३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५
बुबालाई पुनर्जन्म

‘आफ्नो साथमा बुबा हुनुजस्तो ठूलो कुरा केही लाग्दैन’ [भिडियो]

‘मेरो कलेजोको सानो टुक्रा बुबालाई दिएर मेरो बुबा बाँच्नुहुन्छ भने किन नदिने त ? भन्ने लागेर नै मैले दिने सोच बनाएँ । आज आफ्नो साथमा बुबा हुनु जस्तो ठूलो कुरा केही लाग्दैन ।’
बुनु थारु

काठमाडौँ — पदमबहादुरको परिवारमा कलेजोको वंशाणुगत समस्या नै छ भने पनि हुन्छ । पोहोर साल उनका भाइ कलेजोको क्यान्सरबाट बिते । उनका बुबाले पनि कलेजोको समस्या कै कारण ज्यान गुमाएका थिए । त्यसैले अत्यधिक रक्सी सेवन गर्ने पदमलाई झन कलेजोको समस्याले नगाँज्ने सम्भावनै थिएन भने पनि हुन्छ । 

‘आफ्नो साथमा बुबा हुनुजस्तो ठूलो कुरा केही लाग्दैन’ [भिडियो]

२०६० सालतिर पत्थरीको समस्या भएपछि परीक्षण गराउँदा उनको कलेजोमा पनि समस्या रहेको पत्ता लागेको थियो । चिकित्सकले भने– ‘तपाईंको कलेजो ७५ प्रतिशत बिग्रिसकेको छ ।’

त्यसयता उनी औषधिको भरमा बाँचिरहेका थिए । २०७४ सालतिर उनको स्वास्थ्य अवस्था बिग्रिँदै गयो । हप्तैपिच्छे अस्पताल भर्ना गर्नुपर्ने र आईसीयूमा राख्नुपर्ने बाध्यता आइलाग्यो । चिकित्सकहरुले लिभर सिरोसिस भएको र अन्तिम विकल्प प्रत्यारोपण नै गर्नुपर्ने बताए ।

दुई वर्षअघि नेपालमा कलेजो प्रत्यारोपण त्यति सहज बनिसकेको अवस्था थिएन । पदमका परिवारहरुले भारततिर गएर प्रत्यारोपण गर्ने सोच बनाइरहेको थियो । पछि त्रिवि शिक्षण अस्पतालमै गर्न सकिन्छ भन्ने थाहा पाए । ७ जनाको परिवारमा २ छोरा र ३ छोरीमा सबैले कलेजो दिन तयार भए । परीक्षण गरियो ।

जेठी छोरी ३५ वर्षीया पूर्णी शाहीले दिन मिल्ने भयो । २०७५ जेठ १७ गते बिहान ८ बजे करिब १६ घण्टा लगाएर कलेजो प्रत्यारोपण गरियो । यो त्रिवि शिक्षण अस्पतालको पहिलो कलेजो प्रत्यारोपण थियो । दैलेखका ६० वर्षीय पदम हाल काठमाडौंको बसन्धुरा बस्दै आएका छन् । नेपाली सेनाबाट अवकाशप्राप्त पदमले दुई वर्ष अघिको अवस्था सम्झिँदै भने, ‘म त जिरोमा पुगिसकेको थिएँ । अहिले पूर्ण स्वस्थ भएको छु । छोरीले गर्दा बाँचे । उसले मलाई नयाँ जीवन दिई ।’ सामान्य जीवन फर्किएकोमा खुसी लाग्छ पदमलाई । ‘धन्न बाँचियो, छोरीप्रति गौरव लाग्छ । सम्पूर्ण छोराछोरीले सहयोग गरे । डाक्टर अनि उनका टिम सबै प्रति धन्यवाद छ,’ पदमले भने ।

घरपरिवारको माया अनि आत्मविश्वासले पदम छिट्टै तंग्रिए । छोरी पूर्णी भन्छिन्, ‘बुबामा अपरेशन गरेको ३–४ दिनमै सुधार देखिन थालेको थियो । त्यति सिकिस्त भइसकेको मान्छेमा छिट्टै सुधार आउला भनेर सोचेकै थिएनौँ ।’

पदम अब रक्सीको नाम पनि लिँदैनन् । कलेजोमा बोसो लाग्न सक्छ भनेर खानेकुरामा पनि सचेत छन् । बिहान पौने ५ बजे नै उठिसक्छन् र मोर्निङवाकमा जान्छन् । घर आएर पनि हल्का व्यायाम गर्छन् । भन्छन्, ‘प्रत्यारोपणपछि कुनै समस्या आएको छैन । फलोअपमा समयसमयमा गइरहेको हुन्छु । ३ महिनाको एकपल्ट जानुपर्छ अहिले ।’

कम बोल्ने स्वभावका पदमबहादुरलाई छोरीले कलेजो दान गर्दा कस्तो लागेको छ भन्ने प्रश्नको जवाफ दिन मुश्किल परिरहेको थियो । ‘ऊ त मेरो जीवन नै भइहाली, ’ पदमले यत्ति भनेर टोलाए ।

बुबालाई पुनर्जीवन

कलेजो प्रत्यारोपणका लागि तयार भएपछि पूर्णीले आफ्नो श्रीमान् र सासूससुरासँग पनि राय मागिन् । सबैले हुन्छ भने । युट्युबमा प्रत्यारोपणका बारेमा खोजी पनि गरिन् । त्यसपछि झनै ढुक्क भइन् । अझ श्रीमान्ले त यस्तो मौका आउँदैन पछि पछुताउनुभन्दा कलेजो देऊ भनेर हौसला दिए ।

पूर्णी भन्छिन्, ‘दिन मिल्दामिल्दै पनि किन दिइएन भन्ने हुन्थ्यो होला । दान दिएर सफल नहुनु एउटा कुरा हो । तर, प्रयास नै नगर्नु बेकार हो नि । त्यसैले म तयार भएँ ।’ शिक्षण अस्पतालको अपरेशन थियटरभित्र पस्दा ३५ वर्षीया पूर्णीलाई डर नलागेको भने होइन । आफ्नो १५ महिने नानी र घरपरिवारको के होला भन्ने पनि लागेको थियो उनलाई । उनको अपरेशन ७–८ घण्टा चल्यो । अपरेशनको घाउ अहिले पनि कहिलेकाहीँ दुख्छ । तर, बुबालाई स्वस्थ्य देख्दा उनी सबै पीडा बिर्सिन्छिन् । ‘मैले कलेजो दिएर अहिले बुबालाई कति राम्रो भएको छ । यति स्वस्थ देखिनुहुन्छ, हेर्नुस् त । । एकदम खुसी लाग्छ नी,’ उनले भनिन् ।

परिवारका अरु सदस्यले दिन नमिल्दा आफ्नो मिलेकोमा सौभाग्य ठान्छिन् उनी । ‘मेरो कलेजोको सानो टुक्रा बुबालाई दिएर मेरो बुबा बाँच्नुहुन्छ भने किन नदिने त ? भन्ने लागेर नै मैले दिने सोच बनाएँ,’ पूर्णी भन्छिन्, ‘आज आफ्नो साथमा बुबा हुनु जस्तो ठूलो कुरा केही लाग्दैन । मेरो बुबा बाँच्नु हुन्न कि भन्ने तनाव हुन्थ्यो । अहिले त्यो हटेको छ ।’

हरेक वर्ष झैं यो वर्ष पनि धुमधामका साथ बुबाको मुख हेर्न दिन मनाउने पूर्णीको सोच छ । मिठामिठा परिकार अनि केक ल्याएर बुबाआमासँग सेलिब्रेट गर्ने योजना सुनाइन् उनले । ‘हामी हरेक वर्ष मज्जाले खानेकुरा बनाएर खान्छौँ । घरपरिवारका सदस्य जम्मा हुन्छौं । रमाइलो गर्दै टिकटक पनि बनाउँछौ,’ उनले हाँस्दै भनिन् ।

उनीहरु हरेक वर्ष प्रत्यारोपण गरिएको दिनलाई पनि सेलिब्रेट गर्छन् । पार्लर व्यवसायमा सलंग्न पूर्णीलाई ‘साथीभाइहरुले छोरी होस् त तिमी जस्तो’ भन्दा निकै गर्व लाग्ने सुनाइन् । ‘सबैको घरमा तिमीजस्तो बुझ्ने छोरी जन्मिओस् भनेर भन्दा कत्ति खुसी लाग्छ । मैले आफ्नो बुबाको लागि केही राम्रो गरें भन्ने लाग्छ,’ पूर्णीले प्रफुल्ल हुँदै सुनाइन् ।

तस्बिरहरू : अंगद ढकाल/कान्तिपुर

प्रकाशित : भाद्र २२, २०७८ १६:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?