१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

‘खर्च पुग्दैन, कसरी घर जाने ?’

दसैं मान्न घर फर्किनेको सहरमा लर्को छ तर सडक पेटी छेउछाउ मकै पोलेर बेच्नेहरुका अनुहारमा कुनै उत्साह छैन, कोरोनाको मारबाट सुकेको व्यापार र आम्दानीका बीच महँगो बन्दै गएको चाड मनाउन कसरी घर जाने हो, उनीहरुले हिसाब मिलाउन सकेका छैनन् । 
सीमा तामाङ

काठमाडौँ — सहरलाई दसैंको रौनकले छोपिसक्यो । हातमा नयाँ झोला र अनुहारमा उत्साह बोकेर कुदिरहेका यात्रुको लर्को सडकमा तन्किँदै गइरहेको छ । कालिकास्थानस्थित वरको बोट छेवैको सडक पेटीमा मकै पोलेर बेच्ने अम्बिकादेवी नेपालीलाई भने दसैंको यो रौनकले छोएको सम्म छैन ।

‘खर्च पुग्दैन, कसरी घर जाने ?’

उनलाई आफ्नै पीरको धूवाँले छोडेको छैन । मकै र कोइलासँग उनको साइनो जोडिएको २३ वर्ष भइसक्यो । यति नै वर्ष भयो उनलाई चाडको रौनकले फुरुंग पार्न छाडेको पनि ।

झापा मूल घर भएकी अम्बिकादेवीका निम्ति चर्को घाम, आगोको राप र सडकको धूलो स्थायी मित्रजस्तै भइसके । मंगलबार मध्याह्न भेट्दा उनी हरियो मकैको थुप्रोछेउ आगो फुकिरहेकी थिइन् । अरूलाई घर फर्किने हतारो थियो, उनलाई भने भोलिबाट बजारमा हरियो मकै पाइन छोड्छ कि भन्ने चिन्ताले छोपेको थियो । ‘अघिल्ला वर्षमा बाह्रैमास पाइने मकै यसपालि चाड आउन थालेपछि पाइनै छाडेको छ,’ उनले भनिन् । अझै केही दिनसम्म मकै पाइए त्यसैलाई पोलेर घर जाने खर्च जुटाउने उनको दाउ छ । बजारमा हरियो मकै नपाइए उनको पेसा पनि जोखिममा पर्छ । अनि त बेकामे भएर घर बस्नुको उनलाई विकल्प हुन्न ।

अम्बिकादेवीलाई दसैंको रौनक आउन टीकाकै दिन कुर्नुपर्छ । त्यसभन्दा अघिका दिन त उनी मकै पोल्नमै व्यस्त हुन्छिन् । अघिल्ला वर्ष अम्बिकालाई चाडको मुखमा यतिसारो धपेडी हुन्थेन । यसपालि कोरोना संक्रमणले महिनौंसम्म निषेधाज्ञा हुँदा उनी घरभित्रै थुनिइन् । व्यापार नभएपछि कमाइ हुने कुर भएन । कोरोना संक्रमणको असर उनको भान्सासम्मै आइपुग्यो । निषेधाज्ञाका बेला उनी केही समय त गाउँ नै गएर बसिन् । त्यो सकिएपछि सकिएपछि छोरासँग फर्किन् । श्रीमान् भने उतै छन् । उनका दुई छोरामध्ये एक जना वैदेशिक रोजगारीमा छन् । अर्को छोरा पनि विदेश जाने साइत कुरेर बसेका छन् । उनले भनिन्, ‘कोरोनाले गर्दा न विदेशमा कमाइ भयो, न नेपालमा । हामी जस्तालाई त सबैतिरबाट समस्या नै समस्या ।’

काठमाडौंको थापाथलीमा मकै पोल्दै गरेकी सीता लामा ।

दसैं मुखमै आइसकेपछि घर कसरी जाने, खर्च कताबाट जुटाउने भन्ने पिरलोले अम्बिकालाई छोपेको छ । सार्वजनिक सवारीको भाडा दर ह्वात्तै बढेको खबर सुनेर उनलाई घर पो कसरी गइएला भनेजस्तो भएको छ । सुनाइन्, ‘यो वर्ष त एक जनाकै बस भाडा १७/१८ सय भन्छन् ।’ कोरोनाको मारबाट सुकेको व्यापार र आम्दानीका बीच महँगो बन्दै गएको चाड मनाउन कसरी घर जाने हो, उनले हिसाब मिलाउन सकेकी छैनन् ।

त्रिशूली मूल घर भएकी सीता लामाको अनुहारमा पनि चाडबाडको उत्साह सुरु भइसकेको छैन । थापाथलीको सुकुम्बासी बस्तीमा बस्ने उनी थापाथली चोकमा मकै पोलेर बेच्छिन् । उनलाई पनि एउटै पिरलो छ, घर कसरी जाने होला ? लामो समय निषेधाज्ञा नभएको भए र सधैंझैं व्यापार भइरहेको भए सीतालाई दसैं खर्चले यतिविधि सताउने थिएन । निषेधाज्ञाका बेला कमाइ नभएपछि अरूको सहारामा बाँचेकी सीता हिजोआज मकै मात्रै पोलेर बेच्दिनन्, दुई–चार रुपैयाँ थप कमाइ होला भनेर अमला र डल्ले खुर्सानी पनि बेच्छिन् । ‘खानै पर्‍यो, लाउनै पर्‍यो, अरूले दिँदैन,’ उनले दुःख बिसाइन् ।

दैनिक ज्याला मजदुरीको काम पाइन छाडेपछि धेरै महिला मकै बेच्ने काममा आएको अनुभव छ– थापाथली चोकमा मकै पोलेर बेच्ने माइली वाइबाको । उनी आफैं पनि कोरोना संक्रमण अघिसम्म ज्यामीको काम गर्थिन् । काम पाउन छाडेपछि छाक जुटाउने चिन्ताबीच उनले १५ हजार खर्चेर ठेला किनिन् । अनि त्यसैमा मकै पोलेर बेच्न थालिन् । कहिले नगर प्रहरी त कहिले बाँदरको डरबाट बच्दै उनले मकै पोलेर घर खर्च जुटाइरहेकी छन् । भनेजति आम्दानी नहुँदा उनलाई यसपालि दसैं मान्न घर गइएला जस्तो लागेको छैन । उनले भनिन्, ‘योचोटि घर जान खर्च पुग्दैन, नजाने हो । किन नआको भन्ने नि कोही छैनन् ।’

प्रकाशित : आश्विन २२, २०७८ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?