कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

जसलाई चाडपर्वले छुँदैन

आफन्त गुमाएका, टाढिएका र कसैले खोजी नगर्नेसँगै अपांगता भएपछि एक्लो जीवन बाँचेकाहरुलाई चाडपर्वले ल्याएन खुसी
‘विगतका कुरामा फर्कन नपरोस् भन्छौं, तर आफन्त, नातेदार, छिमेकी, समाजले कोट्याइदिन्छ, होच्याएर बोल्छन्, अपमान सहनुपर्छ, चाडपर्वमा घर पुगेर पनि उल्टै दुख्नुपर्छ, त्यही बेला सबै भेला हुन्छन् नि त !’
आश्रय गृहमा बसिरहेका बालबालिकालाई आफन्त परिवारले सोधीखोजीसमेत गर्दैनन्
परिवारबाटै नै अपहेलित भएर वृद्धाश्रम पुगेका ज्येष्ठ नागरिकलाई कुनै पर्वले छुँदैन, आममानिसलाई उमंग बोकेर ल्याउने पर्वहरुले बरु उल्टै पीडा र निराशा थपेर जान्छ

काठमाडौँ — नयाँ लुगामा चिटिक्क सजिएर मामाघर जान पाइने । टीका र दक्षिणा थाप्ने, मिठाई किनेर खाने, बेलुन उडाएर रमाइलो गर्न पाइने । बाल्यकालमा रामेछापकी निर्मलालाई दसै रौनक विशेष लाग्थ्यो । एक दिन हिँडेर पुगिने मामाघर जाने अवसर दसैमा मात्रै जुर्थ्यो । मावली हजुरआमा र मामा–माइजूले खुबै माया गर्थे । उनलाई पनि मामाघर प्यारो लाग्थ्यो । घर फर्कन मन हुँदैनथ्यो । ‘त्यतिखेर ६/७ वर्षको थिएँ, त्यो बालमस्तिष्कमा टीका थाप्ने भन्दा नि दक्षिणा थाप्ने, मिठाई किनेर खाने, बेलुन किनेर उडाउने, मामाघरको मायाले हुरुक्कै हुन्थे, दिनदिनै दसैं आइरहोस् जस्तो लाग्थ्यो,’ उबेलाको दसै सम्झिइन् ।

जसलाई चाडपर्वले छुँदैन

अहिले उनी २८ वर्षकी भइन् । दसैं फेरि नजिकिँदै छ । तर उतिबेलाको जसरी हर्षोल्लास पटक्कै छैन । १० वर्षको हुँदा सडक दुर्घटनामा परेर बायाँ खुट्टा गुमाएपछि चाडपर्व पनि रमाइलो लाग्न छाड्यो । काठमाडौंमा ६ महिना अस्पताल बसिन् । गाउँमा हिँडेर स्कुल जान नसक्ने भइन् । उनी बैसाखी टेकेर हिँडथिन् । काठमाडौंको एक आश्रयगृहमा बसेर पढिन् । त्यहाँ उनी जस्तै अपांगता भएका विद्यार्थीहरूले आश्रय लिएका थिए ।

दसैंतिहार लागेपछि स्कुल बिदा हुन्थ्यो । घरबाट बाआमा लिन आउँथे । बैसाखी टेकेर पहिलोपल्ट मामाघर पुगिन् दसैं मनाउन । आफन्त नातेदारले टिठलाग्दो व्यवहार देखाए । ‘कठै विचरा π, कस्तो भाग्य लिएर आएछौं, कसरी गरिखान्छौं, यस्तो मान्छेलाई कसले हेर्छ, बिहे गर्छ, जिन्दगी अन्धकार हुने भयो,’ मामाघर पुगेका बेला नातेदारले यसरी बोलेको मन परेन । उनी सानैदेखि हक्की स्वभावकी थिइन् । ‘खुट्टा गुमाएर पनि मैले हरेस खाएको थिएन, मेरो आफन्तहरूले त्यस्तो भनेपछि दसैं खल्लो मात्रै भएन, साँच्चिकै केही गर्नै सक्दिनँ कि भन्ने भएको थियो,’ उनले सुनाइन् ।

त्यसपछिका दसैंमा गाउँ जाने रहर पलाएन । गइहाले पनि मामाघर, आफन्तकहाँ पुगिनन् । उनलाई आफन्त, नातेदार जमघट हुने तीज, दसैं र तिहार जस्ता चाडपर्व सकभर नआइदिए हुन्थ्यो भन्ने लाग्छ । ‘मेरो परिवारले मेरा हरेक संघर्षमा साथ दिएको छ, तर चाडपर्वले गराउने जमघट, भेटघाटहरूमा मेरा आफन्तहरूले गिज्याउने, होच्याउने कुराले मलाई चाडबाड नै नआओस् । ती आफन्तहरूसँग भेटघाट नहोस् लाग्छ,’ उनले भनिन् ।

चाडपर्वलाई उत्साह, उमंग, आत्मीयता र सद्भावको प्रतीकका रूपमा लिइन्छ । तर निर्मला जस्ता अपांगता भएका व्यक्तिहरूका लागि ती चाडपर्वले पुराना घाउ बल्झाइदिन्छ । संविधानमा प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक लेखिएको छ । अपांगता भएका व्यक्तिहरू भने बोलीचाली र व्यवहारबाट अपमानित हुन्छन् । कतिपयलाई परिवारले खोजी गर्दैनन्, सम्झँदैनन् ।

अढाई वर्षअघि धादिङमा १८ वर्षीया किशोरीलाई आफ्नै मामाको छोराले बलात्कार गरेपछि परिवारले कहिल्यै सम्झेनन् । उनी सामान्य स्तरको बौद्धिक अपांगता भएकी हुन् । घटना भएपछि उनलाई एक सेफ हाउसमा राखियो । परिवारसँग सम्पर्क गराउन खोज्दा सम्पर्कमा आउन चाहेनन् । यतिसम्म कि उनको पढाइका लागि जन्मदर्ता र अपांगता परिचयपत्र प्रहरीमार्फत मगाउनुपरेको थियो । सेफ हाउस सञ्चालक तथा परामर्शकर्ता गायत्री खतिवडाले भनिन्, ‘जब दसैंतिहार, तीज आउँथ्यो, बाआमा घरपरिवार सम्झेर रुन्थिन्, सम्झाइबुझाइ गर्न गाह्रो हुन्थ्यो ।’

गत वर्षको दसैंमा सेफ हाउसमा आश्रय लिइरहेका आठमध्ये पाँच जना आ–आफ्नो घर गए । तीन जनाको परिवार सम्पर्कमा आएनन् । उनीहरूलाई सेफ हाउसले नै दसैं मनाइदियो । नयाँ लुगा लगाइदियो । मीठोमसिनो खानपान र टीका दक्षिणा लगाइदियो । रमाइलो, मनोरञ्जन गरायो । ‘तैपनि परिवार लिन आएनन् भनेर दुःख मान्छन् । चाडबाडमा व्यक्तिगत रूपमा खुसी हुन खोज्छन् । परिवारले स्विकारिदिँदैनन्, उनीहरूलाई चाडबाडले झन् दुःखी बनाउँछ,’ खतिवडाले बताइन् ।

अपांगता भएका व्यक्तिलाई परिवार र समाजले हेलाको दृष्टिले हेर्छन् । ‘उनीहरूलाई अरूसँग घुलमिल हुने, सामाजिकीकरण हुने अवसरै जुर्दैन, यसले गर्दा हिंसामा परेका अपांगता भएका महिला–बालिकालाई पुनःस्थापना हुन झनै समस्या छ,’ अपांगता भएका महिलाको क्षेत्रमा दुई दशकदेखि काम गर्दै आएकी त्रिवि समाजशास्त्र विभागकी उपप्राध्यापक नीति अर्याल खनालले भनिन् ।

हिंसामा परेका महिला–बालिकालाई समाजमा सम्मानपूर्वक जिउन, सामाजिक जीवनमा फर्कन आफन्त, छिमेकी नै बाधक बन्ने गरेको अधिकारकर्मी टीका दाहालको भनाइ छ । ‘विगतका कुरामा फर्कन नपरोस् भन्छौं, तर आफन्त, नातेदार समाजले सम्झाउँछ, चाडबाडमा घर पुगेर पनि उल्टै दुख्नुपर्छ, त्यही बेला सबै भेला हुन्छन्,’ उनले भनिन् ।

बजारमा आश्रय लिएर बसेकालाई चाडपर्वले छुँदैन । जान–आउन धेरै खर्च लाग्ने भएकाले हुम्लाका १९ वर्षीय दयाराम धिमाललाई पनि चाडबाड आउँदा खुसी लाग्दैन । ‘आउने–जाने खर्च घरबाटै गर्नुपर्छ, १४/१५ हजार लाग्छ, घरबाट सक्दैनन्,’ उनले भने, ‘घर जान त मन लाग्छन् नि ! टाढा छ, खर्च हुँदैन ।’ उनको परिवारसँग बेलाबखत कुराकानी हुन्छ ।

उनी काठमाडौंमा १३ वर्षदेखि अपांग सेवा संघको आश्रय गृहमा बसेर सिभिल इन्जिनियरिङ पढ्दै छन् । अहिलेसम्म एक पटक मात्र घर पुगेका छन् । आमा, तीन दाजुभाइ र दुई दिदीबहिनी हुम्लामै छन् । उनी जन्मजातै खुट्टाले राम्ररी टेक्न सक्दैनथे । यही समस्याले काठमाडौं आइपुगेका हुन् । ‘हिँड्ने बेला दुवै घुँडा जोडिन्थ्यो,’ उनले भने, ‘अपांगता नभएको भए म पनि परिवारसँगै हुन्थें ।’

मुगुकी १४ वर्षीया ललिता कार्की र उनकी ११ वर्षीया बहिनी सुनितालाई यो वर्ष पनि परिवारले खोजी गरेको छैन । अपांग सेवा संघकै आश्रय गृहमा बसिरहेका कार्की दिदीबहिनी जन्मजात सुन्न र बोल्न सक्दैनन् । अरू साथीभाइलाई दसैं मनाउन आफन्त, परिवार लिन आउँदा उनीहरू नरमाइलो मान्छन् । ‘दसैं मनाउन लिएर जानु भनेर आफन्तलाई सम्पर्क गर्दा नभ्याउने खबर पठाए,’ संघका संस्थापक दयाराम महर्जनले भने ।

मानिसहरू आफ्नो गच्छेअनुसार दसैं पर्व मनाउने सुरसार गर्दैगर्दा धादिङकी ७० वर्षीया भगवती क्षत्रीलाई भने पर्वले छोएको छैन । विगत ६ वर्षदेखि गोंगबुको हिमालय वृद्धाश्रममा छिन् । ह्वीलचियरको सहायताबिना हातखुट्टा चल्दैन । शारीरिक रूपमा अशक्त भएपछि परिवारबाटै अपहेलित उनको हेरचाह वृद्धाश्रमबाट नै हुँदै आएको छ । ‘यतै खान, बस्न सुविधा त छ तर चाडबाडतिर घरको सम्झना आउँछ नि,’ उनले भनिन्, ‘जहाँ बसियो, त्यहीँ परिवार भयो । यतै दुःखसुखले दिन काटेको छु ।’ आफ्नै शरीर अरू बोझ भयो भन्ने पिरलोले उनलाई पर्वहरूको रौनकले छुँदैन । भन्छिन्, ‘एक गाँस खाना त अरूले खुवाइदिनुपर्छ । खै के रमाइलो मान्नु । दिन र रात त एकै जस्तो भएको छ ।’

काभ्रे देउपुरका लक्ष्मण ढकाल वृद्धाश्रममै दसैं मान्छन् । आफन्त उनको सम्पर्कमा छैनन् । राजधानीमा नै ज्यालामजदुरी गरेर जीविकोपार्जन गर्दै आएका उनी अहिले बैसाखीको सहारामा छन् । मजदुरी गर्ने क्रममा नै उनको खुट्टामा चोट लागेको थियो । ‘चाडपर्वको रमाइलो भनेकै सबै भेला हुनु र दुःखसुख पोख्नु हो । आफ्नो भाग्यमा छैन रहेछ,’ उनले भने ।

वृद्धाश्रमका सञ्चालक अध्यक्ष सरला पन्थी भने दसैंको पर्वको तयारीमा छिन् । भएका सबैजसो ज्येष्ठ नागरिकहरू घरबारविहीन भएकाले वृद्धाश्रममा प्रत्येक वर्ष दसैं मनाउँदै आएको उनले सुनाइन् । ‘आश्रममा हुनुभएका धेरैजसो आमाबुबाहरू घर जानु हुन्न । हामीले आश्रममा नै टीका लगाउने र सबै सँगै बसेर दसैं मनाउँदै आएका छौं,’ उनले भनिन् ।

आफ्नै सन्तान र परिवारबाट विरक्तिएर घर छोडेर आएका, परिवारबाट अलग्गिएर अलपत्र परेका र असहाय ज्येष्ठ नागरिकहरूलाई आश्रमले आश्रय दिँदै आएको उनले सुनाइन् । उनका अनुसार हाल आश्रममा ४३ जना ज्येष्ठ नागरिकहरू छन् ।

परिवारबाटै नै अपहेलित भएर वृद्धाश्रमको बसाइमा रहेकाहरूको अवस्था करिब–करिब क्षत्री र ढकालको जस्तै छ । अरूको आश्रयमा बूढेसकाल बिताइरहेका उनीहरूलाई कुनै पर्वले छुँदैन । उनीहरूका भावअनुसार आममानिसलाई उमंग बोकेर ल्याउने प्रत्येक पर्वहरूले उनीहरूलाई पीडा तथा झन् निराशा बोकेर ल्याउँछ ।

प्रकाशित : आश्विन १८, २०७८ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?