१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

भुवन चन्द र मलाई अवार्ड दिन्छु भनेर झुक्याए : वसुन्धरा भुसाल

'कलाकारको योगदान हेरेर पो अवार्ड दिने हो त । यहाँ त जो शक्तिशाली छन् उनीहरुले नै अवार्ड पाउँदा रहेछन् ।'
रीना मोक्तान

काठमाडौँ — चोभारमा अभिनेत्री भुवन चन्द 'आमा' फिल्मको गीतमा सट दिँदै थिइन् । भुवनसँगै क्यामेराअघि अभिनेता शिव शंकर लिप्सिङ गर्दै थिए, 'गरौंला हामी सिर्जना अर्को प्रितीको जगतमा । सुन्दर मिठो भावना नयाँ भरेर दिलैमा ।'

भुवन चन्द र मलाई अवार्ड दिन्छु भनेर झुक्याए : वसुन्धरा भुसाल

छेउमा भुवनको रातो कोट बोकेर मख्ख पर्दै सुटिङ हेर्दै थिइन् वसुन्धरा भुसाल । छोटो कपाल, मेडी लगाएकी । छोराजस्तै झ्वाट्ट बोल्ने, निडर स्वभावकी भुसाल त्यतिखेरै निर्देशक हिरासिंह खत्रीको नजरमा परिन् । हिराले सोधिहाले,'ओ छोकरा इधर आओ ! उनी अलमलिइन् । कसलाई बोलाएको भनेर भेउ पाइनन् । वरपर हेरिसकेपछि निर्देशकले आफैलाई संकेत गर्दै बोलाएको मेसो पाइन् । 'छोकरा तुम फिल्ममे काम करोगी ?' निर्देशकको प्रश्न भुइँमा खस्न नपाउँदै हिन्दीमै जवाफ फर्काइदिइन् 'देगा तो करेगा ।'

त्यही जवाफले उनलाई नेपालको पहिलो हास्य अभिनेत्री बनायो । त्यतिबेला भुवनलाई पछ्याउँदै सुटिङस्थल नपुगेकी भए आज हास्य अभिनेत्रीको पहिलो सूचीमा पर्दिन थिइन् वसुन्धरा ।

सानैदेखि नाचगानमा रुचि राख्ने भुसालले २०१४ सालमा तत्कालीन जनसेवा हलमा आयोजित बाल प्रतियोगितामा नृत्य प्रस्तुत गरेकी थिइन् । त्यतिबेला ७ वर्षकी थिइन् उनी । भुवनले गाएकी थिइन्– 'हात काट्यो बरै चालिसे चुराले, माया फाट्यो बरै गाउँघरको कुराले' । यही गीतमाथि भुसालले कम्मर मर्काएकी थिइन् । नृत्यप्रतिको लगाव देखेरै २०२१ मा कृष्णप्रसाद अधिकारीले उनलाई एकेडेमीमा आवद्ध गराइदिए । त्यहाँ उनले नाट्यसम्राट बालकृष्ण समसँग ३ वर्ष नाटक सिकिन् । अरुभन्दा फरक बन्ने रहरले उनलाई भ्वाइलिन सिक्न मन लनग्यो । १० देखि ५ सम्म एकेडेमीमा तालिम/काम सकिएपछि उनी घर फर्कँदा राष्ट्रिय नाचघर छिर्थिन् । जहाँ भुवन जागिरे थिइन् । त्यही क्रममा भुवनले वसुन्धरालाई फिल्मको सुटिङमा आउन निम्तो दिएकी हुन् ।

'ए बसे मेरो फिल्मको सुटिङ छ, थाहा पाइस् । जाने हो ? भनेर दिदीले भन्नुभयो । म दिदीको पुच्छर लागेर सुटिङ स्थलसम्म पुगें । दिनेभन्दा पनि दिलाउने ठूलो भन्छन् । सायद त्यो फिल्मको सुटिङमा भुवन दिदीले नलैजाउनु भएको भए मैले फिल्म खेल्न पाउँदिनथें होला,'७१ वर्षीया भुसाल नोस्टाल्जिक भइन् ।

फिल्मको पहिलो सट उनको मानसपटलबाट मेटिएको छैन । 'पञ्चै हो यो देश बनाइदेउ, नेपाली इच्छा पुर्‍याइदेउ' बोलको गीतमा डोको बोकेर उनले आफ्नो पहिलो सट दिइन् । त्यसपछि अर्को छोटो भूमिका गर्ने मौका पाइन् । भुवनका बुबाले सुतिरहेका बेलामा 'सानु सानु' भन्दै बोलाइरहेका हुन्छन् । त्यसमै डायलग बोल्दै पानी खुवाइ दिनुपर्ने अभिनय गर्नुपर्‍यो । निर्देशक खत्रीले डायलग बोल्दा एउटा थेगो थपेर बोल्न लगाए । १४ वर्षीया भुसालको दिमागमा झट्ट आयो– ए रात्तै । मामाघर धादिङ जाँदा मामाहरुले 'ए रातै' भन्दै बोलेको कुरा मानसपटलमा कतै अल्झिएको थियो । 'ए रात्तै म आइहाल्छु नि कत्ति कराको, पानी खानुस्' भन्दै फिल्मको संवाद बोलिदिइन् । पहिलो सटमै 'ओके' भयो । निर्देशकले खुसी हुँदै उनलाई उचाले र सोधे 'छोकरा, क्या लगाएगा ?' त्यतिबेला ट्रेसा घडी लगाउने खुबै रहर । उनले त्यही मागिन् । छुट्टै फुर्ती आयो घडी लगाएपछि । अरुहरुलाई विभिन्न बहानामा घडी देखाउँदै हिँडेको क्षण सम्झँदा भुसाललाई अहिले पनि त्यही समयमा पुगेझैं लाग्छ ।

'आमा' २०२२ मा प्रदर्शनमा आयो । महेन्द्र सरकारले रिबन काटेर फिल्मको उद्घाटन गरे । भुसाल यति चुलबुले थिइन् कि त्यही रिबन टिप्न दौडेकी थिइन् । चकचक गर्लिन् भनेर टिमले अगाडिको कुर्सीमा उनलाई राखिदिए । चञ्चल स्वभावकी उनलाई त्यतिबेलासम्म कसैले नोटिस गरेकै थिएन । तर जब फिल्म सकयो, सबैले 'ए रात्तै यो सानो नानीले कस्तो राम्रो अभिनय गर्दिरहिछ' भन्दै प्रतिक्रया दिए । उट्पट्याङ गर्दै सानैदेखि अरुलाई हँसाउन खोज्ने भुसाल यसरी नेपालको पहिलो हास्य अभिनेत्री बनिन् । 'हास्य साम्राराज्ञी भनेर उपनाम पाइयो । नेपालको पहिलो हास्य महिला कलाकार हुन पाउँदा आफूलाई भाग्यमानी ठानेको छु । सायद अरु पेसामा लागेको भए अहिले अवकाश पाइसक्थें होला, 'भुसाल सुनाउँछिन्,'कलाकारितामा नलागेको भए म ब्याडमिटन खेलाडी बन्थें होला ।'

'आमा' पछि उनी रंगमञ्च र फिल्ममार्फत दर्शक हँसाउन सक्रिय भइन् । दर्शक हसाउन मुख बंग्याएर जीउ नचाउनु परेन । उनले बोल्दैमा दर्शक हाँस्थे । 'ए रात्तै' पछि हिजोआज भोलिमा उनको 'आच्ची' थेगो निकै चर्चित भयो । मनको बाँधमा डाँडाघरे साइँलीको रुपमा उनको चर्चा चुलियो । सिन्दुर फिल्मबाट नक्कली भनेर उनी चिनिइन् । चंखे गोपालराज मैनाली र नक्कलीको जोडी अहिलेको भाषामा भाइरल नै भयो । अहिले पनि भुसाल फिल्मका पर्दामा आमा, दिदीको भूमिकामा देखिन्छिन् । भुसालले महजात्रासँग अमेरिकाका ४० र अस्ट्रेलियाका ७ सहरमा प्रस्तुति दिइसकिन् । हिरासिंह खत्रीलाई उनी जन्मदाता र प्रकाश थापालाई कर्म दिने निर्देशक मान्छन् । नाटक, टेलिश्रंखला र फिल्म गरेर करिब २ सयको हाराहारीमा अभिनय कुशलता पस्किसकिन् ।

कमेडी अचारजस्तो चट्ट हुनुपर्छ

'आमा' पछि 'हिजोआज भोलि', 'मनको बाँध', 'सन्तान', 'कन्यादान' हुँदै फिल्महरुमा हास्य अभिनेत्रीको रुपमा काम गर्दै आएकी भुसालले पछिल्लो समय आँचल शर्माकी आमा भएर 'दालभात तरकारी' मा काम गरिन् । कोरोना महामारीबीच नै उनी अभिनित 'एउटा यस्तो प्रेम कहानी' र 'श्री' प्रदर्शनमा आयो । उनको जीवनमा ‍कोशेढुंगा साबित भएको फिल्म भने 'परालको आगो' हो । दार्जलिङबाट बनेको पहिलो नेपाली फिल्ममा उनी गौंथलीको भूमिका देखिएकी थिइन् । फिल्ममा बसुन्धरा बाहेकका कलाकार सबै दार्जिलिङकै । फिल्म गर्नु अगाडि निर्देशक सुब्बासँग उनले अनौठो सर्त राखिन् ।

'आमा' फिल्मको सुटिङमा एकपटक कलकत्ता पग्दा उसिनेको चामल खुवाइएको थियो । उनलाई खाना निकै गन्हाएको थियो । त्यो बेला खाना नखाने भन्दै रोइदिइन् । 'यहाँ तो दीलिप कुमार भी यही खाता है,'भन्थे निर्देशक । 'मनको बाँध' को प्रिमियरका लागि दार्जलिङ जाँदा त्यस्तै खाना दिइएको थियो । दार्जलिङमा फिल्मको सुटिङ गर्ने भनेपछि उनलाई त्यही गन्हाउने खानाको चिन्ता लाग्यो । त्यसैले प्रतापलाई भनिदिइन् – फिल्म त गर्छु तर एउटा अनुरोध छ । मलाई त्यो उसिनेको खाना नदिनुस् है । निर्देशक सहमत, फिल्मको सुटिङ सुरु भयो ।

उक्त फिल्मको सुटिङताकाका रमाइला क्षण अझै उनी सम्झिन्छन् । वसुन्धराले बोकेको गाग्री कसैले फुटाइदिन्छ । गाग्री फुटेपछि रुनुपर्ने दृश्य थियो । निर्देशकले भनेका थिए- गाग्री एउटै मात्र छ वान टेकमै सकाउ है । सुटिङकै क्रममा ग्रागी त फुट्यो तर पानी उछिट्टेर नाकभित्र पस्यो । झटपट डायलग बोलिदिइन्, वान टेकमै सट तयार ।

परालको आगो गर्दागर्दै २०३२ मा रुसमा कल्चर डेलिगेसनमा जाँदा ६ महिना बिरामी भइन् वसुन्धरा । त्यतिखेर फोनको जमाना थिएन । उनी त्यतै बसिन्, यता निर्देशकहरु आत्तिए । फर्कँदा शरीर मोटाएको थियो । उनलाई पहिलेकै भूमिकामा फिट देखिन्न भन्ने चिन्ता थियो । तर निर्देशकले मोटाएकै भूमिका चाहिने बताएपछि उनी दंग परेकी थिइन् । 'मैले डाइरेक्टर सा'प म त मोटाएँ नि भन्दा उहाँले त्यो मोटाउने दृश्य नै हो भनेर भन्नुभयो,'उनले सुनाइन् । त्यसपछि पति र छोरासहित दार्जलिङमा पुगेर फिल्मको सुटिङ सकाइन् ।

'आमाको आशिर्वाद', 'दु:ख' र 'जन्मभूमि' मा उनले कमेडीभन्दा फरक भूमिका निभाएकी छन् । नकारात्मक चरित्रको अभिनय पनि गरिन् । उनी अभिनित नाटक 'संजोग' हेरिसकेपछि ऐश्वर्य, कोमल र प्रेक्षा तीनैजना रानीले आँसु खसालेको उनी सुनाउँछिन् । रुवाउन सजिलो भए पनि हँसाउन गाह्रो हुने भुसालको तर्क छ । 'हास्य कलाकारलाई बच्चादेखि तरुनातरुनी बुढाबुढीसम्मले मन पराउँछन् । रुवाउन सजिलो छ । हँसाउन गाह्रो छ । हँसाउनै सकिएन भने कामै भएन । हँसाउने काम त अचारजस्तो चट्ट हुनुपर्छ,'उनले भनिन् ।

कलाकारितामा लाग्दा सिस्नुपानीदेखि तीता भनाइ

६५ वर्ष भयो भुसालले कलाकारितालाई रोजेको, छिछोलेका ती तमाम दु:ख संघर्षका पहाड । कलाकारितालाई इज्जतिलो क्षेत्र नठान्ने जमानामा उनले 'जोकर्नी' बन्दै दर्शक हँसाउन थालिन् । महिलाका लागि उदार थिएन समाज । 'त्यो बेला डाक्टर, नर्स भएका महिलाको त कुरा काट्थे । म परें जोकर्नी । ए रात्तै भन्दै च्याम्पतीले समेत हान्ने मलाई, 'भुसाल सुनाउँछिन, 'दु:ख धेरै गर्नुपर्छ फिल्म क्षेत्रमा ।'

कलाकारितामा लागेसँगै थुकाइ र भनाइ कति खाइन् त्यसको लेखाजोखा छैन भुसालसँग । लेखाजोखा राखिने हो त भुसालको संघर्षका भौचरको चाङ लाग्ने थिए । समाजले कलाकारितालाई छिछि दुरदुर गर्थे । कलाकारिता रोजेपछि आफ्नो कामले अर्काको छोराछोरीलाई असर पार्‍यो भन्ने भनाइदेखि आमाको चुटाइसमेत उनले सहिन् । 'साथीको घरमा जाँदा उनीहरुका बुबा आमाले मलाई नाचगान गर्न लगाउने, रमाइलो गर्ने । तर पछाडि फलानो डिट्ठाकी छोरी बिग्री भन्थे । तितो भनाइ सुन्नुपर्‍यो । आमाले सिस्नुपानीले हिर्काउनुहुन्थ्यो,'पुराना दिन सम्झँदै भुसालले सुनाइन्,'घरबाट समाजबाट तिरस्कार । नाच हेर्दा आहा ! राम्रो भन्नेहरु पछाडि कुरा काट्थे । हामीलाई त्यतिबेला घर अबेर फर्कँदा दाइहरुले पुर्‍याउन आउनुहुन्थ्यो । हरेक दिन फरकफरक दाइहरुले पुर्‍याउन आएको देख्दा फलानोकी छोरीले कत्ति केटा फेरेको भन्थें ।'

उनी कलाकारितामा लागेको आमालाई निको लाग्दैनथ्यो । खुट्टा बाँधेर राख्थिन् । आमाले पिट्लिन् भनेर साथीहरुको हुल लिएर घर पुग्थिन् । साथीहरु फर्किसकेपछि भने पिटाइ भेट्थिन् । कला केन्द्रबाट घर फर्कँदा एक पटक रातको ९ बज्यो । पुसको कठ्यांग्रिँदो जाडो । घरको ढोका ढकढक्याइन् । माथिबाट आमाले एक गाग्री चिसो पानी खन्याइदिइन् । ४ घण्टा तलै कक्रेर बसिन् । माइली दिदीले पछि ढोका खोलिदिइन् । 'आमाले सानोमा धेरै पिट्नुभयो । म त उहाँलाई मेरी आमा होइन सौतेनी आमा भनिदिन्थे । रिसाउँदै मलाई लखेट्नुहुन्थ्यो । ६ दिदीबहिनी छन् यसले गर्दा कसैको बिहे नहुने भो भन्नुहुन्थ्यो । यो एउटा अण्डा फुट्यो भन्नुहुन्थ्यो । म फुट्यो त फुट्यो भनिदिन्थें,'भुवनले हाँस्दै सुनाइन् ।

‍आमाको पिटाइ, समाजका भनाइहरुले उनलाई रोक्न सकेन । जति संघर्ष गर्नुपरे पनि यही क्षेत्रमा लाग्छु भन्ने अठोट जो लिइसकेकी थिइन् । त्यही अठोटले निरन्तर यो क्षेत्रमा लागिरहिन् । भन्छिन्,'एकनासै छु, थकावट छैन । अहिले जस्तो भूमिका गर्न पनि स्वीकार्छु । अभिनयमै जिन्दगी बित्यो ।'

अहिले संघर्षका ती दिनहरु याद बनेका छन् । एकदिन त्रिचन्द्र क्याम्पसबाट हिँड्दै थिइन् भुसाल । त्यो बाटो हिँड्न मनै भारी हुन्थ्यो उनको । 'हिजोआज के भो, के भो ए रात्तै तिम्रै माया लाग्छ,' भन्दै केटाहरु उनलाई जिस्काउँथे । लप्सी खाएर च्याम्पतिले पछाडिबाट हिर्काउँथें । क्षेत्रपाटीको बाटो हिँड्दै गर्दा एकजनाले कानमै आएर 'ए रात्तै' भन्दै कराएर भाग्यो । चप्पल लिएर लखेटिन् तर भेटिनन् । धेरैपछि अभिनेता शिव श्रेष्ठले त्यो व्यक्ति आफू रहेको बताएपछि उनी चकित परिन् ।

'एक पटक छोरा रातोपीरो भएर घर फर्कियो । मोडर्न इन्डियनमा पढ्थ्यो । मम्मी हजुर चंखे मामासँग अब खेल्न पर्दैन भन्यो घर आउनासाथ,' यस्ता घटनाहरु सम्झँदा उनको हाँसो रोकिँदैन ।

अवार्डमा धाँधली

२००७ मा काठमाडौंको क्षेत्रपाटीमा जन्मिएकी भुसालले १७ वर्षको उमेरमा चेतनारायणसँग बिहे गरिन् । त्यसपछि भने उनका लागि कलाकारितामा अलि सहज भयो । बिहेपछि उनले अभिनयलाई निरन्तरता दिन पाइन् । कला बुझिदिने जीवनसाथी पाएकै कारण १८ दिनको सुत्केरीमा पनि स्टेजमा कम्मर मर्काउन पाइन् । कम उमेरमै अभिनय थालेकी भुसाल अभिनय गर्दै हुर्किइन् । तर सुटिङस्थलमा उनको बचपना कम भएन । सुटिङमा रबरको भ्यागुतो कि त सर्प बोकेर जान्थिन् उनी । थाहा नपाउने बेला अरुको अगाडि राखेर तर्साउन खुबै रमाइलो लाग्थ्यो । उनलाई अगाडि नराखेसम्म हिँड्दिनथिन् अभिनेत्री निरुता सिंह । पछाडि राखे सर्प भ्यागुतोले तर्साउने डर ।

एनालगदेखि डिजिटलमा आइपुग्दा फिल्म क्षेत्रका धेरै परिवर्तनको साक्षी बनेकी छिन् भुसाल । पुराना कलाकार समयको पक्का हुने वसुन्धराको भनाइ छ । 'हामी एकदम पंक्चुअल । आउट डोर सुटिङको लागि गाडी पाँचै बजे लिन आइपुग्थ्यो । हामीले ३५, ७० र १६ एमएममा फिल्मको सुटिङ गर्‍यौं । अहिले डिजिटलमा धेरै सजिलो । २०२१ सालमा हामीले लुक डब गरेको । इयरफोनको भरमा संवाद बोल्नुपर्ने । अहिले त एक पटक हाँस्दा चार पटक प्रयोग गर्न । पहिला त चारै पटक हाँसिरहन पर्ने,' उनले भनिन्, 'पहिला त एक पटक प्याकअप भएपछि प्याकअप । अहिले त केही मिलेन भने रि-सुट गरिन्छ । छक्का पञ्जाको प्याकअप भइसकेपछि रि-सुट गर्नुपरेको थियो ।'

अवार्डका मामलामा उनीसँग तीतो अनुभव छ । एक पटक 'साथी' फिल्मबाट उनी एउटा अवार्डको मनोनयमा परेकी रहिछन् । विजेता अरु नै घोषणा भए । तर स्क्रिनमा भने उनको फिल्मको क्लिपस् देखाइयो । त्यसपछि अवार्ड कार्यक्रममा धाँधली भएको उनले पत्तो पाइन् । 'भिजुअल मेरो छ, नाम अर्काको । नाम फेरेछन् तर भिजुअल फेर्न बिर्सेछन् । यस्तो धाँधली हुन्छ अवार्डमा । कत्ति ठाउँमा बेइज्जत पनि भएको छ । भुवन दिदी र मलाई तपाईंहरु सम्मानित हुँदै हुनुहुन्छ भनेर बोलाइयो एउटा अवार्ड कार्यक्रममा । सम्मान भनेपछि इज्जतको लागि पनि चिट्टिक्क परेर गइयो । तर त्यहाँ पुगेपछि हाम्रो सट्टा अर्कैलाई पुरस्कार दिइयो । हामी हाँसीहाँसी फर्कियौं, 'उनले अवार्डको नाम भने लिन मानिनन्, 'पदक दिँदा धाँधली गर्दा रहेछन् । दु:ख लाग्छ । पाउन त दीर्घकालीन सम्मान नै पाएँ । कलाकारको योगदान हेरेर पो अवार्ड दिने हो त । तर यहाँ त जो शक्तिशाली छन् उनीहरुले नै ठूलो पदक पाउँदा रहेछन् ।'

पछिल्लो समय कलाकारले ५० लाखसम्म पारिश्रमिक पाएको चर्चा चल्छ । तर आफूहरुसँग भने निर्माताहरु 'बार्गेनिङ' गर्ने गरेको उनको भनाइ छ । 'फिल्मको हस्ताक्षर गर्न गयो । हात जोड्‍दै हाम्रो पहिलो फिल्म हो भन्दै नाइँनास्ती गर्नुहुन्छ । बाबुहरुको पहिलो पटक मेरो त अन्तिम भनिसकेपछि लाजले पनि मिलाएर दिन्छन् । तर कोही कोहीले आत्मै मार्ने खालको पारिश्रमिक दिन्छन् । फिल्म पनि छोड्नैपर्छ । फुर्ती लाइन् भन्लान् । उनीहरुले भनेको रकममा फिल्म गरेको भए भ्याइनभ्याइ हुन्थ्यो । तर आत्मै मार्ने रकममा जानु भएन । हामी सिनियरलाई आदर गरेर दिनुपर्ने हो ।'

प्रकाशित : श्रावण १२, २०७८ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?