१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४
आरोहीका कथा

सगरमाथाका मानव पुल

सगरमाथाबाट आफू पराजित भए पनि लिउ लियानमानले ‘सेकेन्ड स्टेप’ मा मानव पुल बनेर सहकर्मीहरूलाई जिताए। ‘क्लाइम्ब टु द टप अफ द अर्थ’ शीर्षकको प्रेरक कथा बनेर चिनियाँ प्राथमिक स्कुलको पाठ्यक्रममा जिताइए।
लक्ष्मी लम्साल

बेइजिङ — ‘कमरेड वाङ फूचौ,
पार्टी र देशले दिएको जिम्मेवारी पूरा गर्न नसकेकाले यो कार्यभार तिमीहरू तीनजनालाई सुम्पिन्छु। मेरो सिलिन्डरमा अलिकति अक्सिजन बाँकी होला। तिमीहरू तीनजना फर्किँदा प्रयोग गर्न काम लाग्ला।’

सगरमाथाका मानव पुल

लिउ लियानमानले चिठी लेखेर पन्जाभित्र लुकाए। सिलिन्डर बन्द गरेर आँखा चिम्लिए।

विश्वको सर्वोच्च शिखर सगरमाथाको उत्तरी मोहडाबाट आरोहणको कथाले यहाँबाट एउटा मोड लिन थाल्छ। सन् १९६० मे २५ तारिख ३ जनाको चिनियाँ पर्वतारोही टोलीले पहिलो पटक उत्तरी मोहडाबाट सगरमाथा आरोहणको इतिहास रहेको थियो। प्रश्रव वेदनाजस्तै २४ तारिख अपरान्ह ४ बजेबाट यो कथा शुरू हुन्छ। त्यहीँबाट वाङ फुचौ, कुङबु, छ्वी यिनह्वा प्रथम चिनियाँ आरोही बनेर ख्याती कमाए। तर सोही टोलीका एक सदस्य लिउ लियानमान भने इतिहास जित्नेहरूको मात्रै घोडा भनेजस्तै गुमनाम रहे। जब कि उनले त्यहाँ प्राण पनि त्यागेका थिएनन्।

....

एउटा ठाडो चट्टानमुनि ७ डिग्री तीव्र वेगको हावामा चार जना फसेका थिए। चट्टानमुनि ज्यादै सानो खोंचमा उनीहरूले दिन काटे। करीब ५ मिटर अग्लो चट्टानमाथि उनीहरूको ४ घण्टादेखिको अथक प्रयास असफल भयो। त्यहाँ टेक्ने समात्ने कुनै ठाउँ छैन, चारै जनाको सातोपुत्लो उड्न थाल्यो।

८ हजार ६०० मिटरको उचाइका हरेक पाइलामा धेरै पटक गहिरो र लामो श्वास-प्रश्वास गर्नुपर्यो। न्याना कपडा र उपकरणको भारीका साथ चट्टान नाघ्न खोज्नु आकाश छिचोल्नुजस्तै हुन जान्थ्यो। टोली प्रमुख वाङ फूचौले गहिरो सास लिएर अस्ताउँदै गरेको सूर्यतर्फ इंगित गरे, ‘छिट्टै अँध्यारो हुँदैछ। भोलि मौसम परिवर्तनको पूर्वानुमान छ। आरोहणको यो नै अन्तिम मौका हो।’

.....

पर्वतारोहणमा संलग्न चार जना सिपाहीहरू फरक फरक पृष्ठभूमिका थिए। काठ काट्ने कामदार थिए, छ्वी यिनह्वा। तिब्बती शिगात्सेका कुङ्बु जनमुक्ति सेनाका सैनिक थिए। लिउ लियानमान अग्निनियन्त्रक थिए। सैन्य तालिमप्राप्त कुङ्बुले भने, ‘माथि गएपनि वा तल फर्किएपनि मृत्यु नै रोज्नुपर्छ भने शिखरतर्फ अघि बढ्नु राम्रो हुन्छ।’

आरोहणको बाटो पहिल्याउने जिम्मा पाएका फायरम्यान लिउले व्यवधान हटाउने तरिकामा सुधार गर्दै एउटा योजना अघि सारे। अग्नि नियन्त्रणका क्रममा उनले पर्खाल नाघ्न र भवनमाथि चढ्नका लागि त्यस्ता उपायहरू अपनाउने गर्थे। अघि बढ्न नपाएर वा पछि हट्न नपाएर पर्वतारोहीहरू हायलकायल भइसकेका थिए। उनीहरू मरूभूमिमा पानीको मुहान खोजे जसरी हायलकायल भएर छट्पटाइरहेका थिए। लिउले सुझाए, ‘मानिसमाथि चढेर सिँढी बनाउने। धकेल्दै पालैपालो अरूहरू माथि उक्लिने र अन्तिममा माथि गएकाहरूले तान्ने।’

पर्वतारोहणका लागि विशेष जुत्ता प्रयोग हुन्छ। हिउँमाथि गाडिने खालका काँडा भएका जुत्ताले मानिसको शरीरमा टेक्नुजस्तो दर्दनाक अरू के हुनसक्थ्यो। टोली नेता वाङ फुचौ अन्यमनस्क भएपछि लिउले झस्काएर भने, ‘यस्तो आपत्कालीन अवस्था छ। सोचेरै बस्ने कि शिखर पनि चढ्ने?’आफ्नै साथीको शरीरलाई पुलेसो बनाएर बडो संकोचका साथ उनीहरू माथि उक्लिए। जुत्ता खोल्ने हो भने उनीहरूको खुट्टामा लेक लाग्ने भएकाले अशिष्टताको सीमा तोड्न विवश थिए।

लिउले मानिसलाई टेकेर सिँढी बनाउने तरिकामार्फत अरू तीनजना साथीहरूलाई ठाडो चट्टानबाट माथि उकासे। उनीहरूलाई क्रमशः काँधमा चढाएर माथि उकाल्ने क्रममा लिउ लखतरान परे। माथिबाट तीन जनाले डोरी तल खसाले, लिउले डोरी आफ्नो कम्मरमा बाँधेपछि लिउलाई पनि चट्टान माथि ताने। यतिञ्जेलसम्म अँध्यारो रातमा चारै पर्वतारोही अघि बढिरहेका थिए। लिउ अकस्मात् बेहोश भए। उनको अनुहार कालो नीलो भएको थियो। आँखा च्यातेर हेर्दा निकै कमजोर देखिए। उनले अघि बढ्न नसक्ने सूचना दिए। उनलाई हावा बहेतर्फको ढुंगा नजिकै ‘स्लिपिङ ब्याग’मा कोचेर अन्य साथीहरू अघि बढे।

लिउको कारूणिक संघर्ष यात्रा

महाकवि लक्ष्मीप्रसाद देवकोटाको 'मुना-मदन'मा बिरामी मदनलाई ल्हासाबाट फर्किँद साथीहरूले बाटैमा छोडेजस्तै लिउ पनि एक्लै भए। जीवनको प्रारम्भिक कालमा जतिखेर उनका बुबाको मृत्यु भयो, बच्चा हुर्काउन लिउकी आमाले विभिन्न गाउँ सहर टोलटोलमा गएर भीख माग्ने गर्थिन्। १३ वर्षको उमेरमा उनले गधाजस्तै जोतिएर धनीहरूको घरमा काम गरे, आमालाई पाले। तथापि आमा छोराको जीवनमा कुनै तात्विक स्तरोन्नति थिएन।

सन् १९४९ मा जनगणतन्त्र आउनुअघिसम्म उनको जीवन गरिबीको दुश्चक्रमा यथावत रहिरह्यो। उनी १८ वर्षको भएपछि जीवनमा परिवर्तन भयो। उनले सन् १९५२ देखि हाअरपिन मोटर कारखानामा काम गर्न पाए। सन् १९५४ मा आगो निभाउने तालिम लिएर कारखानाको ‘फायरम्यान’ बने। सन् १९५५ बलियो जीउडाल र अग्नि नियन्त्रणको क्षमताले चिनियाँ पर्वतारोहण टोलीमा सहभागी हुन पाए।

सन् १९५६ अप्रिलदेखि एक वर्षमा उनले चीनकै थाइपाइ पहाड, मुस्ताक शिखर, कुङका पहाड र यूरोपको सर्वोच्च शिखर माउन्ट एल्ब्रसको आरोहणमा सफलता पाए। केही वर्षमै दर्जनौ पटक मृत्युको मुख देखेका लिउलाई यसपटक चाहिं मृत्युको अन्तिम साक्षात्कार जस्तो लाग्यो। आकाशका ताराहरूले फैलाएको मधुरो प्रकाशमा उनले नोटबुकमा अन्तिम चिठी लेखे। जसमा आफ्नो कार्यभार पूरा गर्न नसकेकोमा ग्लानि र जिम्मेवारी नबिर्सन सहयात्रीहरूलाई अनुरोध गरिएको थियो।

सगरमाथामाथि विजय

पर्वतारोही लिउले त बिदाई चिट्ठी लेखेर आँखा बन्द गरे। तर अरू तीनजनाले यात्रालाई निरन्तर अघि बढाएका थिए। हिमालय श्रृंखलामा उक्लिँदा उनीहरूको शरीर सामानहरू घटाएपनि गह्रुङ्गो भइरहेको थियो, पाइला पाइलामा रोकिएर श्वासप्रश्वास गरेर प्राण भर्नुपर्दथ्यो। अन्ततः सन् १९६० मे २५ तारिख बिहान ४ बजेतिर उनीहरूले सगरमाथा विजय गरे। झोलाबाट पाँच तारे लाल झण्डा निकालेर फहराए। झण्डा र माओको मूर्ति शिखरमा एउटा ठूला ढुंगा नजीकै राखे। १५ मिनेट शिखरमा बसेपछि फर्कने क्रममा छ्वी यिनह्वाले दायाँ हातको पन्जा उतारेर भिडियो क्यामेरा चलाए। त्यसैबेला उनले दुबै खुट्टाका दशऔंला र दायाँ हातको चोर औंला गुमाए। फर्किने क्रममा उनीहरूले लिउलाई भेटे जो सिलिन्डर बन्द गरेर बेहोश भएर लडेका थिए। तर चमत्कारको कुरा उनी जुरूक्क उठे। उनीहरू एकआपसमा भेटिएर रोए।

...

चिनियाँ पर्वतारोहण टोलीले मानवजातिको इतिहासमा पहिलोपटक उत्तरी मोहडाबाट सगरमाथा आरोहण गरेको थियो। त्यसअघि विदेशी पर्वतारोहण टोलीहरूका यात्राहरू दोस्रो चरण मानिने चट्टानमा पुगेर रोकिने गर्थे। उप्रान्त सन् १९७५ मा चिनियाँ पर्वतारोहण टोलीले पुनः उत्तरी मोहडाबाट आरोहण गर्दै दोस्रो चरण मानिने ठाउँमा सिँढी राखेपछि अबको यात्रा सहज भएको छ।

पर्वतारोहणको काम सकेपछि टोली नेता वाङ फूचौ यसै विधामा लागे। सम्बन्धित शिक्षा र तालिममा जुट्दै पर्वतारोहण संघको नेतृत्वमा पुगे। टोली सदस्य कुङ बु तिब्बतमा जंगली जनावर संरक्षण संघका उपनिर्देशक भए। छ्वी यिनह्वाले चीनका विभिन्न क्षेत्रमा खेलकुदसम्बन्धी काम गर्दै पर्वतारोहण संघको सदस्य पनि रहे। १३ वर्षजति पर्वतारोहणको क्षेत्रमा योगदान गरेका लिउ सन् १९६३ मा जनगणतन्त्र चीनको १४औं वार्षिकोत्सवमा सहभागी भएर माओसँग भेटे। त्यसको एक दशकमा उनी बिरामी भएकी अर्धाङ्गिनीको हेरचाहका लागि हाअरपिन पुगे। सन् २०१६ को अप्रिलमा ८२ वर्षको उमेरमा त्यहीँ उनले प्राण त्यागे। मृत्युवरण गर्नुअघि कुनै बेला उनले टिभी अन्तर्वार्तामा भने, ‘मेरो जीवनको सबैभन्दा ठूलो पश्चात्ताप भनेको सगरमाथा आरोहणमा असफल हुनु हो।’

इतिहास जित्नेहरूको मात्रै घोडा होइन। जित्न प्रयास गर्ने, अरूलाई जिताउन मरिमेट्नेहरूको पनि घोडा हुनुपर्छ। सगरमाथाबाट आफू पराजित भएपनि लिउले ‘सेकेन्ड स्टेप’ मा मानव पुल बनेर सहकर्मीहरूलाई जिताए। ‘क्लाइम्ब टु द टप अफ द अर्थ’ शीर्षकको प्रेरक कथा बनेर चिनियाँ प्राथमिक स्कुलको पाठ्यक्रममा जिताइए। सन् १९३३ मा जन्मिएका लिउको जिन्दगीको प्रारम्भिक संघर्ष र कारूणिक कथा अनि जीवनभरि राष्ट्रका लागि बुनेका गाथाले मात्रै पनि सगरमाथाका पराजित सिपाही कुनै विजेता भन्दा कम छैनन्। सगरमाथाका मानव पुल भनेर उनका कथाहरू फैलिइरहेका छन् ।

प्रकाशित : आश्विन ३०, २०७८ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?