वकिल सा’ब बने मुख्यमन्त्री- फिचर - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वकिल सा’ब बने मुख्यमन्त्री

राजनीतिमा सक्रिय कृष्णचन्द्र २०७४ मा नवलपरासी १ ‘क’ बाट प्रदेश सभामा निर्वाचित भए । मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले प्रदेश सभामा विश्वासको मत गुमाएपछि उनले गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् ।
नारायण शर्मा

नवलपरासी — २०३९ सालमा तनहुँबाट नवलपरासी सदरमुकाम परासीमा बसाइँ सरेर आउँदा कृष्णचन्द्र नेपालीलाई राजनीतिकर्मी भन्दा पनि सबैले वकिल सा’ब भनेर चिन्थे । त्यतिबेला उनले परासीमा जनपक्षीय ‘ल फर्म’ खोलेर पञ्चायती व्यवस्थाविरोधी समूहका राजनीतिक र अन्य मुद्दा हेर्न थाले ।

पञ्चायतकालमा मधेसी समुदायको बाहुल्यता रहेको परासीमा देखाउने पेसा वकालत गर्ने र भित्रभित्र कांग्रेसको राजनीति थालेका उनै ७१ वर्षीय कृष्णचन्द्रले परासी आएको ३९ वर्षपछि शनिबार गण्डकी प्रदेशको मुख्यमन्त्रीको बागडोर सम्हालेका छन् ।

परासीमा वकालत र पञ्चायतविरोधी राजनीति (नेपाली कांग्रेस त्यतिखेर प्रतिबन्धित थियो) गर्ने भनेर आएको छोटो समयमै उनी कांग्रेसजन र पञ्चायतविरोधी खेमाका कहलिएका वकिल सा’बको रुपमा स्थापित भइसकेका थिए ।

बीपी कोइरालाका विश्वासपात्र बाबु गोवर्धन पोख्रेलको विरासतका कृष्णचन्द्रलाई कांग्रेसजनहरु खोजीखोजी भेट्थे । स्पष्ट बोल्ने र कडा मिजासका वकिल हुन् कृष्णचन्द्र । उनका राजनीतिक सहकर्मी महेन्द्रध्वज जिसी भन्छन्, 'पञ्चायतविरोधी मुद्दा र कांग्रेस कार्यकर्ताका मुद्दा निःशुल्क हेरेर मन जित्ने काम गर्नु हुन्थ्यो ।’ उनलाई परासीमा अहिले पनि पुराना पुस्ताले वकिल सा’ब नै भनेर चिन्छन् ।

उनको प्रारम्भिकदेखि स्नातकसम्मको शिक्षा भारतको विहारमा भएका कारण (बाबु गोवर्धन शर्मा भारतमा निर्वासनमा रहेकाले) परासीमा मधेसी समुदायमा छिट्टै घुलमिल हुन सफल भए ।

तनहुँमा उनको परिवार नै सक्रिय राजनीतिमा थियो । विद्यार्थी आन्दोलनमा लागेका कारण २०३५ सालमा जेल परे कृष्णचन्द्र । कास्की कारागारमा थुनिए । ३०३६ सालको आममाफीमा छुटे । बहुदलको प्रचारमा लागेको आरोपमा फेरि उनका बाबु, दाजु रामचन्द्र पोख्रेल र उनी जेल परे ।

परिवारका सबैजना एउटै जिल्ला तनहुँमा राजनीतिमा सक्रिय रहनुभन्दा अन्य जिल्लामा पनि कांग्रेसको आन्दोलनलाई गति दिने र वकालत पेसा पनि गर्ने भन्दै २०३९ सालमा नवलपरासी बसाइँ झरेका थिए । त्यहाँ आएकै वर्ष उनलाई बीपी कोइरालाले जिल्ला सदस्यमा रहेर काम गर्न अह्राए ।

वकालत पेशासँगै राजनीतिलाई अघि बढाए । गोवर्धनका छोरा भएका कारण कांग्रेसमा उनी बसाइँ सरेर आएको जिल्लामा पनि हाइहाइ नै भए । तनहुँबाट नवलपरासीमा बसाइँ सरेर आएकाहरुको संख्या बाक्लो भएका कारण उनलाई कहिल्यै नवलपरासी फरक जिल्लाझैं लागेन । उनका बाबु गोवर्धन देशभरिबाट बीपीले रुचाउनेमध्येका एक थिए ।

२०४८ सालमा नवलपरासी कांग्रेसको जिल्ला सभापति बनेका उनी लगातार ४ कार्यकाल जिल्ला सभापति बने । २०४८ मै परासीबाट प्रतिनिधि सभाको (तत्कालीन क्षेत्र नम्बर ४) उम्मेदवार बने । ९ हजार ९ सय मत ल्याएर सद्भावनाका उम्मेदवारसँग पराजित भए । २०६७ सालमा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएर राजनीतिक यात्रा जारी राख्दै आएका उनी २०७० मा नवलपरासी क्षेत्र नम्बर ३ (दुम्किबास अरुणखोला क्षेत्र) बाट प्रतिनिधिसभामा उम्मेदवार बनेका भए पनि झिनो मत अन्तरले पुनः पराजित भए ।

राजनीतिमा सक्रिय उनी २०७४ मा नवलपरासी १ ‘क’ बाट प्रदेश सभामा उम्मेदवार बनेर निर्वाचित भए । मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले प्रदेश सभामा विश्वासको मत गुमाएपछि कृष्णचन्द्र नेपाली (पोख्रेल) ले गण्डकी प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका छन् ।

भारतमा अध्ययन गर्दासम्म उनको नाम कृष्णचन्द्र पोख्रेल थियो । परीक्षामा फर्म भर्ने बेला प्रोफेसरले ‘पोख्रेल क्या होता है’ भन्दै पोख्रेल फालेर ‘नेपाली’ थर झुण्डाइ दिएका हुन् ।

आफ्ना प्रतिद्वन्द्वी (माओवादीका) सूर्य न्यौपानेलाई ३ सय ८२ मत अन्तरले पराजित गर्दै प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् उनी ।


४ दाजुभाइमध्ये उनी माइला हुन् । उनका दाजु रामचन्द्र पोख्रेल पनि कांग्रेसका नेता तथा पूर्वसांसद हुन् । भाइ जगदीशचन्द्र पोख्रेल योजना आयोगका पूर्वउपाध्यक्ष हुन् । कृष्णचन्द्रका श्रीमती, २ छोरा, २ छोरी, ९८ वर्षकी आमा छन् ।

बाबुसँग भारतमा निर्वासित जीवन बिताउँदा उनले विहार, नरकटियागञ्जबाट माध्यमिक तहको शिक्षा पूरा गरे । र, दरभंगाबाट स्नातक पूरा गरेर नेपालबाट कानुनमा स्नातक गरेका हुन् ।

प्रकाशित : जेष्ठ २९, २०७८ १८:१५
प्रतिक्रिया
पठाउनुहोस्

'डिजाइन काठमाडौं' सम्पन्‍न

कान्तिपुर संवाददाता

काठमाडौँ — कक्षा १०, ११ र १२ को विद्यार्थीहरुका लागि लक्षित गरिएको ‘डिजाइन काठमाडौं कन्टेस्ट’ सम्पन्न भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)सँगको सहकार्यमा रिभोसाइन्सले आयोजना गरिएको उक्त कार्यक्रममा देशभरबाट ५७ समूहले आफ्नो लिखित प्रस्तुति पेश गरेका थिए । देशभरबाट कूल ११६ जना विद्यार्थीको सहभागिता थियो ।

सहभागी मध्येबाट कक्षा १०की युरिसा वर्जाचार्य, सुविका हमालको समूह र रिगा शर्माको समूह क्रमशः प्रथम, दोस्रो र तेस्रो भएका थिए । कक्षा ११ बाट कृतज्ञ घिमिरेको समूह, दिलिशा थापा र इसहिता दहालको समूह क्रमशः प्रथम, दितृय र तृतीय स्थान हासिल गरेका छन् ।

त्यस्तै, कक्षा १२ को तर्फबाट तिमिला डंगोलको समूह, विकीकुमार झाको समूह र रौनकरञ्जन मिश्रको समूह क्रमशः प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गरेका छन् । बौद्धिक प्रतिस्पर्धाका प्रत्यक कक्षागत समूहबाट प्रथम, दोस्रो र तेस्रो हुनेहरुलाई क्रमशः दशहजार, पाँचहजार र दुई हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

कार्यक्रमका नास्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले विद्यार्थीले बनाएका नवितम योजनलाई विभिन्न निकायमा पठाउनु पर्ने बताए । ‘हामीले आगामी दिनमा यस्ता नवितम क्षेत्रमा मात्र नभइ अन्य कृषि उत्पादकत्वको क्षेत्रमा कामको सुरुवात गरिएको छ, ’ उपकुलपतिले श्रैष्ठले भने, ‘योजस्तै अन्य प्रस्तावलाई यथासक्य समावेश गरिनेछ ।

पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश साहले आगामी दिनमा नास्टले यस्ता कार्यक्रम प्रत्येक स्थानीय तहमा लैजानु पर्ने सुझाए । ‘यदि स्थानीय तहमा लैजान नसकेपनि प्रदेश राजधानी विकास कसरी गर्ने भन्ने बारेमा कन्टेस्ट आयोजना गर्नु पर्नेमा पूर्वमन्त्री साहले जोड दिए । नास्टका पूर्व उपकुलपति प्राडा जीवराज पोखरेलले विद्यार्थीहरुको पर्यावरणलाई स्वच्छ राख्ने तथा नयाँ घरमा पुराना वस्तुलाई समावेश गर्ने योजना उत्कृष्ट लागेको बताए ।

नेपालभरबाट अनलाइन माध्यमबाट सहभागी हुन पाउने बौद्धिक प्रतिस्पर्धामा निःशुल्क रुपमा आवदेन दिन पाउने व्यवस्था थियो । प्रतिस्पर्धीले ‘डिजाइन काठमाडौं कन्टेस्ट’ मा एकल वा समूहगत रुपमा प्रतिस्पर्धामा भाग लिएका थिए । काल्पनिकरुपमा विद्यार्थीहरुले कम्तीमा २० पन्ना शहरको परिकल्पना गर्नु पर्ने थियो ।

नास्टका सचिव डा. महेशकुमार अधिकारीले विदेशीहरुले काठमाडौंलाई ‘ल्याण्ड अफ् गडेस्’ भनेर बुझ्ने गरेपनि त्यसलाई कसरी व्यवस्थित गर्ने योजना हुनु पर्ने बताए । वनस्पति तथा बाटोघाटो र सम्पदाको संरक्षणमा युवाहरुद्वारा समावेश गरिएको कुरा महत्वपूर्ण हुने सचिव अधिकारीले बताए ।

नास्टका वैज्ञानिक डा. सुरेश ढुंगेलले कन्टेस्टमा सहभागी विद्यार्थीहरुको लेखन तथा कल्पनाको मूल्यांकन गर्दा उनीहरुको सोच साच्चै नै काठमाडौं विकासका लागि कोशेढुंगा हुने बताए ।

आयोजक रिभोसाइन्सका सम्पादक लक्ष्मण डंगोलकाअनुसार प्रतिस्पर्धीले आफ्ना परिकल्पना गर्दा काठमाण्डौ उपत्यकाको डिजाइन, भूगोल, वास्तुकला, समाज र सभ्यता, विज्ञान प्रविधि र संस्कृति, वातावरण र वन्यजन्तु, नीति तथा योजना, सम्पदा क्षेत्र र संरक्षणका उपाय, अनुसन्धान तथा विकास र नवप्रवर्तन, धर्म र शिक्षा प्रणाली, सडक सञ्जाल र स्मार्ट प्रविधि, विज्ञान पार्क र कबडहल, व्यवसायिक केन्द्र र कला तथा मनोरञ्जन र अर्थ व्यवस्थापन जस्ता उपशीर्षक समेटेर लिखित ढाँचा प्रस्तुत गरेका थिए । उनले दोस्रो डिजाइन काठमाडौं कन्टेस्ट आयोजना गर्ने बताए ।

प्रकाशित : जेष्ठ २९, २०७८ १७:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×