‘नबिक्ने मूर्ति किन बनाउनु ?’- फिचर - कान्तिपुर समाचार

‘नबिक्ने मूर्ति किन बनाउनु ?’

विश्वकर्मा पूजा, नवरात्रि र सरस्वती पूजामा काठमाडौंलाई माटाको मूर्ति दिएका पण्डितलाई जसरी उमेर गलाउँदै छ, उनको मूर्तिको बजार पनि त्यसरी नै साँघुरिएको छ
बल्लतल्ल अलिअलि बिक्री भए पनि बनाएको लागत उठाउन मुस्किल
सुशीला तामा‌ङ

काठमाडौँ — पूजाहरूका भगवान्का मूर्ति बनाउनु, सकिएपछि लगेर खोलानालामा सेलाउनु तराईको चलन हो । माटोका मूर्ति फेरि माटोमै मिसाउन्जेल मान्छेका संस्कार–संस्कृतिको एउटा चक्रमात्रै पूरा हुँदैन, मूर्ति बनाउनेले फेरि अब कसको पूजा नजिक छ भनेर पात्रो हेर्छ । माटो र सजावटका सामान जोहो गर्छ । अनि फेरि बनाउँछ नयाँ मूर्ति । यस्ता माटोका मूर्तिहरू बनाएर नै पुरन पण्डितका पुर्खाले दैनिकी चलाए । विश्वकर्मा पूजा, दसैं, तिहार, सरस्वती पूजनाका लागि चाहिने भगवानका प्रतिरूप बनाउनु पुर्ख्यौली पेसा थियो । माटोसँग खेलेका बाबुबाजेको सीप हेर्दै हुर्केका पण्डितले पनि यही कलालाई पेसाका रूपमा नै निरन्तरता दिए । जीवनको ऊर्जाशील समय माटो कलामै खर्च गरे ।

सीपले गरेको आर्जनबाट घरखर्च टारे । छोराछोरी हुर्काए, उनीहरूलाई समेत आफ्नो कला सिकाए । काठमाडौं उपत्यकामा भगवानका मूर्ति बनाएर नै उनले २५ वर्ष बिताइसकेका उनी अब भने निराश छन् । ६५ वर्षीय पण्डितका पाखुराहरू शक्तिविहीन हुन थालेका छन् । उनी खुम्चिए जस्तै मूर्तिको बजार पनि साघुँरिदै छ । यसले गर्दा उनलाई पुस्तौंदेखिको माटोकलालाई अबका आफ्ना पुस्ताले छोड्छन् भन्ने लागेको छ । ‘अहिले पहिला जस्तो मूर्तिहरू बिक्न छोड्यो,’ उनी भन्छन्, ‘अहिले सामान र माटो ल्याउन गाह्रो छ । बल्ल तल्ल अलि–अलि बिक्री भए पनि बनाएको ज्याला र सामानको पैसा उठाउन मुस्किल छ ।’

यसबाट आउने आम्दानीबाट अहिले दैनिकी चलाउन कठिन रहेको पण्डितले सुनाए । यो वर्ष उनले एक सेट मात्र नवदुर्गाको मूर्ति बिक्री गरे । अघिल्लो वर्ष कोरोना महामारीले गर्दा एक सेट पनि बिक्री गर्न नसकेको उनको तितो अनुभव छ । त्यसभन्दा अघि प्रत्येक वर्ष उनले चार/पाँच सेट नवदुर्गाको मूर्ति मात्र बिक्री गर्थे । उनका अनुसार एक सेट नवदुर्गाको मूर्तिमा गणेश, सरस्वती, कार्तिकलगायतका भगवान्हरूको मूर्ति हुन्छन् । जसलाई उनी ४० देखि ५० हजार रुपैयाँसम्ममा बिक्री गर्छन् ।

यो वर्ष विश्वकर्मा पूजामा पनि उनले धेरै मूर्तिहरू बिक्री गर्न सकेनन् । तिहार र छठ पर्वलाई लक्षित गरेर गुसिङ्गल ललितपुरस्थित कारखानामा अहिले पण्डित र उनका छोराहरूले बनाएका मूर्तिहरू बिक्रीका लागि बजार पठाउने तयारीमा छन् । तर अहिले तयारी मूर्तिहरूले बजार नपाउने हो कि भन्ने पिरलोले उनलाई सताएको छ । सिरहा लाहान स्थायी घर भएका पण्डितका परिवारमा उनीसहित पाँच जना छोराहरू नै मूर्तिकलामा दख्खल छन् । र, पनि उनी पछिका पुस्ताले भगवानको मूर्ति बनाउनतिर नै निरन्तरता देओस् भन्ने इच्छा राख्दैनन् । उनी भन्छन्, ‘मेरो पो उमेर यसैमा गयो । केही कमाउन र जमाउन सकिएन । छोराहरूले अरू नै काम गरे केही गर्न सक्ला कि जस्तो लागेको छ । होइन भने काठमाडौंमा बस्न गाह्रो छ ।’

२०५३ सालतिर पण्डितले काठमाडौंमा ३ वटा नवदुर्गाको मूर्ति बनाएर यताको बसाइलाई स्थायी बनाए । उनले चिनेका एक जना साथीले मूर्ति बनाउन लगाएकाले उनलाई बिक्रीका लागि समस्या भएन । त्यसपछि उनले क्रमशः सातदेखि १८ वटासम्म मूर्ति बनाए । सबै बिक्री भएपछि यसैलाई पेसाका रूपमा अघि बढाउन उनले उत्साहका साथ सातदोबाटोमा कारखाना नै खोले । ‘त्यतिबेला काठमाडौंमा यस्तो मूर्ति बनाउनेहरू कोही थिएनन् । विश्वकर्मा र नवदुर्गाको पूजा गर्नेहरू पनि धेरै थिएनन् । माटो र बनाउने जमीन पाउन सजिलो थियो,’ उनले पुराना दिनको स्मरण गर्दै भने । अहिले तराईवासीको राजधानीमा बाक्लो बसोबासले गर्दा उनीहरूको सिको गर्दै विश्वकर्मा तथा नवदुर्गाको उत्सवमा पूजा गर्नेहरूसँगै मूर्ति बनाउनेहरू पनि सोही संख्यामा बढे । यसले गर्दा बजारमा मूर्ति बेच्न गाह्रो परेको उनले बताए । त्यसमाथि उपयुक्त माटो अभावको पिरलो त छँदै छ ।

पण्डितका अनुसार सुरुवातका दिनमा उनले राजधानीमा मूर्ति सुरु गर्दा माटो सजिलैसित पाइन्थ्यो । मूर्तिमा प्रयोग गरिने रंग, गरगहना, पहिरन सुपथ मूल्यमा भारतबाट ल्याइन्थो । अहिले उनलाई माटो पाउन गाह्रो छ । मूर्तिमा बनाउँदा चाहिने पराल, डोरी तथा बाँस, काठको जोहो गर्न त्यस्तै खर्चिलो छ । अहिले साँखुबाट माटो ल्याएर मूर्ति बनाइरहेका पण्डितको परिवारले कारखानाको भाडा मात्र मासिक ४० हजार बुझाउनुपर्छ ।

मूर्ति सजावटका लागि चाहिने सामान लिन भारत जानुपर्ने बाध्यता अझै कायमै छ । ‘मूर्ति बनाउने काममा मेहनत र खर्च धेरै छ । सधैं बिक्री पनि हुँदैन । यो सिजनल काम जस्तै हो । यो वर्ष नवदुर्गाको मूर्तिमा उल्टै १५ हजार घाटा लाग्यो,’ पण्डितका छोरा रामनारायणले दुःखेसो पोखे । उनका अनुसार नवदुर्गाको एक सेट मूर्ति तयार गर्न मात्र दुई जनालाई २० दिन जति समय लाग्छ । आफ्नो बाबुको शेषपछि मूर्तिकलाको काम नै छोड्ने उनले सोचेका छन् । उनका अरू चार दाजुभाइको समेत यही सोचाइरहेको उनले सुनाए । ‘छोराहरूलाई यही नै काम गर भनेर कसरी भन्नु । मचाहिँ नमरुन्जेल भगवान्को मूर्ति नै बनाउँछु । अहिले मलाई सघाउन मसँगै काम गरे पनि छोराहरूले म गएपछि यस्तो काम गर्दैनौं भनेका छन्,’ पण्डितले छोरातिर पुलुक्क हेरेर सुनाए ।

प्रकाशित : आश्विन २१, २०७८ १२:५५
प्रतिक्रिया
पठाउनुहोस्

दसैंसँगै भित्रिए मुस्ताङी च्याङ्ग्रा

अगन्धर तिवारी

पर्वत — बजार क्षेत्रमा दसैंको उल्लेख्य चहलपहल छैन । तर, च्याङ्ग्रा व्यवसायीलाई भने दसैंले छोइसक्यो । पर्वत र आसपासका व्यवसायी साताअघि नै मुस्ताङ पुगेर दसैंका लागि च्याङ्ग्रा ल्याइसकेका छन् । दसैंको नवदुर्गा सुरु हुनुअघिका दुई साता पितृ उद्धारका लागि गरिने सोह्रश्राद्धका कारण हिन्दु संस्कारमा मासु खाने चलन छैन ।

सोह्रश्राद्ध सकिनासाथै सुरु हुने दसैंका लागि लक्षित गरेर कास्की र पर्वतका व्यवसायीले सयौं च्याङ्ग्रा मुस्ताङबाट म्याग्दी हुँदै पर्वत र कास्की ल्याइसकेका छन् ।

कोभिडका कारण विगतमा जस्तो दसैंको चहलपहल नभए पनि मुस्ताङी च्याङ्ग्राको मूल्य भने यो वर्ष झनै बढेको छ । १० दिन लगाएर च्याङ्ग्रा पोखरा लैजाँदै गरेका व्यवसायी शिव रायका अनुसार ४ वर्षयता मुस्ताङी च्याङ्ग्राको मूल्य बर्सेनि बढ्दो छ । ‘दसैंलाई मुस्ताङी च्याङ्ग्रा ब्रान्ड बनिसकेको छ,’ उनले भने, ‘पाल्ने किसान सीमित छन् । माग बढेको बढ्यै छ । अनि भाउ बढ्ने नै भयो ।’ १६ वर्षदेखि निरन्तर कारोबार गर्दै आएका रायका अनुसार यातायातका साधन मुस्ताङ प्रवेश गरेपछि च्याङ्ग्राको मूल्य बढ्दो छ ।

अर्कोतर्फ च्याङ्ग्राको मूल्य बढ्नुमा करको भार पनि भएको व्यवसायी बताउँछन् । लामो समयदेखि पर्वतमा च्याङ्ग्रा ल्याएर बिक्री गर्दै आएका राम श्रेष्ठका अनुसार ३ वर्षयता धेरै ठाउँमा कर तिर्नुपरेको छ । ‘पहिला मुस्ताङको एक ठाउँमा प्रतिगोटा ५ रुपैयाँ तिरे पुग्थ्यो,’ उनले भने, ‘अहिले कुस्मासम्म ल्याइपुर्‍याउँदा गोटाकै हजार बढी जान्छ । त्यो सबै यसैमा जोड्ने हो । हामीले घाटा खाने कुरै भएन ।’ स्थानीय तह सञ्चालनमा आएपछि पालिकैपिच्छे कर तिर्नुपरेको व्यवसायीले बताएका छन् ।

कतिपय व्यवसायीले चर्को कर तिर्नुपर्ने भएपछि मुस्ताङबाट ट्रकमा राखेर सिधै पोखरा, चितवन, काठमाडौंलगायत स्थानमा लैजाने गरेका छन् । जोमसोमस्थित पशु सेवा विज्ञ केन्द्रबाट स्वास्थ्य परीक्षण गरेर ट्रकमा राखेपछि सिधै गन्तव्यमा पुर्‍याउँदा थोरै कर तिर्दा हुने भएपछि कतिपय व्यवसायीले सिधै लैजाने गर्छन् । तर, त्यसरी लैजाँदा च्याङ्ग्रा मर्ने जोखिम भएकाले कतिपयले कर तिरेरै भए पनि पैदलै डोर्‍याएर ल्याउने गरेका छन् ।

यसपालि व्यवसायीले च्याङ्ग्राको मूल्य प्रतिगोटा ३५ देखि ४७ हजारसम्म तोकेका छन् । मुस्ताङी च्याङ्ग्रा १५ देखि २२ किलोसम्मको हुने उपभोक्ता बताउँछन् । ‘तौलिँदा २२ किलोजति थियो,’ कुस्माका ताराबहादुर थापाले भने, ‘मूल्य सुन्दै कहाली लाग्यो । एउटा च्याङ्ग्राको झन्डै आधा लाख रुपैयाँ ।’

उपभोक्ता भने च्याङ्ग्रा नआई दसैं आएको महसुस नहुने बताउँछन् । वर्षौंदेखि बानी परेकाले च्याङ्ग्राको मासु खान नपाए खल्लो लाग्ने होमनाथ सुवेदीले बताए । ‘बोका–कुखुराको मासु जहिले पनि खाने भएर होला,’ उनले भने, ‘सुनकै सरि भए पनि एक/दुई छाक च्याङ्ग्राको मासु नखाए दसैं आएजस्तै लाग्दैन ।’

प्रकाशित : आश्विन २१, २०७८ १२:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×