गीतले सम्झाइदिएको मरौटी- फिचर - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गीतले सम्झाइदिएको मरौटी

रासस

बागलुङ — ‘रमरम मरौटी
तिम्रो रुपै करौँती...’

युट्युब, टिकटकजस्ता डिजिटल माध्यममा छाइरहेको यो गीतले औषधीय गुण भएको वनस्पति मरौटीलाई पुनः एकपटक जनजिब्रोमा स्थापित गरिदिएको छ ।

भिडियो बनाएर टिकटकमा ‘सेयर’ गरिरहेका नयाँ पुस्तामाझ पक्कै मरौटीबारे थाहा पाउने हुटहुटी जागेको हुनुपर्छ । हामीमध्ये पनि कतिपयलाई मरौटी के हो ? जानकारी नहुन सक्छ, या बिर्सिदिएका हुनसक्छौँ । गायक खेम सेञ्चुरी र गायिका अस्मिता अधिकारीद्वारा स्वरबद्ध गीतले मरौटी शब्दलाई जुन ओजका साथ उछालेको छ, उति नै त्यो गुणकारी पनि छ । युट्युबमा सार्वजनिक भएको तीन सातामै ५० लाख भ्यूज कमाउन सफल गीतमा प्रयोग गरिएको मरौटी खासमा के हो त ?

स्वास्थ्य रक्षाका लागि क्रियाशील आयुर्वेद समाजका अध्यक्ष रमाकान्त सापकोटाका अनुसार मरौटीको पञ्चाङ्ग नै (जरा, डाँठ, पात, फल र फूल) आयुर्वेदिक आषैधिमा प्रयोग हुन्छ । मरौटीलाई जनबोलीमा मरहट्टि र भुइँ टिमुरसमेत भनेर चिनिने गरेको उनले बताए । 'मरौटी हल्का पिरो, टर्रो र रमरम स्वादको हुन्छ,' सापकोटाले भने, 'महाराष्ट्रिय सोरसलगायत आयुर्वेदिक औषधिमा यसको प्रयोग हुन्छ ।'

खोकी, शरीर, दाँत दुखाइ, मुखमा घाउ, खटिरा आउने जस्ता समस्यामा मरौटीको प्रयोग लाभदायी हुने उनको भनाइ छ । स्वासप्रस्वास र पाचन प्रणालीलाई पनि मरौटीबाट बनेको आयुर्वेदजन्य औषधिले फाइदा गर्ने सापकोटाले बताए । घरगाउँमा पेट, दाँत दुख्दा, अपच हुँदा र रुघाखोकी लाग्दा मरौटी खाने चलन छ । सामुदायिक वन उपभोक्ता महासङ्घ बागलुङका अध्यक्ष राज थापाले मरौटी बहुउपयोगी वनस्पति भएको बताए । 'औषधि र मसलाजन्य दुवै गुण मरौटीमा पाइन्छ,' उनले भने, 'खाना स्वादिष्ट बनाउन भान्सामा पनि यसको प्रयोग हुन्छ ।'

अचार र चटनीमा राख्दा मरौटीले अझ बढी स्वाद थप्छ । आयुर्वेदको तयारी औषधिबाहेक घरायसी विधिबाट पनि मरौटीको प्रयोग गर्न सकिन्छ । झोल बनाएर खान सकिने र शरीर दुखाइमा पात/जरा दलेर पनि घरेलु उपचार गर्न सकिने आयुर्वेद चिकित्सक बताउँछन् । व्यावसायिक खेती नभएकाले ग्रामिण भेगमा फाटफुट्ट मात्र मरौटीको वनस्पति भेटिने गरेको थापाको भनाइ छ । जङ्गलमा पाइने मरौटीलाई ‘वन मरौटी’ भन्ने गरिएको थापाले बताए । त्यो घरमा हुनेभन्दा केही मसिनो हुन्छ । आयुर्वेदीय गुण भने त्यसमा पनि उत्तिकै हुन्छ ।

मरौटी धेरै फलेमा टिपेर सुकाएर भण्डारण पनि गर्न सकिन्छ । झट्ट हेर्दा फूलझैँ देखिने मरौटीको फल सुकेर झरेपछि त्यसैबाट नयाँ बिरुवा पलाउँछ । मरौटीको व्यावसायिक खेती गर्न सके किसानको आयआर्जन बढ्ने धनवन्तरी स्वास्थ्य सहकारी संस्था लिका अध्यक्ष सापकोटाले बताए ।

खोजी र संरक्षण नभए मरौटी लोप भएर जाने खतरा रहेको उनको भनाइ छ । गुणकारी वनस्पति सम्झाइदिने गीत ‘रमरम मरौटी’ मा कलकार पूजा शर्मा र ओबी रायमाझीको अभिनय छ । तीन साताअघि युट्युबमा सार्वजनिक भएको भिडियो शनिबार बिहानसम्म ५२ लाखभन्दा बढी पटक हेरिएको छ ।

प्रकाशित : कार्तिक ६, २०७८ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्

अम्मकलाका लोग्ने खोज्दै हिँड्दा

युद्धका घाउ पछ्याउँदै हिँड्ने क्रममा दुई पत्रकार २०६१ मा साबिकको कर्णाली तथा सुर्खेत र बाँके घुमेका थिए । युद्धमा एकअर्कालाई जुधाएका मान्छेहरु अहिले मिलेका छन् र तिनीहरु जुध्दा मिचिएका मान्छे अहिले भुलिएका छन् । थिचोमिचोमा परेका सबैजसो मान्छे दूरदराजका शक्तिविहीन थिए । प्रस्तुत छ, त्यसबेला युद्धले महिलाको जीवनमा पारेको असरमाथि एक दृष्टि :
मोहन मैनाली, सुशील मैनाली

खाना खानुभयो ?दुनै झर्ने बेलुका ?आलु लाने, आलु ? लग न हो, अलि राम्रोराम्रो हेरेर । सिमी लग्ने, सिमी ?झोला नाईँ । स्याउ पनि नाईँ । 

२०६१ सालको कात्तिक महिना । देश चुपचाप थियो । डोल्पामा सन्नाटा थियो । तर, डोल्पाको सदरमुकाम दुनै साँच्चिकै सदरमुकामजस्तो थियो । शिक्षकहरू यहीं थिए । सरकारी कर्मचारीहरू यतै खाँदिएका थिए । शक्तिशाली मानिएको डोल्पाको छलमस्टका शक्तिशाली पुजारी पनि यही भीडमा मिसिएका थिए ।

दसैंमा सबै घरघर जानुपर्ने हो । तर, डोल्पा बाहिरका मानिसले डोल्पा छोड्न सकेका थिएनन । कारण थियो, यातायातका साधन नपाइनू र डोल्पा नछोड्नू भन्ने प्रशासनको निर्देशन । यातायातका साधन नचाहिने र प्रशासनको निर्देशन नमाने पनि हुने डोल्पालीले समेत दुनै छोडेनन् । दुनै छाडे ज्यान जाने डरले ।

डोल्पाको जुफाल विमानस्थलको जिम्मा लिने काम पनि दुनैकै थाप्लोमा थियो । विमानस्थल बन्दजस्तै थियो । चुपचाप, सुनसान थियो । चुपचाप जुफाल मात्रै थिएन, डोल्पाका प्रमुख जिल्ला अधिकारी पनि चुप थिए । ‘नेपालभरि यस्तै हो नि, तपाईंहरूलाई थाहा छँदै छ,’ हरेक प्रश्नको जवाफ यही वाक्यबाट सुरु गर्थे । चुपचाप सिडियो साप मात्रै थिएनन्, डोल्पाबाट ‘कान्तिपुर’ दैनिकका लागि समाचार पठाउने संवाददाता पनि चुप थिए । माओवादीको उर्दी थियो– ‘समाचार नलेख्नू, लेख्न परे हाम्रो समर्थनमा लेख्नू ।’

सुन्दा सरल लागे पनि यो ‘ज्यान जाने’ सम्मको धम्की थियो । सदरमुकाममाचाहिँ समाचार लेख्दा प्रशासनले भनेजस्तो र चाहेजस्तो लेख्नुपर्ने अघोषित ‘सेन्सरसिप’ थियो । फ्याक्स पठाउने सुविधा जिल्ला प्रशासनबाहेक अन्यत्र थिएन ।

‘झूटो समाचार लेख्नुभन्दा चुपचाप बस्नु नै जाती,’ संवाददाता मात्र चुप थिएनन् । दुनैबाट २ घण्टा हिँडेपछि पुगिने थाला गाउँकी देउमाया रोकाया पनि चुपचाप थिइन् । ‘तिमी आइमाईहरूले साँचो कुरा भन्छौ, समय साँचो बोल्ने छैन । त्यसैले नचिनेको मान्छे आउँदा चुपचाप बस्नू भनेका छन, हाम्रा बूढाले,’ लगभग डेढ घण्टापछि देउमायाले साँचो कुरा बोलिन् ।

हामी लडाइँका बेला ज्यान गुमाएका उनका छोरा लालबहादुरको कुरा गर्न खोज्थ्यौं । उनी एकोहोरो हाम्रो हालखबर सोध्थिन्, हामीलाई कोसेली दिन खोज्थिन् ।

खाना खानुभयो ?

दुनै झर्ने बेलुका ?

आलु लाने, आलु ?

लग न हो, अलि राम्रोराम्रो हेरेर ।

सिमी लग्ने, सिमी ?

झोला नाईँ ।

स्याउ पनि नाइँ ।

थाहा नपाएर होइन, एकोहोरिएर पनि होइन । नचिनेका मानिसलाई अलमल्याउने मेलो थियो उनको ।

‘भान्जाबाबुसँग आउनुभयो र मात्रै बोलेकी । नभए को कस्तो को कस्तो थाहा हुन्न । सबै जना कुरा थुत्न मात्रै आउँछन् । यताको हो कि उताको हो ? साधारणै हुँ भन्छन् सब ।’

द्वन्द्वका बेला महिलाले पाएका दुःख अहिले ओझेल परे । बरु तीज र पञ्चमी व्रतमा चरी जेल परेका कुरा ‘बोल्ड’ भएर आउँदै छन् । सहरिया चरीका अगाडि गाउँले बिचरीहरूको न त पहिला केही चल्थ्यो न अहिले नै । लडाइँमा पिल्सिएका महिलाको पीडा त कता हरायो कता !

उतिबेला भिड्न–मार्न उकास्ने दुवैथरीको अहिले घाँटी जोडियो । तर, देउमायाको जीवनको सहारा खोसियो । न त उनको घाउमा मलम लाग्यो, न गएको छोरो नै फर्कियो । यो देउमाया र उनका परिवारको इच्छाले वा राजनीतिक सिद्धान्तले प्रेरित भएर गरेको योगदान थिएन ।

उनको इच्छा त छोराले एसएलसी पास गरोस्, अरू अलिकति पढोस् अनि कतै कमाइ गरोस् भन्ने थियो । त्यसैले त एसएलसी परीक्षा हुनुअघि उनले छोरालाई ट्युसन पढ्न नेपालगन्ज पठाइन् । ‘ट्युसन पढ्न होइन, मार्न पठाएछौं, पुलिसका हात मार्न दिएजस्तो भयो,’ यसो भन्दा देउमाया एकै ठाउँ मात्रै खनिरहेकी थिइन् । उनको कुटोले आलु खन्दै थिएन, बरु छोरो मार्नेमाथि लगातार हानेजस्तो लाग्थ्यो ।

२०५८ साल पुसको पहिलो हप्ता लालबहादुर र उनका साथीहरू नेपालगन्ज झरे । नेपालगन्जमा सानो कोठा लिएर बसे र पढ्न थाले । त्यसको एक/दुई दिनमै लालबहादुर, गीर्वाण बुढा, कमल क्षत्री, राजी विक र विश्वचन्द्र बुढालाई सशस्त्र प्रहरीले पक्राउ गर्‍यो । त्यसपछि उनीहरूलाई धेरै कुरा थाहै भएन, जे जति थाहा छ, त्यो सुनिसक्नु छैन । ‘मेरो आँखैअगाडि ब्लेडले कमल दाइको ढाड चिरे र त्यसमा कागती हाले । पछाडि मेरो पनि त्यसरी नै चिरेछन् । दिनदिनै ड्रेसिङ गर्दै पिट्दै गरे,’ गीर्वाणले ढाडमा रहेका घाउका खत देखाउँदै भने, ‘राइफलको कुन्दाले हिर्काउँदा र संगीनले घोच्दासमेत शरीरले कुनै प्रतिक्रिया जनाउँदैनथ्यो । ऐया भन्न सक्ने स्थितिको पनि थिएन शरीर ।’

दिनुसम्मको यातना दिएपछि उनीहरूलाई फरक–फरक अस्पताल लगियो । अस्पतालबाट फेरि जेलमा ल्याउँदा गीर्वाणले लालबहादुरलाई चिन्न सकेनन् । ‘मभन्दा मोटोघाटो थियो ऊ, तर फेरि जेलमा ल्याउँदा मैले उसलाई चिन्न सकिनँ । कमल दाइले ‘लाले हो, हेर’ भन्नुभयो तर मैले चिन्न सकिनँ,’ यसले लालबहादुरले खाएको पिटाइलाई प्रस्ट पार्थ्यो, ‘दाइ म हुँ चिन्नुभएन भनेपछि बल्ल बोलीले लाले भनेर चिनेँ तर शरीरले कतै पनि लालबहादुरजस्तो लाग्दैनथ्यो ।’

गीर्वाण लालबहादुरको सुकेको जीउ देखेर एकदमै डराएका थिए ।

‘कोही मान्छे भेटे कि कीरा मार्दाझैं मार्दा । रित्तो घरमा बस्नुपरेको छ । उज्याला घामजूनजस्ता छोरा पढ्न पठाएको होइन मार्न पठाएका रहेछौं,’ कुटोको आवाजसँगै देउमायाको आवाज पनि ठूलो हुँदै गयो । जग्गा किन्ने मान्छे पाए उनलाई यहाँ एकछिन पनि बस्न मन थिएन । तर, यो बेला कसले किन्ने त्यस्तो ठाउँको जग्गा जमिन ?

गिर्वाणले हिरासतमा पाएको यातनाको चिनो । तस्बिर : सुशील मैनाली

यतिबेला जे भइरहेको थियो, उनीहरूको वशमा थिएन । त्यसैले उनी चुपचाप थिइन । बोल्नु भनेको थप समस्या ल्याउनु हुन्थ्यो । कुन पक्षको जासुस आयो, अब यसले के कुरा थुत्छ भन्ने मात्रै पर्थ्यो । त्यसैले त उनको घर पुग्दा हामीलाई छल्न देउमाया डोको बोकेर आलु खन्न हिँडेकी थिइन् ।

निकै बेर कुराकानी गरेर हामी देउमाया, आशा अनि छिमेकीहरूसँग बिदा भएर फेरि दुनै झर्‍यौं ।

दसैंको बेला थियो । मानिसहरू छलमस्टका पुजारीसँग शक्ति र आशीर्वाद माग्न आउँथे । दोहोरो टीका लगाउँथे (पश्चिम नेपालमा टीका एकले अर्कालाई सँगसँगै लगाउने चलन छ ।) ‘मन्दिरमा पूजाआजा र पर्व मनाउन बन्देज लगाइएको छ । हिन्दु धर्म, राजा र पूजाआजा मेटाउनुपर्छ । आफ्नो शक्ति निकाल्नुपर्छ भन्दै मन्दिरमा फोहोर गर्दै हिँड्ने गर्छन्,’ दुनैमा आश्रय लिइरहेका छलमस्टका पुजारी मोहनवीर रोकाया निकै दुःखी देखिए ।

पूजा–आजा बन्द गरेर आफ्नो शक्ति निकाल्नेहरू शक्तिविहीन भएका हुन् वा फेरिएका हुन्, अहिले पूजाआजामै व्यस्त छन् । अनि मन्दिरका लागि बजेट पाइएन भनेर रोइकराइ गरिरहेका छन् । मोहनवीरले उतिखेरै भनेका थिए, ‘कसैको आस्था मारेर निकालेको शक्ति धेरै टिक्दैन ।’

काम नसकिएसम्म र काम सकिएपछि पनि हेलिकप्टर कुरेर बस्दासम्म दुनैमा हामीले कोही मानिस पनि हँसिलो देखेनौं । कुरा गर्दा मन कुँडिनेबाहेक अरू कुरा सुनेनौं । माओवादीले अपहरण गरेका, प्रशासनले तारिख बोकाएका, थातथलोबाट लखेटिएका सबैको पीडामा रोइरहेको थियो, भेरी नदी पनि । हामी रातिसमेत कि त भेरी रोइरहेको सुन्थ्यौं कि सपनामा समेत उनीहरूकै पीडाले घेरिएका हुन्थ्यौं ।

यस्तैमा एउटा बिहान हामीलाई सुखद सन्देश आयो, तुरुन्तै हेलिप्याड जानू ! हामी भेरी तरेर हेलिप्याड पुग्दा नपुग्दै हेलिकप्टर आइपुग्यो, हामीले दुनै छोड्यौं, नेपालगन्ज पुग्यौं ।

तर, हामीलाई पीडा सुन्ने समयले छोडेको थिएन । हामी त युद्धले बनाएका घाउका पाइला पछ्याउँदै हिंँडेका थियौं । अब मुगु जानु थियो ।

तर मुगु जान त्यति सजिलो थिएन । अरूबेलै पनि हिँडेर जान सजिलो थिएन । बन्दुक चलेको यो बेला हिँडेर मुगु जाने कुरा सोच्नसम्म सकिँदैनथ्यो । हामीले सुर्खेत र नेपालगन्जको खाद्य संस्थानमा सम्पर्क गर्‍यौं, खाद्य संस्थानको चामल मुगु लाने हेलिकप्टरमा हामीले ठाउँ पाउँथ्यौं कि भनेर । उनीहरू भन्थे, राँझा विमानस्थल जाऊ । हाम्रो काम भयो— बिहानभर हेलिकप्टर उड्ला कि भनेर आशा गर अनि होटल फर्क ।

हामीले नेपालगन्ज बसाइमै पनि युद्धले बनाएका घाउका पाइला पछ्याउने निधो गर्‍यौं र दिउँसो दिउँसो बाँकेको चिसापानी धाउन थाल्यौं । हामीले सोचेजसरी नै यहाँ पनि युद्धका डोब भेटिए । मुगुको शेरीका नन्दबहादुर बुढा एक बर्षअघि भागेर यहाँ आएका रहेछन् । उनको जायजेथा माओवादीको कब्जामा थियो । खान माग्दा दिन नसकेपछि माओवादीले उनलाई बारम्बार मुसल लगाएछन् । मुसल लगाउनु भनेको गोलो लामो मुसलले तिघ्रा र पिँडुला पेल्नु हो ।

‘मेरो त पुरानो भयो, म तपाईंहरूलाई आलो घाउ देखाउँछु,’ नन्दबहादुरले हामीलाई नजिकैको घरमा पुर्‍याए, जहाँ अम्मकला बुढा अरूले भित्र्याएको धान हेरेर टोलाइरहेकी थिइन् । गाउँमा यसरी नै अन्न भित्र्याउने बेला भएको थियो । तर, ज्यान बचाउन उनको परिवार गाउँ छोडेर रातिराति हिँड्यो । ‘दिउँसो हिँड्न दिन्नन्, उतै फर्काउँछन् । अनि मार्छु मात्र भन्छन्,’ फुपूको घरमा शरण परेकी अम्मकलाको परिवार गाउँ छोड्दा सँगै थियो । तर, राति लोग्ने कता गए पत्तै भएन । दुई छोरी लिएर अम्मकला एकातिर लागिन् । अहिले उनी कहाँ छन् अम्मकलालाई थाहा थिएन ।

‘लोग्ने कता गए, गमगढी पो छन् कि ? बाँचेकै छन् कि, मारिए कि ?,’ मनमा असंख्य प्रश्न थिए । अनुहारमा सहिनसक्नु पीडा थियो । पीडालाई आँसुले बगाउनेबाहेक अम्मकलासँग अरू उपचार थिएन । रातिराति खाली खुट्टा हिँड्दा छोरीहरूका खुट्टाका एकपत्र छाला गएका थिए, तर पनि माओवादीबाट नसमातिई घर छोडेर भाग्न सफल भएकोमा थोरै सन्तोष भने थियो ।

खुट्टा दुखेको होइन स्कुल छोड्नुपरेको पीडामा निरन्तर रोइरहेका थिए छोरीहरू ।

अन्धाधुन्ध हिँड्दा फुटेका अम्मकलाकी छोरीका पैताला । तस्बिर : सुशील मैनाली

मुगुको सेरीकै मनसुर बुढा निर्वाचित वडाध्यक्ष थिए । उनी पनि बाँकेको चिसापानीमै अर्काको घरमा भाडामा बसेका थिए । हामी जाँदा कसोकसो गुन्द्री र राडी भेट्टाए, हामीलाई बसाउन । भित्रैबाट छ्यांग आकाश देखिने घरभित्रबाट उनले भने, ‘यस घरको भाडा माग्छन्, कसरी तिर्ने हो ! गाउँमा घर भएर के भो र हामीलाई ! अब इन्डिया गएर भए पनि कमाएर तिरौंला ।’

मनसुरजस्तै हामी पनि असहाय बन्दै थियौं, मुगु जान । तर, यहाँ पनि अरु बेलाकै कर्णाली यात्राजस्तै खबर आयो— भोलि बिहानै खाद्य संस्थानको चामल लिएर हेलिकप्टर गमगढी जाँदै छ । तर, नेपालगन्जबाट होइन, सुर्खेतबाट । हामी सुर्खेत हानियौं । अनेकन ठाउँमा सुरक्षा बार–पार गर्दै छिन्चु पुग्दा दिनले कालो बर्को ओढ्यो । अब के गर्ने ? भोलि बिहान त हेलिकप्टर उड्छ । हामीले एउटा दुस्साहास गर्‍यौं, छिन्चुमा आर्मीलाई गमगढी हिँडेको पत्रकारहरूको टोली आउँदै छ भन्ने खबर गरिदिन अनुरोध गर्‍यौं र बाटो लाग्यौं ।

सुर्खेत छिर्ने बेला सुरक्षा फौजको ‘यसरी राति नहिँड्नू’ भन्ने धम्कीपूर्ण सल्लाहमा कुनै प्रतिक्रिया नजनाएपछि मात्र हामी बजार छिर्न पायौं । सात बजे सधैं बसिरहेको होटलमा पुग्दा त्यहाँ सुनसान थियो । अरू बेला हामीलाई स्वागत गर्न आइपुग्ने होटलका मालिकसँग ढोका खोलिदिन अनुरोध गर्‍यौं । यस्ता बेला राति राति हिँडेको भनेर एक फन्को गाली गरेपछि मात्र उनले हामीलाई होटलभित्र छिर्न दिए । हामीले ठान्यौं, ‘पाहुनाको स्वागत सत्कार गर्नॅपर्छ’ भन्ने मूलमन्त्र भएको यो व्यवसाय त यस्तो भयो भने जीवितजस्तो लाग्ने वस्तु देख्नेबित्तिकै गोली ठोक्नू भन्ने आदेश पाएकाहरूको बोली कस्तो सुनियोस् र !

खाना खान होइन, होटलभित्र पस्न पाएको खुसियाली र भोलिपल्ट गमगढी उड्न पाइने आशामा हामी भुसुक्क निदायौं ।

भोलिपल्ट बिहानै हामी सुर्खेत विमानस्थल पुग्यौं । विमानस्थल सुनसान थियो । सम्पर्क गर्ने व्यक्तिहरूको नामोनिसान थिएन । एकछिनमा विमानस्थलमा रोकिएको हेलिकप्टरमा चामलका बोरा हाल्न थालियो । यतिन्जेल बनाएका सबै सम्बन्धहरू भजाएपछि हामीलाई ठाउँ दिन एक/एक सय केजीका दुई बोरा चामल घटाइए । हामी लाग्यौं राराको आकाश हुँदै गमगढी ।

गमगढी ओर्लंदा मानिसहरू चामलको बोरा बोक्ने पालो आउँछ कि भनेर हेर्दै थिए । हामी भने अम्मकलाका लोग्नेलाई खोज्दै थियौं । अहँ उनको पत्तो थिएन । गमगढीमा हामी पुगेकै दिन सार्वजनिक सुनुवाई रहेछ । प्रजिअसहित सबै कार्यालय प्रमुखहरू जम्मा भएको सुनुवाइमा एमाले अध्यक्ष प्रेमबहादुर मल्लले अनुरोध गरे, ‘शिक्षकलाई स्कुल जाऊ, अरू कर्मचारीलाई गाउँ जाऊ भन्ने बेला होइन यो, सदुरमुकाम आऊ भन्ने बेला हो । सुरक्षाकर्मीले त आफ्नो ज्यान बचाउन नसकेर भागेर हिँडेका छन् भने अरूको के कुरा भयो र ? त्यसैले सीडीओ सापले सकेसम्म, मिलेसम्म सबैलाई सदरमुकाममै हाजिर गर्न मिल्ने व्यवस्था गर्नुपर्‍यो ।’ यसले दुनैमा झैं गमगढीमा पनि सबै कार्यालय र कर्मचारी यतै छन् भन्ने छनक दियो ।

गमगढीमा शरण लिन मुगुको खत्याड भेग र जुम्लाको सिञ्जातिरबाट आएका मानिसहरू खाना र बासको खोजीमा थिए । हामी भने हराएका अम्मकलाका श्रीमान्को खोजीमा थियौं । श्रीमान् भेटिएको खबर दिन पाए अम्मकलाको खुसीको सीमा रहने थिएन । तर, न त शरण लिइरहेकाहरूले खोजेको कुरा भेटे न हामीले अम्मकलाका लोग्नेलाई भेट्यौं । मुगुबाट इन्सेकका लागि काम गर्ने जीवन सेजुवालको प्रयास पनि यतिबेला काम लागेन ।

‘सुर्खेतमा भेटिएलान् कि ?’ उनैले आशा देखाए ।

‘गमगढीमा माओवादीले आक्रमण गर्दै छ रे ?’ भन्ने हल्ला चलेपछि सदरमुकाममा सबैको मुख अँध्यारो थियो । हामी नजिकका गाउँ र खेततिर गयौं । धान काटिरहेका भामबाडाका मानिसहरूले भने, ‘खाना खानु नपर्ने भए अनिकाल लाग्ने थिएन ।’ तर, हामीले सुन्यौं, ‘पद नचाहिने भए मान्छे मर्नुपर्ने थिएन ।’

‘खाना र पद’ यिनै दुई थिए मानिस मारिने मुख्य कारण । ‘माओवादीले आजै हान्छ, भोलि हान्छ’ भन्ने हल्लाबीच हामी दुई दिनभन्दा बढी गमगढी बस्यौं । ‘अब मुगु आउने चामलको कोटा सकिन लाग्यो । त्यसपछि हेलिकप्टर यता आउँदैन । तपाईंहरू जान पाउनुहुन्न । त्यसैले तपाईंहरू झर्दा राम्रो,’ प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाको सल्लाह मान्दै हामी सुर्खेत झर्‍यौं ।

‘जुम्ला र मुगुबाट भागेर आएकाहरू खाद्य संस्थान नजिकैको चउरमा बसेका छन्,’ सुर्खेतमा हामी बस्ने होटल साहुबाट यत्ति इसारा पाएपछि हामी लाग्यौं चउरतिर ।

बिहानको खाना खाने बेला भएको थियो । पकाएको होइन अलिअलि भिजेको चामल उनीहरूका लागि चौरासी व्यञ्जन थियो । यही व्यञ्जन थाल, कागज, बाल्टीको बिर्को जे भेटिन्छ त्यसैमा पस्किएर कसैको डर, धाक र धम्कीबेगर खान पाउनु उनीहरूका लागि स्वर्गको अनुभूति हुने बेला थियो ।

हामी चुपचाप सोधिरहेका थियौं, यता कतै अम्मकलाका श्रीमान् भेटिएलान् ? यो चउरको भीड चुपचाप थियो । तर, उनीहरू गफ गरिरहेका थिए । आवाज आउँदैनथ्यो, गफ सुनिँदैनथ्यो, तर अनुहारमा एकअर्काको कुरा बुझेको भाव थियो ।

हामी धेरै बेर बसेपछि यो चुपचाप तोडियो र आवाज आयो, सुक्कसुक्कको । अनि आँखाबाट बलिन्द्र धारा आँसु पोखिए । सुर्खेतको चउरले नबिर्सेको भए पनि आउने विस्थापितहरूले योभन्दा अघि आएका विस्थापितहरूलाई सुनाएको व्यथा निकै कहालीलाग्दो थियो । त्यति वेला यहाँ बगेका आँसुको भेल भेरीमा नमिसिएको भए अझै पनि जमिन ओसिलो हुँदो हो ।

विराट जुम्लाकी हर्केनी बुढागाउँको खबर र आफन्तमाथि भएको ज्यादती बोलेर होइन, आँसुले व्यक्त गर्दै थिइन् । माओवादीहरूलाई आधा बाली बुझाउने र भन्नासाथ खाना खुवाउनु त परेकै थियो, अब उनीहरूले पिटाइ पनि खानुपर्ने भयो । यस्तो पीडामा पनि केही गर्न नसकी निरीह बन्नुपर्ने हाम्रो अवस्थाप्रति थोरै दया लाग्यो ।

‘कि त पाटीमा हिँड भन्दा, कि त घर छोडी जाऊ भन्दा,’ साउतीमै हर्केनीले यहाँ आउनुको पीडा पोखिन् ।

छेउमै बसेकी उनकी देउरानी माघे बुढाले काखे नानीलाई देखाउँदै थपिन्, ‘उनीहरू भोकाया छन्, पख पख भन्दाछौं, के गन्ने त ?’ माघेको प्रश्न हामीतिरै सोझियो । ‘जन्ता त मर्‍यो त । माओवादी मर्‍यो भन्छन् जन्तै मर्‍या देखिन्छ, आर्मी मर्‍यो भन्दाछन् जन्तै मर्‍या देखिन्छ ।’ सत्र हजार मानिस मारिएपछि दुवै पक्षले हामी एकै हौं भनेर थाहा पाएको कुरा माघे र हर्केनी बुढाको सामान्यज्ञानले पहिल्यै देखेको थियो ।

‘कठै आफ्ना त मर्ने दिन आइगया छिया, यिनको के हुने हो ?,’ केटाकेटीतिर देखाएर हर्केनीले कुराको बिट मारिन् । कर्णालीको यही अवस्था थियो, देशका अन्य भेगका मानिसहरूले ‘काम गर्ने बेला’ भन्ने उमेरमा कर्णाली भने ‘मर्ने बेला’ भयो भन्न बाध्य थियो ।

धपाइएका पहाडवासी सुर्खेतमा । तस्बिर : सुशील मैनाली

सुर्खेतको चउरमै बस्ने मुगु, सेरीका बाँचे बुढालाई कामको खाँचो थिएन । हातपाउ बसेका थिएनन् । यही चउरमा पनि राडी बुन्न व्यस्त थिए । तर भन्थे, ‘केटाकेटी बौलाउन लाग्या छन्, मै बौलाएको छु । कहिले केटाकेटी भोक लाग्यो भन्दा, कहिले जोई भोक लाग्यो भन्दा, कहिले छोरो भोक लाग्यो भन्दा, कहिले छोरी भोक लाग्यो भन्दा, कहिले भाइ भोक लाग्यो भन्दा, कहिले दाइ भोक लाग्यो भन्दा, हाँसने मान्ठ देख्दा अचम्मले मद्दा छौं ।’

बाँचेले जस्तै पीडा पोख्न एकै सास काफी थियो यो चउरमा बसेका सयौं मानिसलाई ।

अम्मकलालाई सुनाउने खबर यो चउरमा पनि मिलेन । मानिसका पीडा र थकानले चुर भएका हामी बेलुका होटल पुग्यौं । खाना खाएर सुत्ने तरखर गर्दै गर्दा सुर्खेतको आकाशमा नाइटभिजन हेलिकप्टर उड्यो । भोलिपल्ट बिहानै पत्रकार गोविन्द कोइरालाले सुनाए— ‘राति गमगढी हानेछन् ।’

हामी हेलिकप्टर चढेर गमगढी पुग्यौं । दुई दिनअगाडि देखेको गमगढी र आजको गमगढी हेर्दा लाग्यो— ध्वस्त पार्न बुद्धि र समय धेरै चाहिँदैन ।

यसपटक मुगुमा कस्तो त्रास थियो भने अम्मकलालाई सुनाउने राम्रो खबर पाइएला कि भनेर खोजी गर्न हामीले सकेनौं ।

प्रकाशित : कार्तिक ६, २०७८ १०:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×