रोटे पिङ संरक्षणमा युवा पुस्ता- फिचर - कान्तिपुर समाचार

रोटे पिङ संरक्षणमा युवा पुस्ता

हरिराम उप्रेती

गोरखा — शहिद लखन गाउँपालिका–८ छापथोककी सुनमायाँ श्रेष्ठलाई गाउँमा पिङको आवाज ठोक्किएपछि बल्ल दसैं भित्रिएको महसुस हुन्छ । ७५ वर्षीय श्रेष्ठ सानैदेखि पिङको सौखिन छिन् । भन्छिन्,‘सानैदेखि रोटेपिङमा मच्चिने बानी परेको छ । यतिका उमेर भएपनि पिङ राखेपछि खेलुँ–खेलुँ लागिहाल्छ ।’

दसैंमा गाउँ बस्तीमा रमाइलो गर्ने माध्यम पिङ बनेको छ । रोटे, जातेँ, लिंगे पिङको ग्रामिण भेगमा आफ्नै महत्व छ । युवायुवती भेला भएर पिङ राख्न जुटछन् । दसैंको टिकाको दिन धर्ति छाड्नुपर्छ भन्ने जनविश्वास पनि रहँदै आएको छ ।

पिङ राख्ने परम्परालाई निरन्तरता पाएको गाउँमा चार पिर्के रोटे पिङ राख्ने प्रचलन छ । छापथोकमा भने आठ पिर्के रोटे पिङ राखिएको छ । काठैकाठबाट बनेको पिङमा रंगरोगन गरिएको छ । पिङको मज्जा लिन युवायुवती, बालबच्चादेखि वृद्धवृद्धा सम्म पछि परेका छैनन् । पिङले गाउँमा दसैंको रौनक नै बेग्लै बनाएको शहिद लखन गाउँपालिका–८ का रुद्रबहादुर श्रेष्ठ बताउँछन् । ‘घरमै बसेर के रमाइलो हुनु,’उनले भने,‘भुराहरु आउँछन्, पिङ खेल्छन्, हाहा हुहु गर्छन्, छुट्टै मज्जा हुन्छ नी ।’


विगतका वर्षजस्तो गाउँ–गाउँमा रोटे पिङ देखिदैनन् । केहि गाउँका स्थानीय युवाहरुको अगुवाइमा भने परम्परालाई निरन्तरता दिँदै रोटे पिङ संरक्षण गरिएको छ । गोरखा नगरपालिका–८ सिमलगैरीमा झण्डै १० वर्षपछि पिङको आवाज गाउँमा ठोक्किएको छ । लोप हुन लागेको पिङ राख्ने परम्पराले यस वर्षबाट निरन्तरता पाएको गोरखा नगरपालिका–८ का वडा अध्यक्ष कृष्ण केसीले बताए । सिमलगैरीमा यो वर्ष रोटे, जाँते र लिंगे तीनवटै पिङ राखिएको उनले बताए । ‘बिचको १० वर्ष पाका पुस्ताले चासो देखाएनन्, युवापुस्ताले मेसो पाएनन्, ’उनले भने, ‘यो वर्ष फेरि परम्परा जिवितै राख्नुपर्छ भनेर युवा, पाका सवै मिलेर पिङ राख्यौँ ।’

गत वर्ष कोरोना कहरले पिङ हाल्न नपाएकाहरु पनि यस वर्ष गाउँको रोटे(चर्खे) र लिंगे पिङले उत्साहित छन् । कोरोना जोखिम मथ्थर भएपछि यस वर्ष युवादेखि पाका पुस्ता सम्मले जाँगर निकालेका छन् । पाका पुस्ताबाट युवाले पिङ राख्ने ‘कला’ सिकेका छन् ।


छापथोकमा झण्डै ३० वर्षको अन्तरालपछि २०७६ बाट रोटे पिङ हाल्ने प्रचलनलाई निरन्तरता दिएको स्थानीय युवा राजेश श्रेष्ठ बताउँछन् । ‘३० वर्ष सम्म खम्बा मात्र थियो, निर्माण समिति बनाएर लोपन्मुख अवस्थामा रहेको रोटेपिङ र जाँतेपिङको संरक्षण गरेका हौं,’ श्रेष्ठले भने । युवाहरुले पिङ संरक्षणमा अग्रसरता देखाएपछि वन समूहले काठ उपलब्ध गराएको उनले बताए । ‘पछिका सन्ततीहरुले पनि पुरानो संरचना देख्न पाउँछन्,’ उनले भने,‘हामी युवा पुस्ताले पनि जुवातास, विकृति विसंगतिमा भुल्नुभन्दा पनि पिङलाई मनोरञ्जनको साधन बनाउनुपर्छ भन्ने सोचेर पिङमा जोड दिएका हौँ ।’

पालुङटार नगरपालिका–९ सिस्नेरीका युवाहरुले वर्षौदेखिको पिङ हाल्ने प्रचलनलाई यस वर्ष पनि निरन्तरता दिए । सिस्नेरीस्थित फेदी चौताराको रोटेपिङ उत्त भेगमा दसैंको आकर्षण बन्दै आएको छ । ‘कोरोनाले गत वर्ष रोकिएको थियो, यस वर्ष निरन्तरता दियौँ,’ स्थानीय युवा कृष्ण थापाले भने, ‘फेदी चौतारामा पिङ हाल्ने प्रचलन निकै पहिले देखिको हो, पाका पुस्ता र युवाहरु मिलेर यो संस्कृति जोगाएका छौँ ।’

पाका पुस्ताबाट युवापुस्तामा पिङ हाल्ने सिप हस्तान्तरण भएको छ । विगतका वर्ष गाउँका बस्ती पिच्छेका रोटे पिङ लोप भएका छन् । केहि गाउँमा भने युवा पुस्ताको सक्रियतामा पिङको संरक्षण गरिएको छ ।

प्रकाशित : आश्विन २८, २०७८ १३:२४
प्रतिक्रिया
पठाउनुहोस्

ठगी मुद्दामा बलिउड अभिनेत्री नोरा र ज्याकलिनमाथि अनुसन्धान

एजेन्सी

नयाँदिल्ली — बलिउड अभिनेत्री तथा डान्सर नोरा फतेही र जेकलिन फर्नान्डेजमाथि ठगी मुद्दामा अनुसन्धान हुने भएको छ । उनीहरुलाई भ्रष्टाचारविरुद्ध सरकारी निकाय प्रवर्तन निर्देशनालयले उनीहरुलाई अनुसन्धानका लागि बोलाएको छ ।

नोरा हालै निर्देशनालयको कार्यालयमा अनुसन्धानका लागि जँदै गरेको तस्बिर समेत सार्वजनिक भएको छ । जेकलिन भने शुक्रबार मात्रै कार्यालयमा उपस्थित हुने बताइएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार यसअघि ठगी मुद्दामा पक्राउ परेका कलाकार सुकेश चन्द्रशेखर र लिना पलसँग फतेही र फर्नान्डेजको सम्बन्ध हुनसक्ने भन्दै अनुसन्धान गर्न थालिएको हो ।

चन्द्रशेखर र लिना यसअघि नै २०० करोड ठगी र फिरौती मुद्दामा पक्राउ परिसकेका छन् । सोही मुद्दामा अभिनेत्रीद्वयको हात हुनसक्ने आशंका गर्दै उनीहरुमाथि पनि अनुसन्धान गर्न थालिएको हो ।

चन्द्रशेखर र लिनालाई फोर्टिस हेल्थकेयरका प्रमोटर शिविन्दर सिहंको परिवारबाट करिब २०० करोड रुपैयाँ ठगी गरेको आरोपमा दिल्ली प्रहरीले गिरफ्तार गरेको थियो । चन्द्रशेखर यसअघि पनि अन्य थप्रै मुद्दामा मुछिएका छन् । १७ वर्षको उमेरदेखि नै आपराधिक गतिविधमा सक्रिय उनीमाथि दर्जनौ मुद्दा परेका छन् । उनलाई हाल नयाँदिल्लीस्थित रोहिणी जेलमा राखिएको छ ।

प्रकाशित : आश्विन २८, २०७८ १३:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×