२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

शुभकामना सन्देश प्रिय गायक दीप श्रेष्ठलाई

दिनेश सुब्बा

काठमाडौँ — युवा हुँदै वृद्ध अवस्थाको परिकल्पनामा रुमलिँदै आफ्नै शब्द सङ्गीतमा जीवन्त आवाज दिई नेपाली सङ्गीतको बिहानी आकाशमा झुल्किएको सूर्यरुपी कलाकार दीप श्रेष्ठ प्रकारान्तरले ७० औं वर्ष उमेरतर्फ धकलिरहेको समयलाई हामीले नकार्न सक्दैनौं । दीप श्रेष्ठ त के आफ्नै उमेरको बहकाई सम्झँदा एउटा त्रास र निराशामा रुमलिन्छ यो मन ।

शुभकामना सन्देश प्रिय गायक दीप श्रेष्ठलाई

पहाडहरु सबै उस्तै छन् ।

मेरो जिन्दगी बितिसक्यो

यहाँ रात हरेक खोक्रो छन्

बुढो हुन कर लागि सक्यो

सुनिदेऊ सानो छँदाको कथा

तर यथार्थ र सत्यमा बाँच्नु नै जीवन हो भने यसको गतिशीलतालाई समानान्तर प्रेरित गर्ने अर्को रुप साधना हो । दीप श्रेष्ठ त्यही साधक हो जसले उमेरको बन्देजलाई परास्त गरेर अनवरत नेपाली सङ्गीतप्रति क्रियाशील रही एउटा उदाहरणीय र अनुकरणीय इतिहास रचेको छ । यसैले हामी उनलाई जिउँदो इतिहास अथवा 'लिभिङ लिजेन्ड' भन्छौं । नेपाली सङ्गीतलाई यो उचाइसम्म पुर्‍याउने सेतुराम, बद्री श्रेष्ठ, उस्ताद साहिला, मित्रसेन, नातिकाजी, अम्बर गुरुङ, नारायणगोपाल, गोपाल योञ्जनलगायतका राष्ट्रिय विभूतिहरू देवतुल्य भई सबैको हृदयमा बसेका छन् भने विशाल वृक्ष भएर सिङ्गो इतिहास बोकी हामीलाई छहारी दिईराखेका थोरै नामहरुमा दीप श्रेष्ठ एउटा हो ।

१७ वर्षकै उमेरमा रेडियो नेपालमा ‘म पत्थरको देवता होइन’ बोलको गीत गाएर साङ्गीतिक यात्रा तय गरेका कलाकार श्रेष्ठका सिर्जनाहरु श्रवणयोग्य मात्र नभएर नेपाली सङ्गीतको सच्चा अनुयायीहरुका लागि उपयोगी अभ्यास र साधनाका विषयभित्र पर्दछन् । जसरी सङ्गीत अलङ्कारहरु सङ्गीत प्रयोजनका लागि उपयोगी हुन्छन् त्यसरी नै नारायण गोपाल, दीप श्रेष्ठका गीतहरू बारम्बार गाउँदा सङ्गीत अभ्यासका मूल तत्वहरु पाउन सकिन्छ भन्ने मेरो बुझाइ रहीआएको छ । यिनका गीतहरु शास्त्रीय सङ्गीतका सबै विशेषताले युक्त छन्।

मैले मेरो सङ्गीत यात्राका प्रारम्भिक समय दीप श्रेष्ठका गीतहरूसँग व्यतीत गरेको थिएँ । उनका धेरै सिर्जनाहरु श्रुतिमधुर छन् यद्यपि कुनै कुनै गीतहरु गाउनलाई भने गाह्रो हुने गुनासो पनि त्यत्तिकै छ । तालको एकरुपता 'मोनोटोनस' छल्न सङ्गीतकारहरु यसरी विभिन्न स्वरुपमा प्रस्तुत हुने गर्दछन् । दीप श्रेष्ठ पनि यस्तै प्रयोजनमा रमाउने बिशेष कलाकार हुन् । तर कुनै पनि कलामा सरलताको अलङ्कारिता जति उपयोगी र सुन्दर हुन्छ त्यत्ति नै पृथक् र विषमताको प्रयोग वाञ्छनीय हुन्छ । भनाइ छ- कन्ट्रास्ट इज द फस्ट ल अफ अल आर्ट ।

६०/७० दशकताका काठमाडौंले एउटा स्वाद पस्किराखेको नेपाली सङ्गीतमा छुट्टै प्रकारको स्वाद लिएर पूर्वको, त्यसबेलाको सानो सहर धरानबाट उदाएका कलाकार श्रेष्ठमा यस्तो बेग्लै र नवीन सिर्जना निहित हुनुमा नेपाली सङ्गीत/साहित्यको उर्भर भूमि दार्जिलिङसितको उनको सघन संगत नै प्रमुख कारण रहेको उनको भनाइ रहिआएको छ । त्यो समय दार्जीलिङको विविध साङ्गीतिक परिवेशसित को प्रभावित थिएन होला र ? तर के पनि अनुमान गर्न सकिन्छ भने त्यहाँको लोभलाग्दो साङ्गीतिक पृष्ठभूमि, प्राकृतिक सौन्दर्य, शिष्ट समाज र त्यसैभित्रका माहिली साइँलीवरीहरूका न्यानो आतिथ्य र माया पनि आकर्षणको अर्को कडी हुन सक्दछ । त्यसैले गायक श्रेष्ठ भन्छन्, ‘म त दूरदेखि आएँ तिम्रै नाम बोकेर ।’

दार्जिलिङ र नेपालको साङ्गीतिक विनियमको सिलसिलामा एकताका दार्जिलिङको हरेक मञ्च तताउने सुन्दरी गायिका सोफिया गुरुङलाई आफ्नो अर्धाङ्गिनी बनाउनु गायक श्रेष्ठको दार्जिलिङ मोह अति गाढा थियो जसले उनको साङ्गीतिक यात्रामा कोशे ढुङ्गाको काम गरिदियो । दीप श्रेष्ठ अपवाद होइनन्, स्वरसम्राट नारायण गोपाल चियाको बुटामा अल्झेको पछ्यौरी झिकिदिन बारम्बार दार्जिलिङ पुग्दथे । अन्त्यमा पेमला भाउजूलाई टिपेरै छाडे ।

यसरी सङ्गीतको माध्यमबाट वैवाहिक जीवन व्यतीत गरिरहनुभएका श्रेष्ठ परिवारको कोखमा जन्म लिएकी जेठी सुपुत्री दृष्टि श्रेष्ठ आफ्ना मातापिताको विरासत थाम्दै गायन क्षेत्रमा सक्रिय छिन् । आज उनले आफ्ना बाबालाई साथ दिएकी हामी सुन्न पाउने छौं ।

७०/८० को दशकमा बिटल्स, रोलिङ स्टोन्स, एसी/डिसी तथा गन्स एन रोजेजलगायतका गीतहरूले युवाहरुमा गहिरो प्रभाव पार्न थालेपछि गितारको चलन तीव्ररुपमा आउन थाल्यो । गितार बजाएर गीत गाउनमा सबैले गर्व गर्थे । पुराना गीतहरू गितार सुहाउँदा थिएनन् । हार्मोनी अथवा कर्डको स्वरूपअनुसार गीतहरुको कम्पोज नभएकाले अङ्ग्रेजी गीत गाउनमा नै त्यसबेलाका युवाहरु मरिहत्ते गर्थे । तर, अङ्ग्रेजी गीत नजानेकालाई हिमालयन ब्याण्ड, प्रिजम ब्याण्ड, दीप श्रेष्ठ, ओमविक्रम बिष्टलगायतका गीतहरूले गितार र गायनको सामञ्जस्यमा ठूलो राहत दिए। यसै गुणले गायक दीप श्रेष्ठलाई पुरानो र नयाँ पुस्ताबीचको सूत्रधार मानिन्छ ।

भर्खरै सम्पन्न भ्वाइस अफ नेपाल रियालिटी ‘शो’मा दीप श्रेष्ठको भूमिकामाथि विशेष मलाई चिन्ता यसकारण लागेको थियो कि यस्ता ‘शो’हरुमा वास्तविकभन्दा योजनाबद्ध गतिविधि हुने गर्छन् भन्ने मलाई लाग्छ । यसलाई व्यापारको दायराभित्र राख्नुपर्नाले कोचको भूमिका प्रधान हुनपर्दछ। सम्बन्धित ज्ञानभन्दा पनि सोसल मिडियाका (यु टयुब) स्रोतालाई आकर्षण गर्नुपर्ने हुनाले उनको नाटकीय भूमिका सर्वोपरी हुँन्छ । तर, दीप श्रेष्ठ यस्तो स्वभावका कलाकार हुन् जसको स्वभावभित्र यस्ता अवाञ्छित चर्तिकलाहरु कहिल्यै पनि परेनन् । यसर्थ यस्ता कार्यक्रमका लागि गायक श्रेष्ठ सफल हुन नसक्लान् भन्ने मेरो अनुमानविपरीत हरेक एपिसोडमा एउटा अपरिहार्य अभिभावकको गहन भूमिकामा सर्वस्वीकार्य बन्न थाले । सङ्गीत भनेको भाषा पनि हो यसैले हामीले शब्द उच्चारण विगारेर भाषाप्रति अन्याय गर्नुहुन्न भने सुझाव बारम्बार दिइरहे । यो अभिभावकत्वभन्दा धेरै के नै चाहियो र ?

७० औं वर्ष प्रवेशका यो बेला दीप श्रेष्ठ अस्पतालमा स्वास्थ्य लाभ गरिरहेका छन् । नेपाली संगीतका यी प्रतीभालाई हङकङदेखि जन्मदिन र स्वास्थ्य लाभको शुभकामना ।

प्रकाशित : जेष्ठ २५, २०७८ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?