१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७
फिचर

बुबासँगै काँधमा काँध

रीना मोक्तान

आज कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिन । बुबालाई सम्मान प्रकट गर्ने विशेष अवसर । यो अवसरमा हामी ती बुबाहरूबारे चर्चा गर्दै छौं जसले प्रतिभावान् कलाकार त जन्माए नै, तिनलाई फिल्म क्षेत्रमै कर्म पनि दिए । उनीहरू कहिले निर्माता, कहिले लेखक, कहिले निर्देशक त कहिले स्वयं कलाकार बनेर आफ्ना कलाकार सन्ततिहरूका साथ यस क्षेत्रमा रमाइरहेका छन् ।

बुबासँगै काँधमा काँध

सुहाना थापा - बुबा नै जग हुनुहुन्छ

फोक्सुन्डो तालमा 'ए मेरो हजुर ४'को शीर्ष गीतको सुटिङ हुँदै थियो । अनमोल(केसी) आफ्नो सट सकेर आराम गर्नतिर लागे । तर सुहाना(थापा)को भने तालमा डुबेर छायांकन गर्नुपर्ने दृश्य बाँकी थियो । एकदमै जाडो थियो । चिसो सिरेटोले शरीरमा काँडा उमारिदिन्थ्यो । सुहानाको पहिरन पनि खुल्ला, शरीरमा न्यानो नदिने । उनी जाडोले सिउसिउ गर्दै सट दिँदै थिइन् । बुबा सुनिलले छोरीको दुःख देख्न सकेनन् । सुटिङस्थलबाट अलि परै बसेका उनले पत्नी झरनालाई फोनमै झपारे,'तिमीले मेरी छोरीलाई धेरै दु:ख दिइसक्यौ । मेरी छोरी मर्छे अब । सुटिङ प्याकअप गर ।'

फिल्मकै निर्माताले प्याकअप भनेपछि नहुने कुरै भएन । फिल्म छायांकनको त्यो क्षण सम्झँदा सुहानालाई निकै रमाइलो लाग्छ । भन्छिन्,'बाबाले म थाकें भनेर प्याकअप गराइदिनुभयो । त्यो दिन अझै सम्झन्छु ।'

जाडोमा खुल्ला पहिरन पहिरेर सट दिँदा सुहानालाई रुनै मन लाग्थ्यो । बुबा नजिकै भए झ्याम्मिन खोजिहाल्थिन् । त्यसैले सुटिङमा बुबा उनको नजिकमा बस्दैनन् । 'बुबालाई देख्ने बित्तिकै माया खोजिहाल्थें म। एकछिन भए पनि ढिलो गरौं, एकछिन भए पनि अल्छि गरौं भइहाल्थ्यो मलाई,' सुहाना सुनाउँछिन् । एक पटक 'ए मेरो हजुर-३'को सुटिङ जाडो महिनामै भएको थियो । सेट छेउमै गाडीमा हिटर खोलेर छोरीलाई कुरिबस्थे सुनिल ।

अभिनेत्री एवं निर्देशक झरना थापा र निर्माता सुनिलकुमार थापाकी एक्ली छोरी हुन् सुहाना । सुहानालाई 'ए मेरो हजुर-३'मार्फत फिल्म क्षेत्रमा डेब्यु गराउने सुनिल नै हुन् । बुबाकै कारण फिल्म क्षेत्रमा सजिलै प्रवेश पाइन् सुहानाले । 'उहाँहरु नभइदिएको भए सायद मैले फिल्म खेल्दिन थिएँ होला । मेरो जीवनमा अभिनयको करिअर सुरु गराइदिन पनि बुबाको हात छ । उहाँकै कारण यो क्षेत्रमा प्रवेश गर्न सजिलो भयो,' सुहानाले सुनाइन्, 'अरुले जति संघर्ष गर्नुपर्छ मैले त्यस्तो गर्नु नै परेन । त्यसका लागि म भाग्यमानी ठान्छु । हरेक सन्तानका लागि त अभिभावक सहयोगी नै हुन्छन् । मेरो लागि त बुबा मेरो जग, खम्बा हुनुहुन्छ । उहाँहरु मेरो सहयोग प्रणाली नै हुनुहुन्छ ।'

निर्माताको हिसाबले आफ्नो बुबा निकै खर्चालु रहेको सुहाना बताउँछिन् । उनकै शब्दमा 'प्रोडक्सनमा' केही कमी हुन दिँदैनन् सुनिल । बुबाहरु कडा हुन्छन् भन्ने सुनेकी थिइन् उनले । पढाई सकिएपछि बिहे गर्नुपर्छ भन्ने परम्परागत सोचका बुबा पनि देखिन् । तर, आफ्नो बुबा अरुभन्दा फरक रहेको उनको दाबी छ ।

'मेरो पढाई, करिअर, मेरो फेसनलाई रोकटोक गर्नुहुन्न । उहाँ एकदमै उत्साह दिनुहुन्छ । म छोरी मान्छे हो, छोरीजसरी बस्नुपर्छ भन्ने अनुभव कहिल्यै गराउनुभएन,' उनले भनिन्, 'कतिले मलाई छोरीमान्छे जसरी बस्नुपर्छ भन्दा मलाई उहाँले तिमी छोरी भए नि छोरा नै हो । तिमीले छोराले गर्ने सबै काम गर्न सक्छौ भन्नुहुन्छ । उहाँजस्तो बुबा पाउनु त भाग्यमानी ठान्छु ।'

थप्छिन्, 'मैले बुबाको पहुँचबाट सजिलै फिल्म क्षेत्रमा प्रवेश गरें । अब कहिलेसम्म सक्रिय रहन्छु त्यो मेरो हातमा हुन्छ।'

गौरव पहारी – बुबाको नाम भजाएर काम गर्न चाहिनँ

बुबा कलाकार भए पनि फिल्मी माहोलमा हुर्कन पाएनन् गौरव पहारी । होस्टल बसेर पढे । सानैदेखि फिल्मतिर भने झुकाव । छुट्टीमा घर आउँदा बुबाको सुटिङ हेर्न पुगिहाल्थे । एसएलसी सकेर भारतमा पढ्न थाले । स्नातकको पढाइ सकिएपछि उनले अभिनय गर्ने निर्णय लिए । बुबालाई भने, 'बुबा म कलाकार बन्न चाहन्छु ।' त्यतिबेला उनी भारतको पुनेमा थिए । बुबा नेपालमा । नेपाली फिल्ममा नाम त थियो तर, त्योबेलासम्म पनि दाम थिएन । किन ? गर्ने नै हो त ? कुनै प्रश्न गरेनन् बुबाले । एक शब्द पनि बोलेनन् । सिधै मुम्बईमा लगेर एक्टिङ स्कुलमा भर्ना गराइदिए । गौरवले अभिनय सिकेर मुम्बईमा ४ वर्ष संघर्ष गरे ।

कामको खोजीमा दौडधुप धेरै हुन्थ्यो । बलिउडमा बुबाका साथिभाइ थिए । उनले कहिल्यै बुबालाई भन्सुन गरिदिन भनेनन् । न त बुबाले नै 'तँलाई गाह्रो भएको छ भने म फलानोलाई भन्दिउँ' नै भनेर सोधे । मानिसले संघर्ष र दु:ख भोग्नुपर्छ भन्ने लाग्थ्यो गौरवलाई । 'सजिलै पाएको कुराको त्यति महत्त्व हुन्न भन्ने लाग्थ्यो । मैले कहिल्यै पनि बुबाको नाम भजाएर काम गर्न चाहिनँ,' गौरव सुनाउँछन् ।

मुम्बईमै संघर्षरत हुँदा 'मञ्जरी'बाट गौरवलाई फिल्मको अफर आयो । उनले बुबालाई फोनमा एउटै कुरा सोधे,'मलाई नेपालबाट फिल्मको अफर आएको छ । के गरौं ?'

बुबाले जवाफमा भनेको थिए,'फिल्ममा करिअर तिमीले रोजेका हौ । काम पाएको छौ भने निर्णय पनि तिमीले नै लिनुपर्छ ।' उनले फिल्म गर्ने निर्णय लिए । त्यसयता गौरवले आफ्नै निर्णयमा सबै फिल्म गर्दै आएका छन् । उनले बुबाबाट जीवनमा 'अप्स एण्ड डाउन' भइरहन्छ भन्ने कुरा सिकेका छन् ।

मञ्जरीमा बुबा टिका पहारीसँगै उनले अभिनय गरेका थिए । फिल्मको एउटा दृश्यमा बुबाले गौरवलाई ढुंगामा थेचारिदिनुपर्ने थियो । बुटवलमा ४५ डिग्रीको गर्मी । ढुंगा तातेको थियो । बुबाले ढुंगामा थेचारिदिँदा उनको निधारमा टुटिल्को निस्कियो । निर्देशकले 'कट' भन्नासाथ बुबाले 'आइस लेराउ' भन्दै सेकिदिएको घटना गौरवलाई सम्झना आउँछ । त्यसदिन साहयक निर्देशकलाई बुबाले उक्त दृश्यमा 'गौरवले राम्रो सट दियो' भनेका रहेछन् । पछि साहयक निर्देशकबाट उनले थाहा पाए ।

बुबासँगै उनले 'होस्टेल' फिल्ममा पनि अभिनय गरेका छन् । 'मञ्जरी'को प्रदर्शनको समयमा गौरव निकै नर्भस थिए । उनी हलमा गएनन्, त्यसदिन घरमै बसे । बुबा टिकाले भने छोरोको पहिलो फिल्म देखाउन परिवार र आफन्तलाई हलसम्म लिएर गएका थिए । उनको पछिल्लो फिल्म 'साइँली' हेरिसकेपछि भाइलाई अभिनयको प्रतिक्रिया दिएका रहेछन् बुबाले । 'बुबाले आफ्नो परिवारलाई गर्नुपर्ने साथ,सहयोग केहीमा कमी हुन दिनुभएन । घरमा हामीले बुबालाई बुबाजस्तो पायौं । कलाकार टिका पहारी हामीले कहिल्यै महसुस गरेनौं । त्यस्तो माहोल हुन पनि दिनु भएन बुबाले,' उनले भने ।

बुबा टिका पहारीले गौरवको मुखैमा उनका कामका प्रतिक्रिया दिइरहेका हुँदैनन् । उनी पनि बुबासँग फिल्मका कामहरुबारे त्यति छलफल गर्दैनन् । सानैदेखि होस्टल बसेर पढेका हुनाले एकअर्कासँग कुरा बाँड्ने बानी तीन दाजुभाइ र बुबाबीच कहिल्यै भएन । 'सायद होस्टल बसेको कारणले त्यो बानी भएन । एक त त्यो बेला बुबा सुटिङमै व्यस्त । मम्मीले हामी तीनजना केटाहरुलाई सम्हाल्न सकिन्न भनेर हो कि होस्टल पठाइदिनुभयो ! त्यो दुरी भएको भएर त्यसरी एकअर्कासँग कुरा बाँड्ने बानी नै छैन,' गौरव भन्छन्, 'बुबाले नराम्रो गरिस् भनेर हपारेको याद छैन । राम्रो गर्‍यौ भनेर मुखमै तारिफ गरेको पनि याद छैन । तेस्रो व्यक्तिबाट सुनिन्छ कहिलेकाहीँ ।'

अझै पनि कतिले आफू टिका पहारीको छोरो भएको थाहा नभएको गौरव सुनाउँछन् । गत अप्रिल फस्टमा बुबाको जन्मदिन थियो । उनले बुबासँगको तस्बिर फेसबुकमा राखेर जन्मदिनको शुभकामना व्यक्त गरे । धेरैले कमेन्टमा लेखेका थिए- 'तपाईं उहाँको पो छोरो हो ?'

तपाईंको नजरमा बुबा कस्तो कलाकार ? भन्ने प्रश्नको जवाफमा उनले भने, 'एउटै शब्दमा भन्नुपर्दा उहाँ नेपाली फिल्म क्षेत्रको लिजेन्ड हुनुहुन्छ ।'

केकी अधिकारी - बद्री अधिकारी

अभिनेत्री केकी अधिकारीले 'स्वर'बाट फिल्म क्षेत्रमा डेब्युको तयारी गर्दा बुबा बद्री अधिकारीमा कताकता असुरक्षाको भावना थियो । त्यतिबेला केकी १७ वर्षकी थिइन् । कलिलो उमेरमै फिल्म क्षेत्रमा छोरीको प्रवेशले बद्रीलाई अन्योलमा पारेको थियो । केकी पढाईमा अब्बल । फिल्म गर्ने बित्तिकै पढाइ बिगार्लिन् भन्ने चिन्ता थियो । यो क्षेत्रको विषयमा नजानेरै हात हाल्दैछ कि ! भन्ने लाग्थ्यो बद्रीलाई ।

बुझ्ने भइसकेपछि यो क्षेत्र रोजुन् भन्ने सोच्थे उनी ।

केकीले फिल्ममा अभिनय थाल्दा बद्रीले यो क्षेत्रबाट ग्याप लिएकै ४ वर्ष भइसकेको थियो । बद्रीलाई यो क्षेत्रका चुनौतीहरुबारे अझ बढी थाहा थियो । आफूले दुई फिल्म गर्दासम्म पनि बुबामा असुरक्षाको भावना रहेको केकी सुनाउँछिन् ।

केकीले 'मसान' गरिसकेपछि भने बुबाले उनलाई खुलेरै साथ दिन थाले । 'मसान फिल्म हेरिसकेपछि राम्रो कलाकार हुने लक्षण देखायौ भन्दै प्रतिक्रिया दिनुभयो । मिडियामा पनि बोल्नुभयो,' उनी सुनाउँछिन् । 'मसान' पछि गरेका हरेक फिल्महरुमा उनलाई बुबाको साथ छ ।

'बाबाको सहयोग त हरेक पाइलामा नै छ । मसान फिल्म प्रदर्शन भइसकेपछि भने 'अबचाहिँ गर्न सक्छौ' भन्ने प्रतिक्रिया थियो । अप्रत्यक्ष रुपमा अभिनय, फिल्म निर्माणका विषयमा साथ सहयोग मिल्दै आयो,' उनले भनिन्, 'म आज इमान्दारिताका साथ कुनै काम गर्छु भने त्यसको पछाडि बाबाको हात छ भन्ने लाग्छ । अप्ठेरो, गाह्रो पर्‍यो भने बाबाले मलाई सहयोग गर्नुहुन्छ । त्यसैले मलाई साहस दिन्छ ।'

एकपटक एउटा गसिपमा नाम जोडिँदा केकी कमजोर भएकी थिइन् । तर बाबाले त्यस्ता गसिपलाई सहज तरिकाले लिन सिकाए । 'उहाँले पहिला आफू नै सही हुनुपर्छ । यस्तो विषयमा फरक तरिकाले सोच्नुपर्छ भनेर प्रेरित गर्नुभयो,' उनी सम्झिन्छिन् ।

बुबा यही क्षेत्रसँग सम्बन्धित भएकाले केकीलाई छुट्टै शक्ति मिल्छ । करिअरको सुरुआती दिनमा केकीले बद्रीको नाम कतै लिइनन् । 'गल्ती गरें भने आफैं जिम्मेवार हुनुपर्छ' भन्ने लाग्थ्यो उनलाई । बुबाकै कारण यहाँसम्म आइपुगेको भन्ला भन्ने पनि थियो । 'आफ्नो गल्तीमा उहाँलाई नजोडिदियोस् भनेरै सुरुआती दिनमा उहाँको नाम लिइनँ । तर भित्री मनमा एकजना शिक्षक, सल्लाहाकारको हिसाबले मेरो बुबा मेरो पछाडि हुनुहुन्छ भन्ने कुरा बिर्सिनँ,' केकी सुनाउँछिन् ।

बाबासँग अभिनयको कुरा गर्न अप्ठेरो लाग्थ्यो केकीलाई । बुबा उनलाई सधैँ एकमुस्टमा समीक्षात्मक प्रतिक्रिया दिनुहुन्छ । उनी भन्छिन्, 'मैले कुर्ने पहिलो दर्शक नै बाबा हो । बाबाले कतिखेर फिल्म हेरेर समीक्षात्मक हिसाबले प्रतिक्रिया दिनुहुन्छ भनेर म कुरि बस्छु ।'

बुबा बद्रीसँग काम गर्ने अवसर कहिल्यै पाइनन् केकीले । उनी फिल्म क्षेत्रमा सक्रिय हुँदा बद्रीले निर्माताको रुपमा 'ज्यान हाजिर छ' भन्ने फिल्म बनाएका थिए । तर त्यसमा केकीकै मिल्ने साथी बेनिशा हमालले अभिनय गरिन् । त्यतिबेला केकीलाई लाग्थ्यो 'किन मलाई लिनुभएन होला ?' तर, फिल्ममेकरको अनुभव बटुलिसकेपछि उनले बुझिन्- आफ्नाहरुसँग काम गर्दा कतिपय समयमा अप्ठेरो हुन्छ ।

मौलिक, ऐतिहासिक र अर्गानिक विषयमा फिल्म बनाउन चाहने फिल्ममेकरको रुपमा आफ्नो बुबालाई लिन्छिन् केकी । 'नेपालीपनलाई स्क्रिनमा उतार्न सक्नुहुन्छ उहाँ । अविरल बग्दछ इन्द्रावतिको म सदैव फ्यान हुँ । बाबाले लेख्नुभएको पहिलो श्रृङ्खलाको स्क्रिप्ट मैले संगालेर राखेको छु । सायद बाबालाई त्यो थाहा छैन होला । बाबाले त्यसलाई कसरी मूर्त रुप दिनुभयो, म त्यो पढिरहेको हुन्छु । त्यसले मलाई अझै प्रभावित पार्छ,' उनले भनिन् ।

बाल्यकालमा बुबाले सुनाउने कुराहरुमा फिल्म क्षेत्रको संघर्षदेखि चुनौती सफलता, मिठा र दुःखत कुराहरु जोडिन्थ्यो । केकीको बाल-मानसिकतामा ती कथाहरुले यसरी प्रभाव छोड्यो कि उनी आफैं यसमा जोडिन पुगिन् । 'बाबाको प्यासन देखेर, म पनि फिल्म गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । त्यो ‍कलाप्रतिको सम्मान बाबाबाट नै आएको हो ममा,' उनले सुनाइन् ।

सलोन बस्नेत – फिल्मको मात्र होइन परिवारको पनि निर्देशक

बालकलाकार भएरै अभिनेता सलोन बस्नेतले ३० भन्दा बढी फिल्ममा अभिनय गरे । बाल्यकालमै उनमा फिल्मप्रतिको मोह हटिकेको थियो । 'हामी तीन भाई' पछि ७ वर्ष फिल्म नै गरेनन् । २०६४ मा एसएलसी दिइसकेपछि भने उनले बुबालाई निर्देशनमा सघाउन थाले । बुबालाई उनले 'मिसन लभ इन सिक्किम', 'बरदान', 'जङ्ग वार', 'जाउँ हिँड पोखरा'मा सहयोग गरे । १६ वर्षको उमेरमा उनी सेटमा क्ल्याप बजाउँथे । बुबाको दुई फिल्ममा उनले प्रोडक्सनको जिम्मा पनि सम्हाले ।

एकदिन फिल्मको छायाकंनकै क्रममा पोखरामा सुनिल राउलसँग सलोनको भेट भयो । त्यही भेटपछि सुनिलले सलोनलाई 'होस्टेल'को लागि भेट्न बोलाए । उनले बुबालाई सल्लाह मागे अनि सुनिलसँग भेट गरे । भेटेकै दिन उनको चरित्र फिक्स भयो । त्यसपछि उनी होस्टेलमा देखिए । त्यसयता सलोनले फिल्महरुमा निरन्तर काम गर्न थालेका छन् । उनी हरेक कामका लागि बुबासँग सल्लाह मागिरहेका हुन्छन् । बुबा सोभित बस्नेत फिल्म क्षेत्रमा चिनिएको नाम हो ।

'बुबाले त धेरै सहयोग गर्नुभएको छ । अहिले पनि कति कुरा म उहाँलाई नसोधी गर्दिन । उहाँलाई धेरै नै थाह छ नि । उहाँसँग सबै विषयमा सल्लाह लिइरहेको हुन्छु । अप्ठेरो समयमा पनि बुबासँग नै सल्लाह लिइरहेको हुन्छ,' सलोनले भने ।

सलोन सानैदेखि स्टेज कार्यक्रममा सक्रिय थिए । भुवन केसीले स्टेज कार्यक्रम हेरेरै उनलाई 'नेपाली बाबु'मा बाल कलाकारको रुपमा काम दिए । उनले ५ वर्षको उमेरमा सो फिल्ममा अभिनय गरे । त्यतिबेला फिल्मको सेटसम्म बुबाले नै उनलाई लिएर जान्थे । 'सानो थिएँ, बुबा सुटिङ अवधिभर बस्नुहुन्थ्यो,' उनी सम्झिन्छन् ।

बुबाको निर्देशनमा नेपाल टेलिभिजनबाट प्रसारणमा आएका थुप्रै टेलिश्रृङ्खला बालकलाकारको रुपमा स-सानो भूमिका निभाएका छन् । बाल्यकालमा बुबाको निर्देशनमा उनले 'आर्मी' र 'मन' भन्ने फिल्म गरे। पछिल्लो समय बुबासँगै उनले 'बाबु कान्छा'मा एकसाथ काम गरे । अब उनी दुई 'डाँडाको बरपिपल'मा एकसाथ देखिँदैछन् ।

उनी बुबाले फिल्मको मात्र नभएर परिवारमा पनि निर्देशकको भूमिका निभाउने बताउँछन् । 'उहाँ समय अनुसार आफूलाई ढाल्न सक्ने निर्देशक हुनुहन्छ । एकदमै उर्जाशिल । म उहाँजस्तै भएको भए भन्ने पनि लाग्छ । उहाँ फिल्ममेकर बाहेक असल बुबा हुनुहुन्छ । परिवारलाई धेरै केयर गर्नुहुन्छ । फिल्ममा मात्र होइन परिवारलाई पनि राम्रो निर्देशन गर्नुहुन्छ । कसले के गर्ने । कतिजनाको निर्णय उहाँ आफैंले लिइदिनुहुन्छ,' उनले भने ।

सलोन कहिले बुबासँगै एउटै स्टेजमा त कहिले एउटै स्क्रिनमा नाचिरहेका देखिन्छन् । बुबासँगै काँधमा काँध मिलाएर अभिनय गर्दा कस्तो लाग्छ ?

'मज्जा लाग्छ । केही राम्रो गर्दैछु भन्ने लाग्छ । उहाँको विरासत पछ्याएँजस्तै लाग्छ । जे होस् खुसी लाग्छ,' उनले भने ।

प्रकाशित : भाद्र २२, २०७८ १३:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?