दीपावलीपछि तराई-मधेसमा छठको चटारो- फिचर - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दीपावलीपछि तराई-मधेसमा छठको चटारो

शंकर आचार्य

पर्सा — दीपावली सकिए लगत्तै तराई-मधेसमा छठ पर्वको चटारो सुरु भएको छ । छठ पर्व तराईमा धुमधामका साथ मनाइन्छ । भोजपुरा संस्कृतिको गढ वीरगन्जमा यो पर्वको उत्साह र उमंग झनै बढी हुने गरेको छ । यो पर्वका मूख्य विधिहरू सोमबारबाट सुरु हुँदैछ ।

वीरगन्ज तेजारथ टोलकी छठ व्रतालु मञ्जु देवीका अनुसार सोमबार ब्रतालुहरूले ‘नहा खाय’ विधि गर्नेछन् । यस दिन व्रतालुले स्नान गरी चोखो भई आफैंले बनाएको सात्विक भोजन गर्छन् । व्रतालुले यस दिन विशेष गरी लौकाको तरकारीसँग भात खाने चलन छ ।

मंगलबार व्रतालुहरूले रस्याउ रोटी खाने विधि ‘खरना’ रहेको छ । उनीहरूले साँझ सख्खरमा पकाएको खीर र रोटी खाएर भोलिपल्ट अर्थात् बुधबार दिनभर भोकै बसी साँझ घर नजिकको घाटमा गई पूजाअर्चना गर्नेछन् । जसलाई ‘सँझियाघाट’ भनिन्छ । बिहीबार बिहान पुनः घाटमा पूजाअर्चना गर्नेछन् । जसलाई ‘बिहनियाघाट’ भनिन्छ ।

२ वर्ष कोरोना कहरले यहाँको छठ पर्वको उत्साहमा केही कमी ल्याए पनि यस वर्ष भने त्यस्तो कुनै बाधा अवरोध छैन । बजारमा किनमेल गर्ने व्रतालुको भिडभाड बढेको छ । यहाँका छठ घाटहरू भव्य रुपले सजाइँदै छन् ।

रोजगारी तथा अन्य प्रयोजनले स्वदेश तथा विदेशमा रहेका छठ पर्व मान्नका लागि क्रमशः घर फर्किइरहेका छन् । व्रतालुहरू हाल छठ पूजाको प्रसाद पकाउन प्रयोग गरिने पिठो तयार पार्न गहुँ सुकाउने काममा व्यस्त छन् । प्रसाद पकाइने गहुँलाई पशुपन्क्षी समेतले मुख जुठो हालेर बिटुल्याउनु हुन्न भन्ने विश्वास अनुरुप व्रतालु तथा उनीहरूका परिवारका सदस्य दिनभर घाममा बसेर भए पनि गहुँ सुकाउने गर्छन् ।

यस पर्वमा व्रतालुले खोलानाला तथा जलाशयमा उभिएर भक्तिपूर्वक पूजा गरी अस्ताउँदो र उदाउँदो सूर्यलाई नरिवल, गंगाजल आदिको अर्घ दिन्छन् । यो व्रत तथा यसका विधि पूरा गर्न व्रतालुलाई उनीहरूका परिवारका सदस्यले पनि सघाउँछन् । यो पर्वमा व्रतालुले पूजाअर्चना गर्न पुरोहितको मद्दत लिँदैनन् । पूजाको सम्पूर्ण विधि आफैँले पूरा गर्छन् ।

पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रधापूर्वक मनाइने यो सूर्य आराधनाको पर्व हो । यो पर्वलाई सूर्य षष्ठि, स्कन्ध षष्ठि र छठीमइया पूजा पनि भन्छि । छठ पर्वले आफ्ना परिवारजन, साथीभाइ, इष्टमित्र, छरछिमेकी समेतलाई एक ठाउँमा भेला हुने अवसर प्रदान गर्छ । यस अवसरमा नयाँ वस्त्र धारण गर्नुका साथै विवाह गरी गएका चेलीबेटीलाई आमन्त्रण गरिन्छ ।

वीरगन्ज र छिमेकी भारतीय सहर रक्सौलमा पर्वको किनमेल गर्नेहरूको भिडभाड बढेको छ । छठ पर्वका लागि वीरगञ्जको सबैभन्दा ठूलो तथा प्रसिद्ध घाट घडिअर्वा पोखरी परिसरलाई पनि सजाउने काम अन्तिम चरणमा पुगेको छ । रानीघाट, मुर्ली, नगवा आदि घाट पनि बेहुली झैं सिंगारिँदैछन् । घाटको व्यवस्थापन र सजावटमा स्थानीय बासिन्दा स्वतस्फूर्त रुपमा सहभागी हुने गरेका छन् ।

वीरगन्जका सामाजिक अगुवा मनोज उपाध्याय तराई मधेशमा दिपावली, छठ र होली पर्वलाई विशेष रुपमा मान्ने चलन रहे पनि छठ पर्व अत्यन्त श्रद्धापूर्वक तथा व्यापक रुपमा मनाइने भएकाले यो तराई महान पर्व बन्न पुगेको बताउँछन् । ‘तराईमा पनि वीरगन्जमा यो पर्व अत्यन्त भव्य रुपमा मान्ने चलन छ,’ उनले भने, ‘वीरगन्ज भोजपुरीको गढ पनि भएकाले यहाको छठ पर्वले भोजपुरा संस्कृति, रीतिथिति र धार्मिक परम्पराको पनि प्रतिनिधित्व गर्छ ।’

प्रकाशित : कार्तिक २१, २०७८ १५:२३
प्रतिक्रिया
पठाउनुहोस्

सुक्खा बन्दरगाह र आईसीपीमा ५३ जग्गाधनीलाई डेढ अर्ब मुआब्जा

शंकर आचार्य

पर्सा — वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह र एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी) बीचको जग्गाका ५३ जग्गाधनीले १ अर्ब ५० करोड रुपैयाँ मुआब्जा बुझेका छन् । हालसम्म ७२ कित्ता जग्गाका ५३ जग्गाधनीले करिब १७ बिघा जग्गाको मुआब्जा लिइसकेको सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए ।

‘अर्थ मन्त्रालयबाट निकासा भएर आएको मुआब्जा रकममध्ये पहिलो चरणमा स्थानीय किसानले १ अर्ब ५० करोड रुपैयाँ मुआब्जा बुझेका हुन्,’ उनले भने, ‘अब बाँकी करिब ३ सय किसानले झन्डै ४ अर्ब रुपैयाँ मुआब्जा लिन बाँकी छ । अर्थ मन्त्रालयमा फाइल पुगेको छ । रकम निकासा भएर आएपछि वितरण हुन्छ ।’ जिल्ला प्रशासन कार्यालयमार्फत स्थानीयले मुआब्जा लिइरहेका छन् । वीरगन्ज महानगरपालिका–२५ मा पर्ने सिर्सिया सुक्खा बन्दरगाह र एकीकृत सुरक्षा जाँचचौकीबीचको जग्गा अधिग्रहण प्रक्रिया सरकारले करिब ५ वर्षअघि सुरु गरेको हो ।

सरकारको २०७३ पुस १७ को निर्णयपछि जग्गा अधिग्रहण प्रक्रिया अघि बढेको हो । गत वर्ष कात्तिक २७ मा बसेको मन्त्रिपरिषद् बैठकले सिर्सिया खल्वाटोलाबासीलाई मुआब्जा बाँड्ने निर्णय पनि गरेको थियो । सुक्खा बन्दरगाह र आईसीपीबीच २ सय ९७ धनीको करिब १ हजार ४ सय कित्ता जग्गा छ । सरकारले निर्धारण गरेको मापदण्ड अनुसार यहाँ मुआब्जा रकम सबैभन्दा बढी प्रतिकट्ठा ६७ लाख ७० हजार र सबैभन्दा कम प्रतिकठ्ठा २४ लाख ६० हजार रुपैयाँ तोकिएको छ । ५ वर्षअघि स्थानीयको ६२ बिघा जग्गा अधिग्रहणका लागि भन्दै रोक्का गरिएको थियो ।

सिर्सिया सुक्खा बन्दरगाह केही वर्षयता साँघुरो भएको छ । आईसीपीसमेत सञ्चालनमा आएपछि दुवै भन्सारबाट गरी यस क्षेत्रमा हाल दैनिक करिब १ हजार ५ सय मालवाहक सवारीसाधनको आवागमन हुन्छ ।

प्रकाशित : कार्तिक १४, २०७८ २१:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×