कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१
कोप २६ 

ग्लास्गोमा व्यस्त काशीराम 

अब्दुल्लाह मियाँ

ग्लास्गो, स्कटल्यान्ड — ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी पक्ष मुलुकहरुको २६ औं सम्मेलन (कोप २६) सुरु भएको साता बितिसकेको छ । सम्मेलन अझै एक साता चल्ने छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मेलनलाई सम्बोधन गरेर फर्किसकेका छन् । सम्मेलनमा अहिले वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव सहभागी छन् ।

ग्लास्गोमा व्यस्त काशीराम 

सोही मन्त्रालयका सचिव पेमनारायण कँडेल, जलवायु परिवर्तनको फोकल पर्सन राधा वाग्लेलगायत दर्जनौं विषयगत व्यक्ति सम्मेलनमा छलफल भइरहेका अलग–अलग मुद्दासम्बन्धी वार्ताहरुमा व्यस्त छन् ।

यो त भयो, सम्मेलनस्थल 'स्कटीस एक्जिबिसन सेन्टर' भित्रको कथा । सम्मेलनस्थल बाहिर मन्त्री, सचिव, अन्य कर्मचारी र विज्ञलाई भन्दा भ्याईनभ्याई छ–गुल्मीको सत्यवती, खैरेनीका काशीराम भण्डारीलाई । उनीसँग सम्मेलनभित्र प्रवेश गर्ने पास त छैन, तर सम्मेलनमा आएका सबैजसो नेपाली उनकै सहारामा सम्मेलनस्थलको ढोकासम्म पुग्छन्–पुगेका छन् ।

'ल भित्र जानु होला, पीसीआर जाँच गराएर आफ्नो काम सुरु गर्नुहोला', गैरआवासीय नेपाली संघ, स्कटल्यान्ड राज्यपरिषद्का अध्यक्ष भण्डारीको चर्या यसरी सुरु हुन्छ । ग्लास्गोमा भर्खर चिसो सुरु हुँदैछ । संसारका करिब २ सय देशका झण्डै ४० हजार मानिसहरु यो सम्मेलनमा आएका छन् । त्यही भएर यहाँको सबैभन्दा ठूलो समस्या आवास व्यवस्थापन बनेको छ । होटलको भाउ आकाशिएको छ, तैपनि कोठा पाउन सम्भव छैन । 'यहाँ आउने प्राय:जसो सबै नेपालीहरुले रुम चाहियो दाइ भन्नुहुन्छ,' मुसुक्क हाँस्दै भण्डारी भन्छन्, 'समस्या तेर्‍याएपछि मिलाउनै पर्‍यो ।'

एयरपोर्ट आएर एक कल गर्ने जोसुकै नेपालीलाई समयले साथ दिए आफै पिकअप गर्न गाडी लिएर पुग्छन्, असम्भव भए लोकेसन दिएर आफू नजिक बोलाउँछन् । सम्मेलनमा भाग लिन सयभन्दा बढी नेपाली ग्लास्गो आएका छन् । नेपालीहरुलाई सहयोग गर्न पाएकामा भण्डारी खुसी छन् । नेपालीहरुलाई गर्नुपर्ने यही व्यवस्थापनको चटारोका कारण उनको नेपाल जाने यात्रा पछि धकलिएको छ ।

सम्मेलनमा भाग लिन आएका प्रधानमन्त्री देउवासहित २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल होस् वा मन्त्री, सचिवलगायत सामान्य गैरसरकारी संस्थाको प्रतिनिधि, सबैको आवासलगायत व्यवस्थापनमा भण्डारीको साथ छ । सरकारी अधिकारीले समेत यहाँ आउनेका लागि बासको व्यवस्थापन गर्न उनैलाई गुहारेका छन् ।

प्रधानमन्त्रीको आवासको पैसा बेलायत दूतावासले तिरे पनि भण्डारीले सम्मेलनस्थल नजिकैको पाँचतारे होटलमा आवास व्यवस्थापन गरेका थिए । 'सम्मेलनस्थल नजिक होटल पाउने सम्भावना नै थिएन', तीन महिनाअघि स्कटल्यान्ड राज्य परिषद्को अध्यक्ष बनेका भण्डारीले सुनाए, 'कता कताबाट कुरा गरेर म्यानेज गरियो ।'


काशीराम भण्डारी

कतिपय देशका उच्चस्तरीय नेतासमेत नजिक होटल नपाउँदा ग्लास्गोभन्दा बाहिरका होटलमा बस्न बाध्य भएका छन्, सार्वजनिक साधन रेल र बस चढेर ओहोरदोहोर गरेका छन् । प्रधानमन्त्रीसँगै आएका वनमन्त्री यादव, परराष्ट्र सचिव भरतराज पौड्याल, अर्थ सचिव मधुकुमार मरासिनी, योजना आयोगका सचिव केबलप्रसाद भण्डारी, वन तथा वातावरण सचिव कँडेल, गृह सचिव टेकनारायण पाण्डे, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष माधव कार्की, प्रधानमन्त्रीका स्वकियसहित सुरक्षा टोलीलगायत सबै प्रतिनिधि बसेको होटल भण्डारीकै कारण सहज ढंगले व्यवस्थापन भएको हो ।

'पैसा तिर्छु भने पनि होटल पाउने अवस्था थिएन', भण्डारीले कान्तिपुरलाई सुनाए, 'चिनजानका हिसाबले होटलको व्यवस्थापन गर्न मलाई सजिलो भयो ।' अहिले पनि सम्मेलनमा नेपालीहरु आउनेक्रम जारी छ । उनीहरुको आवास व्यवस्थापन भण्डारीले नै गरेका छन् । केही दिनअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र सचिव यादव कोइरालालगायत यहाँ आएका थिए ।

बेलायतबाट सिधै ध्वजावाहक विमान खुला गर्न सकिए नेपालमा पर्यटन प्रवर्द्धन गर्न सकिने उनी बताउँछन् । यहाँ बस्ने नेपालीहरुले प्रधानमन्त्री देउवालाई पनि यसबारे जानकारी गराए । मन्त्री आलेले त जसरी पनि बेलायतले नेपालको हवाई उडानमा राखेको कालोसूची हटाएर राष्ट्रिय ध्वजाबाहक विमान बेलायत लिएरै आउने कसम खाएर फर्किएका छन् ।

करिब १७ वर्षदेखि स्कटल्यान्ड बस्दै आएका भण्डारीले यहाँ दुई वटा रेस्टुरेन्ट र दुई वटा होटल चलाइरहेका छन् । स्कटल्यान्ड को काउडेनन्बिथमा रहेको 'सिमला प्यालेस' रेस्टुरेन्ट उनको चर्चित छ । उनको रेस्टुरेन्टमा प्राय: नेतादेखि कर्मचारी र प्रहरीहरु खान आउने भएकाले उनीसँग राम्रो चिनजान छ । त्यही चिनजानले उनलाई होटललगायतको व्यवस्थापन गर्न सहजता भएको हो । यही रेस्टुरेन्ट पूर्वप्रधानमन्त्री गोर्डन ब्राउनले उद्घाटन गरेका थिए । गोर्डन काउडेनन्बिथकै स्थानीयसमेत हुन् । त्यो बेला उनी यहींबाट निर्वाचित सांसद थिए । भण्डारीले गोर्डनलाई नेपाली ढाकाटोपी र खादा लगाइदिएका थिए ।

नेपाली बफेटसहितको यो रेस्टुरेन्ट स्कट्ल्यान्डका सबैजसो नेता र कर्मचारीबीच चर्चित छ । स्कटल्यान्डको राजधानी एडम्बराबाट यो रेस्टुरेन्ट ३० माइल उत्तरमा छ । ग्लास्गो आएका पर्यटन सचिव कोइरालाले भण्डारीसँगको भेटपछि नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्न आग्रह गरे । 'यति लामो चिनजान भएको नाता र अनुभवले तपाईंले नेपालको पर्यटन प्रवर्द्धनमा ठूलो काम गर्न सक्नुहुन्छ', यादवले भण्डारीलाई भने ।

प्रकाशित : कार्तिक २१, २०७८ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?