यसरी तयार भयो 'कालो केशमा रेलिमई...'- फिचर - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यसरी तयार भयो 'कालो केशमा रेलिमई...'

गायक दिनेश ढकाल भन्छन्- पहिलो गीत नै भाइरल हुन्छ भन्ने लागेको थिएन
रीना मोक्तान

काठमाडौँ — गितार बजाउँदै गीत गाउनु दिनेश ढकालको रुची हो । आफू कुनै दिन गायककै रुपमा चिनिनसक्छु भन्ने उनलाई कहिल्यै लागेको थिएन । तर गायकको रुपमा चिनिने रहर नभएको भने चाहिँ होइन । लकडाउनमा समय कटाउने मेलोको रुपमा आफूले लेखेको गीत 'कालो केशमा रेलिमई, बाँधेको रिबन...' युट्युव र टिकटकमा भाइरल भएपछि भने उनी दंगदास छन् ।

साथीभाइ माझ गितारको धुनसँगै गीत गुन्गुनाउँदा उनलाई कताकता 'म नि गीत रेकर्ड गर्न सक्छु कि !' भन्ने लाग्थ्यो । समयसँगै गायक बन्ने सपना अन्तै मोडिएपनि कोरोना महामारीबीच भएको लकडाउनमा उनले केही गीतका शब्द कोरे । त्यो मध्ये लोक लयमा कोरिएको 'कालो केशमा रेलिमई' अहिले युवापुस्ताको जिब्रोमा झुण्डिएको छ ।

खासमा कोरिएका गीतहरु मध्ये रेकर्डिङका लागि अन्तिम प्राथमिकतामा थियो, 'कालो केशमा रेलिमई' । पपगीत गाउन रुचाउने उनले पहिला पप शैलीकै गीतको रेकर्डिङलाई प्राथमिकतामा राखेका थिए । उनी आफ्ना गीत 'आर्टमाण्डु'सँगको सहकार्यमा निकाल्न चाहन्थे । संगीतमा छुट्टै खालको प्रयोग गरिरहेको आर्टमाण्डुका कामहरुले उनलाई तानेको थियो ।

आर्टमाण्डुसँग जोडिने हुटहुटीबीच उनको भेट अंकितबाबु अधिकारीसँग भयो । मनमा उब्जिएका अनेकौं संशयलाई पन्छाउँदै उनले आत्मविश्वास बटुलेर अंकितलाई भेटे । आफ्नै कम्पोजिसनमा तयार पारेका सबै गीतहरु सुनाए । सबै पप ट्युनका गीत सुनाइसकेपछि अन्त्यमा सुनाए 'कालो केशमा रेलिमई' । सो ट्युन सुनेपछि अंकितले अरुलाई थाँति राखेर त्यही गीतमा काम गर्न सल्लाह दिए ।

'उहाँले भन्नु भएपछि अलिकति गीतप्रति आत्मविश्वास बढ्यो । उहाँले यो गीत राम्रो छ भन्नुभयो,' दिनेश सम्झिन्छन् ।

गुल्मीका दिनेश लोकगायक झलकमान गन्धर्वबाट प्रभावित छन् । त्यसैले उनको गीतमा गन्धर्वकै मेलोडी झल्किन्छ । सारंगीको धुनको मिठासपूर्ण प्रयोग गरिएको छ । उनले आफ्ना गीतमा नेपालीपन दिन खोजेका थिए । मौलिक स्वाद पस्कन चाहन्थे । त्यसैले लामो समय गन्धर्वका गीतहरुको स्वअध्ययन पनि गरे ।

'त्यसैको नतिजा हो, यो गीत,' मुसुक्क हाँस्दै उनले भने । लोक भाकामा कम्पोज गरिएको गीतमा शार्दुल श्रेष्ठले पश्चिमा संगीतले सास भरे । 'म गुल्मीको भएकाले लोकगीत राम्रै गाउन सक्छु भन्ने थियो । कालो केशमा रेलिमई भनेको त टिपिकल मेलोडी भएको गीत । दर्शकले बुझुन् भनेर मैले सरल शब्दको प्रयोग गरें । गाउँ-ठाउँको मौलिक शब्दहरु खोज्दै जाँदा यो गीत तयार भयो,' दिनेशले सुनाए ।

उनले रेकर्डिङका लागि तयारी सुरु गरे । गीतको पहिलो डमी तयार भयो । तर, भिडियोलगायतका अन्य काम गर्न भने फेरि भएको लकडाउन बाधक भइदियो ।

गीत रेकर्ड गरिसकेपछि उनले निर्देशक मानव सुवेदीसँग भेटे । सुवेदी आफैं मौलिक काम गर्न रुचाउने व्यक्ति । नविन र राम्रो काम गर्न चाहने दुईको सोच मिल्यो । गीत सुनिसकेपछि सुवेदीले भने, 'गन्धर्वको कोखबाट आएको गीतजस्तो छ । काम पनि त्यही अनुसारले गर्नुपर्छ ।' त्यसपछि बन्यो भिडियोको कन्सेप्ट ।

भिडियोका लागि उनले कलाकारमा अल्का सुवेदी, राजन न्यौपानेलाई पक्का गरे । गीत राम्रो बनेकाले चलेका कलाकार राख्न सल्लाह दिनेहरु धेरै थिए । तर, गीत बलियो भए भिडियो आफैं चल्छ भन्नेमा आशावादी थिए दिनेश ।

'पहिलो गीत निकाल्दैछु ठूला स्टार ल्याउन सकिएन । अल्कालाई मैले नै अनुरोध गरें । राजन न्यौपाने मेरै जिल्लाको । म नयाँ छु । यदि म यो गीतबाट उठ्छु भने अरु २/३ जना नयाँहरुलाई उठाउनुपर्छ भन्ने आत्मविश्वास कता-कता थियो,' उनले सुनाए ।

दिनेशले भने झैं 'कालो केशमा' बोलको गीत चर्चामा आएसँगै गीतमा अभिनय गरेका कलाकारको खोजी गर्ने बढेका छन् । दिनेश आफैं पनि भिडियोमा देखिएका छन् । कहिल्यै क्यामेराको सामना नगरेका उनलाई भिडियोमा देखिन गाह्रो भएको थियो । नयाँ कलाकारहरुको अनुभव लगभग उस्तै थियो । सिनेमेटिक फिल्म झैं लाग्ने भिडियोमा प्रयोग गरिएका थुप्रै जम्पकट र दृश्यहरुको बिम्बात्मक प्रयोगले गीतसँगै कथा सरल रुपले बगेको छ ।

गीतको भिडियो खिच्न १५ दिन लागेको दिनेश बताउँछन् । 'गीत रेकर्डदेखि भिडियो तयार पार्न लामो समय लाग्यो । आर्थिक अभावकै कारण काम भनेको समयमै गर्न सकिएन । गीतको तयारी थालेको लगभग ९ महिनापछि मात्रै गीत सार्वजनिक हुनसक्यो,' यसोभन्दा उनको अनुहारमा छुट्टै उत्साह छाएको थियो । 'सुस्त गतिमै गीत बन्यो । पहिलो डमी पुसमा रेकर्ड भएको थियो । लगभग ९ महिना लाग्यो । ९ महिना त बच्चा पनि जन्मिन्छ,' उनले भने ।

अन्तत: फूलपातीको दिन गीत रिलिज भयो ।

भिडियो रिलिज भएको दोस्रो-तेस्रो दिनसम्म भ्यूज सुस्त थियो । टिकटकमा भटाभट भिडियो बनाउन सुरु भएपछि भने गीत भाइरल हुने बाटो तर्फ अग्रसर हुनथाल्यो ।

२५ गते गीत सार्वजनिक गरेर २६ मा दिनेश आफ्नो थलो गुल्मी हिँडे । उत्साहित मन र आशावादी सोचसहित घर लागेका उनलाई बाटोमै दाइले टिकटकमा गीत भाइरल भइरहेको भनेर बधाई दिएका थिए । त्यसपछि उनले पनि टिकटक इन्स्टल गरेर आफ्नो गीतको लोकप्रियतालाई पछ्याउन थाले । चलेका कलाकारले समेत आफ्नो गीतमाथि टिकटक बनाएको देख्दा उनको मन गर्वले ढक्क फुल्यो । जीवनको पहिलो गीत नै यसरी चर्चामा आएपछि उनी चकित बने ।

टिकाको दिनदेखि गीत युट्युबको ट्रेन्डिङमा आयो । एक्कासी चर्चामा आएपछि उनी नर्भस नै भए । 'खुसी त भइन्छ नै । नर्भस पनि भएँ । म्यासेजहरु यति धेरै आउन थाल्यो कि के गर्ने भनेर अलमल्लमा परें । पहिलो गीत नै चर्चामा आउँदा म आफैं अचम्मित छु । तर, अहिले विस्तारै आत्मसात गर्दैछु,' २६ वर्षीय दिनेशले दंग हुँदै भने ।

'रेलिमई' गीतका लागि नौलो शब्द होइन । उनको गीतको भाका संकलित सुनिन्छ । पश्चिमतिर 'रेलिमई', 'बरी लै' जस्ता शब्दहरुको प्रयोग व्यापक हुन्छन् । आफ्नो गीतमा मिठास भर्न आफूले उक्त शब्दको प्रयोग गरेको उनी तर्क गर्छन् ।

'यस शब्दको बनावट नै यति सुन्दर हुन्छ कि त्यो सुन्दा छुट्टै मिठास अनुभव हुन्छ । त्यसैले कता-कता संकलित भाका पो हो कि भन्ने पनि हुनसक्छ । मेरो गीत सुन्दा गन्धर्वकै गीत हो कि भन्ने पनि लाग्छ,' उनले भने, 'लोकगीतमा अन्त्यानुप्रासका शब्दहरु राखिन्छ । अगाडि र पछाडिको अन्त्यानुप्रास मिलाउन राखिएको शब्दहरुको मिठास बेग्लै सुनिन्छ । जस्तै, 'असनैको रातो साडी, चार पाङ्ग्रे गाडी । किनिदिउँला सुनको चुरा बरु ऋणै काढी ।' अन्त्यानुप्रास मिल्दा छुट्टै आनन्द मिल्दो रहेछ । हो यो गीतमा मैले अन्त्यानुप्रासमा मिलाउन खोजेँ ।'

दिनेश हाल गुल्मीमै छन् । उनको गीतको चर्चा सुनेर गाउँले छक्क छन् । जीवनमा कहिल्यै सार्वजनिक कार्यक्रममा नदेखिएका उनले गीत गाउँछन् भन्ने कुरा धेरैका लागि आश्चर्य बनेको छ गाउँमा । भिडियोमा देखिएको लामो कपाल उनले काटेका छन् । केहीले उनीसँग तस्बिर पनि खिचाउन थालेका छन् । कसैले तस्बिर खिचाउन अनुरोध गर्दा उनलाई सेलिब्रेटी नै भएको भान हुन थालेको छ । यस्तै तस्बिर खिचाईको माग अनि गीतमा आइरहेको प्रतिक्रियाले दिनेश फुरुंग छन् ।

आफ्नो गीतलाई सबै उमेर समूहका स्रोता-दर्शकले रुचाइदिएकोमा उनी खुसी छन् । सरल शब्द र मेलोडीकै कारण दर्शकले गीतलाई रुचाइदिएको उनको ठम्याइ छ ।

'यो गीत सरल छ । मेलोडी छ । गीतमा प्रयोग गरिएका शब्दहरु मन छुने किसिमका छन् भन्दै प्रतिक्रिया आइरहेका छन् । मैले पनि गीतलाई राम्रैसँग गाए जस्तो लाग्दैछ,' उनले भने, 'नयाँ पुस्ताका दर्शकले मलाई म्यासेज गरिरहनुभएको छ । लोकगीतको शब्दहरुमा पश्चिमा शैलीमा दिन खोजेकाले गीत राम्रो लागेको भन्नुहुन्छ । हुन त लोकगीत नै हो । गीत चल्नुको अर्को महत्वपूर्ण कुरा त यसमा मनिष गन्धर्वजीले एकदमै राम्रो सारंगी बजाइदिनुभयो । कानलाई आनन्द होस् भनेर गीत तयार पारेको थिएँ । सायद सफल भएँ ।'

प्रकाशित : कार्तिक ४, २०७८ २१:४९
प्रतिक्रिया
पठाउनुहोस्

कृषि उपज बजारीकरणको सुनिश्चितता र भारतीय प्रतिस्पर्धा अन्त्य गर्न सुझाव  

कान्तिपुर संवाददाता

पर्सा — कृषि कर्मलाई ग्रामीण उद्यमको रुपमा विकास गर्न, कृषिउपज बजारीकरणको सुनिश्चितता र भारतीय कृषि उपजसँगको प्रतिस्पर्धा अन्त्य गर्नुपर्ने सुझाव सरोकारवालाहरुले दिएका छन् ।

बिहीबार वीरगन्जमा आयोजित अन्तरक्रियामा कृषि ज्ञान केन्द्र पर्साका प्रमुख मुनिलालप्रसाद कुशवाहाले जिल्लाका किसानले नगदेबालीको रुपमा उत्पादन गर्ने मेवा, गोलभेडा, च्याउ आदिले बजार नपाउने ठूलो समस्या रहेको बताए । उनले स्थानीय किसानले भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्नु पर्ने र बिचौलियाहरुले सिन्डिकेट खडा गरी उनीहरुको उत्पादन खरिद नगर्ने वा खरिद गरी हाले पनि अत्यन्त न्यून मूल्यमा खरिद गर्ने गरेकाले किसान अन्न बालीबाहेक नगदेबालीतर्फ आकर्षित हुन नसकिरहेको बताए ।

वीरगन्ज –३१ बेल्वाका अगुवा किसान नवलकिशोर झाले आफूले २ वर्षअघि मेवा र गोलभेडाको व्यावसायिक खेती गरेकोमा स्थानीय व्यापारीले नेपालीको तुलनामा भारतीय मेवा गुणस्तरीय हुने भन्दै आफूले उत्पादन गरेको मेवाको कम मूल्य निर्धारण गरेको गुनासो गरे । झाले बजार र उपभोक्ताको मागअनुसार कृषि उपज गर्न सरकारले आवश्यक कदम चाल्नु पर्ने सुझाव दिए ।

चेली कृषि सहकारी वीरगन्जकी प्रमुख कमला घिमिरेले आफ्नो सहकारीले २ वर्षयता व्यावसायिक च्याउ खेती गरेर स्थानीय थुप्रै महिलालाई रोजगारी दिने प्रयास गर्दै आएकोमा आवश्यक उपकरण तथा बिउबिजन पाउन हम्मे परिरहेको गुनासो गरिन् । वीरगन्ज महानगरपालिका कृषि विभागका प्राविधिक ओमप्रकाश रामले स्वदेशी किसानले भारतीय किसानसँगको प्रतिस्पर्धा अन्त्य नभएसम्म नेपालमा कृषिको व्यावसायिकरण हुन नसक्ने बताए । वीरगन्ज महानगरपालिकाका मेयर बिजयकुमार सरावगीले हुलाकीमार्ग निर्माण भएपछि सडकसँग जोडिएका किसानको कृषि उपजले बजार पहुँच पाउन थाले पनि त्यो अझै पर्याप्त नभएको बताए ।

कार्यक्रममा आयोजक ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना आर्थिक करिडोर कार्यालय बर्दिबासका प्रमुख चन्द्रप्रसाद रिसालले आयोजना नेपाल सरकार र इन्टरनेशनल डेवलपमेन्ट एशोसिएसनबीच २०७७ पुस ६ मा सम्झौता भई कृषि तथा पशुपन्छी विकास मन्त्रालय र्फत कार्यान्वयनमा आएको बताए । विश्व बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा २०७७ देखि ५ वर्षका लागि सन्चालन हुने आयोजनाले ग्रामीण उद्यमशिलता विकासलाई प्रोत्साहित गर्न ६ वटा प्रदेशका ५ प्रमुख आर्थिक करिडोर लक्षित आयोजना सन्चालन गरिएको उनले बताए ।

रिसालले आयोजना क्षेत्रका साना कृषि उत्पादकहरुमा बजार पहुँच सुदृढ गर्न कृषि मूल्य श्रृङ्खलाअन्तर्गत साना उत्पादक समूह/सहकारी/संघ तथा मध्यस्तकर्ता उद्यमीहरुबीच उत्पादनमूलक साझेदारी तथा बजार सम्बन्धको विकासमा सहजीकरणको काम पनि आयोजनाले गरिरहेको बताए ।

प्रकाशित : कार्तिक ४, २०७८ २१:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×