कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

राजाराम पौड्याल सेप्टेम्बर ११ यसरी सम्झन्छन् : केही हन्डर र केही रमाइलो

काठमाडौँ — २० वर्षअगाडि आतंककारी संगठन अलकायदाले अमेरिकाको ट्विनटावरमा आक्रमण गर्दा झन्डै ३ हजार निर्दोषको ज्यान गएको थियो । १० मिलियन डलर बराबरको भौतिक क्षति भएको थियो । उक्त दिन नेपाली हास्यकलाकार राजाराम पौड्याल अमेरिका जाँदै थिए । आक्रमणपछि उनले भोगेका केही हन्डर र केही रमाइला कथा :

राजाराम पौड्याल सेप्टेम्बर ११ यसरी सम्झन्छन् : केही हन्डर र केही रमाइलो

लन्डनस्थित हिथ्रो विमानस्थलबाट उडेको चार घन्टा बितेपछि राजाराम पौड्याल निदाएछन्, अमेरिकाको डल्लास विमानस्थलमा उत्रन तीन घन्टा मात्र बाँकी थियो।

अचम्म ! उनी ब्युझँदा त विमान लन्डनतिरै फर्किरहेको रहेछ। क्याप्टेनले अनाउन्स गरिरहेको थियो, ‘ट्विनटावरमा हमला भयो। सबै अन्तर्राष्ट्रिय विमानस्थल बन्द छन्। त्यसैले हामी लन्डन फर्कंदै छौं।’

तैपनि राजारामले खासै सुर्ता मानेनन्। सोचे, सानोतिनो आक्रमण होला, भोलि खुलिहाल्छ। लन्डन बसाइको खर्च विमान कम्पनीले बेहोरिहाल्छ।

उनले यति सामान्य ढंगबाट किन लिइरहेका थिए भने त्यतिबेला नेपालमा आक्रमण, भीडन्त र मृत्युका खबर दैनिकी बनिसकेका थिए। ‘मार्‍यो, मर्‍यो, हान्यो, पड्कायो भन्ने देशबाट गएकाले ट्विनटावर आक्रमणलाई पनि हल्का रूपमा लिएको थिएँ,’ १४ वर्षअगाडिको घटना सम्झिए उनले।

तर विमानभित्रको माहोल स्तब्ध थियो। कोही ट्वाइलेट जाँदा पनि शंका र भयको नजरले हेर्थे बाँकी यात्रु।

मुखामुख गर्थे। कतिका आँखा टिल्पिलाएका थिए। विमानमा सवार करिब २ सय यात्रुमध्ये एसियन मूलका कमै थिए। अधिकांश अमेरिकी।

सोही कारण उनीहरू आक्रमणबाट बढी अत्तालिएका थिए। अर्को संयोग के भने, जुन विमान हाइज्याक गरेर ट्विनटावरमा ठोक्काइएको थियो, उनीहरू त्यही कम्पनीको विमानमा यात्रारत थिए, युनाइटेड एयरलाइन्स।

यसो हुँदा स्वाभाविक रूपमा न त्यही विमान पनि हाइज्याक होला भन्ने डर बढेको थियो। अघिल्लो शनिबार कमलादीस्थित प्रज्ञा भवनमा भेटिएका राजारामले आँखा तान्दै भने, ‘धन्न, भगवान्को कृपाले त्यसो भएन।’

हिथ्रोमा ओर्लिएपछि राजारामले पहिले घरमा खबर गर्न खोजे। अमेरिका उडेको विमान फर्किएको र उडान क्यान्सिल भएकाले विमानस्थलमा मान्छेको भीड बढ्दै थियो। बल्लतल्ल फोन कार्ड किने र बुथतिर आँखा लगाए।

मेरी आम्मै ! प्रत्येक बुथमा डेढ–दुई सयको लाइन थियो। सबै परिवारमा खबर गर्न तँछाडमछाड गरिरहेका थिए। राजारामलाई त बुथमा लाइन बस्ने आँटै आएन।

भन्छन्, ‘म ठीक थिएँ। ढिलोचाँडो घरमा थाहा पाइहाल्छन् भन्ने लाग्यो। त्यसैले भीडमा थुप्रिन मन लागेन।’ त्यहाँ झन्डै पाँच घन्टा कुरेपछि विमानस्थलको बस आयो। अँध्यारो भइसकेको थियो। झन्डै तीन घन्टापछि होटलमा लगेर बस रोकियो। त्यो होटल कुन सिटीको थियो? उनलाई अझसम्म पनि थाहा छैन।

होटलमा पुगेर टेलिभिजन खोलेपछि चाहिँ राजारामको सातोपुत्लो उड्यो। किनभने, टीभीमा उनले आफूले सामान्य ठानेको आक्रमणको भयावह रूप देखे। मान्छेको चित्कार र धूवाँको मुस्लोले उनको मथिङ्गल हल्लायो। ओठतालु सुक्यो।

‘म ११ वर्षअगाडि सन् १९९० मै ट्विनटावर उक्लिसकेको थिएँ, त्यहाँको भव्य र बलिया संरचना अनि कडा सुरक्षा व्यवस्थाबारे जानकार थिएँ,’ त्यसैले उनले आक्रमण भए पनि एक छेउमा छिस्स भयो होला भन्ने सोचेका थिए।

सुनाउँछन्, ‘ट्विनटावर नै सखाप पार्ने घातक आक्रमण भएको होला भन्ने कल्पनै गरेको थिइनँ। टीभी हेरेपछि त मेरा आँखा पनि रसाए।’ सँगै थपियो, भोलिदेखि के हाल होला भन्ने भय। किनभने अमेरिकाले एक साता अन्तर्राष्ट्रिय विमानस्थल बन्दको घोषणा गरिसकेको थियो।

युनाइटेड निकै प्रतिष्ठित कम्पनीमा पर्छ। त्यसैले लन्डनमै बस्नुपरे पनि कम्पनीले नै खर्च बेहोर्छ भन्नेमा ढुक्क थिए राजाराम। भोलिपल्ट विहान कोठाको ढोकामा टाँसिएको नोटिसले त्यो आशा तुहियो। नोटिस लेखिएको थियो, ‘प्राविधिक कारणले उडान नरोकिएकाले कम्पनी जिम्मेवार छैन। आफ्नो व्यवस्था आफैं गर्नु।’

उनी त्यसअघि दुईपटक लन्डन पुगिसकेका थिए तर पनि त्यो सहरबारे मेसो पाएनन्। एयरपोर्टबाट आउँदा रात परेकाले बाटोको पत्तो भएन। त्यसैले के गर्ने र कता जाने, तनावमा फँसे। होटलबाट भटाभट यात्रु निक्लन थाले।

उनले पनि लगेज निकालेर सडकपेटीमा राखे। केहीबेर टोलाए र डायरी पल्टाए। बीबीसी नेपाली सेवामा कार्यरत खगेन्द्र नेपालीको फोन नम्बर फेला पारे। दंग पर्दै बुथ छिरेर फोन गरे। उठेन। भ्वाइस म्यासेज छोडिदिए। आधा घन्टापछि खगेन्द्रले फोन फर्काएपछि रामकहानी सुनाए।

उनले हाँस्दै भने, ‘खगेन्द्र दाइ लिन आउनुहोला भनेको त पहिलो अन्तरवार्ता पो रेकर्ड गराउन थाल्नुभयो। अनि मैले अघिल्लो दिनदेखिको सबै वृत्तान्त कहें।’ यही अन्तरवार्ता सुनेपछि नेपालस्थित परिवारले आफू लन्डनमा अलपत्र परेको थाहा पाएको उनी सुनाउँछन्।

खगेन्द्र लिन आउन सम्भव नभएपछि अर्का मित्र धुव्र केसीलाई फोन गरे। धेरै टाढा भएकाले उनी पनि लिन आउन नभ्याउने भए। तर धुव्रले एउटा आइडिया सुझाए, डाउनटाउनसम्म बस चढेर आउन। तर बस स्टेसनसम्म पुग्नै महाभारत पर्‍यो उनलाई। दुईवटा बडेमाका लगेज थिए, अर्को ह्यान्ड ब्याग। त्यसमाथि विमानका कर्मचारीले लगेजको तान्ने र गुडाउने चुँडालिसकेका रहेछन्।

‘लगेज त मुडुलोजस्तो, न तान्न मिल्छ, न गुडाउन। टोक्नु कि बोक्नुजस्तो पो भयो। तैपनि खुट्टाले हान्दै–हातले घचेट्दै बस स्टेसन पुगें, असिनपसिन भएर,’ भन्छन्, ‘लगेजलाई खुट्टाले हान्दा सडकमा यस्तो तमासा बनेको थियो कि अहिले सम्झँदा पनि लाज लाग्छ।’ उनी बल्ल–तल्ल बस त चढे तर डाउनटाउन पुग्न बीचमा ट्रान्जिट हुँदोरहेछ। फेरि त्यस्तै तमासा देखाउँदै अर्को बसमा पुगे। झन्डै तीन घन्टापछि बसले बल्ल डाउनटाउनमा ओराल्यो।

डाउनटाउन आइपुगेको जानकारी गराउनु थियो धुव्रलाई। फोन बुथ बढीमा दुई सय मिटर टाढा थियो। चोरी हुने डर थिएन। त्यसैले ढुक्कसँग सडकको एक छेउमा लगेज राखेर बुथ छिरे। ५ मिनेटपछि फर्कंदा त लगेज वरपर भीड लागिसकेछ। अघिल्लो दिन अमेरिकाको त्यस्तो भीषण आक्रमणबाट आंतकित बनेका मान्छे भोलिपल्ट सडकमा अलपत्र ब्याग देखे पछि अत्तालिनु त स्वाभाविक भइहाल्यो नै। तर आफ्नो लगेज घेरिएको देखेपछि राजारामको झन् सातो उड्यो। हूलबाट छिरेर हत्तपत्त लगेज समाउन खोजें।

‘इट् बिलङस् टु यु?’ भीडमध्ये कसैले सोध्यो।

‘एस्,’ राजारामले हड्बडाउँदै जवाफ दिए।

‘वी वेयर गोइङ टु कल द पुलिस,’ अघिकै मान्छेले आँखा तर्दै भन्यो।

‘सरी’ भन्दै राजारामले लगेज समाए। मान्छेहरू आ–आफ्नो बाटो लागे। कसो पुलिसलाई बोलाइहालेनछन्। होइन भने कति झन्झट बेहोर्नुपथ्र्यो। त्यतिबेला आफूलाई ठूलो लफडाबाट जोगिएको जस्तो लागेको सुनाउँछन् उनी। केही बेरमा धुव्र आइपुगेपछि बल्ल उनको आँत भरियो। लन्डनको विख्यात वेम्ले स्टेडियम नजिकै धुव्रको वेम्ले तन्दुर रेस्टुराँ थियो। त्यहींको पाहुना बने उनी।

राजारामका अनुसार धुव्र मिल्ने साथी भएकाले खान र बस्नको समस्या थिएन। ढुक्कैसँग मेजमानले बस्न पाइरहेका थिए। तैपनि न विमान कम्पनीले केही रकम दिई पो हाल्छ कि भन्ने आशा पलायो। ‘ट्राई’ मारिहाले। फोन गरेर ‘पैसा सकियो, आपत् पर्‍यो’ भनेर दु:ख पोखे।

‘मलाई लाग्छ तपाईं टुरिस्ट भिसामा आउनु भएको हो। ठीक?’ विमान कम्पनीका कर्मचारीले भने।

‘हो,’ राजारामले ढाँटेनन्।

‘त्यसो भए त तपाईंसँग दुई हजार डलर त हुनै पर्छ,’ कर्मचारीले पक्रिहाल्यो।

हो पनि, राजाराम नाजावाफ बने। हत्तपत्त फोन राखे।

सात दिनपछि १८ तारिखमा बल्ल अमेरिकाले अन्तर्राष्ट्रिय उडान र आगमन सुचारु गर्‍यो। अमेरिका उड्न पाइयो भनेर खुसी त थिए नै, सँगै विमानस्थलको सुरक्षा कडा होला, अनावश्यकमा दु:ख पाइएला र आक्रमण भएको हप्ता दिन मात्रै भएकाले उताको जनजीवन धेरै आंतकित होला भन्ने चिन्ता थियो। त्यसमाथि लन्डनबाट उड्दा रिटर्न टिकेट लिनै भुलेछन्। त्यसैले उडानभर उनलाई डल्लासको आवागमनमा ठूलो झमेला आइपर्छ भन्ने चिन्ताले सताइरह्यो। पहिले जसरी निदाउन सकेनन्।

‘तर अचम्म ! विमानस्थलमा त सामान्य चेकजाँचसम्म भएन, बस स्टेसनजस्तै पो लाग्यो। जनजीवन पनि सामान्य भइसकेको रहेछ, व्यस्तता उस्तै, मानौं अघिल्लो साता त्यहाँ केही भएकै थिएन,’ अमेरिकी जनताको साहसलाई यसरी प्रशंसा गरे उनले, ‘शोकलाई शक्तिमा बदल्न सक्ने उनीहरूको खुबी साँच्चै सराहनीय थियो।’

नेपालमा फिल्म, टेलिफिल्म र स्टेजमा भ्याईनभ्याई हुँदा राजाराम अमेरिका छिरेका थिए, भविष्य सुरक्षित नदेखेर। तर सात वर्ष बस्दा पनि न उनले ग्रिन कार्ड पाए, न बल्लतल्ल किनेको घर नै जोगाउन सके।

घर किन्नासाथ आर्थिक संकट सुरु भएकाले बैंकले लिलामी गर्‍यो। उनकै शब्दमा भन्दा जस्तो अमेरिका गएका थिए, त्यस्तै हालतमा फर्किए।

कहिलेकाहीं उनी सोच्दा हुन्, कतै अमेरिका छिर्ने दिनमै त्यो अशुभ घटना भएकाले नै असफल भइएको त होइन?

(शनिबार सेप्टेम्बर ११ घटना भएको २० वर्ष पुगेको छ । यही सन्दर्भमा २०७२ भदौ २६ को कान्तिपुरमा प्रकाशित सामग्री पुन:प्रकाशन गरिएको हो ।)

प्रकाशित : भाद्र २६, २०७८ १३:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?