कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

स्वयम्भू महाचैत्य जीर्णोद्धारको सय वर्ष

अनुमति लिँदा धमां साहुले कडा सर्तको सामना गरे– काम सुरू गरेर बीचमै छाडे दण्डित हुनुपर्ने र सर्वस्व हरण हुने 
हिमेश

काठमाडौँ — नेपाल संवत् ११४२ सुरु भएसँगै काठमाडौंसँग जोडिएको एउटा महत्त्वपूर्ण घटनाले सय वर्ष पूरा गरेको छ । आजभन्दा सय वर्ष अगाडि एउटा यस्तो काम सुरु भएको थियो, जसले तत्कालीन सर्वसाधारणदेखि शासक अनि विदेशी धेरैको ध्यान खिचेको थियो । र, यो थियो– स्वयम्भू महाचैत्यको आधिकारिक जीर्णोद्धार । काठमाडौं उपत्यकाको बौद्ध धार्मिक इतिहासको परम्पराअनुसार स्वयम्भू महाचैत्यको यो १४ औं जीर्णोद्धार थियो ।

स्वयम्भू महाचैत्य जीर्णोद्धारको सय वर्ष

चौथो शताब्दीमा निर्माण भएको विश्वास गरिएको स्वयम्भू महाचैत्यको यो नै अन्तिम जीर्णोद्धार हो । पछिल्लो भूकम्पपछि भने स्वयम्भू महाचैत्यमा मर्मतको काम मात्र भएको थियो । नेपाल संवत् १०३८ बाट सुरु भएको त्यो जीर्णोद्धार तीन वर्षपछि सकिएको थियो, त्यो भनेको १०४१ मा । सय वर्ष अगाडिको काठमाडौंमा स्वयम्भू महाचैत्यको जीर्णोद्धार हुँदा त्यो सबैका लागि चासो र रुचि बनेको थियो अनि यसले एक प्रकारको महोत्सवकै रूप लिएको थियो ।

जीर्णोद्धारको सय वर्ष पूरा भएको उपलक्ष्यमा केही दिन अगाडि मात्र स्वयम्भू महाचैत्यमा यस्तै एक विशेष महोत्सवको आयोजना गरिएको थियो र यस क्रममा विशेष पूजा गरिएको थियो । त्यस क्रममा पुराना तिब्बती व्यापारी धर्ममानसिं तुलाधरका सन्ततिले स्वयम्भू महाचैत्यमा रहेको पञ्चबुद्धसहित त्यहाँ रहेका अन्य देवीदेवताको पनि पूजा गरेका थिए । असनको वरिपरि रहेका तुलाधर परिवारको चौथो पुस्ताले यो विशेष पूजाको आयोजना गरेका थिए ।

यसैक्रममा जीर्णोद्धारसँग जोडिएको केही ऐतिहासिक तस्बिर पनि प्रदर्शन गरिएको थियो । नेपाली बौद्ध धर्म इतिहासमा धर्ममानसिं तुलाधर ऐतिहासिक नाम हुन् र उनी धमां साहुको नामले बढी चिनिन्छन् । नेपाल संवत् ९८१ मा जन्मेका धमां साहुको पालासम्म काठमाडौंमा थेरवाद बौद्ध धर्मले औपचारिक रूपमा प्रवेश गरेको थिएन । उनी त्यो समयका सफल तिब्बती व्यापारी थिए । त्यही कारणले पनि उनी तिब्बती बौद्ध धर्म र त्यसका गुरुहरूसँग नजिक थिए ।

त्यसमध्ये उनका एक गुरु थिए, शाक्य श्री । धमां साहु उनका विश्वसनीय शिष्य थिए । स्वयम्भू महाचैत्य सबै बौद्धमार्गीका लागि पवित्र स्थल र आस्थाको केन्द्रका रूपमा छ । विशेषतः हिमालपारिका बौद्धमार्गीका लागि पनि यो हजारौं वर्षदेखि उत्तिकै विशेष छ । प्रसिद्ध तिब्बती धर्म गुरुहरू स्वयम्भू महाचैत्यको इतिहासमा कुनै न कुनै रूपमा जोडिन्छन् । तिब्बत गएर नेपालीले गर्ने व्यवसायको इतिहास पनि आफैंमा हजारौं वर्ष पुरानो मानिन्छ र यसकै एउटा महत्त्व अध्यायका रूपमा रहेको छ, यो जीर्णोद्धार ।

काठमाडौंको भित्री भागमा एक पुस्ताले अर्को पुस्ताले सुनाउँदै आएको ऐतिहासिक किंवदन्ती यस प्रकार छ– एकपल्ट शाक्य श्रीले आफ्नो ध्यान साधनाका क्रममा स्वयम्भू महाचैत्यको स्थिति जीर्ण भएको देखे । पछि उनले यसबारे बुझ्दा त्यो सत्य पनि रहेछ । विशेषतः महाचैत्यको माथिल्लो भाग पूर्णतः जीर्ण अवस्थामा थियो र यसको तत्काल जीर्णोद्धार आवश्यकता थियो । त्यसकै लागि भनेर शाक्य श्रीले आफ्ना तीन छोरालाई तिब्बतबाट काठमाडौं पठाए ।

शाक्य श्रीले यस जीर्णोद्धारको जिम्मा तिनै धमां साहुलाई दिए । त्यति बेला नेपालमा राणा शासन चलिरहेको थियो र कुनै पनि धार्मिक कामका लागि सरकारी अनुमति आवश्यक थियो । स्वयम्भू जीर्णोद्धारबारे अध्ययन गरिरहेका र यसका जानकार सिद्धार्थमान तुलाधर भन्छन्, ‘त्यतिबेला नेपाली नागरिकले जीर्णोद्धारका लागि सरकारसँग कानुनी जिम्मेवारी लिनुपर्ने हुन्थ्यो । यो जिम्मेवारी धमां साहुले लिए । यसै क्रममा उनीसामु श्री ३ चन्द्रशमशेरले केही कडा सर्त पनि राखेका थिए ।’

धमां साहुको चौथो पुस्ताका तुलाधरका अनुसार जीर्णोद्धार काम सुरु गरेर बीचमै छाडेर त्यसलाई पूरा गरेन भने व्यक्तिगत रूपमा दण्डित हुनुपर्ने र सर्वस्व हरण हुने बताइएको थियो । त्यसलाई धमां साहुले स्विकारे र काम सुरु गरे । एकपल्ट काम सुरु भएपछि काठमाडौं उपत्यकाका सयौं सिकर्मी, डकर्मीदेखि धेरै प्राविधिक जनशक्ति त्यसमा सहभागी भएका थिए । श्रद्धा हुने धेरैले सक्दो सहयोग गरे र त्यसमध्ये केहीले काम गर्नेहरूका लागि पालोपालो भोजनको व्यवस्था पनि गरे ।

चौथो पुस्ताका एक अर्का सदस्य लोचनतारा तुलाधरका अनुसार जीर्णोद्धार अगाडि वज्राचार्य गुरुहरूबाट विधिवत् पूजा गरेर स्वयम्भू महाचैत्यबाट ‘न्यास’ निकालिएको थियो र त्यसलाई विशेष गाग्रीमा राखिएको थियो । न्यास भनेको महाचैत्यको जीवन शक्ति हो । जीर्णोद्धारका क्रममा गर्भगृहदेखि महाचैत्यको माथिल्लो भागसम्म मिलाइएको थियो । जीर्णोद्धार सकिएपछि त्यही ‘न्यास’ लाई फेरि विशेष पूजा गरेर महाचैत्यमा प्रतिष्ठा गरिएको थियो ।

पूजाकै क्रममा त्यसका थकाली रहेका धमां साहु न्यास रहेको गाग्री लिएर महाचैत्यको माथिल्लो भागसम्म पुगेका थिए । जीर्णोद्धारमा कति खर्च भएको थियो त ? यो आफैंमा अर्को ऐतिहासिक तथ्य छ । प्राप्त ऐतिहासिक तथ्यका अनुसार जीर्णोद्धारका लागि कुल २ लाख ७२ हजार रुपैयाँ चन्दा उठेको थियो । त्यसमध्ये धमां साहु एक्लैले ७५ हजार रुपैयाँ प्रदान गरे । शाक्य श्रीले व्यक्तिगत रूपमा २० हजार रुपैयाँ दिए र उनको अनुरोधमा तिब्बती महिलाले आफ्नो गहना बेचेर थप ७५ हजार रुपैयाँ जम्मा गरे ।

यस्तै १३ औं दलाई लामाले १० हजार, भुटानी राजाले ४० हजार र तत्कालीन सिक्किमेली राजाले सात हजार रुपैयाँ दिएका थिए । यस्तै अन्य धार्मिक गुरुको अनुरोधमा धेरैले सुनचाँदी बेचेर चन्दा दिए । संकलित चन्दामध्ये सबै जीर्णोद्धारमा लागेन, त्यसबाट बचेको रकमले बौद्ध महाचैत्यको पनि मर्मतको काम भएको थियो ।

शाक्य श्रीका तीन सन्तान जीर्णोद्धार काम सकेपछि फेरि तिब्बत फर्के । तिनले स्वयम्भू महाचैत्यको जीर्णोद्धार अगाडि बिग्रिएको अवस्थामा रहेका भागलाई आफूसँगै लगे र त्यसलाई धूलो–धूलो बनाएर पूरा तिब्बतमा छरेका थिए । तुलाधर थप्नछन्, ‘यसले पनि प्रस्ट पार्छ, तिब्बतमा स्वयम्भू महाचैत्यप्रति कति धेरै विश्वास र आस्था छ भनेर ।’ धमां साहु धार्मिक व्यक्तित्व हुनाले उनले आफ्नो कीर्ति र जसका लागि अभिलेख भने राख्न चाहेनन् । उनले त्यसलाई महत्त्व नै दिएनन् ।

प्रकाशित : कार्तिक २२, २०७८ १४:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?