कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५
फिचर

साथीजस्ता पाइलट बाबुछोरी [भिडियो]

छोरी भन्छिन् : ‘बुबा जस्तो हुनुहुन्छ, त्यसमा बदलाव नआओस्’
बाबु भन्छन् : ‘छोरी भनेको मेरो मुस्कान हो’
बुनु थारु

काठमाडौँ — बुबा आन्तरिक उडानमा । छोरी अन्तर्राष्ट्रिय उडानमा । पेसा एकै हो– पाइलट । तर, बाबुछोरीको भेट हुन ‘साइत’ नै जुर्नुपर्ने । ६४ वर्षीय विनोद पुरी समिट एयरमा कार्यरत छन् भने छोरी नेहा हिमालय एयरलाइन्समा । दुवैको उडान तालिका फरक पर्ने भएकाले विमानस्थल तिरै भेट्न पनि मुस्किल पर्छ । फेरि दुईटा टर्मिनल बीच आवतजावत पनि सजिलो छैन । 

साथीजस्ता पाइलट बाबुछोरी [भिडियो]

१९८१ देखि विमान उडाउन थालेका विनोदले १० वर्ष नेपाल एयरलाइन्समा काम गरे । अहिले विभिन्न प्राइभेट एयरलाइन्समा काम गरिसकेका उनी इन्स्ट्रक्टर पाइलट (पाइलट तालिम प्रशिक्षक) समेत हुन् । काठमाडौं चण्डोलस्थित घरमा गफिने क्रममा विनोदले भने, ‘छोरीलाई पनि इन्स्ट्रक्टर भएको हेर्न चाहन्छुु ।’

पाइलट बनेको हेर्ने इच्छा हुँदाहुँदै पनि विनोदले छोरी पढाइमा अब्बल छ भनेर पढाइमा जोड दिन आग्रह गरे । स्नातकसम्मको पढाइ पूरा होस् भन्ने उनको चाहना थियो । तर, कक्षा ८ देखि नै पाइलट बन्ने सपना बुन्न थालेकी नेहाले भने ५ वर्ष इन्जिनियिरिङ पढिन् ।

‘१२ कक्षाबाट नै पढ्न दिएको भए हुन्थ्यो भन्ने लाग्छ । तर, यो निरन्तर चलिरहने पेशा हो । अहिले उसको प्रगति देख्दा खुसी लाग्छ,’ विनोद भन्छन् । नेहाले एक वर्ष टाटा मोटर्स कम्पनीमा काम पनि गरिन् । तर त्यसमा मन गएन । उनले ‘फ्लाइङ करियर’नै रोजिन् । फिलिपिन्सबाट पाइलट कोर्स गरेर आएकी नेहा भन्छिन्, ‘सानैदेखि पाइलट बन्ने इच्छा थियो, त्यसैले अरुतर्फ सोच्न सकिनँ ।’

सन् २००९ बाट करियर सुरु गरेकी उनले अग्नि एयरमा काम गरिन् । हाल हिमालय एयरलाइन्सको एयरबस–३२० उडाइरहेकी नेहालाई प्लेन उडाउँदा स्वतन्त्र महसुस हुन्छ । बाल्यकालमा नेहालाई विनोद ट्रेनिङ फ्लाइटमा घुमाउन लैजान्थे । ‘सायद म ९/१० वर्षको थिएँ । मेरो अंकलपनि पाइलट हो । मुम्बईबाट काठमाडौंमा कककपिटमा बसेर आएको थिएँ । एकदम मजा लागेको थियो । ककपिटको त्यो बत्ती देख्दा पनि ‘वाह’ लाग्थ्यो,’ उनले आफ्नो पाइलट मोह सुनाइन् ।

विनोद विगत ४० वर्षदेखि आन्तरिक उडान भरिरहेका छन् । उनको सुरुआती दिनमा अन्तर्राष्ट्रिय फ्लाइट कम थिए । विस्तारै उडान त थपिए तर, उनको रस आन्तरिकमै बसिसकेको थियो । ‘पछि मौका आउँथ्यो पनि होला । तर, अन्तर्राष्ट्रिय उडानमा जान पाइँन,’ उनले भने । उनले ‘मिस’ गरेको अवसर छोरीले पुरा गरिरहेकोमा भने उनी गौरवान्वित छन् । ‘मलाई त्यो मौका जुरेन । अहिले छोरीले अन्तर्राष्ट्रिय फ्लाइट गरिरहेकी छ । उसको प्रगतिमा निकै खुसी लाग्छ,’ विनोदले भने ।

नेहाले पाइलटको पहिलो तालिम बुवाबाटै लिने अवसर पाइन् । उनी बुवासँग तालिम लिन पाएकोमा खुसी हुन्थिन् र दु:खी पनि । विस्तारै पुलुक्क बुवातिर हेर्दे भनिन्, ‘बुवाले त गाली गरी गरी सिकाउनुहुन्थ्यो ।’ आफ्नी छोरीलाई पाइलटको पहिलो तालिम आफै दिन पाएकोमा विनोदलाई खुसी लाग्छ । ‘मैले सिकाएको उसलाई मन पर्दैन थियो । अलि ठाडो स्वरमा बोल्ने बानी छ मेरो । छोरी र अरुलाई फरक तरिकाले सिकाउने भन्ने भएन ।’

उनी छोरीले काम गर्ने एयरलाइन्समा आफ्ना साथीहरुसँग छोरीको कामप्रति चासो व्यक्त गरिरहेका हुन्छन् । ‘तपाईंको छोरीको प्राविधिक ज्ञान र काम राम्रो छ’ भनेको सुन्दा कुन बुवाआमालाई खुसी लाग्दैन र ?’ विनोद भन्छन्, ‘अबको केही वर्षमा क्यापटेन भएको देख्न चाहन्छु । कोभिडले फ्लाइट आवर कम भएर हो नत्र अहिले प्रमोट भइसक्थ्यो होला ।’

बुबा शिक्षक पनि, साथी पनि

विनोद साहित्यिक कृतिहरुमा रुचि राख्छन् भने नेहा एयरक्राफ्टसँग सम्बन्धित किताब पढ्न रुचाउँछिन् । उनीहरुकै भनाईमा दुवैजना रिसाहा र अल्छी छन् । पेसामात्रै उस्तै होइन दुवैको आनीबानी पनि धेरै मिल्छ । ‘हामी दुवैजना बसेर फिल्म हेर्ने गथ्र्यौं । बच्चा हुँदा पिकनिक धेरै लानुहुन्थ्यो । ऱ्याफ्टिङ जान्थ्यौं । त्यो बेलाको रमाइलो अर्कै थियो,’ नेहा नोस्टाल्जिक बनिन् । धेरैजसोले उनलाई ‘तिमी त बाबाजस्तै छौ, बोली अनि बानी पनि उस्तै छ’ भन्दा नेहालाई खुसी लाग्छ । भन्छिन्, ‘त्यतिमात्रै होइन मेरो लागि त बुवा शिक्षक र साथी दुवै हो । कुरा नमिल्दा जति झगडा गरे पनि बुबासँग कहिल्यै मन दुख्दैन,’ उनले बुवाको महत्त्व दर्साइन् । उनको चाहना छ– ‘बुबाजस्तो हुनुहुन्छ, त्यसमा बदलाव नआओस् ।’

विनोदले आफ्ना सन्तानलाई सानैदेखि आत्मनिर्भर बन्न सिकाए । सही मार्ग पहिचान गरी अघि बढ्न हौसला दिए । बुझ्ने भइसक्दापनि सन्तानमाथि कुनै कुरामा रोकटोक गरेनन् । ‘आफ्ना छोरीमाथि विश्वास गर्नुहुन्छ । त्योभन्दा अरु के चाहियो र ?’ छेवमै रहेको बुबातिर हेर्दे नेहा मुस्कुराइन् । विनोदका अनुसार आफ्ना सन्तानलाई गाइड गर्नुपर्छ तर, उनीहरुलाई नै निर्णय लिन दिनुपर्छ । ‘मेरा दुवै छोरीहरु राम्रो भएर निस्के । उनीहरु केयरिङ छन्,’ उनी भन्छन्, ‘इच्छाएको जुनसुकै काम गरे पनि सफल हुन्छन् ।’

आफ्नो पहिलो फ्लाइट सहजै भएको नेहाको अनुभव छ । ‘मेरो पहिलो फ्लाइट नै माउन्टेन फ्लाइट थियो । एकप्रकारको ‘थ्रील’ महसुस भएको थियो । आफैले चलाएको भन्दापनि आफै प्यासेन्जर भएजस्तो अनुभव गरेकी थिएँ,’ उनले सुनाइन् ।

अग्नि एयरमा हुँदा एकदिन काठमाडौंबाट भद्रपुर पुग्दाको घटना उनी सधैं सम्झिन्छिन् । प्लेन ल्यान्ड भएपछि एकजना प्यासेन्जरले भनेका थिए, ‘प्लेनमा एउटा मात्र पाइलट रहेछ, अनि अर्कोचाहिँ केटी रहेछ ।’ केहीले महिला पाइलटप्रति पूर्ण विश्वास नगरेको पनि उनले महसुस गरेकी छन् । तर, अन्य चुनौती भने नभएको उनको अनुभव छ ।

प्लेन बादलभित्र पस्दा भने कताकता डर लाग्छ नेहालाई । तर, हिजोआजका जहाजमा दुर्घटनाको सम्भावना निकै कम हुने बताउँछन्, विनोद । ‘पहिलाको जस्तो अहिले जहाज छैनन्, प्राविधिक रुपमा एडभान्स बनिसकेका छन्,’ उनले भने ।’ महिला पाइलटको संख्या बढ्दै गएकोमा नेहालाई थप खुसी मिलेको छ । करिअर र अवसर दुवैमा यो क्षेत्र राम्रो रहेको उनले आफ्नो अनुभव पनि सुनाइन् ।

चाडबाडमा झन् व्यस्त

दसैँतिहार तथा विशेष चाडपर्वमा आन्तरिक उडान प्याक हुन्छन् । पाइलटहरुको बाध्यता, परिवारसँग बसेर धेरै चाडपर्व मनाउने अवसर पाउँदैनन् । विनोदले फ्लाइिङ करियरमा लागेपछि चाडवाडको पत्तो नहुने बताउँछन् । ‘झन् त्यतिबेला नै मानिसहरुको आवतजावत बढी हुन्छ,’ उनले भने, ‘रमाइलो माहोलमा परिवारँंग हुन नपाउँदा नरमाइलो त लागिहाल्छ नि ।’

बाल्यकालमा कुशेऔंसीमा नेहा र उनकी बहिनी बुवाका लागि कार्डहरु बनाउँथे । केक ल्याउँथे र धुमधामकासाथ मनाउँथे । तर, अहिले ती सम्झनामात्र भएका छन् । करियर र व्यस्तताले त्यस्ता अवसर नजुटेको नेहा बताउँछिन् । ‘छुट्टी मिले ठिकै छ,’ हातमा बुवाले किनिदिएको घडी चलाउँदै भनिन्, ‘मेरा लागि त बाबाको मुख हेर्ने दिन सधैं हो ।’

प्रकाशित : भाद्र २२, २०७८ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?