१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कचौराबाट 'सरगम' का सुर निकाल्ने निरन [भिडियो]

केही नयाँ सिक्ने खुलदुलीले नै निरनलाई जल तरङ्गसँग जोड्यो । अहिले जलतरङ्ग उनको बानी बनिसक्यो । उनी आफ्नो व्यवसायबाट समय निकालेर कचौराको धुनहरुमा मग्न हुन्छन्

काठमाडौँ — सिसा या माटोको भाँडा देख्ने बित्तिकै निरन श्रेष्ठको हात चलमलाई हाल्थ्यो । सानो लठ्ठीले ट्वाङटुङ हान्थे, भाँडोको आवाज सुन्न । एकदिन आफ्नो कपडा पसल छेउको दोकानबाट चिया मगाएर पिउँदै थिए ।

कचौराबाट 'सरगम' का सुर निकाल्ने निरन [भिडियो]

खाली ग्लासतिर निरनको ध्यान मोडियो । सानो लठ्ठीले ग्लासलाई ठटाए । धुन निस्कियो । आफूले लामो समयदेखि खोजिरहेको धुन त्यही चियाको ग्लासमा पाएपछि झट्ट दिमागमा योजना बन्यो, 'अब चिया साहुजीलाई ग्लास फुट्यो भन्दिन्छु । अर्को नयाँ किनेर दिन्छु ।'

निरनले चिया साहुलाई त्यसै भनिदिए । नयाँ ग्लास किने तर त्यसमा पनि खोजेजस्तै धुन भेटियो । त्यसपछि भने अर्को नयाँ ग्लास किनिदिए। बाउल (कचौरा) संगीत सिक्दाको सुरुआती दिन सम्झँदा निरनलाई यही घटनाको खुब याद आउँछ ।

२०७२ सालअघि निरनलाई कचौरा संगीत/जलतरङ्ग भन्ने के हो ? थाहै थिएन । ०७२ को भूकम्पपछि क्लासिक कलेज इन्टरनेस्नलबाट १२ को परीक्षा सके । परीक्षा दिनेबित्तिकै उनलाई संगीत सिक्ने भूत चढ्यो । भ्वाइलेन बजाउन अति नै मनपर्ने । परीक्षा सकिएको भालिपल्टै साधना कला केन्द्रमा भ्वाइलेन सिक्न गए । त्यहाँ भ्वाइलेनको प्रशिक्षक नभएर किबोर्ड सिक्न थाले । पाँच महिना किबोर्ड सिके त्यसपछि बाँसुरी । संगीतप्रेमी साथीहरुसँग घुलमिल बढ्न थाल्यो ।

नाचघरमा ६ महिनाको संगीत कक्षा लिए । भ्वाइलेनको सुरुआती (बिगनर लेसन) कक्षा पनि लिए । त्यही अन्तरालमा एकदिन सामाजिक सञ्जाल चाहर्दै गर्दा चीनका बालबालिकाले कचौराबाट संगीत निकालेको भिडियोले संयोगवश हेर्न पुगे ।

'यो त म पनि बजाउन सक्छु,' भिडियो हेर्ने बित्तिकै उनलाई लाग्यो । त्यसपछि घरको भान्सामा छिरे । बजाउन मिल्ने सबै ग्लास निकाले । ग्लासको आकारअनुसार आवाज फरक-फरक निस्कियो । सानो ग्लासले चर्को अनि ठूलो ग्लासले धोत्रो आवाज दियो । ग्लासहरुमा 'सरगम' निकाल्न खोजे । त्यसपछि सुरु भयो 'सरगम'का लागि ग्लासहरुको खोजी । बजार चहार्न थाले । लामो समय बजार डुलेपछि आफूलाई चाहिने धुन बज्ने ग्लास भेट्टियो ।

एक महिनाको अन्तरालमा चिया पिउने ग्लासहरुबाट संगीतका सुरुहरु निकाल्न थाले निरनले । ग्लासबाट धुनहरु निकाल्न सुरु गरेको लगभग एक वर्षपछि उनले माटोको (सेरामिक्स) कचौरा बजाउन थाले । चित्तबुझ्दो धुन ग्लासमा नभेटिएपछि माटोको भाँडामा धुन खोज्न थाले ।

'कचौराबाट संगीत निकालेको देखेको थिएँ । तर कचौरा कहाँ किन्ने थाहा थिएन । कचौरा कसरी किन्ने भइरहेको थियो । मेरो पसल न्यूरोडमा थियो । त्यहाँ नजिकै सेरामिक्सको भाँडा पसल थियो । त्यसबाट आवाज निकाल्दै सुन्न त मलाई सुनसान पसल चाहिने भयो । त्यसैले धेरै ठाउँमा सेरामिक्सको पसल खोजेँ,' निरन सुनाउँछन् ।

ग्राहक नभएको पसल देख्ने बित्तिकै कचौराबाट आवाज निकाल्दै सुन्थे निरन । कति पसले उनको व्यवहार देखेर छक्क पर्थे । हप्ताको दुई दिन त उनी कचौरा खोज्न बजार पुगिरहेकै हुन्थे । बिस्तारै उनले मोटा कचौराहरु बटुले । साना कचौरा पनि थुपारे । ती कचौरा ट्यून गर्न थाले । त्यसपछि उनले ती कचौरामा 'सरगम'का धुनहरु पाए । लामो समय बजार डुलेर प्रत्येक 'सरगम'का धुनहरु बज्ने कचौरा भेटिएको निरन सुनाउँछन् ।

'सुरुमा मैले ल्याएको कचौरामा भाइब्रेसन थिएन । त्यसपछि म बजार डुल्न थालें । जे होस् मैले राम्रो बुट्टा भएको सेरामिक्सको कचौराहरु पाएँ । त्यसबाट धुन पनि मिठ्ठो बज्न थाल्यो,' २५ वर्षीय निरन सुनाउँछन् ।

आफूले खोजेको जस्तो कचौरा भेट्टाउँदा एकैदिन २५ भन्दा बढी कचौरा किनेका छन् उनले । लामो धैर्यपछि ती धुनहरु बज्ने कचौराहरुको संकलन गरिएको निरनको भनाइ छ । 'मैले धैर्य गरेँ । आफूले सोचेको जस्तो धुनको कचौरा खोज्न हप्ताको २ पटकसम्म बजार धाउन थालें । पाउँछु कि भन्ने आसले सबै पसलहरु चाहर्थें । नयाँ-नयाँ पसलमा जान्थे ।

कहिले त एक महिनासम्म डुल्दा पनि त्यस्तो कचौरा भेटिएन,' निरन सुनाउँछन्, 'एकदिन महाबौद्धमा एकजना बुवाले संगीतकै लागि पहिले उनको पसलमा कचौरा खोज्नेहरु आएको कुरा सुनाउनुभयो । मैले उहाँलाई त्यस्तै कचौरा देखाउनु भने । मैले त्यहाँ खोजेजस्तो धुनहरुको कचौरा पाएँ । त्यो पसल मेरो लागि फाप्यो ।'

निरनले अझै खोजेको जस्तो धुनका कचौराहरु भेटिसकेका छैनन् । त्यसैले अहिले पनि उनी बजार डुलिरहन्छन् । आफूलाई चाहिने धुनहरु उनी कचौरा पानी हालेर निकालिरहेका छन् । पानी हालेर कचौरा बजाउँदा पानी उछिट्टिने हुन्छ । कहिले एउटै एउटै किसिमको कचौराले पनि फरक-फरक धुन दिइरहेको हुन्छ । त्यसैले अझै निरन सेरामिक्सका भाँडा पसलहरु चहारिरहेका हुन्छन् । हिजोआज कति सेरामिक्स पसलका साहुहरुले उनको भिडियो युट्युबमा देखेको प्रतिक्रिया दिन्छन् ।

सुरु-सुरुमा कचौराबाट धुन निकाल्न उनी ड्रम स्टिक(ड्रम बजाउने लठ्ठी)ले कचौराहरु बजाउँथे । त्यसरी बजाउँदा कचौरा चर्किने र फुट्ने हुन्थ्यो । कचौरामा प्रेसर परोस् भनेर सानो लठ्ठीले बजाउन थाले । तर त्यसबाट चाहेजस्तो धुन निस्किएन । नाइलनको रडले कोसिस गरे, आवाज मिठो भएन । त्यसपछि अन्तमा चप स्टिकलाई उल्टो भागमा टेप बाँधेर बजाए । त्यसपछि चित्तबुझ्दो आवाज निस्कियो । अहिले उनी चप स्टिकबाट नै जलतरङ्ग बजाउँछन् ।

केही नयाँ सिक्ने खुलदुलीले नै निरनलाई जलतरङ्गसँग जोड्यो । अहिले जलतरङ्ग उनको बानी बनिसक्यो । उनी आफ्नो व्यवसायबाट समय निकालेर कचौराको धुनहरुमा मग्न हुन्छन् । सेरामिक्सको भाँडामा लेउ लाग्यो अथवा फोहोर लाग्यो भने यसबाट मीठो धुन बज्दैन । त्यसका लागि कचौराहरु सफा गरिरहनुपर्छ । उनलाई कचौरा सफा गर्न भने झन्झट लाग्दोरहेछ । 'फोहोर लागिरहेको हुन्छ । सफा गर्न पनि समय लाग्छ । लेउ लाग्दा आवाज नै आउँदैन । सुरु-सुरुमा कोलिनले सफा गरे । साबुनले पनि धोएँ तर सफा भएन । के-के लगाएर सफा गर्ने कोशिस गरें । अन्तमा हर्पिकले सफा गरेको मज्जाले फोहोर गयो,' हाँस्दै सुनाउँछन् ।

निरन आफैंले यो कचौरा संगीत बजाउन सिकेका हुन् । नेपालमा माइला डंगोल, नवीन जोशी, मिलन तन्डुकारले जलतरङ्ग बजाउँछन् भन्ने सुनेका थिए । तर उनले कतैबाट यो संगीत सिकेनन् । यसका लागि अन्य बाजाबाट सहयोग लिए । बाँसुरी, किबोर्ड र भ्वाइलेनको धेरथोर सिकाइलाई यसमा प्रयोग गरे । आखिर जुन वाद्यवादन बजाए पनि संगीतको ज्ञान त एउटै हो । उनले आफूसँग भएको संगीतको ज्ञानको आधारमा कचौराबाट धुनहरु निकाले ।

अहिलेसम्म तीन कार्यक्रममा निरनले कचौरा संगीतको प्रस्तुति दिएका छन् । धादिङ महोत्सवमा उनले आफ्नो पहिलो प्रस्तुति दिएका थिए । त्यहाँ मानिसहरुको भीड ठूलो थियो । भीडमा कचौराको धुन हराइरहेको थियो । उनले बेस्सरी आवाज निकाल्न कचौरा बजाउँदा तीन कचौरा फुटे । त्यहाँ उनले गीतहरुमाथि धुन बजाउन सकेनन् ।

आफैंले केही धुनहरु निकाले । भ्रमण वर्ष २०२० को बौद्धको कार्यक्रममा भने त्यस्तो समस्या झेल्नु परेन । महामारीबीच नै एउटा अविरल समूहको अनुरोधमा भर्चुअल रुपमा उनले आफ्नो कचौरा संगीतको प्रस्तुति दिए ।

पुरानो नैकाप खड्गा गाउँका निरन कचौरा संगीतलाई 'प्यासन'को रुपमा बजाउँदै आएका छन् । 'जतिले यो संगीत गर्नुहुन्थ्यो उहाँहरु यसमा सक्रिय देख्दिन । तर म त युवा हुँ, हामीजस्ता युवालाई निरन्तरता दिइरहन मनलाग्छ नि ।

मैले यसैलाई व्यावसायिक बनाउने सोचेको छैन । तर प्यासनको रुपमा बजाउँदै आएको छु । त्यसरी नै अगाडि बढाउन चाहन्छु, 'निरनले भने, 'भोलि यही बाजाले साथ धेरै दियो भने यसमै व्यावसायी बन्न सकिन्छ । अहिले आफ्नो मनोरञ्जनका लागि बजाइरहेको हुन्छु ।' भविष्यमा उनलाई कचौराबाट आफ्नै संगीतहरु कम्पोज गर्ने मन छ ।

अहिले निरन हप्ताको एउटा नेपाली गीतमाथि कभर बनाएर भिडियो राख्छन् । पहिला गीतका स्केल रोज्छन्, नोटहरु खोज्छन् । रेकर्ड गरेर युट्युबमा राख्छन् ।

अरु बाजा र जलतरङ्गमा के फरक छ ?

'यो संगीत पानीबिना बज्दैन अरु त पानीबिना बज्ने भयो,' उनले जवाफमा भने, 'गीतार त धेरैले बजाउने भए । बाँसुरी पनि धेरैले बजाउँछन् । तर कचौरा बजाउने त छैनन् । आफैंले धुन निकालेर यो संगीत बजाउन झन्झट हुन्छ । यो त छैटौं सातौं सताब्दीतिर सुरु भएको हो । इलेक्ट्रोनिक बाजा आएसँगै यो बाजा लोप भएको हो । अहिले यसको संरक्षण नै प्रमुख कुरा हो,' उनले भने ।

'पागल भन्छन्'

सुरुआतमा ग्लासहरु बजाएको देख्दा निरनका छिमेकी छक्क पर्थे । अहिले भने उनीहरुले निरनको प्यासनलाई बुझेका छन् । हिजोआज कहिलेकाहीँ टिकटक भिडियो राखिरहेका हुन्छन् ।

तर धेरैले उनलाई 'नाटक' गरेको भन्दै कमेन्ट गर्छन् । 'कतिले त्यसलाई नक्कली हो भनिदिन्छन् । यो नाटक हो भन्छन् । कचौरा वरपर फैलाएर अरु नै धुन बजाउँछन् पनि भन्नेहरु छन् । कतिले यो पागल हो । पागलहरुले यस्तो गर्छ भन्छन्,' निरनले सुनाए ।

प्रकाशित : भाद्र २, २०७८ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?