बेलायतबाट फर्किएर ‘माली’ बनेको ठिटो

काठमाडौँ — बेलायतबाट अकाउन्टेन्सी पढेर फर्किंदा विराज खड्कामा केही नयाँ गर्छु भन्ने हुटहुटी थियो । तर, के गर्ने मेसो पाइरहेका थिएनन् । फर्किएकै वर्ष सन् २०१२ मा नयाँ व्यवसायका लागि विभिन्न क्षेत्रमा हात हाले । तर, उनलाई सन्तुष्टि मिलिरहेको थिएन । कहिले झोला ब्यान्ड प्रोजेक्ट त कहिले कर्पोरेट गिफ्टस बनाउने काम । उनकै शब्दमा ती कामले केही ‘क्लिक’ भइरहेको थिएन ।

बेलायतबाट फर्किएर ‘माली’ बनेको ठिटो

उनी समयसमयमा आमाको काममा सघाउँथे । २० वर्षदेखि नर्सरी व्यवसायमा होमिएकी आमाको आर्थिक कारोबार देखेर विराज छक्कै परे । उनले यो व्यवसायमा कताकता दीर्घकालिन सम्भावनाको झिल्को देख्न थाले । उनले आमाकै पथ पछ्याउने निधो गरे । तर, आधुनिक सोचसहित ।

धुम्बाराहीस्थित २४ रोपनीमा रहेको विशाल प्रोडक्सन हाउसको एक कुनामा गफिँदै उनले विगतका दिन सम्झिए, ‘हामी साथीहरु काम त गर्दै थियौं तर, त्यसमा मजा आइरहेको थिएन । विभिन्न अध्ययनपश्चात यस व्यवसायमा लाग्ने सोचेँ । र, नाम दिएँ ‘आई एम द गार्डेनर ।’’

उनले अध्ययन गर्दे जाँदा नेपालमा बागबानी तथा कृषि क्षेत्र पुरानै ढर्राबाट चलिरहेको देखे । न कुनै नौलोपन, सबै उही पुरानै पारा । ‘बोटबिरुवाको प्याकेजिङमा न त कसैको ध्यान गएको थियो न, ग्राहक वर्गहरुले कस्तो सेवासुविधा पाइरहेका छन् भनेर सोच्दथे,’ महाराजगञ्जका ३३ वर्षीय विराजले भने, ‘परम्परागत शैलीमा नै नर्सरीको व्यवसाय चलिरहेको देखेँ ।’

विराजले परम्परागत शैलीबाट चलिरहेका नर्सरी व्यवसायलाई कसरी परिष्कृत रुपमा अगाडि लान सकिन्छ भनेर सोच्न थाले । देश विदेशका धेरै नर्सरी डुले । उनले सहरी क्षेत्रमा बोटबिरुवा प्रेमीहरुलाई कसरी राम्रो सेवा दिन सकिएला त भन्ने उद्धेश्यका साथ अगाडि बढ्न थाले ।



उनका अनुसार अनपढ मान्छेले मात्र यो व्यवसाय गरिरहेको हुन्छ भन्ने धेरैमा भ्रम छ । उनी त्यो भ्रम पनि चिर्न चाहन्थे । ‘ग्राहक र उत्पादनकर्ताबिच पनि राम्रो सम्बन्धको कमी देखेँ । त्यसलाई चिर्न पनि जरुरी देखेर ग्राहक सेवामा बढी जोड दिएको छु ।’

थप ४ जना साथीहरु केवल रिसाल, आदित्य श्रेष्ठ, रोशन श्रेष्ठ, ब्रिजेशकुमार उप्रेती मिलेर सुरु गरेको यो व्यवसायमा अहिले बिराज र केवल मात्र छन् । धुम्बाराही अनि महाराजगञ्जमा रहेको खड्का नर्सरीबाट बिरुवा उत्पादनको काम गरिरहेका छन् ।

‘आई एम द गार्डेनर’ रिटेल चेन हो । विराज परम्परागत तरिकाले चलिरहेका नर्सरीलाई कसरी आधुनिकरण तथा नविनतम प्रयासले ग्राहकमार्ग माझ पुग्न सकिन्छ भन्नेमा जोड दिएका छन् । ‘परिवारिक व्यवसायमात्र ठानिएको यसलाई उद्योगकै रुपमा लानुपर्छ भनेर सोचेको छु,’ उनी भन्छन्, ‘म माली हुँ भनेर चिनाउन कत्ति पनि लाज लाग्दैन बरु, गर्व लाग्छ । खासमा हामीले सबैभन्दा राम्रो काम गरिराखेका छौँ वातावरणको लागि, घर तथा स्वास्थ्यको लागि ।’

‘आइ एम द गार्डेनर’ अरु भन्दा फरक किन ?

जति पनि नर्सरी थिए, उनीहरु ‘भ्यालु चेन’को कन्सेप्टमा काम गरिरहेका थिएनन् । ‘फूल र बोटबिरुवा संसारको सबैभन्दा सुरुका सिर्जना हुन् । तर, उसको सुन्दरतालाई सही तरिकाले प्याकेजिङ नै गरिएको थिएन,’ विराज भन्छन्, ‘बोटबिरुवा भुइँमै छरिएका थिए, त्यसलाई कसरी सजाएर राख्ने मानिसहरु सित आइडिया थिएन ।’

उनका अनुसार मान्छेले बिरुवा मन पराए पनि माटोसँग खेल्न त्यति रुचाउँदैनन् । आइ एम द गार्डेनरले बिरुवा उमार्न प्रयोग गरिने कोकोपिटको सुरुवात गर्‍यो । ‘बिरुवा लान सजिलो होस् भनेर हामीले गमला कोकोपिट प्रयोग गर्‍यौं,’ विराज भन्छन्, ‘पहिला पनि यसको प्रयोग नभएको होइन । हामीले माटोकै विकल्पको रुपमा प्रयोग गर्न सुरु गर्‍यौँ । माटोभन्दा हल्का अनि फोहोर पनि नहुने । हेर्दा पनि राम्रो ।’

कोकोपिट भनेको नरिवलको जटाको धुलो हो । यो सुख्खा हुने र बोटविरुवालाई चिस्यानको काम गर्ने भएकाले माटोको विकल्पको रुपमा प्रयोग बढिरहेको छ ।

बोटबिरुवाको स्याहार कसरी गर्ने भनेर ‘प्लान्ट केयर टिप्स’ पनि ‘आइ एम द गार्डेनर’ले दिने गरेको छ । उनी प्रविधिको प्रयोगमा बढी जोड दिन्छन् । ग्राहकहरुले बोटबिरुवा सजिलै भेटाउन सकुन् भनेर स्टोरहरुको विस्तारमा पनि लागेको उनले सुनाए ।

‘आइ एम द गार्डेनर’को आउटलेटहरु उपत्यकामा महाराजगञ्ज, ठमेल, कलंकीको भाटभटेनी, लबिम मलमा छन् । विराजका अनुसार ज्ञानेश्वर र भैंसेपाटीको बिगमार्टमा पनि आउलेटहरु खुल्दैछन् । उपत्यकाबाहिर पनि विस्तार गर्ने उनको योजना छ ।

विदेशमा किरानाका सामान जस्तै सजिलै बोटबिरुवाहरु किन्न पाइन्छन् । सपिङ मल तथा ठूलठूला सुपरमार्केटहरुमा बोटबिरुवाको छुट्टै पसल नै हुन्छ । ‘किरानाका समानजस्तै सबै ठाउँमा बिरुवा ग्राहकले किन्न सकुन् भन्ने हाम्रो उद्धेश्य हो,’ विराजले भने । अनलाइन बिजनेस तथ डेलिभरी सेवा अझै गुणस्तरीय बनाएर लैजाने योजनामा पनि छन्, उनी ।



बोट बिरुवाको क्रेज बढ्दै

विराजको अनुभवमा पहिलाभन्दा अहिले मानिसहरुमा बोटबिरुवाको क्रेज बढ्न थालेको छ । अर्बन गार्डेनरहरु बढेका छन् । उनी भन्छन्, ‘घरमा बोटबिरुवा सजाएर राख्ने ट्रेन्ड बढ्दो छ । उत्पादनकर्ताको लागि खुसीको कुरा पनि हो ।’

घरभित्र सजाएर राख्न मिल्ने ‘इन्डोर प्लान्ट’हरुमा बढी आकर्षण छ । उनको नर्सरीमा भएका २५६ प्रजातिमध्ये १०० जति त इन्डोर प्लान्ट नै छन् । मोनेस्टेरा, पिस लिली, पोथोज, फिडल लिफ फिग, स्ट्रीङ अफ पर्ल्स, स्ट्रीङ अफ हर्टस्, एन्थुरीयम आदि नेपाली बजारमा सबैभन्दा मनपराइएका इन्डोर प्लान्ट्सहरु हुन् ।

विराज लकडाउनले पनि मानिसहरुलाई बोटबिरुवा प्रेमी बनाइदिएको बताउँछन् । घरमा धेरै समय खाली बस्दा मानिसहरु प्रकृतिसँग नजिकिन खोजे । खाली समयमा बोटबिरुवाको स्याहार गर्न थाले । ‘जब तपाईं आफूले नै केही हुर्काउनुहुन्छ, त्यो बढ्दै जाँदा फरक किमिमको खुसी पाउनुहुन्छ,’ उनले भने, ‘त्यो खुसीले गर्दा पनि मानिसहरुमा बोटबिरुवाप्रति क्रेज बढेको जस्तो लाग्छ ।’

कोरोना कहरले सबै क्षेत्रमा प्रभाव पर्‍यो । लकडाउनले नर्सरी व्यवसायमा पनि असर नपारेको होइन । तर, अरु क्षेत्रभन्दा यसमा ठूलो क्षति भएन । उनका अनुसार लकडाउनमा मान्छेहरु फुर्सदिला भएकाले समय बिताउन बोट बिरुवाको स्याहार राम्रो माध्यम भइदियो । मानिसहरुमा गार्डेनिङमा रुची बढ्दै गएको विराज सुनाउँछन् । कौसी खेती, घरभित्र बिरुवा राख्ने चलन, खाली जग्गामा कतै न कतै बोटबिरुवा लगाउने चलन बढिसकेको विराजको भनाइ छ ।

‘विदेशमा कसैकोमा जाँदा बिरुवा लगिदिने चलन छ । उनीहरुले न्याचुरल इकोसिस्टम बुझेका छन्,’ उनले भने, ‘नेपालमा पनि बिस्तारै बुझ्दै गएका छन् ।’ बढ्दो सहरीकरणले सहर कंक्रिटको जंगलमा बदलिइरहँदा फूल र बोटबिरुवाको महत्व अझ बढ्नुपर्ने उनको भनाइ छ । ‘सहरलाई हरियाली बनाउनु महत्वपूर्ण कुरा हो । रुख नभएपनि घरमै बोटबिरुवा राख्न सकिन्छ,’ उनले भने ।

काठमाडौंलगायतका ठूलामा बोटबिरुवाको माग अझै बढ्नेमा विश्वस्त छन् उनी । ‘सबैतिर घरैघर कतै हरियाली भएन भने त मानिसहरुले घरमा बोटबिरुवा स्वतः नै राख्न चाहन्छन्,’ उनी ढुक्कसाथ भन्छन्, ‘त्यसैले यो व्यवसायमा घाटा देख्दिन म ।’

नेपालमा नर्सरी व्यवसाय नफस्टाउनुको कारण सरकारले यो उद्योगको क्षेत्र नै नबुझेको विराज बताउँछन् । ‘बागबानीमा एकदम सम्भावना छ । नेदरल्यान्ड्स, थाइल्यान्ड, इन्डोनेसियामा यो क्षेत्र फस्टाउनुका कारण सरकारले सहयोग गरेको छ,’ उनले भने, ‘विडम्बना के छ भने यो व्यवसायलाई कृषि क्षेत्रमा राखे पनि लकडाउनमा ढुवानीको समस्या भयो ।’

धेरैजसो बोटबिरुवा स्वदेशमै उत्पादन नहुँदा मूल्य बढी छ । नेपालमा सिजनल प्लान्ट्स उत्पादन भएपनि इन्डोर प्लान्ट्स सबैजसो बाहिरबाट नै आयात गर्नुपर्ने हुन्छ । धेरैजसो बोटबिरुवाहरु भारत, थाइल्यान्ड, नेदरल्यान्ड्स, इन्डोनेसिया, भियतनामबाट आउने गरेका छन् । आयातमा पनि समस्या हुने गरेको विराजको अनुभव छ । ‘सरकारले ध्यान दिएर यसलाई उद्योगको रुपमा लिनुपर्ने हो । त्यस्तो हुन सकेन,’ उनले भने ।

सरकारले यो क्षेत्रलाई प्राथमिकता क्षेत्रमा नपारेको उनले गुनासो गरे । ‘कोकोपिट, गमला, मल लगायतका समान महंगा छन् । नेपालमै उत्पादन तथा प्रबर्द्धन गर्न सकिने भए पनि धेरै औद्योगीकरण गर्नुपर्छ भन्ने सोचका साथ आएका छैनन्,’ उनले भने ।’

उनका अनुसार नेपालमा प्रोडक्सन हाउसको एकदम कमी छ । उत्पादन गर्ने मान्छे नै छैनन् । भन्छन्, ‘जति पनि व्यवसायी छन् उनीहरुले यसमा जोड दिएका छैनन् । बाहिरबाट बिरुवा नआइदिने हो भने त व्यवसाय नै जोखिममा हुन्छ । उत्पादन यही भए सजिलो र सस्तो पनि हुन्थ्यो ।’


बागबानी क्षेत्रमा केही फरक गर्ने प्रयास

विराजको लक्ष्य भनेको ग्राहकको ढोकाढोकासम्म बोटबिरुवा लिएर पुग्नु हो । ‘आइ एम द गार्डेनर’ले एप पनि ल्याएको छ जसमा आफूलाई मनपर्ने बिरुवाको बारेमा जान्न पाइन्छ अनि अर्डर गर्न सकिन्छ ।

विराज यो व्यवसायमा लाग्न चाहनेले राम्ररी अध्ययन गरेर आउनुपर्ने सुझाउँछन् । ‘उत्पादनदेखि रेखदेख, संरक्षण, बजारीकरणसम्मको कुरा बुझेर आउँदा राम्रो,’ उनले भने, ‘हर्टिकल्चर भनेको छिट्टै कमाइने पेसा होइन । यसमा धैर्य चाहिन्छ । तर, जब यसमा प्रवेश गरिन्छ पछुताउनु पर्दैन ।’

‘आई एम द गार्डेनर’ले प्लान्ट कल्चर गरिरहेको छ । नयाँनयाँ प्रयोगमा उनी रमाएका छन् । ‘हामीले नलेज सेन्टरको विकास गर्ने सोचेका छौँ । प्राविधिक ज्ञान पनि बाँड्न चाहन्छौँ,’ उनले भने ।

कृषि पढेर आएका विद्यार्थीहरुलाई नर्सरीमा इन्टर्नको रुपमा पनि लिइरहेका छन् विराजले । उनका अनुसार यो व्यवसायलाई रिटेल चेनमा मात्र फोकस नगरी उत्पादनमा बढी जोड दिनुपर्छ । भन्छन्, ‘उत्पादन भएको खण्डमा ग्राहकलाई पनि सस्तो पर्छ । यो एउटा लक्जरीको मात्र होइन दैनिक प्रयोग हुने ग्रोसरीको थिममा आइपुग्थ्यो होला ।’

नेपालमै महँगो मानिएका बोटबिरुवा उत्पादन गर्ने अवस्था बनाउन आफूहरु लागिरहेको उनले सुनाए । ‘प्लान्ट प्रोडक्सन कल्चर डेभलप गर्न खोजिरहेका हौं,’ उनले भने, ‘कुनैदिन यस्तो होस्, नेपालले प्लान्ट एक्सपोर्ट गर्न सकोस् । जुन असम्भव भने छैन ।’

प्रकाशित : श्रावण १३, २०७८ १५:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?