निजामती सेवा पुरस्कारबाट पुरस्कृत कार्यालय सहयोगी भन्छन्, ‘तलब थोरै हुँदा खाजै नखाने बानी लाग्यो’  [भिडियाे]- फिचर - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निजामती सेवा पुरस्कारबाट पुरस्कृत कार्यालय सहयोगी भन्छन्, ‘तलब थोरै हुँदा खाजै नखाने बानी लाग्यो’  [भिडियाे]

प्रकाश धौलाकोटी

काठमाडौँ — १८ औँ निजामती सेवा दिवसको सन्दर्भमा मंगलबार सरकारले निजामती सेवा पुरस्कार प्राप्त गर्ने ४० जना कर्मचारीको सूची सार्वजनिक गर्‍यो । सूचीको अन्तिममा एउटा नाम छ– पूर्णप्रसाद अगस्तीे । उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कार्यालय सहयोगी हुन् । 

कार्यालय समयभित्रै मंगलबार मध्यान्ह प्रधानमन्त्री कार्यालयमा भेट्न पुग्दा मन्त्रालयका सहायक प्रवक्ता गोकुल खड्काले उनलाई बोलाए । ‘किन होला हजुर ?’ छिनभरमै आइपुगेर उनी खड्का अघिल्तिर उभिए । ‘पहिले बस्नुस्, अनि कुरा गरौँला । तर, उनी बस्न मानेनन् । ‘किन होला हजुर’ उनले खड्कालाई फेरि सोधे ।
खड्काले तेस्रोपटक 'बस्नुस् न' भनेपछि बल्ल उनी अफ्ठयारो मान्दै कुर्सीमा बसे । हाकिमका अघिल्तिर कुर्सीमा बस्न उनले अप्ठ्यारो माने । ‘उहाँहरु पत्रकार हो । तपाईंसँग कुरा गर्न आउनुभएको,’ खड्काले यति भन्न नपाउँदै अगस्तीले अतालिँदै भने, ‘मैले के जान्नु र ?’

अगस्ती सुरुमा बोल्नै तयार भएनन् । तर, खड्काले पनि 'केही हुन्न, तपाईंलाई लागेको कुरा भन्नुस्' भनेपछि बल्ल उनी बोल्न तयार भए ।

त्यसपछि अर्को गोप्य कोठामा छिरियो । ‘तपाईंलाई पुरस्कार पाउँदा कस्तो लाग्यो ?’ गोप्य कोठामा छिर्नेवित्तिकै गरिएको प्रश्नमा उनले जवाफ दिए, ‘मैले पुरस्कार पाउँला भनेर त काम गरेको होइन । मलाई आएको कामको जिम्मेवारी पूरा गर्नुपर्छ । नत्र त्यो ठाउँ ओगटेर बसिरहनु हुँदैन भन्ने लाग्छ । म इमान्दारीपूर्वक आफ्नो जिम्मेवारी पूरागर्छु । यो त्यसैको मूल्यांकन हो जस्तो लाग्छ ।’

मुलुकको प्रशासकीय केन्द्र हो, सिंहदरबार । त्यहाँको पनि मुख्य कार्यालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हो । अगस्ती त्यही कार्यालयमा नौ वर्षदेखि सहयोगीको भूमिकामा छन् । उनी यही कार्यालयमा सहयोगी हुँदा–हुँदै धेरैपटक प्रधानमन्त्री फेरिए । उनी यहाँ धाउँदा–धाउँदै पाँचजना मुख्यसचिवले त सेवाबाटै बिदा लिए । उनका अरु हाकिमहरु पनि फेरिइरहन्छन् । तर, उनको दैनिकी सधैँ एउटै छ ।

उनी हाकिमभन्दा पहिल्यै कार्यालय पुग्छन्, र पछिमात्रै निस्किन्छन् । ढोका खोलेपछि बन्द गर्नेसम्मका जिम्मेवारी निभाएका छन्, उनले । भुईँमा भ्याकुम लगाउने, भाँडाहरु धुने, पानी भर्ने र सरसफाई गर्ने उनका दैनिक काम हुन् । यी काम उनी कि कार्यालय समय सुरु नहुँदै गरिसक्छन्, कि कार्यालय समय सकिएपछि । त्यसपछि दिउँसो सबै आइसकेपछि उनको काम फाइलहरू व्यवस्थापन र एउटा टेबुलबाट अर्कोमा पुर्‍याउने हुन्छ । यहीबीचमा चिया–खाजा पुर्‍याउने काम पनि उनकै जिम्मेवारी भित्र पर्छ ।

‘कहिले बिहान सातै बजे आउनुपर्छ । कहिले नौ बजे पनि आइन्छ । तर, साढे नौ बजे चाँहि आइसक्नुपर्छ । त्योभन्दा ढिलो त अहिलेसम्म भएको छैन,’ अगस्तीले भने, ‘बेलुका ढोका बन्द गरेर जाने हो ।’ मन्त्रिपरिषद् कार्यालयका सबैजसो शाखा/महाशाखाका र्‍याक उनले छोइसकेका छन् । त्यहाँका हरेक कोठा, दराज र झ्याल ढोकाहरुसँग उनको साइनो छ । अहिले उनी मुख्यसचिवको सचिवालयमा कार्यरत छन् ।

कार्यालय सहयोगी सरकारी कार्यालयका सबैभन्दा तल्लोतहका कर्मचारी हुन् । तिनले पाउने सुविधा थोरै हुन्छ, तर श्रम सबैभन्दा धेरै गर्नुपर्छ । कर्मचारीतन्त्र भित्र सहयोगीलाई गर्ने व्यवहार झनै विभेदपूर्ण छ । तर, अगस्ती ती सबै कुरामा अभ्यस्त छन् ।

‘मलाई जुन ठाउँमा भएपनि काम गर्न पाए पुग्छ । म काममा इमानदार छु । म नेपाल सरकारको काम गर्ने मान्छे हुँ । सकेको, जानेको काम म सधैँ मिहिनेत गरेर गर्छु,’ उनले भने । उनको इमान्दारी र मिहिनेतको मूल्यांकन यसअघि उद्योग मन्त्रालयले पनि गरेको थियो । मन्त्रिपरिषद्को कार्यालयभन्दा पहिले उनले उद्योग मन्त्रालयमा छ वर्ष काम गरे । त्यो बेला पनि मन्त्रालयले दश हजार रुपैयाँसहित पुरस्कृत गरेको थियो ।

५३ वर्षीय अगस्ती, कार्यालय सहयोगीकै रुपमा ३३ वर्षदेखि सेवारत छन् । त्यसो त उनको यो लामो जागिर यात्रा कम पीडादायी भने छैन । रसुवाको धैबुङमा सामान्य परिवारमा जन्मेका उनले राम्रो लेखपढ गर्न पाएनन् । त्यसबेला गाउँमा भर्खर स्कुल खुल्दै थियो । ‘गाउँमा खेतीपाती थियो, बाँदर धपाउन जानुपर्थ्यो,’ उनी भन्छन्, ‘स्कुल त थिए, तर त्यसबेला पढ्नुपर्छ भन्ने थाहै भएन, पढिएन ।’

उनले ७ कक्षासम्म मात्रै पढे । तर, अक्षर चाँहि राम्रोसँग चिने । त्यही कारण धेरै नपढे पनि उनले सरकारी सेवा गर्ने मौका पाए । २० वर्षसम्म स्वास्थ्य संस्था र अस्पतालमा काम गरे । ‘हाकिमले औषधि लेख्थे । मैले औषधि दिन्थें । गाउँमा बिरामी आउँदा धेरैलाई इन्जेक्सन दिने, औषधि दिने जस्ता काम गरेको छु,’ अगस्ती सुनाउँछन् ।

उनी जागिरमा भर्ना हुँदा सहयोगीका लागि पढाईभन्दा इमान्दारी हेरिन्थ्यो । ‘त्योबेला सज्जन छ, इमान्दार छ भनेर कसैले भनसुन गरिदियो भने जागिर पाइन्थ्यो,’ अगस्ती भन्छन्, ‘म त्यसैगरी भर्ना भएँ ।’

केशवकृष्ण भुर्तेल त्यो बेला रसुवामा जनस्वास्थ्य प्रमुख थिए । उनैले अगस्तीलाई स्वास्थ्य चौकीमा सहयोगीको काममा लगाए, ०४३ सालमा । ‘पूर्वदेखि पश्चिम महाकालीसम्म जहाँपनि जानुपर्ने हुनसक्छ, के तिमी जान्छौ ?,’ उनले जागिर खाने बेला खेपेको प्रश्न थियो त्यो । जान्नभन्दा जागिर नै नपाइने, जागिर नखाए घर नचल्ने । ‘मलाई काम गर्ने इच्छा छ, सरकारी काम गर्न म जहाँ पनि जान्छु,’ उनले जवाफ दिएका थिए ।

उनले मेची–महाकाली नै त डुल्नुपरेन । तर, रसुवाका दुर्गम गाउँ भने मज्जैले छिचोले । कहिले खोप बोकेर गाउँ पुग्नुपर्थ्यो, त कहिले औषधिको भारी । उनको कामबाट हाकिम खुसी नै भए । उनी ०४६ सालमै नै स्थायी पनि भए ।

रसुवाका यार्सा, थुम्मनलगायत हिमाली गाउँसम्म पुगेर उनले करिब १५ वर्ष बिताए । ‘गाउँमा बाटो थिएन । गाडी पनि थिएनन् त्यसबेला । सबै काम पैदलै हिँडेर, भारी बोकेर गर्नुपर्थ्यो,’ उनी भन्छन्, ‘तलब ६ सय रुपैयाँ थियो । चामल घरदेखि नै लैजान्थ्यौं । नुन र तेल किन्दा पुगिहाल्थ्यो ।’

‘मैले जागिर खाँदा मेरो तलब ३९० रुपैयाँ थियो । स्थायी भएपछि ४५० रुपैयाँ पुग्यो,’ अगस्ती भन्छन्, ‘घरमा कमाउने ममात्रै थिएँ । आफूले खाँदा अरु भोकै पर्लान् भनेर डराउनुपर्थ्यो । तलब थोरै हुँदा खाजा नखाने बानी नै पर्‍यो ।’

०६४ सालमा छोरालाई पढाउने सिलसिलामा उनले जिल्ला अस्पतालबाट वीर अस्पतालमा सरुवा मागे । तर, त्यहाँ जान पाएनन् । पछि उद्योग मन्त्रालयले उनको सरुवाका लागि स्वीकृति दियो ।

बबरमहलमा एउटा कोठा लिएर उनले छोरो पढाउन थाले । ‘कमाइ उति नै थियो । तर, खर्च बढेको थियो,’ उनी भन्छन्, ‘खर्च गर्न जानेन भने आज कमाएर त्यही दिन खाइसक्ने अवस्था हुन्छ । तर, म सम्हालिएँ ।’

उनले काठमाडौंमा गाँउघरको भन्दा अलग्गै प्रकारको संघर्ष गर्नुपर्‍यो । काठमाडौंमा एक्लै बस्दा उनको घर चलेन । उनले श्रीमती र अर्को छोरोलाई पनि यतै ल्याए । श्रीमतीलाई उद्योग मन्त्रालयमै करारमा जागिर लगाए । गाउँको जायजेथा बेचे । ऋण लिए, र काठमाडौंमै जग्गा किने ।

अहिले छोराहरु दुवैजना जागिर गर्छन् । बुहारी पनि जागिरे छिन्, श्रीमती पनि जागिरे । अहिले तारकेश्वरको लोलाङ हाइटमा घर बनाएका छन्, उनले । भन्छन्, ‘अब त मलाई सजिलो छ । पहिलेको दुःख सम्झिँदा पनि डर लाग्छ । तर, काठमाडौं आएपछि जिउ बिग्रिने रहेछ । अब शरीर स्वस्थ हुन्जेल सरकारकै सेवा गर्छु ।’

सरकारले तलबमानै वृद्धि गर्दा अरु कर्मचारीसँगै कार्यालय सहयोगीको पनि बढाउन थाल्यो । अहिले उनले मासिक तीस हजार कमाउँछन् । तर, खाजा नखाने बानी अहिले पनि छुटेको छैन । ‘बिहान खाना खान्छु, र अफिस आउँछु । त्यसपछि एकैचोटि बेलुकामात्रै खाने हो । दिउँसो खाजा खाने बानी नै भएन,’ उनी भन्छन्, ‘त्यसबेला खान त मन लाग्थ्यो, तर कमाउने कोही थिएन । घरमा सबैको भर मैप्रति थियो । नत्र पेट मारेर को बस्छ र ? अहिले पनि त्यस्तै बानी लागेको छ ।’

आफ्नो जागिरे जीवनप्रति उनी खुसी छन् । तर, कार्यालय सहयोगी भनेर गर्ने कतिपय हेय व्यवहारले उनी उत्तिकै निराश पनि हुन्छन् । ‘धेरै पढ्न पाएको भए, राम्रै हुन्थ्यो होला । पढ्न सकिएन । यस्तै काम गरियो, दुःख भोगियो,’ अगस्ती भन्छन्, ‘अब म नेपाल सरकारको काम गर्ने मान्छे हुँ । जिउ रहुन्जेल सकेको, जानेको काम मिहिनेत गरेरै गर्छु । इमान्दार भएर गर्छु ।’

उनले ५० हजार रुपैयाँको निजामती सेवा पुरस्कार पाएका छन् । तर, पैसाभन्दा ठूलो कुरा आफ्नो मूल्यांकन भएकोमा खुसी लागेको छ उनलाई । ‘मान्छे सन्तुष्ट हुन सक्नुपर्छ । जीवन चल्ने रहेछ,’ आफ्नो संघर्षपूर्ण जीवनको कथा सुनाएपछि उनी भन्छन्, ‘खासमा खर्च गर्न चाहिँ जान्नुपर्ने रहेछ । नत्र जति कमाए पनि पुग्दैन ।’

प्रकाशित : भाद्र २३, २०७८ १३:२८
प्रतिक्रिया
पठाउनुहोस्

देउवापुत्र जयवीरसिंह कांग्रेसका क्रियाशील सदस्य

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवा पनि राजनीतिमा प्रवेश गरेका छन् । उनले नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिएका छन् ।

२६ वर्षीय जयवीर बेलायतबाट अध्ययन सकाएर स्नातकोत्तर गरेका छन् ।

उनले गृहजिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ को वडा कार्यसमितिको सिफारिसमा क्रियाशील सदस्यता पाएका हुन् ।

उनी क्षेत्रीय प्रतिनिधि निर्वाचित भएर आउने तयारीमा रहेको स्रोतले जनाएको छ । डडेल्धुरामा २५ भदौमा वडा अधिवेशन गर्ने तयारी छ ।

प्रकाशित : भाद्र २३, २०७८ १३:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×