कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

जनकपुरमा छठको धुमधाम तयारी

करोडौंको फलफूल व्यापार
श्यामसुन्दर शशि

जनकपुर — सोमबार नहाय खायसँगै सुरु हुने चारदिने छैठ महापर्व अर्थात् छठ पर्वको तयारी लगभग पूरा भएको छ । छैठ पूजा हुने पवित्र नदी तथा तलाउका घाटहरूलाई आकर्षक रुपमा सजाइँदैछ । विशेषगरी पोखरी नभएका उत्तरी धनुषाका गाउँहरूका ईनार सफा सुग्घर पारिँदैछ ।

जनकपुरमा छठको धुमधाम तयारी

यससँगै छठलाई लक्षित गर्दै चोकचोकमा व्यापार पनि बढ्दो छ । छठको अवसरमा पूजा सामग्री तथा फलफूलको व्यापार ह्वात्तै बढेको छ । छठको प्रयोजनका लागि जनकपुर बजारमा १९ करोडभन्दा बढीको फलफूल बिक्री हुने व्यावसायीहरूको आकलन छ ।

जनकपुरका गंगासागर, धनुषसागर, महाराजसर, रुकमिनीसर, अंगराजसर, दशरथ तलावसँगै दुधमती तथा जलाद नदीमा अहिले ससफाइ गरिएको छ ।सरोवरहरूको अग्रभागमा आकर्षक प्रवेशद्वारहरू निर्माण गरिएका छन् । वर्षभरी फोहरको डंगुर हुने सरोवरका किनारहरू छठको आगमनसँगै सफा पारिएका छन् । यद्यपि दीपावलीको क्रममा सडकमा राखिएका फोहोरका कारण जनकपुर नगर क्षेत्र भने दुर्घन्धित बनेको थियो ।

फलफूल र अन्न व्यापार

छठ पर्वमा केराको अत्याधीक प्रयोग हुन्छ । विशेषगरी केरा, नरिवल, उखु, सुन्तला, नेवुवा, बेसार, चामल र गहुँको आँटा तथा गुंडबाट निर्मित ठकुवा, भुसुवा, पिरुकिया, गुणालगायत परम्परागत परिकारहरू यस पर्वमा प्रसादको रुपमा चढाइन्छ ।

केरा, नरिवल लगायत पूजा सामग्रीको आपूर्ति पूर्वी नेपालको भन्टावारी, त्रिवेणी, इनरुवा र भारदहसँगै भारतको आसाम, पटना, मोकामा, हांजीपुर, पश्चिम बंगाल, ठाकुरगंज तथा वीरपुरलगायत सहरहरूबाट गरिन्छ । अचेल जनकपुरको रामचोक, जनकचोक, जीरोमाइल, मिल्स एरिया, सीता चोक,कदम्ब चौक, कृषि बजारलगायत चोकचोकमा केरा, नरिवललगायत पूजा सामग्रीहरूको एक सय भन्दा धेरै पटके पसल संचालनमा छन् ।

फलफूल व्यावसायी संघ जनकपुरका अध्यक्ष विशेश्वर यादवका अनुसार छठ पूजा प्रयोजनका लागि भारतका विभिन्न स्थानबाट हालसम्म ३५ ट्रकभन्दा अधिक तथा पूर्वी नेपालका विभिन्न स्थानबाट १५ ट्रक गरी कुल ५० ट्रकभन्दा धेरै केरा आयात गरिसकिएको छ ।

समग्रमा छठ प्रयोजनका लागि जनकपुरमा साढे १२ करोड मूल्यको १ हजार १ सय टन केरा आयात गरिएको बताइएको छ । यसका अतिरिक्त करिब ३ करोड मूल्य बराबरको स्याउ,२ करोड मूल्य बराबरको अनार तथा १ करोड मूल्य बराबरको सुन्तला, मौसमी र नरिवल आयात गरिएको छ । यसरी छठ पर्वमा जनकपुरमा करिब १९ करोडको फलफूल व्यावसाय हुने अनुमान व्यावसायीहरूले गरेका छन् ।

यसवाहेक भारतीय फलफूल नेपालमाभन्दा मंहगो भए पनि बिक्रेताहरूलाई भारतबाट आयात गर्नुपर्ने बाध्यता रहेको बताइन्छ । नेपाली उत्पादनले बाजारको माग थेग्न नसक्दा भारतबाटै महंगोमा केरा ल्याउनुपर्ने उनीहरूको भनाइ छ । यादवका अनुसार भारतका केरा बगानहरूमा १ लाखको केरा किन्दा भन्सारसहित नेपाल आइपुग्दा २ लाख ५० हजारभन्दा धेरै खर्च भइसक्छ ।

गत वर्षको तुलनामा केराको मूल्य लगभग दोब्बरले बढेको स्थानीय उपभोक्ता र व्यापारीहरूले बताए । कृषि बाजार परिसरमा छठ पर्वलाई लक्षित गरी पटके केरा पसल संचालन गरेका राजाबाबू साहका अनुसार गत वर्ष ३ सयदेखि ४ सयमा बिक्री भएको एक घारी केराको मूल्य यस वर्ष ५ सयभन्दा धेरै पुगिसकेको छ ।

सोही परिसरमा फलफूल पसल थापेका गुडु महतो नेपाली केरा गुणस्तरीय भए पनि माग अनुसारको पूर्ति गर्न नसकेका कारण भारतबाट केरा आयात गर्नु परेको बताउँछन् ।

छठको अवसरमा सोमबार नहाय खाय गरी सुरु हुनेछ । छठ पर्वको दोश्रो दिन मंगलबार ब्रतालुहरू दिनभर उपवास बसी राति गुलियो पुरी, खीर, नुन नहालेको तरकारी खानेछन् । जसलाई स्थानीय भाषामा ‘षडना’ भनिन्छ । षडनाको प्रसाद सपरिवार सँगै बसेर खाने चलन छ । षडनापछि निराहार ब्रत बस्नेहरूले बुधबार सन्ध्याकालीन सूर्य पूजा तथा बिहीबार बिहान उषाकालीन सूर्यलाई अर्घ्य प्रदान गरी यस पर्व समापन गर्नेछन् ।

प्रकाशित : कार्तिक २१, २०७८ १९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?