१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

१७ वर्षदेखि भेडा गोठमै अन्तरेको दसैं 

आनन्द गौतम

ताप्लेजुङ — आर्थिक उपार्जन गर्न परदेशिएका र नोकरी गरिरहेका कतिपयले दसैं मान्न पाइरहेका हुँदैनन् । ताप्लेजुङको फुङलिङ नगरपालिका-११ फावाखोलाका गोपाल विष्टल(अन्तरे) आफ्नो गृह जिल्लामा भएरपनि विगत १७ वर्षदेखि दसैं मनाउन पाएका छैनन् । घरमा आमाबुवा भएपनि उनले आफ्ना अभिभावकको हातबाट टीका लगाउन नपाएको १७ वर्ष भयो । 

१७ वर्षदेखि भेडा गोठमै अन्तरेको दसैं 

दसैं नमनाउने भएर वा मन नलागेर उनले मनाउन पाएका होइनन् । भोडाको गोठ लिएर लेक बेंसी गर्दै आएका अन्तरले गोठ छोड्न नपाउने भएकाले दसैं बिरानो बनेको हो । घरमा भएका वृद्ध बुबा, आमा, श्रीमती, छोरा, दाजु भाउजु र भाई बुहारीले रमाइलो गरी दसैं मानून भनेर फावाखोलाका अन्तरेले थुम्वा लगेका हुन् ।

भेडाको बथान घुमाउँदै फक्ताङलुङ गाउँपालिका-६ लेलेपको अम्जिलेसा पुगेका उनले विगत १७ वर्षदेखि वुवाआमाको हातको टिका जमरा थाप्न नपाएका हुन् । आफ्नै दुई वर्षीय सन्तानलाई पनि उनले दसैंको टिका लगाइदिएका छैनन् ।

कञ्चनजंघाको आधार शिविरवाट झारेको गोठ अहिले लेलेपको अम्जिलेसा पुर्याएका छन् । दसैं नजिकिद गर्दा उनीसँग गोठ झार्ने दुईवटा विकल्प हुन्छन् । एउटा, पाथीभराको हर्कटे क्षेत्र र दोस्रो, ग्याब्ला अम्जिलेसा क्षेत्र । हर्कटे क्षेत्रतिर लगे दसैंको बेला आफ्नो घर/गाउँ धुँवाएको देख्न पाउँछन् । अम्जिलेसा लगे बिलकुल छेलिन्छन । उनले दोस्रो विकल्प रोजे । दसैंको दिन घर पुग्न नपाउँदा र माथी डाडाँबाट टुलुटुलु हेर्नुपर्दा नराम्रो लाग्ने भएकाले छेलिने ठाउँमा भेडाको बथान झारेको उनी बताउँछन् । दाजुभाई मध्येका अन्तरे भाई भएकाले यसैबाट परिचित उनले गोठकै कारण दसैं मान्ने अवसर नपाएका हुन् । ‘म अहिले ३२ वर्षको भए, १७ वर्षदेखि चाँही दसैंमा घर पुगेको छैन,’ उनले भने ,‘त्यसभन्दा अघि त बुवाआमा सँगै भएर दसैं मनाइन्थ्यो ।’

‘तीन वर्ष त घर देखिने हर्कटे क्षेत्रमै गोठ लगें । तर, त्यो बेला दसैंको दिन गोठ छोडेर टिका लगाउन जान मन लाग्थ्यो । गोठ भने छाडिन । अर्को/अर्को वर्ष बानी पनि भयो,’ अन्तरेले भने । मोबाइल आएपछि फोन लाग्ने ठाउँमा गोठ झार्न थालेको उनले सुनाए ।

उनका बुवा कालीबहादुरले अन्तरे तेरो पालो आयो हैं भनेर फोनवाटै टिका लगाइदिएको पनि उनी भन्छन् । ‘चाडपर्वमा नरमाइलो त लाग्छ नी,’ अन्तरेले थपे, ‘यो त यस्तो काम रहेछ बाबुआमा मर्दापनि भेडा रुँगेर रुँदै बस्नुको विकल्प छैन ।’


बाँधेर राख्ने उपाय नभएको भेडा खुला ठाउँमा राखेर चरीचरन गराउँदै हिँडाउनु पर्ने भएकाले निरन्तर सँगै हुनुपर्छ । यो वर्ष अन्तरेसँग सुब्बा बाबै भनेर चिनिने चन्द्र केदेम छन् । सुब्बाचाँही दसैंमान्न अष्टमिको दिन घर फर्कन्छन् । घर छेउमै खर्क नभएकाले अन्तरेले दसैंकालागि कम्तिमा दुई/तीन दिनको बिदा पाउनु पर्छ ।

दसैंमा भेडा पालकले छुट्टि नपाउनुको अर्कोपनि कारण छ । असोज र कार्तिकमा अधिकांस भेडा सुत्केरी हुन्छन् । गर्भवती भेडाले राम्रो चौर खोजेर सन्तान जन्माउँछन् । भीरको नजिकतिर बच्चा पाए लडेर मर्ने सम्भावना ज्यादा हुन्छ । त्यसैले बच्चाको संरक्षणका लागि पनि योबेला गोठमै बस्नुपर्छ । ‘राति र दिउँसो सरोवर जस्तो जन्माउँछ,’ अन्तरे भन्छन्, ‘चरनमा गएको कतिपय फर्किन सक्दैन त्यसैले पनि पछिपछि हिँड्नुपर्छ ।’ आफ्नो गोठमा यतिबेला कम्तिमा नब्बे देखि एक सय बढी माउले बच्चा जन्माउने उनले बताए ।

भेडाका बथान अहिले ताप्लेजुङमा कम हुँदै गएको छ । फावाखोलाका पूर्व वडाध्यक्ष धनबहादुर विष्टका अनुसार १५ वर्ष अघिसम्म १२ वटा बथान फावा खोलाको एउटै गाउँमा थिए । स्थानीय एउटा बथानलाई एक चोक भन्छन् । नजिकमा भएरपनि गोठालाले चाडपर्व मनाउन नपाएको धनबहादुरको पनि अनुभव छ ।

प्रकाशित : आश्विन ३०, २०७८ १४:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?