कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

चाडबाडको चहलपहल: दसैंमा ‘भाइरल’ कपडाको माग बढी

नुमा थाम्सुहाङ

काठमाडौँ — दसैं नजिकिएसँगै कपडा पसलहरुमा भीड बढेको छ । तन्नेरीदेखि वृद्धसम्म आफ्ना रोजाईका लुगा छान्नमा व्यस्त देखिन्छन् । यसमा पनि सामाजिक सञ्जालः इन्स्टाग्राम, टिकटक लगायतमा लगाइएका लुगा देखेर किन्न खोज्न आउने ग्राहकहरु बढी रहेको कपडा व्यवसायीहरु सुनाउँछन् ।

चाडबाडको चहलपहल: दसैंमा ‘भाइरल’ कपडाको माग बढी

यसपालीको दसैंका लागि किशोरीहरुमाझ ‘भाइरल टप्स’ भनिने कुर्ता फेसनको रुपमा आएको न्यूरोडस्थित कपडा व्यवसायी कमल किशोर शर्माले बताए । ‘दसैंमा फेन्सी किसिमका कपडा बढी रुचाइन्छ,’ आश्रा इम्पेक्सका सञ्चालक शर्माले भने, ‘साइड कट’ र ‘प्लाजो कुर्ता सेट’ यसपाली चलेको छ ।’ प्लाजो कुर्ता यसभन्दा पहिले नै फेसनमा आएको भए पनि फेरि किशोरीहरुले खोज्ने गरेको उनी सुनाउँछन् ।

यस्तो कुर्ता दुवैपट्टिको छेउमा चिरिएको, छाता जस्तै गोलो र लामो हुन्छ । यो कुर्ता हेर्दा आकर्षक भएकाले पनि धेरै रुचाएको हुनसक्ने उनको तर्क छ । ‘गाउन र स्ट्रेट सुरुवाल भएको कुर्ता पनि यसपाली बढी चलिरहेको छ । धेरैजसो टिकटक र इन्स्टाग्राममा चलेको कपडाहरुको नै बढी माग हुन्छ,’ उनले भने, ‘ग्राहकहरुले पनि टिकटकमा जे भाइरल भएको छ हामीलाई फोटो, भिडिओ देखाउँदै यस्तै कपडा देखाउन भन्छन् ।’

थोक बजारमा यस्ता कुर्ताको मूल्य ४ सय ६२ देखि सुरु भई २ हजार रुपैयाँसम्म पर्ने शर्मा बताउँछन् । यस्ता कुर्ताहरु फेन्सि लुक्सका छन् । कालो, रातो, निलो, पिंक, रानी र हरियो रंकका कुर्ताहरु किशोरीहरुले मनपराउँछन् । उनका अनुसार यो कुर्ता २०–४० वर्ष उमेरका महिलाहरु बढी मनपराउँछन् । ‘तीजको समयमा रातो, साउनमा हरियो रंगका कुर्ता धेरै बिक्री हुन्छन्,’ उनले थपे, ‘दसैंमा यस्तो हुँदैन । प्राय: सबै रंगका कुर्ताहरु मनपराउँछन् ।’

यस्तै दसैंका लागि मोटो खालको सुल भएको ‘चंकी सुज’ र सानो हिल भएको ‘स्यान्डल’ महिलाहरुमाझ चल्तीमा छ । विशेषगरी टिनेजरहरु मोटो सुल भएको जुत्ता बढी किन्न आउने न्युरोडस्थित लाइभ वेयरका संचालक अवेश श्रेष्ठले बताए । ‘यो जुत्तामा सेतो रंग सबैभन्दा बढी बिक्छ,’ उनले भने, ‘साथै कालो, पिंक र सी ग्रिन पनि मनपराउँछन् । यसको थोकमा ११ सय देखि १४ सय रुपैयाँसम्म पर्छ ।’ सानो हिल भएका स्यान्डल भने लेडिजहरुले बढी किन्ने गरेका छन् । लगाउन र हिँड्न सजिलो हुने भएकाले मनपराइएको उनले सुनाए ।

‘कुर्ता, सर्ट पेन्ट जुनसुकै कपडामा यस्तो स्यान्डल लगाउन मिल्छ,’ उनले थपे । लेडिजहरुसँगै चाडबाडमा पुरुषहरु पनि नयाँ र चलेका कपडाहरु किन्न पसलमा पुग्छन् । जेन्ट्समा पनि धेरै चलेका कपडाहरु र जुत्ताहरु नै ग्राहकहरुले खोज्ने गरेको व्यापारीहरु सुनाउँछन् । यसपालीको दसैंका लागि लेदर ज्याकेट, हुडी र प्रिन्टेड सर्टहरुको धेरै माग रहेको कपडा व्यापारी राजू पंगेनीले बताए । ‘लेदर, भुवा भएको र हाफ ज्याकेट केटाहरुले खोज्छन्,’ ललितपुर, कुमारीपाटीस्थित डीएसआर फेसन फ्याक्ट्रिका संचालक पंगेनीले भने, ‘जाडो पनि सुरु हुने समय भयो, त्यसैले हुडी, जम्पर, ब्लेजर पनि धेरैले किन्ने गरेका छन् ।’

यससँगै सबैभन्दा बढी प्रिन्टेडमा हाफ र पूरा बाहुला भएको सर्ट १८ देखि ३० वर्ष उमेर समूहकाले रुचाउने गरेका छन् । ‘यी कपडाहरुको रंगमा कालो र निलो केटाहरुको छनोटमा पर्छ,’ उनले भने, ‘जिन्स र कटनका पेन्ट, ट्राउजर र जगर्स सधैँको फेसन नै हो ।’ यी कपडाहरुको खुद्रा मूल्य भने २ हजारदेखि ६ हजार रुपैयाँसम्म पर्ने उनले बताए ।


चाडबाडका बेला सबैलाई नयाँ र राम्रो लगाउन मनपर्ने भएकाले नाम चलेका ब्रान्डका जुत्ताहरु अहिले किन्नेहरु धेरै आउने गरेको व्यवसायी बुद्ध खड्काले बताए । ‘ब्रान्डका कन्भर्स, भेन्स, नाइकका जुत्ताहरु धैरेले खोज्छन्,’ उनले भने, ‘साथै पातलो सुल भएका जुत्ताहरु पनि केटाहरुले रुचाइरहेका छन् ।’ यसमा कालो र सेता अत्याधिक रुचाइने उनले सुनाए । यसको मूल्य भने २–४ हजार रुपैयाँसम्म पर्ने उनले बताए ।

अर्का व्यवसायी मदन माझीले नाइकको ‘एयर जोर्डन’ र ‘एयर डियर’ सुज अलिहे सबैभन्दा बढी चलेको बताए । उनका अनुसार यस्ता जुत्ता कालो र सेतोमा बढी रुचाइएको छ । ‘यसको मूल्य ६५ रुपैयाँ पर्छ । ब्रान्डको भएकाले महंगो छ । महंगो भए पनि केटाहरुले यो जुत्ता नै बढी खोज्ने गरेका छन्,’ उनले भने ।

चाडबाड नजिकिएसँगै अहिले राजधानीका सपिङ मल, कपडा र जुत्ता पसलमा घुइँचो नै देखिन थालेको छ । मलमा एकै छानामुनि विभिन्न ब्रान्डका लत्ताकपडा खरिद गर्न सकिने भएकाले सर्वसाधारण यसतर्फ आकर्षित हुन्छन् । काठमाडौं उपत्यकाको व्यापारिक केन्द्र न्यूरोड, दरबारमार्ग, लगनखेल, कुमारीपाटी, मंगलबजार र बानेश्वरतिरका कपडा पसलहरु तिर चहलपहल बढेको छ । साथै दसैंको बेला कपडा र जुत्ताहरुमा दिइने छुटका अफरहरुले गर्दा पनि उपभोक्ताहरुको चहलपहल बढाएको छ । यही समयमा लत्ताकपडा र जुत्ताचप्पलको व्यापार पनि राम्रो हुने व्यापारीहरुको अनुभव छ । दसैंको समयमा मात्र करिब ७५ प्रतिशत कारोबार हुने व्यवसायी बताउँछन् ।

प्रकाशित : आश्विन १६, २०७८ १९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?