त्रिचन्द्र कलेज : शताब्दी लामो इतिहास, बर्खे झरीमा रुझिरहेछ ! [भिडियाे]

काठमाडौँ — विक्रम संवत् १९७५ भदौ १२ गते स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसले हालै १०४ औं वार्षिकोत्सव मनायो । एक शताब्दी लामो गौरवपूर्ण इतिहास बनाएको यो क्याम्पस अहिले भौतिक रूपमा भने जीर्ण अवस्थमा छ । पुरातात्विक महत्वको त्रिचन्द्र भवनमा यो बर्खामासमा तेस्रोदेखि भुईंतलाको भित्री बरन्डासम्म सिमसार झैं तप् तप् पानी चुहिरहेको छ । भुईंमा लेउ लागेको छ । भवन चौतर्फी बर्खे झार जंगलले घेरिएको छ । देशको पहिलो उच्च शिक्षालयले मौसमको बहारभन्दा बढी विलाप गरिरहेझैं महसुस हुन्छ ।

त्रिचन्द्र कलेज : शताब्दी लामो इतिहास, बर्खे झरीमा रुझिरहेछ ! [भिडियाे]

तत्कालीन राजा महेन्द्र यही क्याम्पस पढेका थिए । पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्ट, गिरिजाप्रसाद कोइराला, झलनाथ खनालदेखि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा यही क्याम्पसका विद्यार्थी हुन् । यही क्याम्पसले बालकृष्ण सम, सुवर्णशमशेर, लक्ष्मीप्रसाद देवकोटा, शंकरदेव पन्त, दशरथ चन्द, गंगालाल श्रेष्ठ, डिल्लीरमण रेग्मी, यदुनाथ खनाल, गोपालप्रसाद रिमाल, तुल्सीलाल अमात्य, विजयबहादुर मल्ल, गोविन्दबहादुर मल्ल, थिरबम मल्ल, मोहम्मद मोहसिन लगायत प्रतिभाहरूलाई दीक्षित गरायो । तर अहिले क्याम्पसको जीर्ण अवस्थाले यसको आफ्नै इतिहासलाई गिज्ज्याइरहेको छ ।

२०७२ को भूकम्पले क्षति पुगेपछि तीनतले पुरातात्विक भवन झन् जीर्ण भयो तर ‘रातो स्टिकर’ टाँसिएको भवनको जीर्णोद्धार कार्य सरकारी प्राथमिकतमा परेन । पुनर्निर्माण प्राधिकरणले पाँच वर्षभित्र त्रिवि मातहतका ३७ वटा युनिट निर्माण गर्ने भनेको थियो । तर काम अहिलेसम्म अघि बढेको छैन ।

यही क्याम्पसमा पढेका हजारौं विद्यार्थीहरू देश विदेशमा महत्वपूर्ण ओहदामा पुगेका छन् । उनीहरूलाई पनि आफू अध्ययन गरेको धरोहरलाई सम्झिने फुर्सद कहाँ होला र ?

सत्ताको खेलमा वर्षौं रुमल्लिइरने नेता, पार्टीको फेरो समातेर क्याम्पस, विश्वविद्यालयमा राजनीति गर्ने नेतृत्वलाई इतिहासको महत्व के थाहा ? शैक्षिक उन्‍नयनमा योगदान गर्ने धरोहर र सम्पदाको संरक्षण गर्नुपर्छ भन्ने कसले– कसलाई सम्झाइदिने ?

हो, विक्रम संवत् १९७५ भदौ १२ गते त्रिभुवन चन्द्र कलेज स्थापना भएको थियो । उतिखेर प्रधानमन्त्री चन्द्रशमशेर थिए । उनैले कलेजको भवन निर्माण गराएका थिए । ढुंगा, इँटा, चुना, सुर्की, काठ, फलाम जस्ता सामग्री प्रयोग गरेर निर्माण गरिएको भवन सम्पन्न गर्न १४ महिना लागेको थियो । राजा त्रिभुवनले १९७६ असोज २७ गते चाँदीको ताल्चा र चाँदीकै साँचोले खोलेर कलेज भवनको उद्घाटन गरेका थिए ।

विसं. १९८१ मा उक्त नाम संशोधन गरी त्रिचन्द्र कलेज राखिएको थियो । अहिले त्रिचन्द्र बहुमुखी क्याम्पस भनिन्छ । बोलीचालीमा त्रिचन्द्र कलेज भनेर चिनिन्छ । कलेज स्थापना हुँदा सुरुमा पाँच जना विद्यार्थी भर्ना भएका थिए । अहिले करिब १० हजार विद्यार्थी अध्ययनरत छन् । यद्यपि कुनै बेला विद्यार्थी संख्या १३ हजारसम्म पुगेको थियो । यो संख्या घट्ने क्रम जारी छ ।

उच्च शिक्षाको इतिहासलाई बिर्सिने हो भने यस थलोमा ढुंगा र माटोमात्र बाँकी रहन्छ । काठमाडौंको दरबार हाईस्कुल र रानीपोखरीको पूर्वतर्फ रहेको कलेज ३७ रोपनी क्षेत्रफलमा फैलिएको छ । रानीपोखरीसँगै कलेजको सरस्वती सदनलगायत भवन २३ रोपनी क्षेत्रफलमा छ भने बीचमा उत्तर–दक्षिण सडक फैलिएको छ । सडकपारी १३ रोपनी क्षेत्रफलमा त्रिचन्द्र कलेज घण्टाघरसहितको ऐतिहासिक तथा पुरातात्विक संरचना फैलिएका छन् । २०७२ को भुकम्पले तीनतले पुरातात्विक भवन जीर्णावस्थामा छन् । ‘रातो स्टिकर’ टाँसिएको भवन जीर्णोद्धार कार्य राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्राथमिकतामा पर्न सकेन ।

‘केही वर्षसम्म यसरी नै रहने हो भने त्रिचन्द्र कलेजको पुरातात्विक भवन पुरानै अवस्थामा फर्काउन सकिन्न,’ दक्षिणतर्फको दुई तले भवन सखाप भइसकेको उल्लेख गर्दै क्याम्पस प्रमुख सुनील अधिकारीले भने, ‘यो ऐतिहासिक सम्पदा त्रिचन्द्र क्याम्पस वा त्रिभुवन विश्वविद्यालयको मात्र होइन । राष्ट्रकै निधि हो भन्ने लाग्छ ।’ भूकम्पको छ वर्षसम्म त्रिविले पुनःनिर्माणका निम्ति पटक–पटक पुनर्निर्माण प्राधिकरणको ध्यानाकर्षण गराउँदै आएको उनले बताए ।

समयले जसरी ऐतिहासिक फड्को मार्‍यो, त्यो समयको साक्षी त्रिचन्द्र क्याम्पस हो । जतिखेर देशमा जहानियाँ राणा शासन थियो । तिनै राणा र भाइभारदारका सन्तानले स्वदेशमै उच्च शिक्षा पाउन् भन्ने इरादाले कलेज स्थापना गरिएको थियो । कलेजका तत्कालीन अध्यापक बालकृष्ण समले ‘राणाहरू भारतमा गई क्रान्तिबाट प्रभावित नहून् भनेर यो कलेज स्थापना गरेको’ भनेर आफ्नो पुस्तकमा लेखेका छन् ।

राममणि आदीले ‘पुराना सम्झना’मा उल्लेख गरेअनुसार कलेज उदघाटनका दिनमा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले ‘आफ्नो खुट्टामा बन्चरो हानेको’ कुरा भनेका थिए । ‘हेर, आजको दिन राणा परिवारको निमित्त खुसीको दिन हुन आउने हो वा राणाको सर्वनाश गर्ने दिन हुन आउने हो । त्यसको केही ठेगान छैन । यो कलेज खुल्नाले परिणाममा राणाको असल होला भन्ने म त देख्दिनँ । काल बखत बेलाले मैले यो काम गर्नपर्ने आएको मात्र हो ।’

पत्रकार प्रकृति अधिकारीले आफ्नो प्रकाशोन्मुख ‘राणाकालीन शिक्षा’ पुस्तकमा चन्द्रशमशेरले बेलायत भ्रमण गर्न जाँदा अक्सफोर्ड युनिभर्सिटीले उनलाई कानुन विषयको मानार्थ विद्यावारिधि उपाधि दिएको उल्लेख गरेका छन् । ‘उपाधिसँगै नेपालमा पनि विश्वविद्यालय खोल्न सुझाव दिएका थिए । त्यसैअनुसार त्रिचन्द्र कलेज खोलेका थिए । घण्टाघर भएको ठाउँमा वीर पुस्तकालय थियो । त्यही ठाउँमा कलेज भवन निर्माण गराएका थिए ।’

त्रिचन्द्र पढेका विद्यार्थीले सुरुमा पटनामै जाँच दिन जानुपर्थ्यो । १९८५ सालबाट काठमाडौंमै जाँच दिने गरिएको थियो । त्यतिखेर आईएमा ५ जना र बीएमा नौजना विद्यार्थी सहभागी थिए । लक्ष्मीप्रसाद देवकोटाले १९८६ सालमा त्रिचन्द्रबाट बीए पास गरेका थिए ।

कलेजको आफ्नै भवन उद्घाटन हुनुअघि कलेजका कक्षाहरू दरबार हाई स्कुलको मजलिस घरबाट सञ्चालन गरिएका थिए । दरबार हाई स्कुलका प्रधानाध्यापक बंगाली बटुकृष्ण मैत्रलाई यस कलेजका पहिलो प्रिन्सिपल नियुक्त गरिएको थियो ।

२०१६ सालमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्थापना भयो । सरकार मातहत संचालित त्रिचन्द्र कलेजलाई २०३० सालदेखि त्रिविको आंगिक क्याम्पसमा परिणत गरियो । साथै स्नातकोत्तर तहका कार्यक्रम सुरु भएको थियो । प्रमुख अधिकारीकाअनुसार हाल मानविकीतर्फ १४ विषयमा स्नातक, ६ विषयमा स्नातकोत्तर विषय पठपाठन सुचारु छ । विज्ञानतर्फ ९ विषय स्नातक र ३ विषयमा स्नातकोत्तरको पढाइ हुँदै आएको छ । कार्यरत ६ सय शिक्षक (तीनसय आंशिकसहित), १ सय २० कर्मचारी र करिब १० हजार विद्यार्थी अध्ययनरत छन् ।

राजधानीको केन्द्रविन्दुमा रहेको यस जेठो क्याम्पसमा आर्थिक विपन्न, दुरदराजका, द्वन्द्वपीडित, अपांगता भएकालगायतले निःशुल्क पढ्न पाउँछन् । विभिन्न दलनिकट विद्यार्थी संगठनले आ–आफ्नो सांगठनिक गतिविधि सुचारु राखेका छन् । अनेरास्ववियुका इकाइ प्रतिनिधि गोविन्द थपलिया त्रिचन्द्रको संरचनात्मक परिवर्तन हुनुपर्ने बताउँछन् । ‘त्रिचन्द्र क्याम्पस देखाउने कि संग्रहालय बनाउने हो,’ सुधारको पहल हुन नसक्दा विद्यार्थी आक्रोस बढेको उल्लेख गर्दै भने, ‘त्यसैले त्रिचन्द्रको संरचनात्मक परिवर्तन जरुरी छ ।’ त्रिचन्द्रमा भौतिकदेखि शैक्षिक सुधारका नयाँ कार्यक्रम नआएकाले विद्यार्थी संख्या घटेको उल्लेख गर्दै भने, ‘माझी बुढो भयो, डुँगा पनि जीर्ण छ ।’

नेविसंघका इकाइ अध्यक्ष शान्त शिवाकोटीले पन्ध्र वर्षदेखि त्रिचन्द्रको हालत उस्तै रहेको बताए । अनेरास्ववियु छैटौंकी प्रतिभा पौडेलले कलेजमा विद्यार्थीले पाउनु पर्ने न्यूनतम वातावरण बन्न नसकेको बताइन् । ‘शैक्षिक संस्थाभित्रको स्वास्थ्य महत्वपूर्ण हुन्छ,’ माइक्रोबायोलोजीकी छात्रा पौडेलले भनिन्, ‘महिला शौचालय जीर्ण छ । खानेपानी पाउने ठाउँमा पानी छैन, त्यहीं फोहरमैला थुपारिएका छन् ।’ विद्यार्थी हितमा पहल गर्न स्वतन्त्र विद्यार्थीले सहयोग गर्दछन् । तर त्रिचन्द्र कलेजमा २०६२ सालदेखि स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हुन सकेको छैन । कोरोना महामारी फैलिएयता क्याम्पस प्रशासनले विद्यार्थीबाट अनावश्यक झन्झट व्यहोर्न परेको छैन ।

‘नेपाल–भारत सम्बन्ध चिसिएकाले ढिला भएको होला’

धर्मकान्त बाँस्कोटा, त्रिवि उपकुलपति

त्रिचन्द्र क्याम्पस ऐतिहासिक धरोहर हो । जो त्रिभुवन विश्वविद्यालयभन्दा धेरै जेठो छ । नेपालको उच्च शिक्षाको धरोहरले आज १०४ वर्षसम्म निरन्तर उच्च ताराको रूपमा बलेर आएको दियोको रूपमा उच्च शिक्षालाई फैलाउन मद्दत गरिराखेको छ । सम्पूर्ण नेपालीमात्र नभई क्षेत्र तथा विश्वभरमा एल्मुनाईको रूपमा फैलिएर गएको छ ।

त्रिचन्द्र क्याम्पसको यो धरोहरलाई संरक्षण गरेर अगाडि बढाउनु पर्ने हामी सबैको दायित्व हो । यसका समस्याहरू मैले राम्ररी बुझेको छु । सबैभन्दा ठूलो समस्या भनेको भौतिक पूर्वाधार भूकम्पले क्षतविक्षत बनाएको यसको भौतिक संरचना, यहाँको ऐतिहासिक सरस्वती भवन, घण्टाघर छन् । यो सबैको पुनर्निर्माणको लागि पुनर्निर्माण प्राधिकरणले चासो देखाएको थियो । धेरै चरणमा बैठक बसेका पनि छौं । प्राधिकरणले सेप्टेम्बर २०१६ मा पाँच वर्षभित्र यो सम्पूर्ण पुननिर्मर्णाका काम गरिसक्ने सम्झौता गरेको थियो । दुर्भाग्य भनौं एक्जिम बैंक(भारत)को सहयोगले बन्ने त्रिवि मातहतका ३७ वटा युनिट अहिलेसम्म बनेको छैन । पुनर्निर्माणमा सबैभन्दा बढी बजेट छुट्टयाएको यो त्रिचन्द्र क्याम्पसको आजसम्म पनि रेट्रोफिटिङको काम र पुनर्निर्माणका अरु कामहरू अगाडि नबढ्दा हामीलाई दुःखित तुल्याएको छ । यसको कारणले पनि अरु निकायसँग लिनुपर्ने सहयोग लिएका छैनौं ।

करिब दुई हप्ता अघि प्राधिकरणसँग बैठक बस्यौं । ३७ वटा युनिटमध्ये ३१ वटा युनिटको एक्जिम बैंकको हेड अफिसबाट प्रमाणित भएर आएको जानकारी प्राप्त भएको छ । सायद नेपाल र भारतको सम्बन्ध अलिकति चिसिएको कारण गर्दा पनि यो ढिलाइ हुन गएको होला । आशा गरौं अब छिट्टै नै यसले गति लिने छ ।

प्रकाशित : भाद्र १५, २०७८ १९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?