गोठको बासबाट मन्त्री

शिक्षण पेसा चटक्कै छाडेर राजनीतिमा पूर्णकालीन भएका रामसहाय यादवको बास अहिले पनि गोठमा छ, एकातिर गाईभैंसी छन्, अर्कातिर उनको परिवार छ 
लक्ष्मी साह

बारा — पाँच धुर घडेरीमा पिलर ठडिएको डेढ दशक बित्यो तर घर बनेन । जगमा घाँस उम्रिएको छ । छतमा चढ्ने भर्‍याङ त्यतिकै अधुरो छ । घरको छत नै ढलान नभएपछि भर्‍याङको अर्थ नै भएन । घडेरीमा पिलर ठडिनुअघि त्यहाँ फुसको सानो छाप्रो थियो । त्यही छाप्रोमा परिवारसहित खाँदिएर बस्थे– तीन दिनअघि वन तथा वातावरणमन्त्री बनेका रामसहायप्रसाद यादव । शिक्षण पेसा छाडेर राजनीतिमा लागेका यादव छाप्रोमै बस्दा पहिलो संविधानसभाताका २०६४ मा तत्कालीन मधेसी जनअधिकार फोरमबाट सभासद भएका थिए । 

गोठको बासबाट मन्त्री

सभासद भएकै बेला उनले पक्की घर बनाउन जग र पिलर उठाए । तर त्यो पिलरमा छत अझै ठडिएको छैन । पत्नी र तीन सन्तानसहित उनको परिवारको बास अहिले कलैया–५ मा गोठमा छ । बारा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत सिम्रौनगढ–९ कचोर्वा स्थायी घर भएका उनी पछिल्लोपटक क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । संघीय समाजवादी पार्टीबाट उठेका उनले दोब्बर मतले कांग्रेसका पुराना तथा प्रभावशाली नेता राधेचन्द यादवलाई पराजित गरेका थिए ।

‘सामान्य किसानका छोरा हुन् रामसहाय । शिक्षक हुँदै मन्त्री भएका छन्, निर्वाचन क्षेत्रमा उत्साह छ,’ यादवका गाउँले शिक्षक रामविलास साह तेलीले भने, ‘सरल, इमानदार र शालीन नेताका रूपमा हामी उनलाई चिन्छौं ।’ रामसहायलाई मन्त्री बनाइएकामा जिल्लाका कार्यकर्ता पंक्तिमा खुसियाली भए पनि उनकै परिवारमा खासै उत्साह देखिँदैन । उनले निकै ढिलो पालो पाएको र मूल्यांकनमा निकै समय लागेको गुनासो छ ।

‘कम समय र थोरै साधन स्रोतमा संगठन निर्माण, आन्दोलन र राजनीतिमा जति कष्ट गर्नुभयो त्यो अनुसारको पार्टीले मूल्यांकन गर्न सकेन । जनताको प्रत्यक्ष सरोकार राख्ने कृषि वा विकासमूलक मन्त्रालय दिएको भए हुन्थ्यो,’ रामसहायकी श्रीमती चम्पादेवीले भनिन्, ‘उहाँको राजनीतिक पहुँच बढाउन आफैं बालबच्चाको बोझ उठाएर गोठमै बसेर कष्ट गर्दै छु । हाम्रो बाँच्ने स्रोत गाईभैंसीको दूध हो ।’ मन्त्री पत्नी चम्पाले एउटा गाई र एउटा भैंसी स्याहार्ने आफ्नो दैनिकी रहेको बताइन् । दुई छोरा र एक छोरी पढ्दै छन् । ‘असन्तुष्टि पार्टी अध्यक्षज्यूलाई पनि सुनाउँछु,’ उनले भनिन् । मन्त्री रामसहाय यादव भने सन्तुष्ट छन् । ‘म मन्त्री बन्नुले गरिब तप्कालाई राजनीति गर्ने ऊर्जा मिलेको छ, त्यसैमा खुसी छु,’ उनले भने, ‘जेका लागि जिम्मेवारी मिलेको छ, त्यसमा परिवर्तन ल्याउँछु ।’ छाप्रो–गोठको बासदेखि मन्त्री निवाससम्मको बास पाउनु संघर्षले ल्याएको सौभाग्य भएको उनले बताए ।


२०४८ सालमा शिक्षण पेसामा प्रवेश पाएका यादव कलैया–५ घुसुकपुर टोलमा तिनै ठडिएको पिलर भएको पुरानो घडेरीको फुसको छाप्रोमा परिवारसहित बस्थे । घर छेउमै रहेको पन्नादेवी माविमा गणित र विज्ञान विषय पढाउँथे । त्यो बेला गजेन्द्रनारायण सिंह नेतृत्वको सद्भावना पार्टीसित नजिक थिए ।

उपेन्द्र यादवसित भेट भएपछि प्रभावित भएर अर्द्धभूमिगत राजनीति गर्न थाले । संगठन बनाउनमा जुटे । २०६४ मा उनले शिक्षक पदबाट राजीनामा दिए र फोरमका तर्फबाट पहिलो संविधानसभामा सामानुपातिक सभासद भए । सँगै पार्टीको स्थापनाकालदेखि महासचिव पदमा छन् । पटकपटकको मधेस आन्दोलनमा उनी सक्रिय थिए । फोरमको राजनीति सुरु गरेदेखि उनले घर बनाउन भ्याएनन् । घर खर्चले गाह्रो पर्न थालेपछि गाई र भैंसी पाल्न थाले । पुर्ख्यौली घर कचोर्वामा रहेको आफ्नो खेतका रूखबिरुवा बेचेर कलैया–५ गोरुबजार छेउमा १२ धुर जग्गा किने । त्यसैमा गाईभैंसी पालन गर्न गोठ बनाए । परिवारसहित त्यही गोठमा बस्न थाले । चम्पाले गाईबस्तु स्याहारिन्, उनीचाहिँ राजनीतिमा पूर्णकालीन भएर लागिपरे ।

प्रकाशित : आश्विन २५, २०७८ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?