१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५
हराउँदै परम्परा

भुजा भुट्ने गाउँ

जितेन्द्र साह

मोरङ — खाजादेखि चटपटे र सख्खरको लड्डु बनाउनसम्म भुजा अनिवार्य हुन्छ । ठाउँअनुसार मुरई, मुढी वा मुरमुरा पनि भनिने भुजाको तराई–मधेसमा सामाजिक, पारम्परिक एवं सांस्कृतिक महत्त्व पनि छ ।

भुजा भुट्ने गाउँ

अचेल कारखानाबाट उत्पादित भुजा सस्तोमा उपलब्ध भए पनि यहाँका गाउँमा अझै घरघरै भुजा भुट्ने चलन छ । मोरङको कटहरी गाउँपालिका–३ को मण्डल टोललाई भुजा भुट्ने गाउँ भनेर चिनिन्छ ।

कटहरी बजारबाट एक किमिपूर्व चमराही चोकबाट ५ सय मिटर दक्षिणमा पर्ने उक्त टोलमा ६० घरपरिवार बसोबास गर्छन् । यहाँका घरआँगनमा हरेक दिन भुजा तयार पारिरहेको देख्न सकिन्छ । ‘आमाले यो सीप सिकाएकाले चार सन्तानको पालनपोषण गर्न सकें,’ ५२ वर्षीया मालसरदेवी मण्डल भन्छिन्, ‘होस सम्हालेदेखि भुट्न थालेकी हुँ ।’ वरिपरिका टोल र सहरबजारवासी तात्तातो भुजा किन्न उनको आँगनमा पुग्छन् । मालसरले भुजा बेच्नुलाई व्यवसाय बनाएको ३५ वर्ष भइसक्यो । ऊबेला प्रतिकिलो ४ रुपैयाँमा बेचेको सम्झना ताजै छ । अहिले बढेर १ सय २० रुपैयाँ पुगेको छ । मिलको भुजा ६३ रुपैयाँमा पाइन्छ । एकै पटक ठूलो परिमाणमा उत्पादन गरिने मिलको भुजा सस्तो भएकाले आफूहरूको व्यापार कम भएको उनी बताउँछिन् । मालसरीदेवीका अनुसार हाते भुजाको जस्तो स्वाद कारखानाको उत्पादनमा हुँदैन ।


‘अहिले पनि पुराना ग्राहकबाट जन्मदिन, बिहे र भोजका लागि अर्डर आउँछ,’ उनी भन्छिन् । नियमित खाजानास्ता चाहिने हुनाले टाढाटाढाका स्वादका पारखीले एकैपटक ५/१० किलो किनेर लान्छन् ।

धानलाई उसिनेर, सुकाएर र भुटेर भुजा बनाउन झन्डै साता लाग्छ । स्थानीय ५५ वर्षीया मीनादेवीले २० वर्षदेखि आफैंले तयार पारेर बेच्छिन् । ‘बिहे भएदेखि नै बेच्दैछु,’ उनी भन्छिन् । एक बोरा बेच्दा एक हजार रुपैयाँ नाफा हुने गरेको मिनादेवी बताउँछिन् । उनी सातामा दुई मन धानको भुजा तयार पार्छिन् । एक मनबाट झन्डै २२/२३ किलो तयार हुन्छ । ‘दस वर्षअघिसम्म साताको तीन मन धानको भुजा बेच्थें,’ उनी भन्छिन्, ‘अहिले त झन् कोरोनाले गर्दा हातले छोएको भन्दै किन्न मान्दैनन्, सातामा एक मन धानको भुजा बिक्छ ।’ कटहरीकै एकल महिला ६५ वर्षीया उर्मिलादेवीले पहिले दिनहुँ २० किलो र अहिले आधीउधी बिक्री हुने गरेको बताउँछिन् ।


पसलपसलमा कारखानाको भुजा पुगेकाले भुटेर बेच्ने चलन कम भएको मण्डल टोलकी ५९ वर्षीया सुशीलादेवी बताउँछिन् । ‘पहिलेको जस्तो मिहिनेत गर्ने चलन पनि छैन, आफ्नै खेतको धानबाट भन्दा बजारबाटै चामल ल्याएर भुट्छन्,’ उनी भन्छिन् । परिवेश बदलिएको हुनाले आफ्ना तीन छोराछोरीलाई यसमा रुचि नभएको स्थानीय ४५ वर्षीया ललितादेवी बताउँछिन् । उनका सासूबुहारीले मात्र भुजा भुट्छन् ।

प्रकाशित : आश्विन २, २०७८ २०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?