कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१२ गैंडा मरेका होइनन्, मारिएको खुलासा

धमाधम पक्राउ परेकाहरुका बयानअनुसार २०७६ भदौयता वनभित्र सिकारी अझ सक्रिय थिए 
रमेशकुमार पौडेल

चितवन — गैंडा मारेका घटनाका आरोपित धमाधम पक्राउ पर्न थालेपछि दुई वर्षको अवधिमा १२ गैंडा चोरी सिकारीले मारेको थप तथ्य खुलेको छ । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले मंगलबार पत्रकार सम्मेलन गर्दै विभिन्न मितिमा पक्राउ परेका आठ जनाबारे नयाँ तथ्य अगाडि ल्याएको हो । 

१२ गैंडा मरेका होइनन्, मारिएको खुलासा

गत वर्ष गैंडा मुद्दामा ४२ जना पक्राउ परेका थिए । ‘यिनमा तीन जना पुराना मुद्दाका फरार हुन् । बाँकी ३९ जना २०७६ सालयता गैंडा मारेर खाग कारोबारमा संलग्न भएको आरोपमा समातिएका हुन्,’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले भने । यी ३९ जना विभिन्न ठाउँमा १२ वटा गैंडा मारेर खाग किनबेचमा संलग्न भएको खुलेको उनले बताए । निकुञ्जभित्र गैंडा मर्ने क्रम बढेको छ ।

मृत गैंडा फेला पर्दा निकुञ्ज कार्यालयले चोरी सिकार नभई प्राकृतिक कारणले मरेको बताउने गरेको थियो । निकुञ्जको पश्चिम क्षेत्रमा गत वर्षको भदौ १६ मा गोली चल्यो । त्यसपछि भएको खोजतलासका क्रममा सिकारीले मारेका चारवटा गैंडा भेटिएका थिए । भदौ २१, कात्तिक १९ र २१ मा गोली लागेर मारिएका चार गैंडा भेटिएका थिए । यो वर्ष साउन ११ मा माडी घाँघर पोस्टनजिक पनि तस्करले मारेको गैंडा भेटियो ।

निकुञ्जले गत वर्षको भदौयता हालसम्म पाँचवटा गैंडा सिकारीले मारेको जानकारी दिएको थियो । ‘तर २०७६ भदौयता १२ वटा गैंडा मारेको तथ्य पक्राउ परेका आरोपितहरूको बयानले पुष्टि गरेको छ,’ अधिकृत बरालले भने । २०७३ चैत २६ पछि गत वर्ष मात्रै सिकारीले गैंडा मारेको भन्ने निकुञ्जको दाबी आरोपितहरूको बयानले असत्य सावित भएको छ । निकुञ्जले गत साउन ३२ मा गैंडाकोट–१ बस्ने पूर्वी नवलपरासीको बुलिङटार–१ कोटथरका ३२ वर्षीय चतुरे भन्ने गोपाल सारु र भदौ ६ मा धादिङको बेनीघाट रोराङ–१ का ३५ वर्षीय कवि भन्ने रामकुमार श्रेष्ठलाई पक्राउ गर्‍यो । यी दुईलाई गत वर्षको भदौमा आइल्यान्ड क्षेत्रमा गैंडा मारेर खागको कारोबार गरेको अभियोग निकुञ्जले लगाएको छ ।

‘आइल्यान्ड क्षेत्रमा गत वर्ष मरेका चारवटा गैंडाभन्दा फरक गैंडा मारेको अभियोग हो उनीहरू माथि । यसमा मुछिएका चार जना अझै फरार छन्,’ बरालले भने । त्यसैगरी भदौ ४ मा मकवानपुर मनहरी–४ मसिने बस्ने विजय तथा कान्छा पनि भनिने ३० वर्षका जयबहादुर चेपाङ र ३६ वर्षीय दिलीप तथा दिलबहादुर पनि भनिने सिंहराम चेपाङ पक्राउ परे । उनीहरूले निकुञ्जको पूर्वी क्षेत्र सौराहादेखि पारी बहपुर खोला वरपर २०७६ सालको कात्तिकमा गैंडा मारेको खुलेको निकुञ्जले जनाएको छ । त्यो क्षेत्रमा चोरी सिकारीले गैंडा मारेको थाहा पाउन आरोपितहरूको बयान नै सहयोगी बन्यो । त्यसैगरी गत वर्षको असोजमा निकुञ्जको माडी क्षेत्र घाँघर नजिक बाटुले चौरको खोल्सामा चोरी सिकारीले गैंडा मारेको घटना पनि आरोपितहरू समातिएपछि पत्ता लाग्यो ।

उक्त खोल्सामा गैंडा मारेर खाग किनबेच गरेको आरोपमा भदौ ४ मा मकवानपुर सरिखेतका करण मोक्तान भनिने करण चेपाङ र मसिनेका सुरेश चेपाङ तथा मनहरी नयाँ बस्तीका सरोज मोक्तानलाई निकुञ्जले पक्राउ गरेको छ । जयबहादुर, सिंहराम र सुरेश सहोदर दाजुभाइ हुन् । त्यसैगरी गत साउन ११ मा घाँघर ढड्डाघारी नजिक गैंडा मारेको आरोपमा माडी–७ देवेन्द्रपुरका यादव भन्ने राजन गुरुङ समातिए । ‘भदौ १० मा राजन समातिए । साउन ११ मा हामीले मृत भेटाएको गैंडा उनको बयानले २०७७ सालको जेठमा तस्करहरूले मारेको पत्ता लाग्यो,’ प्रमुख संरक्षण अधिकृत बरालले भने । राजनसँग कवि भन्ने रामकुमार श्रेष्ठको चिनजान र सम्बन्ध देखिएको बरालले बताए ।

मैघौली, बहपुर र साउन ११ मा मृत भेटिएको गैंडा मार्न रामकुमारले नै मान्छेहरू पठाएको अनुसन्धानले देखाउने बरालको भनाइ छ । ‘एउटा घटनाको आरोपितसँग अर्को घटनाको पनि तालमेल देखिन्छ । यसरी खुलेका मान्छेहरू समाएर बयान लिँदा पहिला पहिला पनि तस्करहरूले गैंडा मारेर खागको कारोबार गरेको भेटियो,’ बरालले भने । मरेका गैंडाको कंकाल मात्रै भेटिने घटनाहरू विगतमा धेरै नै थिए । ‘खाग काटेको प्रस्ट देखिए, गोलीको घाउ या अन्य प्राणघातक चोटपटक भए प्रस्ट रूपमा तस्करहरूले मारेको भनेर हामीले खुलाउने गर्‍यौं,’ निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले भने । यी आधारहरू नभए तस्करहरूले नै गैंडा मारेको भनेर जानकारी सार्वजनिक नगरेको उनले बताए । तर पक्राउ परेका व्यक्तिका बयानले पहिला पहिला खागका लागि गैंडा मारेको पुष्टि भएको छ । चोरी सिकारीमा संलग्नलाई समातिएपछि नै पुराना घटना बाहिर आउन सुरु भएको हो । अघिल्ला वर्षमा आरोपितहरू पनि कम समातिएको निकुञ्जले जनाएको छ ।

१४ वर्ष उमेरमै गैंडा सिकारमा

मोक्तान थर लेखे पनि करण चेपाङ हुन् । हाल उनको उमेर २९ वर्ष छ । निकुञ्जको घाँघर क्षेत्र बाटुलेचौरको खोल्सामा गैंडा मारेको आरोपमा गत भदौ ४ मा करण पक्राउ परे पनि उनीविरुद्ध चितवन निकुञ्जमा पाँच वर्षअघि नै एउटा मुद्दा फैसला भएको थियो । करणविरुद्ध २०६७ चैत २७ मा चितवन राष्ट्रिय निकुञ्जमा मुद्दा दायर भएको थियो । निकुञ्जले २०७२ सालको असारमा उनलाई १५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो । करणका बाबुको नाम बिन्द्रसिंह चेपाङ हो । करणसँगै बिन्द्रलाई पनि यही सजाय भएको थियो । तर करण र बिन्द्र दुवै फरार थिए । बिन्द्र गत जेठ ७ गते तनहुँबाट समातिए । चितवन सिद्धि सैपाम घर भए पनि बिन्द्र लुक्दै हिँडेका थिए । त्यसैगरी करण ठाउँ मात्रै नभएर थर नै बदलेर बसेका थिए ।

‘झन्डै १९ वर्षको हुँदा आफ्नो बाबु बिन्द्रसँगै गैंडा मारेको आरोपमा करणलाई पाँच वर्षअघि सजाय भएको हो । उनी १४ वर्षको हुँदा नै गैंडा मार्न हिँडेको खुलेको छ,’ निकुञ्जका सूचना अधिकारी रहेका सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले भने । गैंडा विश्वबाट लोप हुने अवस्थामा पुगेको दुर्लभ वन्यजन्तु हो । यसलाई मारेमा वा यसको अंग किनबेच र ओसोर पसार गरेमा १५ वर्षसम्म जेल सजाय वा १० लाख रुपैयाँसम्म जरिवाना या जेल र जरिवाना दुवै हुने कानुनी प्रावधान छ ।

प्रकाशित : आश्विन १३, २०७८ ११:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?