कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

संसद्‍मा सरवत : मनको कुरा मनमै रह्यो

संसद्‍मा शून्य र विशेष समयमा सांसदहरु बोल्छन्, शून्य समयमा कुरा राख्न वर्णानुक्रमअनुसार समूह विभाजन गर्दा सरवत सधैं अन्तिम समूहमा पर्छिन्
नेताहरूले अर्कै दाइलाई बोल्न दिनुपर्छ, अग्रज हुन् भन्नुहुन्छ । अस्ति शून्य समयमा बोल्ने कुरा तयार पारेर राखेको थिएँ, अधिवेशन नै सकियो
जयसिंह महरा

काठमाडौँ — संसद् बोल्ने र छलफल गर्ने थलो हो । तर, प्रतिनिधिसभामा कांग्रेस सांसद सरवत खानमले बोलेको खासै सुनिँदैन । उनले बोल्न नचाहेकी पनि होइनन् । भन्छिन्, ‘ठूलाले बढ्ता बोल्नुहुन्छ त सानोको पालो आइपुग्दैन ।’

संसद्‍मा सरवत : मनको कुरा मनमै रह्यो

संसद्‍मा शून्य र विशेष समयमा सांसदहरू बोल्ने गर्छन् । शून्य समयमा कुरा राख्न सांसदहरूलाई नामको वर्णानुक्रमअनुसार चार समूहमा विभाजन गरिएको हुन्छ । ‘स’ बाट नाम सुरु हुने भएकाले सरवत अन्तिम समूहमा पर्छिन् । उनको पालो आउन्जेलसम्म संसद् अधिवेशन नै अन्त्य हुन बेर लाग्दैन । विशेष समयमा पार्टीलाई समय विभाजन गरिएको हुन्छ । कति घण्टा विशेष समय चलाउने र त्यसमा कुन पार्टीलाई कति समय दिने भन्ने तय हुन्छ । एक घण्टा विशेष समय सञ्चालन भयो भने कांग्रेसको भागमा संसद्‍मा उपस्थितिअनुसार बढीमा १२ मिनेट पर्छ । सरवत कहिलेकाहीँ अर्थ समितिको बैठकमा भने बोल्ने मौका पाउँछिन् ।

संसद् सुरु भएको साढे तीन वर्षमा सरवत तीन/चार चोटि बोल्ने मौका पाएकी छन् । सरवत आफूले संसद्‍मा बोल्नुपर्ने कुरा धेरै रहेको बताउँछिन् । ‘समय विभाजन गर्ने नेताहरूले पनि अर्कै दाइलाई बोल्न दिनुपर्छ, फलानो अग्रज हुन् भन्नुहुन्छ । समय नै नमिल्ने !’ उनले भनिन्, ‘अस्ति शून्य समयमा बोल्ने कुरा तयार पारेर राखेको थिएँ । संसद् अधिवेशन नै अन्त्य भयो । पालो फेरि १ नम्बरबाट सुरु हुन्छ, चार नम्बर पुगुन्जेल स्थगित भइहाल्छ ।’

बाँके, नेपालगन्जको मुस्लिम बस्तीकी जनप्रतिनिधि हुन् सरवत । उनीसँग सानै उमेरदेखि विभेद भोग्दै आएको अनुभव छ । सांसद भएपछि पनि विभेदको महसुस गरेको उनले बताइन् । सरवत ०७० र ०७४ सालमा कांग्रेसबाट समानुपातिक सांसद बनेकी हुन् । लगातार मुस्लिम समुदायबाट समानुपातिक सांसद बन्दा आरिस गर्नेको संख्या बढेको उनी बताउँछिन् ।

तस्बिरहरू : अंगद ढकाल/कान्तिपुर

शिक्षककी छोरी सरवत समाजमा अगाडि बढ्दा उनका कानमा ठोक्किन आउने कुरा हुन्थे, ‘यी मास्टरकी बिटिया हमरी घरकी बिटिया को भि बिगाड देत हे ।’ छोरीलाई पनि शिक्षा दिनुपर्छ र अगाडि बढाउनुपर्छ भन्ने चेतना आएपछि भने तिनै मान्छेले ‘तपाईं राम्रो गर्दै हुनुहुन्छ’ भन्नेको संख्या बढ्न थाले । ‘सामुन्नेमा प्रशंसा गर्ने आफ्नै समुदाय र पार्टीका मान्छेले अलि पर गएपछि कुरा काट्न थालिहाल्छ,’ सरवतले भनिन् ।

‘सांसद विकास कोष’ पनि भनिने स्थानीय विकास साझेदारी कार्यक्रममा प्राप्त हुने रकमले उनले मस्जिदमा मात्रै खर्च गरिनन्, मन्दिरलाई पनि सुरक्षित राख्ने योजनालाई बजेट दिइन् । मन्दिरमा रकम दिँदा आफूविरुद्ध फतवा नै जारी गर्न अरू मौलानाकहाँ गएको प्रसंग उनले सुनाइन् । त्यसरी फतवा लगाउन आग्रह गर्दै गएका मान्छेलाई मौलानाले भनेका कुरा पनि उनको कानमा पुगेछ, ‘के नराम्रो काम गरेको छ ? तपाईंहरूले त मन्दिरमा दिनुभएको छ । मन्दिरमा दिए के ? मन्दिरमा मूर्ति त बनाउनुभएको छैन नि । मन्दिरको पर्खाल लगाएको हो, किन फतवा लगाउने ?’ उनले बाटोघाटो, नालीलगायत लागि बजेट विनियोजन गरेको सुनाइन् ।

सरवतका हजुरबुबा भारतबाट नेपालगन्ज बसाइँ सरेका हुन् । अंग्रेजबाट दुःख दिएपछि उनले नेपालगन्जमा जंगल फँडानी गरीवरी बस्ती बसाएको र मस्जिद स्थापना गरेको सरवतले सुनाइन् । परिवार शिक्षित थियो र धनी । सरवतका बुबा, फुपू र काकाहरूले घरमै पढ्न पाए । नेपाल जामा मस्जिद स्थापनापछि शिक्षालयको पनि सुरुवात भयो । सुरुमा त्यहाँ केटाहरूलाई मात्रै पढाइन्थ्यो । पछि केटीहरूका लागि पनि पढ्ने विद्यालय खोलियो । पढ्ने क्रममा नै सरवतको विवाह भयो । उनी घरेलु हिंसामा परिन् । बेमल बढेपछि भएको एउटा छोरो पनि आफूसँगै लगेर गएका श्रीमान्ले वर्षौंसम्म सोधखोज गरेनन् । गत वर्ष उनको मृत्यु भयो । ‘छोरा आमाजूसँग छ । न भेटघाट छ, न पता छ,’ सरवतले भनिन् । पहिलो पटक ०७० सालमा सांसद भएपछि श्रीमान्ले मान्छे पठाएर पारिवारिक जीवनबारे नबोल्न धम्क्याएको उनले सुनाइन् ।

आईएसम्म अध्ययन गरेकी सरवत मुस्लिम महिलाको ‘जीवनस्तर विकासका लागि’ काम गर्दागर्दै ०४८ सालमा कांग्रेसको संगठित सदस्य भइन् । नेपाल महिला संघको जिल्ला समितिमा रहेर काम गरेकी उनी नेपाल मुस्लिम संघको केन्द्रीय सदस्य पनि भइन् ।

६० वर्ष पुग्नै लागेकी सरवतले राष्ट्रिय राजनीतिको वर्तमान अवस्था देखेर दिक्क लागेको सुनाइन् । सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले साढे दुई महिना कटिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता नदिएको देख्दा उनलाई अचम्म लागेको छ । उनले आफैं पनि अब राजनीतिमा सक्रिय नहुने सोच बनाएकी छन् । कांग्रेसका वडा र स्थानीय तहका अधिवेशन भइरहेका बेला नेपालगन्जबाट तपाईं प्रतिनिधि नउठ्ने भनेर फोन आएको थियो । म कांग्रेसलाई भोट हाल्छु, समाजसेवा गर्छु, तर पार्टीमा पहिला जस्तो समय दिन सक्दिनँ भनें,’ उनले सुनाइन् ।

उनी ५ महिनायता नेपालगन्ज पनि गएकी छैनन् । बहिनीकी छोरीलाई सानैमा आफूसँग ल्याएर राखेकी थिइन् । उनको गत माघमा मृत्यु भएपछि सरवतलाई सहारा गुमेजस्तो भएको छ । ‘छोरी बितेपछि सुस्त भएँ,’ उनले भनिन् । कांग्रेस प्रमुख प्रतिपक्षमा रहँदा सरवत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय हेर्ने छाया मन्त्रीको समूहमा थिइन् । पार्टी सरकारमा रहेका बेला मन्त्री हुने मौका आउला छ ? उनले भनिन्, ‘जसको पास समय छ, काम गर्न सक्छन् भने अगाडि बढ्ने हो । मैले दुईचोटि सांसद पाएँ । अब पुग्यो ।’

प्रकाशित : आश्विन १७, २०७८ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?