कालो बादल मडारिन थालेपछि...- फिचर - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कालो बादल मडारिन थालेपछि...

रासस

काठमाडौँ — हेलम्बु गाउँपालिका–७ चनौट बजारकी भीमकुमारी ज्योतिलाई साँझ पर्‍यो कि डर लाग्न थाल्छ । साँझ परेपछि चनौट बजारमा भएर बग्ने मेलम्ची खोलामा पानी बढ्न थाल्छ अनि ढुंगाको आवाज आउन थाल्छ । मडारिएर कालो बादल आउन थालेपछि उनको मन आत्तिन्छ फेरि पनि खोला कति ठूलो हुने हो र के के क्षति पुर्‍याउने भन्ने ।

फाइल तस्बिर

'कालो मडारिएको बादल देखिएपछि डर लाग्न थाल्छ, फेरि पनि पानी पर्ने र खोला भरिने हो कि भनेर', उनले भनिन्, 'तीन दिन भयो, फेरि पनि खोला बढेर बगाउँछ भनेर सुत्न पाएका छैनौँ ।'

यही असार २ गते मेलम्ची खोलामा बाढी आउँदा उनको घर र जग्गा सबै बाढीले बगाएको थियो । साँझ ७:०० बजे खोलामा ठूलो आवाज आयो र घरबाहिर निस्केर हेर्दा ठूलो पानी आइरहेको उनले देखिन् । त्यो खोला छिनभरिमा नै उर्लियो र राति १२:०० बजे उनको घरजग्गा सबै बगायो । 'त्यो दिन हामी घरबाट चाँडै निस्केरमात्र बाँच्न पायौं', उनी भन्छिन्, 'खोलामा ठूला आवाज र जमीन थरथर काम्न थालेपछि हामी बाहिर के भयो भनेर बाहिर निस्केका हौँ ।'

गत बुधबार आएको मेलम्ची नदीमा आएको पानीले मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिका–१ को तिमु र चिउरी खर्क, वडा नं २ क्युल, वडा नं ६ चालिसेमा बढी क्षति पुर्‍याएको छ । पचपन्न वर्षीया ज्योति उक्त ठाउँमा बसेको धेरै भए पनि यसरी खोलामा ढुंगाको आवाज आउँदै बाढी आएको र जमिन थर्किएको कहिल्यै देखेकी थिएन ।

यस्तै सोही ठाउँका मीनमार तामाङको पनि बगरमा रहेको घर बाढीले लग्यो । घरमा रहेको सबै बगाएपछि सपरिवार उनी डाँडामा त्रिपालमा बसेका छन् । खोला एक्कासी बढेर आउँदा आफू र छोराछोरीलाई बचाउन लाग्दा घरको केही नै जोगाउन उनले पाएनन् । 'हामी आफ्नो ज्यान बचाउनका लागि माथि डाँडातिर उक्ल्यौं, अनि हेर्दाहेर्दै खोलाले घर बगायो', उनी भन्छन्, 'आफूसँग लगाएको कपडाबाहेक घरबाट अरू केही ल्याउन पाएनौं, घरमा रहेको सबै खोलाले बगायो ।'

यस्तै विष्णुप्रताप खड्काले पनि त्यो दिन दिउँसोदेखि नै खोलामा पानीको बहाव बढिरहेको बताए । 'बत्ती गयो, खोलो करायो, गाउँका छरछिमेकी जम्मा भयौँ, खोला हेर्‍यौं मात्र केही गर्न सकेनौँ', उनले स्मरण गर्दै भने, 'भोलिपल्ट हेर्दा केही थिएन ।' त्यस दिन उनी भाउजूसँगै भाइको माछा फार्ममा गएका थिए । पानी बढेपछि उनी माछा फार्मदेखि भाग्न सफल भए पनि भाउजू भने सकेन र खोलाले बगायो ।

उनीसहित पाँच दाजुभाइको ५० रोपनी जग्गा बगर र भाइको माछा फार्म पनि खोलाले खायो । भुवन दंगालका अनुसार जेठ मसान्तको दिनदेखि खोलाको बहाव बढिरहेको र असार २ गते ठूलो बहाव आएको हो । 'खोला बढेको दिन भूकम्पभन्दा बढी हल्लायो', उनले भनेय, 'अब त बाँचिन्न भनेको थियौँ, हामी त बाँच्यौँ, तर घर बगाएर लग्यो ।'

उनी घर बगाएपछि डाँडामा त्रिपालमा सुत्दै आएका छन् । दिउँसो भने आफ्नो बगाएको घर कस्तो छ भनेर हेर्न आउने गर्छन् । उनले भूकम्पले भन्दा बाढीले बढी क्षति पुर्‍याएको बताए । 'भूकम्पले बरु त्यति क्षति गरेन, घर भत्कको मान्छे मरेनन्, घर त पछि बनाइहाल्यौं', उनले भने, 'तर अहिले घरमात्र बगाएन, घर बनाउने ठाउँ नै बगर भयो, घर बनाउने ठाउँ नै छैन ।'

स्थानीयवासी ध्रुवबहादुर श्रेष्ठले सामान्य खोलाभन्दा अहिले १० मिटरमाथि बढेर आएको बताए । उक्त दिन ७:०० बजेदेखि पानीको सतह बढे पनि राति १२:०० बजेदेखि भने लेदोसहितको बाढी आएको उनको भनाइ छ । 'सामान्य खोलाभन्दा त्यस दिन एकै छिनमा १० मिटर माथि बढेर खोला आयो', उनले भने, 'रातीतिर त लेदोसहितको पानी आयो, त्यसपछि मेलम्चीका ड्यामका गिट्टीसहित पानी आयो ।' उनले खोला बहाव बढ्न साथ मानिस भागेकाले मानवीय क्षति हुन नपाएको बताए ।

बजार बगर

चनौट बजार जिल्लाको उत्तरतिरको किनमेल गर्ने बजार रहेको थियो । धेरै मानिसको किनमेल गर्न त्यहाँ आउने गर्दथे । गत बुधबार आएको मेलम्ची खोलामा आएको बाढीले बजार पूरै बगर भएको छ । बजारका अधिकांश पसल आधा डुबेका छन् भने व्यापारीले आफ्ना सामान सारेका छन् ।

स्थानीय हेलम्बु युवा समाजका सचिव रोशन दंगालले साँझतिर आएको बाढीमा कसैले पनि केही निकाल्न नपाएको बताए । बजार क्षेत्रका सबै घर र पसलमा ताला लगाएर मानिसहरु डाँडामा बस्ने गरेका छन् । दिउँसो भने ती व्यापारी आफ्नो सामान पसलबाट झिकेर सुरक्षित ठाउँमा राख्ने गरेका छन् ।

उनले खोलाको बहाव बढिरहेकाले बजार अझै पनि असुरक्षित रहेको बताए । 'पानी परिरहेको छ, कतिबेला बजारतिर खोला पस्छ भन्ने चिन्ता सबैलाई छ', उनले भने, 'साँझतिर पानी पर्न थालेपछि यहाँका व्यापारीहरु त्रासमा हुन्छन् ।' उनले जिल्लाकै तेस्रो ठूलो बजार क्षेत्रका रुपमा रहेका यस बजारमा यसअघि हजारौं मानिस किनमेल गर्न आउने गरेका बताए । उनका अनुसार बाढीले बजार क्षेत्रका ५० घरमध्ये २० बगाएको र करिब रु सात अर्ब बराबरको क्षति भएको छ ।

विस्थापितलाई स्थायी रुपमा स्थापना

वाग्मती प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री सरेश नेपालले जुरे पहिरो र भूकम्पबाट तङ्ग्रिँदै गर्दा बाढीले पुनः जिल्लालाई पहिलेको ठाउँमा पुर्‍याएको बताए । उनले अहिले हेलिकप्टरबाट पहिरोमा परेकालाई उद्धार, बेपत्ताको खोजी जारी र मृतकको शव खोज्ने कार्य भइरहेको जानकारी दिए । उनले विस्थापितलाई स्थायी रुपमा स्थापित गरिने बताए । 'विस्थापितलाई स्थापित गर्नका लागि स्थानीय सरकारसँग मिलेर जग्गा उपलब्ध गराउने र सङ्घीय सरकारसँग मिलेर पुनर्निर्माणको काम गर्नेछौँ', उनले भने, 'पुन: स्थापना गर्नका लागि प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गरेको छ ।'

उनले गत वर्ष पुनस्थापना गर्न बाँकी रहेका र अहिले बाढीपहिरामा परेकालाई स्थायी बसोबास गर्नका लागि सरकारले काम अगाडि बढाइरहेको छ । उनका अनुसार प्रदेश सरकारले विस्थापितलाई ५० हजार रुपैयाँ तुरुन्तै, घरजग्गा नभएकालाई घडेरी किन्न तीन लाख रुपैयाँ र घर बनाउनका लागि पाँच लाख रुपैयाँ दिनेछ ।

पूर्वाधारका लागि छुट्टै रकम

प्रदेश सरकारले विस्थापितको घर नजीक बाटोघाटो, विद्युत्, ढल निकास र खानेपानीका लागि छुट्टै रकम उपलब्ध गराउने भएको छ । 'न्यूनतम पाँच घरपरिवारको एउटै बस्ती बन्छ भने एक परिवार बराबर पाँच लाख रुपैयाँका दरले पूर्वाधार विकासका लागि दिनेछौं', उनले भने, 'यसका लागि सरकारले कानुन बनाएर बजेट नै विनियोजन गरेको छ, यसमा सङ्घ र स्थानीय सरकारको दायित्व रहेको छ ।'

उनले जोखिम भएको ठाउँबाट बस्तीलाई अन्यत्र सारी एकीकृत बस्ती बनाउने सरकारले बताए । चनौट बजारमा करिब ११० घरपरिवार बाढीका कारणले विस्थापित भएका छन् । वाग्मती प्रदेशले हेभिटेन्ट ५० थान र त्रिपाल सय थान तथा १० प्याक औषधि बाढीपीडितलाई उपलब्ध गराएको थियो । यस्तै तिलगङ्गा आँखा अस्तालले सय परिवारलाई पुग्ने खाद्यान्न उपलब्ध गराएको छ ।

प्रकाशित : असार ५, २०७८ १८:३३
प्रतिक्रिया
पठाउनुहोस्

कम्युनिस्टको ‘क’ भन्दा अधिनायकवादको ‘अ’ आपत्तिजनक : पौडेल

सम्झना रसाइली

तनहुँ — नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टको ‘क’भन्दा अधिनायकवादको ‘अ’ आपत्तिजनक रहेको बताएका छन् । जिल्लाका स्थानीय तह तथा अस्पताललाई स्वास्थ्य सामाग्री वितरण गर्न शनिबार दमौली आइपुगेका नेता पौडेलले प्रजातान्त्रिक समाजवादीहरुलाई अधिनायकवादको अत्यचारसँग आपत्ति रहेको बताए । 

नेता पौडेलले सरकारले जनातालाई दुष्चक्रमा फसाइएको आरोप लगाएका छन् । ‘जब जब मुलुकमा अधिनायकवाद हाबी हुन्छ त्यसको खिलाफमा विभिन्न पार्टीहरु मिलेर संयुक्त आन्दोलन गरी सफलता हात परेका छौं’, उनले भने, ‘केपी ओली जसरी अगाडि बढ्दै छन् । जसरी सर्वसत्तावाद, अधिनायकवादको घोडा चढेर देशलाई नै तबाह गर्दै छन् त्यसलाई नियन्त्रण गर्नका लागि यो परिवर्तन, लोकतन्त्र, जनताका पक्षधरहरुले मिलेर रोक्न आवश्यक छ ।’

प्रधानमन्त्रीले दुई दुई पटक संसद् विघटन गर्नु सामान्य कुरा नरहेको वरिष्ठ नेता पौडेलले बताए । ‘चुनाव गराउने उद्देश्यले संसद् विघटन गरिएको होइन, चुनाव स्वतन्त्र पनि हुँदैन’, उनले भने, ‘यो चुनावले जुन एजेन्डा उठाउन खोजिएको छ त्यसले ७० वर्ष लडेर ल्याएको परिवर्तन, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्रलाई उल्टाउनको लागि योजनाबद्ध ढंगले चुनावलाई प्रयोग गर्न लागिएको हो ।’

‘संयुक्त साझा सरकारको जमाना आएको छ, संविधानले पनि हामीलाई त्यतैतिर धकेलेको छ’, उनले भने, ‘पार्टी पार्टी मिलेर संयुक्त सरकार बनाउने र संयुक्त सरकारको संस्कृतिलाई अगाडि बढाउनु पर्दछ । हामी नयाँ युगमा प्रवेश गरेका छौं, त्यो भनेको संयुक्त सरकारको युग हो र यसका लागि हामी को–को सँग कहाँ–कहाँ मिल्न सक्छौं त्यहाँ मिलेर जानुको विकल्प छैन ।’ प्रधानमन्त्री ओलीसँग असहमत रहेका पार्टीसँग नेपाली कांग्रेसले सहकार्य गर्ने उनले बताएका छन् ।

यस्तै जिल्ला समन्वय समितिको संयोजनमा ११ थान अक्सिजन कन्सन्ट्रेटर, फेसमाक्स १३ हजार ४०, एन९५ माक्स एक हजार ३५०, पीपीई ४४० सेट, सेनिटाइजरलगायत गरी करिब ३५ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री तनहुँका १० र लमजुङको एक स्थानीय तहहरुलाई नेता पौडेलले हस्तान्तरण गरेका छन् ।

प्रकाशित : असार ५, २०७८ १८:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×