कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'ड्रिम प्रोजेक्ट' जसलाई निर्देशकले पर्दामा हेर्नै पाएनन् 

निर्माता सन्तोष सुनाउँछन्- 'उसको सपनालाई मुर्त रुप दिएको छु' 
रीना मोक्तान

काठमाडौँ — शिवपुरीमा 'मेरी मामू'को स्क्रिप्टको अन्तिम ड्राफ्ट तयार हुँदै थियो । त्यतिबेलै छेतेन गुरुङले आफ्नो 'ड्रिम प्रोजेक्ट'बारे निर्माता सन्तोष सेनलाई सुनाएका थिए । 'छिरिङ डोल्मा'को प्रेमकथा, एउटा युगको कथा । छुट्टै राज्य, हिमालको कथा । प्रेमिकाको नाम कुँद्दै हिँड्ने प्रेमीको प्रेम ।

'ड्रिम प्रोजेक्ट' जसलाई निर्देशकले पर्दामा हेर्नै पाएनन् 

नाम कुँद्दै गर्दा खसेका धुलो घाँटीमा झुण्डाई हिँड्ने प्रेमकथाको प्लटले निर्माता सन्तोष सेनको पनि मन छोयो । छेतेन भने ५/६ वर्षपछि मात्र उक्त ड्रिम प्रोजेक्ट गर्ने सोचमा थिए । सन्तोष 'मेरी मामू'को काममा व्यस्त भए । तर, उनको दिमागमा छिरिङ डोल्माको कथा घुमिरह्यो । छिरिङले ढुंगा कुँदेको आवाज कानमा गुञ्जिरह्यो ।

'मेरी मामू' प्रदर्शनपछि भने सन्तोषले त्यही प्रेमकथामा फिल्म बनाउने निर्णय लिए ।

'तपाईंले ५/६ वर्षपछि बनाउने भनेको प्रोजेक्ट मैले आँटे भने के गर्नुहुन्छ? एकदिन छेतेनलाई भेटेर सन्तोषले भने । धेरै लगानी लाग्ने बताउँदै छेतेन तत्काल उक्त फिल्म नगर्ने भन्दै पन्छिन खोजे । तर उनी असाधारण प्रेमकथाको खोजीमा थिए । काल्पनिक विषयलाई पर्दामा उतार्दा कसरी व्यवसायिक महत्त्व सिर्जना गर्ने भन्नेतर्फ सोच नगएको होइन । तर उनले यो प्रोजेक्टमार्फत चुनौती मोल्ने प्रण गरे ।

'अहिलेसम्म त मैले पैसा नै कमाएको छैन । चुनौती मोल्दै आएको छु । यसमा पनि चुनौती मोल्छु भनें,' सन्तोष सम्झिन्छन्, 'त्यसपछि उहाँले २ दिन सोच्नुभयो, अनि हुन्छ भन्नुभयो ।'

छिरिङ डोल्माको प्रेमकथालाई नै नाम परिवर्तन गरेर 'प्रेमगीत ३' बनाइएको हो । आफ्नो 'ड्रिम प्रोजेक्ट' पूरा गर्न नपाउँदै गत वर्ष भाद्र २४ मा ४२ वर्षिय छेतेनले संसारबाट बिदा लिए । आफ्नो ड्रिम प्रोजेक्टलाई लिएर उनीसँग गर्न बाँकी धेरै कामहरु थिए । उनी अन्तर्राष्ट्रियस्तरको एउटा ऐतिहासिक प्रेमकथा बनाउन चाहन्थे । फिल्मको छायांकन उनकै गृहजिल्ला मनाङको सात गाउँमा खिचियो । तर पोस्ट प्रोडक्सनमा फिल्मको अन्तिम काम सक्न बाँकी थियो । दृश्यहरुमा कैद गरिसकेको आफ्नो ड्रिम प्रोजेक्टको अन्तिम रुप हेर्न नपाउँदै संसार त्यागे । डेब्यु फिल्म 'डमरुको डण्डिबियो' निर्देशन गरेका गुरुङले आफ्नो 'ड्रिम प्रोजेक्ट'लाई निर्माता सेनले काखमा छोडि गए ।


छेतेन गुरुङ (बायाँ) र सन्तोष सेन ।

निर्मातालाई निर्देशक बनाएर गए

छेतेनलाई सन्तोषले पहिलोपटक बिग मुभिजमा भेटेका थिए । निर्देशक सुदर्शन थापाले छेतेनले 'नोभेम्बर रेन' लेखेको बताउँदै दुईबीच परिचय गराए । त्यो भेटमै सन्तोषलाई छेतेनले गज्जबको प्रेमकथा सुनाएको थियो - 'डायरी' । फिल्मको नाम सुन्ने बित्तिकै सन्तोषलाई रोचक लाग्यो । सुरेन्द्र पौडेललाई निर्देशनमा लिएर छेतेनसँग डायरी निर्माण गर्ने सम्झौता भयो । उनले छेतेनलाई एडभान्स खर्च पनि दिइसकेका थिए ।

त्यसबीच सन्तोषको निर्माणमा बनेको फिल्म 'चंखे शंखे पंखे' सुपर-फ्लप भयो । 'प्रेमगीत'को टिम फुट्यो । यो क्षेत्रबाट सन्तोषले माया मारिसकेका थिए । तर प्रदीप खड्कालाई लिएर 'प्रेमगीत २' बनाउने भनिसकेपछि उनी उर्जाशिल बने । 'प्रेमगीत २'पछि उनी 'मेरी मामू' बनाउन तम्सिए । त्यतिबेलै उनलाई छेतेन सिर्जनशिल लागिसकेको थियो । छलफल गरिरहँदा एकैछिनमा घट्नाक्रम बनाउन माहिर थिए छेतेन । 'मेरी मामू'को लागि उनले केही प्लट थपिदिएका थिए । सन्तोष छेतेनको कामले प्रभावित हुँदै गए । त्यतिबेलै हो सन्तोषसँग छेतेनले 'ड्रिम प्रोजेक्ट'को कुरा गरेको ।

सन्तोषले आफ्नो 'ड्रिम प्रोजेक्ट'माथि लगानी गर्ने भएपछि छेतेन निकै उत्साहित थिए । तर आफूले सोचिरहेको युगको रंग फिल्ममा देखाउन नसकिएला भन्ने चिन्ता थपियो । त्यसैले उनीहरु त्यही रंगको खोजीमा लोकेसन खोज्न हिँडे । ढुंगासँग भावना जोडिएको कथा । उनीहरु त्यही ढुंगा खोज्न मुस्ताङको लोमान्थाङ पुगे । लोमान्थाङबाट मुस्ताङ झरिसकेपछि भने छेतेनले नै सन्तोषलाई निर्देशनमा जोडिन सल्लाह दिए ।

'स्टोरी बोर्ड बनाउँदा पनि सँगै हुन्थ्यौं हामी । स्क्रिनप्ले पनि सँगै बनाउँथ्यौं । बाइक चलाउँदै हिमाली भेगतिर छायांकन स्थल खोज्न जाँदा पछाडि बसेका छेतेन मलाई फिल्मको कथा सुनाइरहेका हुन्थ्यो । मनाङपुगेपछि म एक्लैलाई यो प्रोजेक्ट अगाडि बढाउन गाह्रो हुन्छ । एकदम ठूलो प्रोजेक्ट छ । दाजुभाइ मिलेर निर्देशन गरौं भन्यो उसले,' सन्तोष सम्झिन्छन् ।

नेपाली फिल्ममा निर्माताको परिचय पाएका सन्तोषले कहिल्यै निर्देशक बन्छु भन्ने सोचेका थिएनन् । निर्देशन गरिहाले पनि पछि कुनै कालखण्डमा गर्ने सोचे थियो । तर एक्कासी छेतेनले आफूमा निर्देशकको खुबी देखेपछि उनी सोच्न बाध्य भए ।

'मैले म कसरी निर्देशक बन्न सक्छु भन्दा, उसले अहिलेसम्म फिल्मको कथादेखि सबै कुरामा दिइरहेको इन्पुट नै हो निर्देशन भनेर भन्यो । मैले रातभरी सोचें । मैले निर्देशनमा साथ दिए आफ्नो आधा काँध हलुको हुन्छ भन्ने कुरा गरेपछि म निर्देशनका लागि तयार भएँ,' उनी सम्झिन्छन्, 'छेतेनले मलाई निर्देशक बनायो ।'

आफ्नो सपना पूरा गर्न डेढ सयजनाको युनिट लिएर छेतेनको टिम छायांकनको लागि मनाङ पुगेको थियो । फिल्मको ७५ प्रतिशत छायांकन सकिसकेको थियो । पाँच फिटको हिउँले मनाङमा फिल्मको छायांकन सम्भव भएन । सिनेम्याटोग्राफर राजेश श्रेष्ठलाई ह्रदयघातको लक्षण देखियो । निर्देशक छेतेनको खुट्टामा समस्या बल्झियो । राजेश बिरामी भएपछि फिल्मको टोली पिसाङमा तीन दिन बस्नुपर्‍यो ।

हिउँ कम भएपछि राजेशलाई हेलिकप्टरबाट काठमाडौं पठाइयो । फिल्मका वृद्धा कलाकार सुनिल थापा, शिव श्रेष्ठलगायत बाल कलाकार अनुभव रेग्मीलाई हेलिबाटै काठमाडौं पठाइयो । सन्तोष भने अन्य टिमसँग हिँडेरै बेँसीशहरतिर लम्किन थाले । हेलिकप्टरबाटै फर्कने टोलीमा थिए छेतेन । तर, उनी हेलिकप्टरबाट फर्किन मानेनन् । हिँड्ने टोलीसँगै फर्किए । त्यतिबेला सन्तोषलाई लाग्यो,'ओह्हो कस्तो साथ दिने निर्देशक । कस्तो सहयोगी व्यक्ति !'


छेतेन गुरुङ

फिल्मको ३० प्रतिशत काम महंगो सेटमै खिचिएको थियो । २५ प्रतिशत छायांकन खिच्न बाँकी थियो । ७५ प्रतिशत छायांकनमै करोडौं खर्च भइसकेको थियो । छेतेनले काठमाडौंकै जंगलमा २५ प्रतिशत छायांकन सक्ने सोचेका थिए । तर सन्तोषको मनले मानेन । छेतेनलाई डबिङको जिम्मा लगाएर सन्तोष पुरुषोत्तम प्रधानलाई लिएर बाँकी भाग खिच्न मनाङ फर्के । काठमाडौं बसेरै छेतेनले सन्तोषलाई छायांकनमा सघाउँथे । उनलाई निर्देशन दिन्थे । सन्तोषले बाँकी दृश्य खिचेर ल्याएपछि छेतेन दंग थिए ।

आफ्नो ड्रिम प्रोजेक्टले मूर्त रुप लिँदै गरेको देख्दा उनको मुहारमा छुट्टै चमक थियो । टिजरबाट सकारात्मक प्रतिक्रिया बटुलिसकेपछि पोस्ट प्रोडक्सनमा खुबै मिहिनेत गर्नुपर्छ भन्ने सोचसहित उनीहरु अघि बढे । यसबीच कोभिड महामारीले देश मात्रै नभइ विश्वलाई नै आक्रान्त बनायो । फिल्मको सबै छायांकन सकिएर टोली फर्किएको ४ दिनपछि देशमा लकडाउन भयो । पोस्ट प्रोडक्सनको काम थाँति राख्नुपर्‍यो । त्यसबीच सन्तोषले आफ्नो कथामा छेतेनलाई लिएर 'हुतुतु'को स्क्रिप्टको तयारी थाले ।

महामारीबीच नै छेतेनले संसार त्यागे । आफ्नो 'ड्रिम प्रोजेक्ट' हेर्न नपाउँदै छेतेन बिदा भए ।

'ऊ बितेर गए पनि उसको सपना त पूरा भयो । तर उसले आफ्नो सपना हेर्न पाएन । अहिले कत्ति खुसी हुन्थ्यो होला । हामी सँगै काम गर्थ्यौं । कति गर्व गर्थ्यो होला । म उसलाई धेरै सम्झिन्छु,' गला अवरुद्ध पार्दै सन्तोषले सुनाए ।

छेतेन 'प्रेमगीत ३'लाई अन्तर्राष्ट्रियस्तरको बनाउन चाहन्थे । छेतेनलाई फिल्म क्षेत्रले चिन्न ढिलाई गरे पनि 'प्रेमगीत ३'मार्फत उनलाई दर्शकले सम्झिरहने दाबी गर्छन् सन्तोष । 'जे होस् उसले अझै अगाडि नै काम गर्न पाउनु पर्ने थियो । सायद कसैले उसलाई चिनेन । उसलाई चिन्न ढिला भयो । उसको क्षमता मानिसले बुझेनन् । सिर्जनशिल फिल्ममेकर थियो छेतेन । अब पाँच वर्षसम्म छेतेनलाई प्रेमगीत ३ मार्फत दर्शकले सम्झनेछन् । एउटा राम्रो आइडिया छोडेर गय । राम्रो कथा भनेर गयो भन्ने कुरा सम्झाउनेछ ।'

फिल्मको लगानी उठिसक्यो

सन्तोषका अनुसार फिल्ममा ४ करोडभन्दा माथिको लगानी लागेको छ । छेतेन 'प्रेमगीत ३'ले सन्तोषको लगानी उठाओस् भन्ने कामना गर्थे सँधै । फिल्मले व्यवसायिक सफलता चुमे उनी दयाहाङ राईलाई लिएर 'खोकबहादुरको डण्डिबियो' बनाउने योजनामा पनि थिए । अहिले सन्तोषले 'प्रेमगीत ३'लाई बलिउडको 'इम्पोसिबल फिल्म्स'लाई नेपाली बाहेक सबै भाषाको प्रतिलिपि अधिकार बेचेका छन् । ४ करोड भारतीय रुपैयाँमा उनले फिल्मको प्रतिलिपि अधिकार बेचेका हुन् । हुन त छेतेनले फिल्मलाई बलिउडमा लिएर जाने सोचेका थिएनन् । तर आफूले फिल्मलाई बलिउडमा लिएर गएकै कारण फिल्मको स्तर बढेको सन्तोषको भनाई छ ।


सन्तोष सेन

छेतेन आफ्नो ड्रिम प्रोजेक्टमा निर्माता निराश हुन नपरोस् भन्ने सोच्थे । उनको कामना पूरा भएको छ । फिल्मलाई बलिउडमा बेचेसँगै निर्माता सेनले फिल्मको लगानी उठाइसकेका छन् । 'बलिउडको बजारमा यो फिल्म लिएर गएको छु । ऊ भएको भए ममा दोब्बर उर्जा हुन्थ्यो । ऊ सकारात्मक भावना बोकेको व्यक्ति थियो । म निर्देशक नभएको भए बलिउडमा डिल गर्नै गाह्रो पर्थ्यो । सूर्यवंशीमा पार्श्व संगीत भरेका अमर मोहलीसँगलाई मेरो फिल्मको थिम र संगीतको कुरा गर्न सकें । म निर्माता मात्र भएको भए मेरो फिल्म के हो भनेर बुझाउन सक्दिन थिएँ,' सन्तोष सुनाउँछन्, 'यो प्रोजेक्ट पूरा गर्न निकै गाह्रो पर्थ्यो होला । तर अहिले फिल्मले अर्को प्लेटफर्म पायो । बाँकी रहेको काम मैले पूरा गर्नुपर्छ भनेर हो कि उसले मलाई निर्देशक बनाइदिएको ! सबै संयोग नै हुनुपर्छ ।'

'इम्पोसिबल फिल्म्स'ले अहिले फिल्मको नाम 'संघार' तय गरेको छ। नेपाली भाषामा यो फिल्म 'प्रेगगीत ३'कै नाममा प्रदर्शनमा आउनेछ । बलिउडका चर्चित डबिङ कलाकारले हिन्दी भाषाको फिल्ममा आवाज भरेका छन् । मिसन इम्पोसिबलले फिल्मको प्रदर्शन तोकेसँगै नेपालमा नेपाली र हिन्दी भाषामा यो फिल्म प्रदर्शनमा आउनेछ । फिल्म भारतीय ओटीटी प्लेटफर्ममा पनि प्रदर्शनमा आउनेछ । यो फिल्मले भारतीय बजारमा व्यवसायिक छाप छोडेमा नेपालका लागि बलिउडको ढोका खुल्नेमा आशावादी छन् सन्तोष ।

'छेतेनले सोचेभन्दा राम्रो फिल्म बनेको छ । ऊ नभए पनि उसको सपनालाई मैले मूर्त रुप दिएको छु । फिल्म प्रदर्शनपछि दर्शककले दिने प्रतिक्रिया नै उसले माथिबाट हेर्नेछ भन्ने आसा छ,' उनले भावुक हुँदै सुनाए ।


प्रकाशित : कार्तिक २९, २०७८ १६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?