विज्ञान दिवस विशेष

जर्जर बन्यो देशकै पहिलो विज्ञान क्याम्पस [भिडियो]

'पहिले राजनीतिज्ञ उत्पादन गर्‍यो, अहिले राजनीतिले क्याम्पस सिध्यायो'

काठमाडौँ — अमृत साइन्स क्याम्पस (अस्कल) देशको पहिलो विज्ञान विषय अध्ययन गराउने क्याम्पस हो । विज्ञान विषयमात्र पढाइने यो देशको एउटा मात्रै क्याम्पस पनि हो । यो क्याम्पस २०१३ साल असोज १ गते स्थापना भएको हो । हाल क्याम्पस स्थापना भएको ६५ औं वर्ष पुगेको छ ।

जर्जर बन्यो देशकै पहिलो विज्ञान क्याम्पस [भिडियो]

काठमाडौंको सोह्रखुट्टे–लैनचौर सडकको लगभगबीच भागमा स्थित अस्कल । यस क्याम्पसको पछाडी भने ठमेल क्षेत्र पर्छ । नेपालको शिक्षा व्यापारमूखि हुनु अघि यो क्याम्पसको महिमा कस्तो थियो भनेर बयान गर्न पनि कठिन हुन्छ ।

अस्कलको शान भनेकै यहाँबाट उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरू हुन् । यहाँ पढेकाहरू देशका ख्यातिप्राप्त डाक्टर, इन्जिनियर, नेताहरू छन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वविज्ञान मन्त्री गणेश साह, राप्रपा नेता कमल थापा, डा. उपेन्द्र देवकोटा (स्वर्गीय)लगायत देशले मात्रै होइन विश्वले नै मानेका चिकित्सक, इन्जिनियर, पाइलट, प्राध्यापकहरू यही क्याम्पसका पूर्वविद्यार्थी हुन् ।

नेपालमा विज्ञान विषयको उच्च अध्ययन भन्ने बित्तिकै सबैले आदर पूर्वक सम्झने नाम थियो अस्कल । मानव सभ्यतालाई आधुनिक विश्वसँग जोड्ने शिक्षा नै प्राकृतिक विज्ञान विषय हो । अत्याधुनिक विकासका लागि विज्ञान महत्वपूर्ण हुन्छ । तर, त्यही क्याम्पसमा विज्ञान पढेर ‘विश्व विज्ञान’ बुझेकाहरुका लागि अहिले यो क्याम्पसर खण्डहरभन्दा फरक छैन ।

विगत ९ वर्षदेखि असोज १ गते अस्कल स्थापना दिवस पारेर तत्कालिन प्रधानमन्त्री तथा पूर्व विद्यार्थी बाबुराम भट्टराईले ‘राष्ट्रिय विज्ञान दिवस’ मनाउने निर्णय गराएका थिए । खिलराज रेग्मी मन्त्रिपरिषद्का अध्यक्ष रहँदा ‘राष्ट्रिय विज्ञान दिवस’ मनाउन थालियो । तर, राष्ट्रिय विज्ञान दिवसको मुख्य स्मारकको वास्तविक अवस्था भने दयनीय छ । विज्ञान प्रविधिको युगमा विज्ञान विषयको मन्दिर जिर्ण र अस्तव्यस्त हुँदा पनि कसैको ध्यान पुगेको छैन ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो पटक नवौं विज्ञान दिवस मनाउने घोषणा गरेको छ । तर, त्यो सन्देश अस्कलसम्म भने पुगेको छैन । पुगेकै भए पनि औपचारिकतामात्रै सीमित हुनेछ ।

कोभिड–१९ का कारण सीमित व्यक्तिमाझ क्याम्पसका संस्थापक अमृतप्रसाद प्रधानको प्रतिमामा माल्यार्पण गरिने क्याम्पस प्रमुख लोकबहादुर बरालले जनाएका छन् । ‘यसअघि विज्ञान प्रदर्शनी गरेर राष्ट्रिय विज्ञान दिवस मनाइन्थ्यो । तर दुई वर्षयता कोभिड महामारीका कारण मनाउन सकिएको छैन,’ क्याम्पस प्रमुख बरालको भनाइ छ ।

कुनैबेला देशकै विज्ञान अध्ययनको केन्द्र अस्कललाई अहिले आफ्नो ६ दशक पुराना संरचनालाई ठाडो राख्न निकै अप्ठेरो परेको छ । त्यसमाथि पनि विज्ञ प्राध्यापकहरूको पदपूर्ति हुन नसक्दा आंशिक शिक्षक र थोरै कर्मचारीको भरमा क्याम्पसमा नाम मात्रको पढाई हुने गरेको छ ।

२०७२ सालको भूकम्पले तीनतले क्याम्पस भवनलाई नराम्रोसँग हल्लायो । त्यही भूकम्पसँगै हल्लियो यसका दशकौं पुराना जग । अब यो जीर्ण बनेको छ । प्राविधिक मूल्यांकनले रेट्रोफिटिङ गरे पुग्ने भने पनि भूकम्पको सातौं वर्षसम्म जीर्णोद्वार हुन सकेको छैन ।

या भनौं जीर्णोद्वार गर्न कसैलाई चासो नै छैन । बिचको तलामा रहेको पुस्तकालय कक्ष ‘रेड जोन’ मा परेको छ । पुस्तकालय कक्षमुनि भूइँतलामा फलामको खम्बाले टेको लगाइएकाले भत्किहाल्दैन भन्ने आश क्याम्पसकर्मीलाई छ ।

चिरा परेको भित्ता जर्जर अवस्थामा छन् । हरेक बर्खामासमा पानी चुहिएर आहालझैं जम्छ । विद्यार्थी पुस्तकालय कक्षमा जमेको पानीमाथि कुर्सी राखेर टेबलमा पढ्ने गर्छन् । बिजुली बत्ती मर्मत नहुँदा दिउँसोमात्र अध्ययन गर्न सक्ने अवस्था छ । पानी चुहिँदा अडिटोरियम हल, स्टोर, शिक्षक कक्षा, केही कक्षा कोठा र प्रयोगशाला जीर्ण छन् ।

‘धेरै प्रयोगशालामध्ये एउटा सानो कक्षामामात्रै व्यवस्थित र अत्याधुनिक उपकरण छन्,’ क्याम्पसका ल्याब अधिकृत नन्दकृष्ण मानन्धर भन्छन्, ‘पुराना तार, प्लग, मेसिन छन् । तर ल्याबमा प्रज्ज्वलनशील केमिकल प्रयोग गरिँदा आगलागी हुने सम्भावना उत्तिकै छ ।’

प्रयोगशाला कक्षमा जडान गरिएका काठका टेबल, दराज, केमिकल उपयोग मेसिनलगायत संरचना २०२१ सालकै हुन् । ढल बन्द भएकाले पानी भित्रै जमेको छ । तैपनि बीएस्सीका विद्यार्थी आलोपालो प्रयोगशालामा धाइरहेको भेटिन्छन् ।

सुरूमा त्रिचन्द्र क्याम्पसमै अस्कलले पढाई सुरू गरे पनि यो अस्कल भवन २०१८ सालमा निर्माण गरिएको हो, जुन राजधानीको लैनचौरको मूल सडकसँगै दक्षिणतर्फ रहेको छ । अंग्रेजीको ‘ई’ आकारमा बनेको यो भवन साढे ७ रोपनी क्षेत्रफलमा रहेको छ । पछाडितर्फ बगैंचा र पुराना संरचनासमेत रहेका छन् । यस क्याम्पसका कक्षा कोठाहरू धुलाम्मे र अँध्यारा छन् । बिजुली बत्ती ट्युबलाइट मुस्किलले पिलपिल बल्छन् ।

सडक पार गर्न क्याम्पस भवनको एक तलामाथि आकाशेपुल छ । सडक उत्तरतर्फ क्याम्पसकै १५ रोपनी क्षेत्रफलमा जग्गा रहेको छ । यही पश्चिम–पूर्वी मोहडामा तीनतले छात्रवास रहेको छ । शिक्षक, विद्यार्थी, कर्मचारी र छात्रवासकाले प्रयोग गनेएकतले क्यान्टिन भवन भूकम्पपछि बन्द छ । टहरा गोदाममा सामान थन्काइएका छन् भने प्रिफ्याबका केही कक्षा कोठा रहेका छन् ।

क्याम्पस प्रमुख लोकबहादुर बराल

डेढ दशक अघिसम्म क्याम्पसमा १ सय २० जना जति कर्मचारी थिए । अहिले ६० जनामात्र छन् । त्रिविले २०६५ सालमा प्रवीणता प्रमाणपत्र तह हटाएपछि विद्यार्थी चाप घट्यो । त्यसपछि कर्मचारी दरबन्दी पदपूर्ति भएन । पढाउने जनशक्ति १ सय ३० जना स्थायी शिक्षक छन् भने १ सय ४१ जना आंशिक शिक्षकले धानिरहेका छन् ।

‘अस्कल समस्या नै समस्याले जेलिएको छ,’ निवर्तमान क्याम्पस प्रमुख प्रा. पुष्पलाल होमागाई भन्छन्, ‘धन्न कोरोना भाइरसको महमारी फैलिएपछि भौतिक कक्षा सञ्चालन गर्नु नपरेकाले तत्काल समस्या भएको छैन ।’

अस्कलमा स्नातक र स्नातकोत्तर गरी १ हजार ८ सय विद्यार्थी अध्ययनरत छन् । पढ्न चाहने विद्यार्थीको चाप घटेको छैन । तर, भूकम्पपछि भौतिक पूर्वाधारको कमीले गर्दा समस्या जहाँको तहीं छ ।

यहाँ लामो समयदेखि सुचारु चार वर्षे जनरल बीएस्सी, बीएस्सी सीएसआईटी सुचारु छन् भने यो वर्षबाट बीआईटीसमेत संचालन गर्न भर्ना प्रक्रिया अघि बढेको जनाइएको छ । त्यसैगरी दुई वर्षे एमएस्सीमा भौतिकशास्त्र, रसायनशास्त्र, वनस्पतिशास्त्र र प्राणीशास्त्रको पठनपाठन हुँदैआएको छ । सीमित कोटाका आधारमा भर्ना लिने गरिएको छ ।

बीएस्सी सीएसआईटी र मास्टर्सको पढाइ सेमेस्टर प्रणालीमा सुचारु छ । वार्षिक प्रणालीअन्तर्गत बीएस्सी फिजिक्स, केमेस्ट्री, बोटानी, जुलोजी, म्याथमेटिक्स, माइक्रोबायोलोजी र इन्भाइरोनमेन्ट विषय सुचारु छन् । बीएस्सी र एमएस्सीका दुई प्रयोगात्मक कक्ष (ल्याब) छन् । तर उपकरणहरू वर्षौं पुराना छन् ।

भवनको ‘थ्रीडी’ फोटोमात्रै
भूकम्पपछि उत्तरतर्फको जग्गामा ४ तले ९२ कोठाको भवन निर्माण गर्न २०७३ सालमा गुरुयोजना बन्यो । तर, लगानी कसले गर्ने भन्ने निश्चित नभएकाले डीपीआर बन्न सकेको छैन । यद्यपि कलेजले आफ्नो वेबसाइटमा अत्याधुनिक भवनको ‘थ्रीडी’ फोटो राखेको देखिन्छ ।

‘कुनै दिन त्यो भवन बन्न सक्छ भन्ने लागेर वेबसाइटमा राखिएको हो,’ पटकपटक ध्यानाकर्षण गराउँदै आएको उल्लेख गर्दै क्याम्पस प्रमुख बराल भन्छन्, ‘ऐतिहासिक क्याम्पसको गरिमालाई त्रिवि, विश्वविद्यालय अनुदान आयोग, सरकारले बुझेका छन् भन्ने लाग्छ ।’

त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ६२ आंगिक क्याम्पसमध्ये अस्कल एक हो । शैक्षिक संस्था जति पुरानो हुँदै जान्छ उति अगुवाको भूमिका निर्वाह गर्छ । परिणाम उत्कृष्ट बन्दै जान्छ । भौतिक पूर्वाधार सम्पन्न हुने नै भयो । तर, अस्कल क्याम्पस परिणाममुखी र अगुवा बन्न सकेको छैन ।

निजी क्षेत्रबाट स्थापना गरिएको नेपालको पहिलो विज्ञान शिक्षालाई जसलाई पब्लिक साइन्स कलेज (पस्कल) भनियो । यस क्याम्पसका संस्थापक अमृतप्रसाद प्रधान हुन् । कलेजका संस्थापक प्रधानको कलेजकै प्रवर्द्धन कार्यमा खटिने क्रममा २०२२ सालमा हवाई दुर्घटनामा परी निधन भयो । त्यसपछि उनको योगदानलाई कदर गर्दै अमृत साइन्स कलेज (अस्कल) नामांकरण गरिएको हो ।


जीर्ण छात्रावास
अस्कल छात्रावासमा देशभरका विद्यार्थी छानिएर बस्छन् । ५८ वर्ष अघि बनाइएको चारतले भवन भूकम्पले आंशिक क्षति पुगेको छ । केही अघि बाहिरी आवरण पेन्टिङ गरिएकाले झट्ट हेर्दा आवरण राम्रो देखिन्छ । झ्यालढोका मक्किएका छन् भने कोठा घुरमैला छन् ।

छात्रवासमा अहिले १ सय १८ जना छात्र र केही कर्मचारी दुःखजिलो गरेर बसेको वार्डेन लालबाबु कर्णले जनाए । विद्यार्थीले छात्रावासमा कोठा, बिजुली, पानी, पत्रपत्रिकाको सुविधा पाउँछन् । क्यान्टिन बन्द भएपछि विद्यार्थी आफैंले बिजुली हिटर बालेर खाना पकाउनु पर्दा क्याम्पसलाई अतिरिक्त भार परेको उनले जनाए ।

'पहिले राजनीतिज्ञ उत्पादन गर्‍यो, अहिले राजनीतिले क्याम्पस सिध्यायो'

पूर्वविद्यार्थी तथा पूर्वविज्ञान प्रविधि मन्त्री गणेश साह
म २०२१ सालमा पब्लिक साइन्स कलेज (पस्कल) हुँदाको विद्यार्थी हो । संस्थापक अमृत सर हवाई दुर्घटनामा बित्नुभएपछि क्याम्पस भनिएको हो । त्यतिखेर पस्कलमा भर्ना पाउनु भनेको धेरै ठूलो कुरो थियो ।

त्यसबेला जनकपुरबाट हामी चारजना काठमाडौंमा पढ्न जाने भनेर आएका थियौं । म र मेरा साथीहरू बालरोग विशेषज्ञ डा. शंकर सुडी, मेकानिकल इन्जिनियर रामकृपाल साह र इन्जिनियर कौशल सर्राफ थिए । हाम्रो भाग्य निर्माणकर्ता नै पस्कलका आदरणीय गुरुहरू हुनुहुन्थ्यो ।

हामी पढ्न आउँदा तीन कम्पोनेन्ट थिए । एसएलसी बोर्डफस्ट भेषराज कँडेल पनि त्यही पढेका थिए । भर्ना हुन आउने विद्यार्थी उच्च अंक हासिल गरेको हुनुपर्ने र प्रवेशमा नियन्त्रित हुन्थ्यो । सरहरू एकसेएक गुणस्तर र पेशाप्रति समर्पित हुनुहुन्थ्यो । डेडिकेटेड गुरुहरूको टिम हुन्थ्यो । नियमिक कक्षा र अतिरिक्त कक्षा पढ्थ्यौं । कुल विद्यार्थीको ५० प्रतिशत छात्रवासमा बस्न पाउँथ्यौं । त्यतिबेला देशभरि ३५ जिल्लामा विभाजित थियो ।

मधेस, पहाड, हिमाल सबैतिरका थियौं । छात्रवासको मेसमा सामान आफैं किनेर व्यवस्थापन गर्थ्यौं । पकाउने मान्छे छुट्टै हुन्थ्यो । त्यतिखेरको क्याम्पस भवन र छात्रवास भवन साँच्चै भव्य थियो । अहिले जीर्ण अवस्थामा छन् । यो क्याम्पसले पहिले राजनीतिज्ञ उत्पादन गर्‍यो । अहिले त्यही राजनीतिले क्याम्पस सिध्यायो भन्ने लाग्छ ।

प्रकाशित : आश्विन १, २०७८ १३:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?