३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

मिर्गौला प्रत्यारोपणको पर्खाइमा पल्पसा

परिवारबाटै ३ जना मिर्गौला दिन तयार
रीना मोक्तान

काठमाडौँ — ३०५ नम्बर क्याबिन कता हो ?
त्रिवि शिक्षण अस्पतालको नेफ्रो वार्ड रहेको भवनको भुइँ तल्लामा गार्डलाई प्रश्न गर्दा उल्टै उनले प्रतिप्रश्न गरे, 'बिरामीको समस्या ?'
'मिर्गौला', जवाफ पूरा दिन नपाउँदै गार्डले झट्ट भने, 'चम्सुरी हो ?'

मिर्गौला प्रत्यारोपणको पर्खाइमा पल्पसा

'हो' को संकेतमा टाउको हल्लाएँ । उनकै निर्देशन पछ्याउँदै दोस्रो तल्ला पुगियो । त्यहाँ ढोकाको शिरमै लेखिएको थियो,'नेफ्रो वार्ड' अर्थात् मिर्गौला रोगबाट उपचार गराइरहेका बिरामीको कक्ष । क्याबिन खोज्न अलमलिएको देखेर एक व्यक्तिले सोधिहाले,'मिर्गौलाको बिरामी हो?'

'क्याबिन नम्बर ३०५' वाक्य पूरा भएकै थिएन अगाडितर्फको एउटा कोठा देखाउँदै उनले भने, 'चम्सुरी दिदी त्यता हुनुहुन्छ ।'

दुवै मिर्गौला फेल भएर अस्पतालमा उपचाररत 'मेरी बास्सै'की 'चम्सुरी'(पल्पसा डंगोल) क्याबिन पत्ता लगाउन खासै समय लागेन । धेरैलाई उनको क्याबिन नम्बरसमेत कण्ठस्थ रहेछ ।

तर उनी त क्याबिनमा नचिन्ने अवस्थामा भेटिइन् । दर्शकलाई पर्दामार्फत हँसाइरहने पल्पसाको मुहार मलिन देखिन्थ्यो । आँखा अनिँदो देखिन्थ्यो । बायाँ हातको कुइनो छेउमा सुईका खत प्रस्टै देखिन्थ्यो । छेउमा बसेका भाइ अजु उनको खुट्टाका औंलाहरुमा मालिस गरिदिँदै थिए ।

पल्पसालाई भेट्न आएकी एक जना शुभेच्छुक एकोहोरो बोलिरहेकी थिइन् । उनी पल्पसालाई निको हुन सान्त्वना दिँदै थिइन् । 'भगवानलाई प्रार्थना गरेको छु । तिमी चाँडै निको हुनुपर्छ । तिमीलाई राम्रो होस् । सबैको प्रार्थना र माया लागोस् । अरु हामी गर्ने के पो सक्छौं र ?,'रुँदै उनले भनिन् ।

पल्पसालाई भेट्न सुभेच्छुकको घुइँचो लागेको थियो । तर उनी भने बोल्न नसक्ने अवस्थामा थिइन् । उनका भाइ अर्जुन डं‌गोलका अनुसार पल्पसालाई डाक्टरले धेरै नबोल्नु भनेका छन् । उनी हातको इसारामै नमस्कार गर्थिन् । 'हो' र 'होइन'को जवाफ पनि हात या त टाउको हल्लाउँदै दिन्थिन् । क्याबिनमा मिर्गौलाका अर्का एक बिरामी पनि थिए ।

फर्कने बेलामा एकजना शुभेच्छुकले भन्दै थिइन्,'रोगबारे पहिल्यै भन्नुपर्थ्यो बहिनी । नभनेर गल्ती गर्‍यौं ।' उनको कुराले पल्पसाको आँखामा आँसु टिलपिलायो ।

आफ्नो मिर्गौलाको समस्याबारे पाँच वर्षअघि नै पल्पसाले थाहा पाएकी थिइन् । तर उनले परिवारका कोही सदस्यलाई यसबारे पत्तो दिइनन् । साथीभाइ कसैलाई पनि उनको यो समस्याबारे थाहा थिएन । आमाबुबा, दुई छोरी सबैबाट रोग लुकाइन् । उनी एक्लै यो रोगको उपचार गराइरहेकी थिइन् । सोच्थिन्, 'कसैलाई नभनी यो रोगबाट निको हुन्छु ।' आफूलाई युरिक एसिडको समस्या रहेको भन्दै खानेकुरा बार्ने गर्थिन् । सुटिङमा चिल्लो पिरो खाँदिन थिइन् । कहिले डाइटिङ त कहिले युरिक एसिडको बिरामी भन्दै चिल्लो पीरो नखाइ, आफै साग पकाएर खान्थिन् । त्यसैले उनलाई भेट्न आउने सुभेच्छुकको मुखैमा झुन्डिएको छ एउटै गुनासो,'पहिल्यै रोगबारे भन्नुपर्थ्यो ।'

भेटघाटको क्रममा भाइ अर्जुनले भने,'दिदीले यतिका वर्ष हामीबाट रोग लुकाउनुभयो ।'

दुई महिनायता पल्पसालाई मिर्गौला गाह्रो बनायो । सास फेर्न गाह्रो हुने, खाना रुचि नहुने अनि वान्ता भइरहने भएपछि उनलाई अस्पताल ल्याइएको अर्जुन ् बताउँछन् । दस दिनदेखि अस्पतालमा भर्ना भएकी उनको अहिलेसम्म चारपटक डायलसिस भइसक्यो । यसअघि ११ दिन अस्पताल बसेर घर फर्केकी थिइन् पल्पसा । घर बसेको दुई दिनमै उनलाई सास फेर्न गाह्रो भएपछि अस्पताल फर्काइएको अर्जुन बताउँछन् । पहिलो पटक डायलसिस गराउनुअघि पल्पसा निकै आत्तिएकी थिइन् । दीपाश्री निरौलालगायत केहीलाई आफ्नो अवस्था सुनाउँदै भेट्नसमेत बोलाएकी थिइन् । पल्पसाको खबर बाहिरिएसँगै कतिले उनका लागि आर्थिक सहयोगका लागि गुहारे । तर पल्पसा आफ्नो लागि आर्थिक रकम नउठाउन अनुरोध गर्छिन् ।

'दिदीको लागि पैसा नउठाइदिनु होला,' भाइ अर्जुनले भने । भाइको कुरामा टाउको हल्लाउँदै पल्पसाले पनि आफ्नो सहमति जनाइन् । दुई दिनदेखि उनको स्वास्थ्य अवस्थामा केही सुधार देखिएको छ । खान र सुत्न त्यति गाह्रो छैन । परिवारबाटै तीनजना मिर्गौला दिन तयार भएका छन् ।

'प्रत्यारोपणका लागि तीन जनाको स्वास्थ्य परीक्षण हुँदैछ,'भाइ अर्जुनले सुनाए । भाइको कुराले पल्पसाको अनुहारमा आत्मविश्वासको झिल्को देखियो ।

दुई छोरीकी आमा ४५ वर्षीया पल्पसाले 'प्रतिद्वन्द्वी', 'भरोसा', 'मेरी बास्सै'लगायतको टेलिश्रंखलामा अभिनय गरेकी छन् । 'दृष्टि' टेलिश्रंखलाको १६२ उनले निर्देशन गरेकी हुन् । सानैदेखि नृत्यमा रुचि राख्ने डंगोल म्युजिक भिडियोहरु पनि अभिनय गरेकी छन् । कुनै बेला ठूलो नृत्यांगना बन्ने सपना बुन्थिन् । तर उनी अभिनयतिर सक्रिय भइन् ।

कीर्तिपुरको पांगामा जन्मिएकी पल्पसाले नेपालको दोस्रो मिस नेपालमा उत्कृष्ट पहिरनको अवार्ड जितेकी थिइन् । आफ्नो करियरको सुरुवातमै शिखर साँझ कार्यक्रममा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँग काम गर्न पाइन् उनले । 'श्रीमान्–श्रीमती' टेलिश्रंखला हुँदै गाइजात्रामा नृत्य गर्दै उनी कलाकारितातिर होमिइन् ।

प्रकाशित : श्रावण ७, २०७८ १५:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?