‘हाम्री तलेजु–भवानीको गहना फर्काऊ’

श्‍वेता बानियाँ

काठमाडौँ — अहिले सिकागोमा रातको साढे १० बजेको छ । नजिकै बेसबल खेल हेरेर म भर्खरै होटलमा फर्किएकी छु । म थाकेकी छु तर सुत्न पनि सकेकी छैन । जति सुत्ने यत्न गरे पनि तन्द्रामै म आफ्नो मनमुटु बिस्मित बनाउँदै सिकागोको आर्ट इन्स्टिच्युटतिरै पुगिरहेकी छु जहाँ मेरो देश, मेरो घरबाट चोरिएको एउटा सम्पदा प्रदर्शनीमा राखिएको छ ।

जहाँ मैले पूजाप्राथना गर्ने देवीको दुर्लभ गहना खुलेयाम प्रदर्शनीमा राखिएको छ ।

मैले सिकागो आर्ट इन्स्टिच्युट (म्युजियम)मा हिजैमात्रै तलेजु भवानीको हार (नेकलेस) देख्ने मौका पाएँ जुन हाम्रो हनुमानढोका सामुको तलेजु मन्दिरमा तलेजु भवानीको गलामा हुनुपर्थ्यो । सम्वत १७०० तिरका शक्तिशाली मल्ल राजा प्रताप मल्लले तलेजु भवानीलाई उपहारमा चढाएको मानिने यो हारको कुनै मूल्य छैन । बरु छ त हाम्रो सभ्यता र समय सम्झाउने कालिगढी र कौशल । तर, यो अमूल्य सम्पदा आज हनुमानढोका क्षेत्रमा होइन, सिकागोको म्युजियममा दिनहुँ सयौं र हजारौं आगन्तुकको आँखामा जँचिरहेको छ ।

मलाई यो तलेजु भवानीको गहना (हार) सिकागोमा राखिएको छ भन्ने कुरा ३ बर्षअघि थाहा भएको थियो । सिकागोबाट २ घण्टा ड्राइभमा पुगिने एक युनिभर्सिटीमा म पीएचडीको सोधार्थी भएकाले बितेको समयमा सिकागो म्युजियमसम्म पनि जान पाएकी थिइनँ । बरु केही साथीभाइहरु त्यहाँ पुगेर यो हार र अरु नेपाली सम्पदाको तस्बिर ल्याएर मलाई देखाइरहेका हुन्थे, म विस्मित हुँदै हेरिरहेकी हुन्थें । यति बर्षपछि आफ्नो पीएचडी पूरा गरेरमात्रै सिकागो आर्ट इन्स्टिच्युट जान सकें । अथवा भनौं, तलेजु भवानीले मलाई बोलाइन् ।

हिजो झण्डै २ घण्टा ड्राइभ गरेर सिकागो आउनासाथै म सिधै आर्ट इन्स्टिच्युट अफ सिकागोमा गएकी थिएँ । जसै इन्स्टिच्युटमा प्रवेश गरें, मैंले सुरुमैं ‘इन्डियन, साउथइष्ट एसियन एण्ड हिमालयन आर्ट सेक्सन’ चहार्न चाहें । यो सेक्सनमा छिर्नासाथै म मनमुटुमा कम्पित भइरहेकी थिएँ, सम्पूर्ण शरीर कुनै अज्ञात डरका कारण काँपिरहेजस्तो अनुभूत गरें । ओहो, त्यहाँ त हाम्रा देवीदेवताहरु थिए । हाम्रो काठमाडौं उपत्यकामा रहेका र मेरो पुस्ताले कथा–किंवदन्तीमा सुनेजस्ता देवीदेवता, गरगहना र सम्पदाहरु भित्ताभरी झुन्डिएका थिए । भगवान बुद्धको ठूलो मुर्ति मौनव्रतमा बसेझैं देखिन्थ्यो । मन्दिरै मन्दिरको मेरो काठमाडौं सहरका हरेक गल्ली–गल्छेडामा भगवानको बास रहेको हुन्थ्यो, आज ती भगवानहरु यता आएजस्तो ल्याइएजस्तो भान मलाई भयो । तर, यो अपनत्व र आत्मीयताले भरिएको मेरो सहर थिएन, यो मेरो मन्दिर थिएन । यो त फगत एउटा निर्जीव लाग्ने संग्रहालय थियो ।

म त्यही तलेजु हार हेर्न चाहन्थें, जसलाई सावधानीपूर्वक एउटा सिसाको बाकसमा सजाएर राखिएको थियो । जब मैले पहिलोपटक यो तलेजु हारलाई देखें, म एकाएक भक्कानिन पुगें । मेरो प्रिय देवी तलेजु भवानी सम्झेर त्यही गहनाका सामु हात जोर्दे म रोइरहें, केहीबेर । यसरी मेरो भगवानको गहना यो पराइ ठाउँमा प्रदर्शनीमा राखिएको देख्दा म मेरो अमूल्य सम्पदा कसैले बिनाकारण र बिनाअधिकार मबाट खोसेर लगेको बोध गर्दै थिएँ । यही हार गहनाको तलतिर सानो र अनौठो टिपोट लेखिएको थियो—‘एल्सरड्रोफ फाउन्डेसनको उपहार ।’

अनि मैंले गुगल गरें— एल्सरड्रोफ फाउन्डेसनबारे । केही सूचना मिल्यो पनि । तर, यो हाम्रो पुरातात्विक सम्पत्ति यो फाउन्डेसनले कसरी पायो ? कसरी यो गहना चोरियो ? कसरी ल्याइयो अथवा कति पैसामा खरिद गरेर लिलामी हुँदै यो सम्पत्ति यहाँ आइपुगेको हो ? सन् ७० को दशकमा काठमाडौंबाट हराएको भनिएको गहना यति लामो समयसम्म किन र कहाँ लुकाइएको थियो ? यस्ता सहस्र प्रश्नहरु मेरो मनमा छाइरहे, आइरहे ।

तलेजु भवानी सम्पदाको यो हालत सम्झेर म आवेगमा थिएँ, अन्यौलमा थिएँ । अनेक रहस्यले भरिएका हाम्रा देवी–देवता, हाम्रा आस्था–धरोहरका बारेमा सोचमग्न बनेकी थिएँ । तलेजु मन्दिर आफैंमा वर्षमा एक दिन (दसै‌को नवमीमा) खोलिने रहस्य र इष्टदेवीका रुपमा मानिने भवानीमाथिको मेरो गहिरो आस्थाकै कारण पनि म विचलित बनेकी थिएँ ।

हिजो तलेजु भवानीको गहना म्युजियममा देखेपछि र भवानीको सम्पत्ति, उनको अंश, उनको उपहार चोरिँदै, लिलामीमा पर्दै र हजारौं आस्थाहिन आँखाहरुका नजरमा पर्दै यसरी प्रदर्शनीमा राखिएको देख्ता म हृदयदेखि रोएकी थिएँ । अझै पनि मेरो गह ओभाएको छैन । हो, मलाई तलेजु भवानीले नै यहाँसम्म बोलाएकी हुन् र संसारसामु भन्न अहृाएकी हुन्- ‘म चोरिएर, लुटिएर यहाँसम्म आएकी छु, मलाई मेरो घर लैजाउ ।’

यसरी चोरिएको पुरातात्विक सम्पदालाई ‘डिस्प्ले’मा राखिनुहुन्न र तत्कालै यसलाई ‘उत्पत्तिको मुलुक’मा फर्काइनुपर्छ भन्ने युनेस्कोसहितको स्पष्ट प्रावधानलाई पनि यसरी नाम चलेका इन्स्टिच्युट र म्युजियमहरुले ‘इग्नोर’ गरिरहेको देख्ता म झनै अचम्ममा परेकी छु ।

हो, यसकारण सिकागोको आर्ट इन्स्टिच्युट, युनेस्को, वासिङटनमा रहेको नेपाली दूतावास र काठमाडौंमा रहेको अमेरिकी दुतावाससहितले हाम्रो तलेजु भवानीको गहनालाई पुरातत्वकै परिभाषामा भए पनि घर फर्काउन तत्काल पहल थाल्नैपर्छ । तलेजु हाम्री आस्था हुन्, हाम्री प्राथना हुन् । कृपा गरेर, हाम्री तलेजुको गहना उनै तलेजुलाई फर्काइदेउ ।

(बानियाँ अमेरिकाको भर्जिनिया टेक युनिभर्सिटीमा अंग्रेजी बिषय प्राध्यापन गर्छिन् ।)

प्रकाशित : जेष्ठ ३०, २०७८ १९:५३
प्रतिक्रिया
पठाउनुहोस्

प्रदेश २ सरकारको आगामी वर्षको नीति कार्यक्रम सर्वसम्मतिले पारित 

सन्तोष सिंह

धनुषा — प्रदेश २ को आर्थिक वर्ष ०७८/७९ को नीति कार्यक्रम सर्वसम्मतिले पारित भएको छ । प्रदेश सभामा प्रदेश प्रमुख राजेश झाले बिहीबार प्रस्तुत गरेको नीति तथा कार्यक्रम आइतबार सर्वसम्मतिले पारित भएको हो । 

नीति तथा कार्यक्रम पारितको प्रस्तावको विपक्षमा कोही नबोलेपछि सभामुख सरोजकुमार यादवले प्रदेश सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतितिले पारित भएको घोषण गरे ।

नीति कार्यक्रम पारित हुनुअघि मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारको नीति कार्यक्रममा महत्वपूर्ण योजना छुटेको स्वीकार्दै पछि समावेश गर्ने प्रतिबद्धता जनाए । नीति कार्यक्रममा अधारित भएरै बजेट ल्याउने बताउँदै प्रदेश सरकार कोभिड महामारी नियन्त्रणको अभियानमा पछि नपर्ने उनले बताए । प्रभावित हुने बालबालिकाका लागि छुट्टै अस्पताल बनाउने प्रतिबद्धता जनाएका छन् । 'जनकपुरको मणिपालस्थित कोभिड अस्पतालमै बालबालिकाहरुका लागि छुट्टै व्यवस्था गर्ने विषयमा अध्ययन भइरहेको छ', उनले भने ।

नीति तथा कार्यक्रमको छलफलका क्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री राउतले सांसदहरुबाट आएका महत्वपूर्ण सुझाव बजेटमा समावेश गर्ने प्रतिबद्धता जनाए । 'नीति कार्यक्रममा संशोधन दर्ता गराएका प्रस्तावहरु बजेटमा समाहित गर्ने छौं,' उनले भने । 'सरकारको सीमित श्रोत साधन, अनुदान, समपुरक बजेट न्यायोचित रुपमा पाउन सकेको छैनौं,' राउतले भने,‘कस्तो प्रदेश बनाउने हो ? त्यही कल्पना नीति कार्यक्रम हो ।’

नीति तथा कार्यक्रममा सबैले अपनत्व महसुस गरेकोमा सांसदहरुलाई धन्यवाद दिँदै राउतले नीति कार्यक्रम कार्यान्वयनको पक्ष फितलो भएको आरोप लागे पनि सरकार समग्रमा नीति कार्यक्रम कार्यान्वयनका लागि सुसुप्त भएर अगाडि बढ्ने बताए । प्रत्येक प्रदेश निर्वाचन क्षेत्रमा १०/१० गरी ६ सय ४० परिवारलाई महेन्द्र नारायण निधि आवास योजनाअन्तर्गत घर बनाउने योजना बजेटमा सामेल गराउने राउतले बताए ।

प्रदेशका सामुदायिक कलेजहरुको अवस्था ‘पेन्डुलम’ भए पनि प्रदेश सरकारले नीति तथा कार्यक्रममा समेटन नसके पनि सामुदायिक कलेजको अवस्था सुधार्न प्रदेश सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ । प्रदेश सरकारले दलित विकास समिति गठन, दलित ऐन ल्याएको र दलित छुवाछूत अभियान लाएर छुवाछूतको समस्या अन्त गर्न प्रतिबद्ध रहेको बताए ।

प्रदेश सभामा शनिबार र आइतबार नीति तथा कार्यक्रमको छलफलमा प्रदेश सांसदहरुले नीति तथा कार्यक्रम उत्कृष्ट भए पनि त्यसअनुसार बजेट आउनेको शंका व्यक्त गरेका थिए । एमाले संसदीय दलका नेता शत्रुधन महतोले प्रदेश सरकारले नीतिगत र नैतिक रुपमा बेइमानी गरेको आरोप लगाए ।

प्रदेश सभामा संसदहरुले उठाएका सवालहरुमा सरकार गम्भीर नभएको आरोप लगाउँदै प्रदेश सभामा मुख्यमन्त्रीले जनाएको प्रतिबद्धता कार्यान्वयन नहुँदा प्रदेश सरकार माथि शंका भएको महतोले बताए । प्रदेश सरकारले आफ्नो आयश्रोत बढाएर रोजगारीको अवसर ल्याउन नसकेको उनको आरोप थियो ।

माओवादी केन्द्रका प्रदेश सांसद जगत यादवले अधिकारबिना विकास सम्भव नहरेको बताउँदै नीति तथा कार्यक्रम जनताको पक्षमा रहेको बताए । जसपाका प्रदेश सांसद रानीकुमारी तिवारीले नीति तथा कार्यक्रम हुबहु लागू भए नमुना प्रदेश बन्ने दाबी गरिन् ।

बजेटको तयारी

प्रदेश २ का सरकारले अगामी आर्थिक वर्षको बजेटको अन्तिम तयारीमा जुटेको छ । असार १ गते आर्थिक वर्ष ०७८/७९ को लागि बजेट ल्याउनुपर्ने बाध्यात्मक व्यवस्था रहेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका श्रोतका अनुसार अगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको भन्दा कम हुने छ । संघीय सरकारबाट आर्थिक वर्षको लागि सामान्यकरण अनुदानबापत ७ अर्ब ३९ करोड ३४ लाख, राजस्व बाडफाँड ९ अर्ब ९८ करोड २३, ससर्त अनुदानको ५ अर्ब ९७ करोड ५२ लाख, विशेष अनुदान ५८ करोड ७९ लाख र समपुरक बजेट ३४ करोड ६९ लाख गरी जम्मा २४ अर्ब ६८ करोड ५७ लाख संघीय सरकारबाट प्राप्त हुनेछ । त्यसबाहेक प्रदेशको आन्तिरिक अनुमानित आम्दानी ३ अर्ब, चालु आर्थिक वर्षको बजेटमा खर्च हुन नसक्ने अनुमानित रकम ७ अर्ब र आन्तरिक ऋण १ अर्ब समावेश गरी प्रदेश सरकारले बजेट ल्याउने तयारी गरेको छ ।

प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेट ३३ अर्ब ५६ करोड ९ लाख रहेको छ ।

प्रकाशित : जेष्ठ ३०, २०७८ १९:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×