चोयामा सीप देखाउँदै, आम्दानी गर्दै- फिचर - कान्तिपुर समाचार

चोयामा सीप देखाउँदै, आम्दानी गर्दै

अगन्धर तिवारी

पर्वत — अर्घाखाँचीको पाणिनी गाउँपालिका–५ बाट ४ वर्षअघि कुमारबहादुर विक कामको खोजीमा घर छोडे । गाउँमा रहँदा घरायासी सीप सिकेका थिए । तर कतै काम लागेन । अरू सीप थिएन । डोको, डालो, भकारी, नाम्लो बुन्ने सीप काम नलागेपछि उनलाई अर्काको निम्नस्तरको काम गर्न मनले मानेन ।

उनै विक अहिले पर्वतमा उद्यमी बनेका छन् । कुनै बेला कामको खोजीमा देश चाहार्दा भनेजस्तो काम नपाएका विकसहित अर्घाखाँचीकै अरू आधा दर्जन युवाले पर्वतमा आफ्नो सीपको भरपुर सदुपयोग गरेका छन् । गाउँघरमा अन्नपात राख्न नभई नहुने डालो, भकारी, कोठी, थुन्से, डोको, नाम्लोलगायत सामग्री उत्पादन गरेर ४ वर्षदेखि आफ्नो सीप बेचिरहेका छन् ।

पर्वतका वनपाखामा प्रशस्तै बाँस पाइने भएकाले त्यसकै चोयाबाट उनीहरूले यस्ता सामग्री उत्पादन गर्दै आएका हुन् । कात्तिकदेखि पुससम्म किसानले धान र कोदो थन्क्याउने भएकोले यो सिजनमा भकारी, थुन्से र डाला–नाङ्लाको माग बढी हुन्छ । आफ्नै हातले तयार पारेका भकारी प्रतिगोटा एक हजारदेखि २८ सय रुपैयाँसम्ममा बिक्री गरेको कुमारसँगै भकारी बुन्दै गरेका झपेन्द्र बिकले बताए । भदौको अन्तिम सातादेखि विभिन्न गाउँमा पुगेर बाँस संकलन गर्ने उनीहरूले असोज र कात्तिकभर यस्ता सामान बनाउँछन् । मंसिर लागेसँगै पर्वत र बागलुङका विभिन्न गाउँमा डुलाएर बिक्री गर्ने झपेन्द्रले बताए ।

‘सिजनमा अरू थुप्रैलाई रोजगारी दिएको छु,’ उनले भने, ‘अरू बेलाको बाँसको चोया काम लाग्दैन । धुलिया लाग्छ । यही सिजनमा काटेर चोया काढ्नुपर्छ । बुन्ने र बेच्ने सिजन पनि यही हो ।’ पुसपछि खासै बिक्री नहुने भएकोले उनले गाउँमा यस्तै सीप भएका युवालाई यो सिजनमा यहीं बोलाउँछन् । मंसिरसम्म काम गरेपछि युवा खेती थन्क्याउन गाउँमै फर्किन्छन् । फागुनपछि असारसम्म यहि कामका लागि गाउँबाट युवा आउँछन् । भदौदेखि कात्तिक र फागुनदेखि असारसम्म गाउँमा खेतीपातीको काम नहुने भए पनि सीप भएका युवाले डोका, डालो, भकारी बुनेरै मासिक १८ हजार रुपैयाँसम्म आम्दानी गर्छन् । यो सिजनमा काटेको बाँस र काढेका चोया पानीमा भिजाएर फागुनसम्म डोका, डाला, भकारी, थुन्से बुन्न मिल्ने उनले बताए ।

स्थानीय सीता पौडेलका अनुसार उनीहरूले उत्पादन गरेका सामग्री खरिद गर्न कुश्मा, पोखरा, बागलुङका विभिन्न गाउँबाट समेत व्यवसायी र उपभोक्ता आउँछन् । ‘धेरैजसो त उहाँहरूले बाहिरै लगेर बेच्नुहुन्छ,’ उनले भनिन्, ‘कतिपयले यहिं आएर किन्छन् ।’ उनीहरूले यहाँ उत्पादन गरेका सामाग्री टिकाउ र आकर्षक हुने भएकोले धेरैको आकर्षण हुने गरेको उनले बताइन् । स्थानीय चित्रसागर श्रेष्ठले झपेन्द्र सहितका युवाले यहाँ घरेलु सामाग्री उत्पादन गर्न थालेपछि गाउँबाट आधुनिक र प्लास्टिकको उत्पादनका सामग्री विस्थापित भएको बताए ।

मोदी गाउँपालिका–६ दोबिल्लामा यस्तो व्यवसायमा संलग्न कुमारसहित ६ युवाले उपभोक्ताबाट प्रोत्साहन पाए पनि स्थानीय निकायले बेवास्ता गरेको गुनासो गरे । स्थानीय निकायबाट पाइने सुविधा, सहुलियत फरक जिल्लाबासी भएकै कारणले नपाउँदा दुःख लागेको सुनाए । ‘हामी विदेशबाट आएका होइनौं,’ कुमारले भने, ‘यहाँ बिदेशबाट भिसा लगाएरै आएको हो कि जस्तो व्यवहार भएको छ ।’ केहि महिनाअघि गाउँपालिकामा कोभिड विरुद्धको खोप लगाउन जाँदा आफू जन्मेकै गाउँ जानु भन्ने जवाफ पाएपछि निराश हुँदै फर्किनु परेको नमिठो अनुभूति कुमारले सुनाए । ‘अरू सहुलियत र अनुदानको हामीलाई कुनै आस छैन । पाखुरा बजारेर खान पाए हुन्छ,’ झपेन्द्रले भने ।

प्रकाशित : आश्विन २५, २०७८ १२:०६
प्रतिक्रिया
पठाउनुहोस्

पुरातात्त्विक सम्पदा बग्दै भारततर्फ

बुद्धकालीनभन्दा अघि मानव बस्ती रहेको प्रमाण दिने ऐतिहासिक भग्नावशेष बर्सेनि बाढीमा
माधव ढुंगाना, मनोज पौडेल

भैरहवा/कपिलवस्तु — बुद्ध जन्मस्थल लुम्बिनीदेखि झन्डै आठ किलोमिटर दक्षिणमा रहेका बन्जरही, निपनिया र पैसीया गाउँमा रहेका पुरातात्त्विक भग्नावशेष र सम्पदा बगेर भारततर्फ गइरहेका छन् । बुद्धकालीनभन्दा अघि मानव बस्ती रहेको प्रमाण दिने ऐतिहासिक भग्नावशेष र पुरातात्त्विक सम्पदा बर्सेनि नदीमा बग्ने गरेका हुन् ।

यसरी यहाँका पुरातात्त्विक सम्पदा धेरै लोप भएका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ मा पर्ने यी गाउँको संरक्षण र दानव नदीको कटानलाई नियन्त्रण नगरिँदा पुरातात्त्विक सम्पदा लोप हुँदै जान थालेका हुन् । बर्सेनि दानव नदीमा आउने भेलमा पुरातात्त्विक सम्पदा बग्ने गरेका छन् ।

लुम्बिनी क्षेत्रका वरिष्ठ पुरातत्त्वविद् वसन्त बिडारीले यी गाउँमा बुद्ध जन्मिनुभन्दा अगाडिको प्राचीन बस्ती रहेको बताए । उनका अनुसार त्यहाँ फेला परेका भग्नावशेष र पुरातात्त्विक सम्पदाले प्राचीन मानवबस्तीको साथसाथै बुद्धको जीवनीपछि बुद्ध तीर्थस्थलहरू जानका लागि तीर्थयात्रीले प्रयोग गर्ने प्राचीन मार्गसमेत रहेको देखिन्छ । ‘तर, पुरातात्त्विक यी स्थलहरूको संरक्षण गर्नमा सरकार धेरै पछि पर्‍यो । धेरै पुरातात्त्विक अवशेष नदीमा बगिसके,’ उनले भने, ‘यदि संरक्षण नगरेर यस्तै अवस्था कायम रहने हो भने पुरातात्त्विक यी स्थलको नामोनिसान मेटिएर पुरातात्त्विक प्रतिवेदनमात्रै रहनेछ ।’ अझै पनि पुरातात्त्विक केही सम्पदा बचेकाले यी स्थलहरूको तत्काल संरक्षण गरी अन्वेषण र वैज्ञानिक ढंगबाट अध्ययन गर्न अति जरुरी रहेको उनले बताए ।

भारत सहयोग नियोगका तर्फबाट सन् १९६४ मा भारतका प्रख्यात पुरातत्त्वविद् प्रोफेसर सन्तराम बालचन्द्र देवले बन्जरही र पैसियाको उत्खनन गरेका थिए । बन्जरहीमा उनले माटोको भाँडा पाएका थिए । ती भाँडाहरूलाई देवले सातौं शताब्दी बीसीको भनेर उल्लेख गरेका छन् । नेपालको पुरातत्त्व विभागले सन् १९६८ मा प्रकाशित गरेको ‘नेपाल तराईको पुरातात्त्विक अनुसन्धान’ नामक पुस्तकमा पुरातत्त्वविद् देवले ती स्थललगायतका स्थानमा गरेको उत्खननका बारेमा उल्लेख गरिएको छ ।

पैसियामा उनले थुम्का थुम्का भएको स्थानमा उत्खनन गर्दा तीनवटा मन्दिरको अवशेष पाएका थिए । कुँदिएको इँटाहरू पाइएको थियो । ती मन्दिर चौथो शताब्दी इस्वीको भएको उनले उल्लेख गरेका छन् । निपोनियामा उत्खनन भएको छैन । उनले यसलाई प्राचीन मानवबस्ती भनेका छन् । यसपछि यी स्थलको उत्खनन र अध्ययन हुन सकेको छैन ।दानव नदी कटान नियन्त्रणका लागि तटबन्ध र तारजालीलगायतको कुनै पनि पहल अहिलेसम्म गरिएको छैन । दानव नदी त्यस स्थानदेखि दक्षिण हुँदै भारततर्फ बगेको छ । केही वर्षअघि त्यस स्थलमा फेला परेका दर्जनभन्दा धेरै इनारका भग्नावशेष सबै बगिसकेका छन् ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी ती स्थलमा पाइएको भग्नावशेष र पुरातात्त्विक सम्पदा मोहनजोदारो र हरप्पा सभ्यतासँग मिल्दोजुल्दो रहेको बताउँछन् । ती स्थानका पुरातात्त्विक सम्पदाले सातौंदेखि ११ औं शताब्दीको नदीमुखी मानवबस्ती र मानव सभ्यतालाई देखाएको र अध्ययनका क्रममा यस क्षेत्रमा रहेका माटाका संरचना भारतको हस्तिनापुरको समकालीन भएको निचोड देवले निकालेको उनले बताए ।

‘ती स्थल पुरातात्विक र प्राचीनकालको रहेकामा कुनै शंका छैन,’ स्थानीय बासिन्दा समेत रहेका उपाध्यक्ष त्रिपाठीले भने, ‘दानव नदीको कटानलाई रोक्न नसक्दा हामीले देख्दादेख्दै पनि चार/पाँच वटा प्राचीन इनारको भग्नावशेष बगाइसक्यो ।’ हिउँदको बेला दानव नदी किनारमा पैदल हिँड्दा माटोका भाँडाकुँडा लगायतका सम्पदा अहिले पनि भेटिने गरेको उनले बताए । त्यतिबेलाको लुम्बिनी सभ्यता बुझ्न र लुम्बिनी, कपिलवस्तु, देवदह, भारतमा पर्ने सराबस्ती, बोधगया, राजगीर, नालन्दा र पाकिस्तानमा रहेको तक्षसिलालगायतका बौद्ध तीर्थस्थलको भ्रमणका लागि बौद्ध तीर्थयात्री हिँड्ने रुटअन्तर्गत रहेको प्राचीन मानवबस्ती र गाउँ ती स्थल भएको अनुमान त्रिपाठीको छ । उनका अनुसार बुद्ध जन्मस्थल लुम्बिनीमा सम्राट् अशोक आई स्तम्भ राख्नु र अशोक स्तम्भमा लुम्बिनी ग्रामको कर हटाइएको कुरा उल्लेख गरिनुले त्यतिबेला यी स्थल मानवबस्ती तथा सहरका रूपमा रहेको देखाउँछ ।

यी सबै पुरातात्त्विक स्थलको उद्गम स्थल लुम्बिनी भएकाले बुद्धको जीवनीसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जोडिएका सबै स्थलको संरक्षण गर्न राजपत्रमा प्रकाशित गरी योजना बनाउने तयारी गरिएको उनले बताए । ‘१९६४ मै ती स्थलको अध्ययन भएर पुरातात्त्विक महत्त्वको भएको जानकारी भएर पनि अहिलेसम्म संरक्षणको पहल नगरिनु दुर्भाग्य हो,’ उपाध्यक्ष त्रिपाठीले भने, ‘संरक्षणमा भएको बेवास्ता र ढिलासुस्तीले ती स्थलमा पाइएका धेरै ज्ञान, सभ्यता र इतिहास नदीमा बगेर विलय भए ।’

स्थानीयले यहाँ भेटिएका माटाका केही भाँडा र संरचना लुम्बिनी विकास कोषलाई उपलब्ध गराएका थिए । उनीहरूले उपलब्ध गराएका पुरातात्त्विक संरचना कोषले सुरक्षित राखेको उपाध्यक्ष त्रिपाठीले बताए । बुद्ध जीवनीमा सरोकार राख्ने रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीमा मात्रै २ सय ३५ भन्दा धेरै पुरातात्त्विक सम्पदा पत्ता लागेका छन् । धेरै स्थलको खोज–अनुसन्धान भने हुन सकेको छैन ।

दुई वर्षअघि नदी छेउमा पाँच फिटजति अग्लो माटोको रिङ भेटिएको तर संरक्षण गर्नेतर्फ कसैको ध्यान नगएकाले नदीले बगाएको स्थानीय दिलीपकुमार श्रीवास्तवले बताए । ६९ वर्षीय स्थानीय रमेशचन्द्र श्रीवास्तव आफू सानो छँदा माटोको घैंटामा सुनचाँदी भेटिएको र पछि त्यो हराएको बताए । यसरी भेट्टाएको सामान कसैले घरमा लगेर राखेमा उसको घरमा शुभ नहुने मान्यता स्थानीयमा रहेकाले पनि सम्पदाको संरक्षण हुन नसकेको उनले सुनाए । ‘तीन दशकअघि तीन किलोमिटर परबाट बग्ने नदी अहिले सम्पदा क्षेत्रबाट बगिरहेको छ,’ उनले भने, ‘नदीले पछिल्ला वर्षमा अझ तीव्र गतिमा कटान गरिरहेको छ । कटान नियन्त्रणको माग बारम्बार स्थानीयले गरे पनि कसैले सुनेको छैन ।’

नदी कटानले सम्पदा क्षेत्रको अस्तित्व मात्रै संकटमा नभएर स्थानीयको घरजग्गा पनि जोखिममा परेको स्थानिय बासिन्दा बताउँछन् । नदी कटान हुनुअघि यहाँ धेरै पुराना घर, माटोका भाँडा, बाकस, सुनचाँदी, शिवालय मन्दिर, इनारहरू भेटिएका थिए । कुनै–कुनै स्थानमा मानव कंकालहरूसमेत फेला परेको स्थानीय बताउँछन् । ‘लगभग आठ–दस वर्षअघि एउटा ठूलो बाकस भेटिएको थियो, उचाल्न नै नसकिने,’ स्थानीय प्रकाश गुप्ताले भने, ‘त्यो पनि वर्षाका बेला नदीको भेलमा बग्यो ।’

ती स्थलहरू पुरातात्त्विक स्थल नै भएको र संरक्षण, अध्ययन र अनुसन्धान गर्ने दायित्व पुरातत्त्व विभागको भए पनि आर्थिक अभावले काम गर्न नसकिएको पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतमले बताए । नदी कटान नियन्त्रण गरी पुरातात्त्विक सम्पदाको लोप हुन नदिन विभागले तत्काल एउटा टोली खटाएर ती स्थलको नक्सांकन गरी संरक्षणका लागि सम्बद्ध निकायलाई पत्राचार गर्ने उनले बताए । ‘त्यहाँ नदी कटान रोक्न पुरातात्त्विक संरचनाको संरक्षण गर्न ठूलो रकम लाग्ने भएकाले यसका लागि पटक–पटक लुम्बिनी विकास कोषलाई अनुरोधसहित पत्राचार गरिएको छ,’ उनले भने, ‘तीनै तहका सरकारले आफ्नो क्षेत्रमा रहेका पुरातात्त्विक स्थलको अध्ययन, संरक्षण र उत्खननका लागि हातेमालो गरेर अघि बढ्नुपर्छ ।’

कतै खेतीपाती, कतै घर

जति उत्साह र उमंग लिएर काठमाडौंबाट गणेश केसी तिलौराकोट घुम्न आएका थिए, यहाँको लथालिंग अवस्था देखेपछि उनी निराश भएका छन् । बुद्धस्थल कन्थक स्तूपनजिकै खेतमा बेवारिसे पुरातात्त्विक महत्त्वका भाँडाकुडा देखेपछि उनी निराश बनेका हुन् । कपिलवस्तु नगरपालिका–३ तिलौराकोट नजिकै खेतमा प्राचीन भाँडाकुँडा हेर्दै उनी चिन्तित बने । ५/७ सेन्टिमिटर नखन्दै भेटिने पुरातात्त्विक वस्तु खेतमै बेवारिसे अवस्थामा छन् । यस्तो अवस्था जिल्लाका धेरै ऐतिहासिक र पुरातात्त्विक स्थल वरिपरि रहेको बताइन्छ । संरक्षण अभावमा महत्त्वपूर्ण पुरातात्त्विक वस्तु नष्ट हुने जोखिम बढ्दा पुरातत्त्वविद् चिन्तित बनेका छन् ।

यहाँका ऐतिहासिक र महत्त्वपूर्ण पुरातात्त्विक स्थल कति अतिक्रमणमा परेका छन् । बुद्धसँग सम्बन्धित स्थलका जग्गा दिनानुदिन साँघुरिँदै गएका छन् । स्थानीयले पुरातात्त्विक जग्गामै छाप्रो हालेर बसेका छन् । कतिपयले पक्की घर नै बनाएका छन् । कहीं खेतीपाती गरिरहेका छन् । कतै खलिहान बनेका छन् ।

कपिलवस्तु संग्रहालयको स्वामित्वको लालपुर्जा रहेको र लुम्बिनी विकास कोषले रेखदख गरिरहेको पुरातात्त्विक स्थलको अवस्था यस्तो रहेको हो । पुरातात्त्विक स्थल सगरहवा सबैभन्दा बढी अतिक्रमणमा परेको छ । ५६ बिघा ११ कट्ठा क्षेत्रफल रहेको सगरहवाको ७ बिघा बढी जग्गा सुकुम्बासीले अतिक्रमण गरेका छन् । कपिलवस्तु नगरपालिका–९ मा पर्ने उक्त ठाउँमा १०/१५ वर्षअघि ४/५ जनाले छाप्रो राखेर बस्न सुरु गरेको ठाउँमा अहिले ५६ घर निर्माण भइसकेका छन् । प्रत्येकले १ देखि ४ कट्ठा जग्गा ओगट्दै घर र खेतबारी बनाएका छन् ।

कौशलका राजा प्रसेनजितको विवाह शाक्यहरूले झुक्याएर दासीपुत्रीसँग गरिदिएका थिए । प्रसेनजितका छोरा विरुद्धक मामाघर प्राचीन कपिलवस्तु आउँदा आमा दासीपुत्री भएको थाहा पाएपछि क्रोधावेशमा आई सयौं शाक्यको हत्या गरेको इतिहास पाइन्छ । त्यसैले सगरहवालाई सामूहिक बध स्थल भनिन्छ । पछि डा. फ्युहररले उत्खनन गर्दा त्यहाँ १७ वटा स्तूप भएको प्रकाशमा ल्याएका थिए ।

कपिलवस्तु नगरपालिका–५ मा रहेको वभनी कोटको ५ बिघा जग्गा विद्यालयले आफ्नो नाममा गराएको छ । २०२८ मा नापी हुँदा पुरातात्त्विक क्षेत्र भनी फिल्ड बुकमा उल्लेख गरिएको भए पनि धर्मभक्त निमाविले २०३७ सालमा उक्त जग्गाको लालपुर्जा लिएको देखिन्छ । वभनी गाउँदेखि दक्षिण–पश्चिम एक स्तूपाकार ढिस्को छ । त्यसको दक्षिणतर्फ प्राचीन इनार रहेको छ । यहाँ प्राचीन इँटा र माटोका भाँडाका टुक्रा यत्रतत्र छरिएका छन् ।

बुद्धभूमि–१० चेतरादेईमा रहेको पुरातात्त्विक स्थलको ४ बिघा जग्गा पनि अतिक्रमणमा परेको छ । भगवानपुर गाउँका १६ जनाले पुरातात्त्विक उक्त जमिनमा खेतीपाती गरिरहेका छन् । त्यस्तै ६/७ जनाले छाप्रो बनाएर बसेका छन् । पुरातात्त्विक क्षेत्र संरक्षण गर्न कपिलवस्तु संग्रहालयले फलामे बार लगाए पनि त्यसभित्रै खेती गरिरहेका हुन् । यहाँ विशाल त्रिकोणात्मक ढिस्कोको खण्डहर फैलिएको छ । यहाँ पाइएका माटाका भाँडा र अन्य सामग्री धेरैजसो सुङ्ग र कुषाणकालीन रहेको बताइन्छ । त्यसैले यी ठाउँ महत्त्वपूर्ण मानिएका हुन् । त्यस्तै कपिलवस्तु नगरपालिका–११ स्थित अरोराकोटको पनि पूर्व–उत्तर २ बिघा जग्गा अतिक्रमण गरी खेतीपाती गरेका छन् । अरौराकोटमा प्राचीन इँटाले बनेका किल्ला र त्यसको चारैतिर रहेका खाडलका अवशेष अझै पनि स्पष्टसँग देख्न सकिन्छ । भारतीय विद्वान् पुरातत्त्वविद् पीसी मुखर्जीले यस ठाउँलाई कनकमुनि बुद्धको नगर बताएका छन् । अरौराकोटको लम्बाइ ७५० फिट र चौडाइ ६ सय फिट रहेको छ । त्यस्तै मायादेवी गाउँपालिकास्थित सिसहनिया कोटको पूर्व, पश्चिम र उत्तर पुरातात्त्विक भग्नावशेष भएको ठाउँ व्यक्तिका नाममा छ । कपिलवस्तु नगरपालिका–२, लमतिया कोटको ५ बिघा जग्गा अतिक्रमण गरी खेतीपाती गरिएको छ । पुरातात्त्विक महत्त्वका अतिक्रमित जग्गा खाली गराउन योजना बनाउने काम भइरहेको लुम्बिनी विकास कोषका सदस्य सानुराजा शाक्यले बताए । ‘अब छिट्टै यो कागजमा मात्र नभई व्यवहारमा कार्यान्वयन पनि हुनेछ,’ उनले भने ।

प्रकाशित : आश्विन २५, २०७८ १२:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×