मिस्टर सुप्रान्यासनलका थर्ड रनरअप डा‍क्टर सन्तोष भन्छन्– ‘राजनीतिमा आउँछु’ [भिडियो]

बुनु थारु

काठमाडौँ — दुई वर्ष अगाडिको कुरा हो, पेसाले चिकित्सक ३० वर्षीय डा. सन्तोष उपाध्याय रात्रिबसमा अछामबाट काठमाडौं आउँदै थिए । समय कटाउन मोबाइलमा समाचार हेर्दै गर्दा उनको आँखा एउटा सूचनामा गएर अडियो । सौन्दर्य प्रतियोगिता । पेशाले चिकित्सक सन्तोषको रुचि मोडलिङ र सामाजिक कार्यमा पनि थियो ।

मिस्टर सुप्रान्यासनलका थर्ड रनरअप डा‍क्टर सन्तोष भन्छन्– ‘राजनीतिमा आउँछु’ [भिडियो]

‘मैले आफ्नो पेसा अनि सामाजिक उद्देश्यलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएर चिनाउन सक्छु कि भन्ने लाग्यो । त्यसपछि नेपालको प्रतिनिधित्व गर्दै प्रयास गर्ने निधो गरेँ,’ उनले भने ।

त्यसपछि सन् २०१९ मा आयोजना भएको मिस्टर नेपालमा उनले सहभागिता जनाए । उनको प्रयास विफल भएन । विजेता नै बने । त्यसैगरी ३७ राष्ट्रका प्रतिस्पर्धीबीच ‘भर्चुअल’ रुपमा भएको ‘मिस्टर सुप्रास्टार २०२०’ मा पनि सहभागी भए । त्यसमा पनि विजेता भए । यो सफलताले उनलाई ‘मिस्टर सुप्रान्यानसनल २०२१’ सम्म पुर्‍यायो ।

अंग्रेजी वर्षको गत अगस्ट २२ मा पोल्यान्डमा आयोजना भएको ३४ राष्ट्र सहभागी रहेको ‘मिस्टर सुप्रान्यानसनल २०२१’ प्रतियोगितामा उनी तेस्रो रनरअप बने । उनले महत्त्वपूर्ण मानिने ‘मिस्टर इन्फ्लुएन्सर अवार्ड’ समेत हात पार्न सफल भए ।

नेपाली प्रतियोगीले अन्तर्राष्ट्रियस्तरको सौन्दर्य प्रतियोगितामा हात पारेको यो ठूलो सफलता मध्येको एक हो । नेपालले पहिलोपटक यस प्रतियोगितामा सहभागिता जनाएको थियो ।

अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि देशको सहयोग कम

डा. सन्तोषले अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो सहभागितामै अर्थपूर्ण स्थान हासिल गरेकोमा वाहवाही पाइरहेका छन् । तर, प्रतियोगितासम्म पुग्नको लागि गरिएको मिहिनेत तथा संघर्षको छुट्टै कथा छ ।

नेपालमा कोभिड देखिँदा उनी लुभु प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत थिए । दोस्रो लहरका बेला कोभिडको ड्युटीमा रहँदा उनी आफैलाई पनि संक्रमण भयो । त्यसपछि घुँडाको लिगामेन्टमा लागेको चोटका कारण शल्यक्रिया नै गर्नुपर्‍यो । उता प्रतियोगितामा सहभागी हुने दिन नजिकिँदै थियो । तर, प्रतियोगितामा सामेल हुनका लागि उनी कति पनि विचलत भएनन् ।

सन् २०१९ मा आयोजित ‘मिस्टर नेपाल’ विजेता भएकैले उनले ‘मिस्टर वर्ल्ड’मा सहभागी हुने अवसर पाएका थिए । तर, प्रतियोगिता आयोजना नै भएन । ‘मिस्टर सुप्रान्यानसनल’मा जान नेपालसँग प्रतियोगिताको फ्रेन्चाइज थिएन । उनले ‘भर्चुअल मिस्टर सुप्रास्टार २०२०’ भइरहेको थाहा पाए । त्यसपछि त्यसैमा आवदेन दिए । सो प्रतियोगिता जिते पछि भने ‘मिस्टर सुप्रान्यासनल’का लागि ढोका खुल्यो ।

डा. सन्तोष सो प्रतियोगिताको सबै सब–क्याटोगोरीका फाइनलमा पुगेका थिए । त्यसैले पनि टप १० मा पुग्छु भन्नेमा विश्वस्त थिए । प्रतियोगिताको क्षण सम्झिँदै उनले भने, ‘टप २० मा ‘नेपाल’ भनेर नाम बोलाउँदा एकदमै खुसी लाग्यो । तर, फाइनलमा तेस्रो रनरअप भनेर बोलाउँदा भने केही दुःख लाग्यो ।’

आफू सबै सब–क्याटोगोरीमा फाइनलमा पुगे पनि दोस्रोसम्म नभएकोमा दुःखेसो छ । यद्यपि उनी आफ्नो प्रदर्शनप्रति भने खुसी छन् । नेपालको प्रतिनिधित्व गरेर देश चिनाउन पाउँदा हर्षित छन् । सुप्रान्यासनलको लाइभ भिडियो फिडमा पनि धेरैले नेपालको प्रर्दशनको प्रशंसा गरेको उनले बताए ।

नेपाल मुख्य टाइटल जित्न सक्षम हुँदा पनि किन पछाडि पर्छ भन्ने प्रश्नमा उनले भने, ‘समग्र राष्ट्र नै कस्तो छ त्यसले विजेता हुने वा नहुनेमा फरक पार्दो रहेछ । विभिन्न देशका आ–आफ्नै राष्ट्रिय निर्देशक थिए । उनीहरुको टिम नै हुने रहेछ । सबै कुरामा गाइड गर्दा रहेछन् । प्रतियोगीलाई आर्थिक सहयोग गर्न प्रायोजन पनि गरिहेको हुँदो रहेछ । एक रुपैयाँ पनि प्रतियोगीको खर्च नहुने ।’

प्रतियोगितामा सानोभन्दा सानो कुराको पनि मूल्यांकन गरिने हुँदा आफ्नो टिम नभएपछि गाह्रो हुने डा. सन्तोषको भोगाइ छ । त्यस्ता प्रतियोगितामा खानेकुरा खाने तरिकादेखि बोलीचाली, लुगाहरुमा उत्तिकै ध्यान पुर्‍याउनुपर्ने उनले अनुभव गरे ।

आफूले ‘ट्यालेन्ट राउन्ड’मा दिएको प्रस्तुति प्रतियोगिताकै अविस्मरणीय क्षण भएको उनलाई लाग्छ । ‘मैले ट्यालेन्ट राउन्डमा एकजना निर्णायकको चित्र कोर्दै राष्ट्रिय गीत गाएको थिएँ । सबैले औधी मनपराए,’ उनले खुसी हुँदै भने ।

सो प्रतियोगिता नेपालको प्रतिनिधित्व गर्दा व्यक्तिगत १२ लाखभन्दा बढी खर्च भएको उनको दाबी छ । नेपालसँग यसको फ्रेन्चाइज नभएका कारण पनि उनलाई थप समस्या भएको थियो । ‘सबै खर्च आफै व्यहोरे,’ डा. सन्तोषले तीतो अनभुव हँसिलो मुद्रामा सुनाए, ‘अझै ३–४ लाख ऋण तिर्न बाँकी नै छ ।’

यद्यपि उनले फिटनेश तालिम, डाइट, हेयरस्टाइल लगायतका कुरामा केही संघसंस्थासँग सहयोग पाएका थिए । उनले सबैभन्दा बढी खर्च लुगा तथा जुत्तामा भएको बताउँछन् । ‘लुगामै ५ लाख जति गयो । १० वटा जति फर्मल ड्रेस नै लग्नुपरेको थियो । त्यसका लागि चाहिने जुत्ता, चस्मा पनि आवश्यक हुन्छ,’ उनले भने ।

तस्बिरहरू : दिपेन्द्र रोक्का/कान्तिपुर

दुर्गममा काम गर्ने चिकित्सक दुःखी भए पनि सेवा दिन्छन्

डा. सन्तोषले १५ महिना अछाममा बसेर चिकित्सकका रुपमा काम गरे । उनले दुर्गममा काम गरिरहँदा नेपालको स्वास्थ्य क्षेत्रको असली पाटो देखे । ‘औषधि नै हुन्थेन । सामान्यभन्दा सामान्य केस पनि रेफर गर्नुपर्थ्यो । किनकी हामीसँग उपकरण नै थिएनन्,’ उनले भने, ‘सामान्य उपचारबाट ठीक पार्न सकिने समस्या पनि रेफर गर्नुपर्ने किनकी एक्सरे छैन । धेरै दुःख छ त्यहाँ ।’

अभावका बीच आफूले जानेको सीप व्यवहारमा उतार्न नपाउँदा दुःख लाग्ने बताउँछन् डा. सन्तोष । ‘मैले चिकित्सा विज्ञान पढेको छु । गाउँमा जानु छ, सेवा गर्नु छ । व्यक्तिगत सेवा सुविधाको कुरै छोडौं तर, काम गर्दा पढेको कुरा व्यवहारमा उतार्न पाइँदैन । किनकी स्रोत साधन नै हुन्न,’ उनले भने, ‘त्यही कारणले कसैको मृत्यु भयो वा स्वास्थ्य अवस्था गम्भीर भयो भने निश्चय पनि मनाबेल त घट्छ नै ।’

दुर्गममा काम गर्ने चिकित्सकहरुले धेरै समस्या भोगे पनि सेवाभावका कारण खटिरहेको उनी बताउँछन् । उनले त्यो अवस्थालाई सुधार गर्न सरकारलाई निरन्तर झकझक्याइ राख्नुपर्नेमा जोड दिन्छन् । ‘परिवर्तन हामीले नै ल्याउने हो । यसका लागि निरन्तर लाग्नुपर्छ,’ उनले भने ।

नेपालको स्वास्थ्य प्रणालीमै समस्या रहेको उनको बुझाइ छ । ‘मापदण्ड बनेका छन् तर, त्यही अनुसारका संरचना पूर्ण रुपमा बनिसकेका छैनन् । औषधि पनि चाहिएको मात्रामा पुगिसकेको अवस्था छैन । पूर्वाधारहरु विकास भएका छैनन्,’ उनले भने, ‘झन् जनशक्तिको त कुरै नगरौँ । सबै क्षेत्रमा अपुग छन् । व्यक्तिगत हिसाबले परिवर्तन आउँदैन । प्रणालीमै प्रहार गर्नुपर्नेछ ।’

राजनीति गर्ने चाहना

डा. सन्तोष हाल नेपाल मेडिकल एसोसिएसन जुनियर डाक्टर कमिटीको प्रवक्ता हुन् । उनलाई लिडरसीपमा विश्वास लाग्छ । ‘अबको केही वर्षमा मलाई राजनीतिमा सक्रिय देख्नपाउनुहुन्छ,’ उनले भने, ‘मेडिकल विद्यार्थी हुँदा मैले आफ्नो नेतृत्वमा गरेका कार्यक्रम सफल भएका छन् । त्यसैले पनि मैले राजनीतिमा लाग्ने सोच बनाएको हो ।’

उनको भनाइमा नपढेका मान्छेले मात्रै राजनीति गर्छन् भन्ने धारणालाई परिवर्तन गर्नुपर्ने बेला भएको छ । ‘खासमा पढेर नै आउने हो राजनीतिमा । हरेक पेसाबाट राजनीति गर्न सकिन्छ । तर लिडरसीप क्षमता हुनुपर्‍यो,’ सन्तोषले भने, ‘ देशको अवस्था हेर्दा जता फर्कियो त्यतै समस्या देखिन्छ । सबैजना सकरात्मक भएर राम्रो समूह बनायो भने विकास सम्भव छ जस्तो लाग्छ मलाई त ।’

प्रकाशित : भाद्र २८, २०७८ १५:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?