२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

गुञ्जिन्छ अब बयको धुन

नेवारी संस्कृतिसँग जोडिएको काठका बाँसुरी धेरैले चिन्नै छाडे, बनाउनेहरु अरु पेसामा जाँदा फेरि यो वाद्ययन्त्र प्रयोगमा ल्याउनुपर्छ भन्नेलाई धेरै सिकाइ भइरहेको छ
दामोदर न्यौपाने

काठमाडौँ — बाँसको बाँसुरी त धेरैले देखेकै छौं । बजाएका पनि छौं । तर काठको पनि बाँसुरी हुन्छ भन्नेचाहिँ धेरैलाई थाहा नहुन सक्छ । विशेष नेवारी समुदायमा मात्र प्रचलित काठको बाँसुरीको धुन अचेल विरलै सुनिन्छ । चाबहिलका रुपेश शाक्य भने लोप हुनै लागेको यो बाँसुरीलाई ब्युँताउने अभियानमा छन् । ललितकला क्याम्पसमा स्नातक तह तेस्रो वर्षमा अध्ययनरत शाक्यले काठको बाँसुरी सिकाउन सुरु गरेका छन् ।

गुञ्जिन्छ अब बयको धुन

चाबहिलको चारुमती विहार छेउमा उनी हरेक दिन बेलुका बाँसुरी सिकाउने गर्छन् । ‘नेवारले मात्र बजाउने बाँसुरी हो यो,’ उनले भने, ‘नेवारले पनि बजाउन छाडेपछि यसलाई जोगाउनुपर्छ भनेर लागेको हुँ ।’ रुपेशले सानादेखि ठूलासम्मलाई बाँसुरी सिकाइराखेका छन् ।

कोही बेला नेवार समुदायको टोल–टोल गुञ्जने कालो बाँसुरी अचेल हराउँदै गएको छ । चाबहिल क्षेत्रभित्रकै जयबागेश्वरीमा काठको बाँसुरी हराएको वर्षौं भयो । यहाँ हुने सांस्कृतिक क्रियाकलापमा बाँसको बाँसुरी प्रयोग हुन्छ । बाँसको प्रयोग हुन थालेको पनि केही वर्ष मात्र भएको छ । कालो काठको हराएपछि कालै देखिने तर बाँसको प्रयोग हुन थाल्यो । पाइपको पनि हटाएर अहिले बाँसको प्रयोग हुन थालेको छ ।

कुटुबहालको धिमे खलमा पनि अचेल काठको बाँसुरी बज्दैन । चाबहिल खलमा भने आकलझुकल काठको बाँसुरी बज्ने गरेको छ । ‘चाबहिलमा काठकै बाँसुरी बजेको छ,’ रुपेशले भने, ‘यहाँ देखेको तर अन्त नदेखेको कारण पनि मलाई यो बाजा व्यापक बनाउनुपर्छ भन्ने लागेको हो ।’ काठको बाँसुरी बज्ने हाडीगाउँ, भक्तपुरलगायत ठाउँमा पनि बजाउने बूढापाका मात्र छन् । नेवार समुदायको खलः मा बाँसुरी सिकाए पनि यसलाई निरन्तरता दिने निकै कम हुन्छन् । उनले पनि ८ वर्षअघि खलः मा काठको बाँसुरी बजाउन सिकेका थिए । त्यहाँ सिक्ने ३० जना थिए । तीमध्ये रुपेशबाहेक कसैले पनि निरन्तरता दिएनन् । ‘तीन महिना सिकेर के गर्नु ?,’ उनले भने, ‘यो सिजनल बाजा होइन तर सधैंभन्दा बढी ञँलमा बजाइन्छ ।’

काठको मात्र होइन, बाँसकै बाँसुरी बजाउन पनि निकै कम भएको छ नेवार समुदायमा हुने जात्रा–पर्वमा । यसको मुख्य कारण निरन्तर बजाइनराखेर हो । ञँलबाहेक पूजापाठ, जात्रापर्वमा पनि बजाउने परम्परा रहे पनि अचेल घट्दै गएको छ । ‘ञँलमा एक महिना बजाएपछि घटस्थापना लाग्छ,’ रुपेशले भने, ‘बजाउन अर्को एक वर्ष कुर्नुपर्छ । बाँसुरी बजाइराख्नुपर्ने बाजा हो । त्यति बेलासम्म फुक्नै बिर्सन्छ । गीतको सरगम पनि बिर्सन्छ ।’

रुपेशले तीन महिना मात्र नभई यसलाई निरन्तर बजाइराख्ने गरी सिकाउने योजना बनाएका छन् । ‘एक महिना बजाएर बानी नै परेको हुँदैन । अर्को वर्ष बिर्सिसक्छ,’ उनले भने, ‘केही महिना मात्र नभएर लगातार सिकाइराख्ने योजना छ ।’ खलः मा परम्परागत रूपमा सिकाउनेभन्दा अझ व्यवस्थित तरिकाले सिकाउन खोजेको उनले बताए । बाँस र काठका बाँसुरी दुवै सिकाउने उनको योजना छ । सरगमको तालअनुसार छुट्याएर सिकाइराखेका छन् । बाँसुरीको तालअनुसार लिपिबद्ध गर्ने जाने योजना पनि छ । ‘सिकाउँदै, लिपिबद्ध पनि गर्दै जानेछु,’ उनले भने, ‘लिपिबद्ध गरेपछि आउँदो पुस्तालाई पनि लिखित रूपमै हस्तान्तरण गर्न सकिन्छ । यसो भयो भने लोप हुने खतरा कम हुन्छ ।’ लेखक शोभा तिवारी लोहनीका अनुसार यो बाँसुरी शुषिर वाद्य समूहमा पर्छ । काठको बाँसुरीलाई नेपाल भाषामा बय भनिन्छ ।

काठको बाँसुरी बाँसका तुलनामा सुरिलो आवाज निकाल्न उपयुक्त मानिन्छ । तर अहिले बजिरहेका बय भने सुरिलो आवाज ननिस्कने र बजाउन पनि निकै कठिन हुने गरेको रुपेशले बताए । ‘मिड, कण, गमक र मुर्की मिलाउँदै जानुपर्छ अब,’ रुपेशले भने, ‘यी तत्त्वले संगीतको सिंगार गर्छ । अब काठको बाँसुरीमा पनि संगीतको सिंगार भर्दै जानुपर्छ ।’ नेपालका नेवारहरू पुस्तकमा लेखक तुलसीनारायण श्रेष्ठले उल्लेख गरेअनुसार कुलु जाति नेवारी समुदायका चार जातमध्ये शूद्रमा पर्छन् ।

बाँसुरी बनाउन सतिसालको काठ सबैभन्दा उत्तम मानिन्छ । साजको काठको पनि बनाउने गरिन्छ । सतिसालको तुलनामा साजको चाहिँ कमसल गुणस्तरको मानिन्छ । काठको बाँसुरी तीन प्रकारको हुन्छ । पहिलो सबैभन्दा ठूलो बाँसुरीलाई घोर भनिन्छ । यो सामान्यतया २३ इन्चको हुन्छ । मध्यम खालको बाँसुरी मजवल हो । यो सामान्यतया १६ इन्चको हुन्छ । सबैभन्दा सानो टिप हो । यो सामान्यतया १२ इन्चको हुन्छ । बाँसुरी जति सानो भयो उति सुरिलो धुन निस्कन्छ ।

काठको बाँसुरीमा पनि बाँसको जस्तै एउटा फुक्ने प्वाल र ६ वटा धुन निकाल्ने प्वाल हुन्छन् । सुर मिलाउन पछाडि एउटा अर्को प्वाल पनि हुन्छ । तिवारीका अनुसार शुषिर वाद्य समूहमा बाँसुरी (बय), सनई, मुरली, बिन, मुहाली, पैता, ताः नागबेली, डेकु (सिङ), काउलिङ (फेरी), शंख, नरसिंगा, कर्नाल, मुर्चुङ्गा जस्ता बाजा पर्छन् । यी सबै फुकेर बजाउने बाजा समूह हुन् ।

प्रकाशित : आश्विन २१, २०७८ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?