अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेको छैन, उस्तै छ । भारतबाट नयाँ मूल्यसूची भोलि आउँछ, बढेरै आउने अनुमान छ । त्यसपछि फेरि समायोजनको निर्णय गर्छौं ।’ छलफलका क्रममा वाणिज्य सचिव भट्टराईले बजार मूल्य बढ्न नदिने र निगमलाई घाटाबाट बचाउन पनि थप गृहकार्य भइरहेको आश्वासन दिए ।

उनले प्रधानमन्त्री र मुख्यसचिवसँग छलफल गरेर निर्णय गरिने बताएका थिए । निगमका अनुसार हाल पेट्रोलमा प्रतिलिटर १७.५८ रुपैयाँ, डिजेलमा १३.१४ रुपैयाँ र ग्यासमा प्रतिसिलिन्डर ६ सय ५७ रुपैयाँ घाटा भइरहेको छ । पछिल्लो समय डलर र कच्चा तेलको मूल्य बढिरहेकाले आईओसीबाटै महँगोमा इन्धन आउँदा बढाउनुपर्ने बाध्यता रहेको निगमले बताउँदै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढिरहदा यहाँ कर घटाएर उपभोक्तालाई केही राहत दिन सकिने भए पनि सरकारले चासो दिएको छैन । निगमको तथ्यांकअनुसार आईओसीबाट खरिद गरिएको पेट्रोलमा प्रतिलिटर ५७.७३ रुपैयाँ कर जोडिन्छ । त्यसबाहेक निगमको खर्चस्वरूप २ रुपैयाँ, ढुवानी भाडा ५ रुपैयाँ र पेट्रोलियम बिक्रेता मुनाफा ५.३२ रुपैयाँ प्रतिलिटर जोडिन्छ । यस्तै, डिजेलमा ४०.४१ रुपैयाँ कर, निगमको खर्च १.५९ रुपैयाँ, ढुवानी भाडा ३. ७७, पेट्रोलियम बिक्रेता मुनाफा स्वरूप ४.१७ रुपैयाँ जोडिन्छ । यी सबै जोडर बिक्री गर्दा उपभोक्ता मूल्य उच्च रहँदै आएको छ ।

प्रकाशित : कार्तिक २९, २०७८ १९:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×