१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कोरोना महामारीमा नेपालको हिमाल आरोहणमा सफलता 

कम्तीमा ५ सयको आरोहण  
जेठ ९ मा सिजनकै सर्वाधिक सगरमाथा आरोहण भएको दिन, कम्तीमा १ सय ८० जना चुचुरोमा 
सुरज कुँवर

काठमाडौँ — कोभिड महामारीको दोस्रो लहर अघिबाट थालिएको सगरमाथासहित १६ वटा हिमालको वसन्तकालीन आरोहण सिजन ८३ दिनमा लगभग सकिएको छ । 

कोरोना महामारीमा नेपालको हिमाल आरोहणमा सफलता 

यस सिजनमा खुला गरिएका १६ मध्ये १० वटा हिमालमा कम्तीमा साढे ५ सय स्वदेशी तथा विदेशीले आरोहण सकेको पर्यटन विभागले प्रारम्भीक जानकारी सोमबार दिएको छ । यसपटक आरोहणका क्रममा ज्यान गुमाउनेको संख्या चार पुगेको छ । जुन विगतका वर्षहरुको दाँजोमा न्यून हो । यसपटक सगरमाथामा दुई नेपाली र दुई विदेशीसहित चारजनाको आरोहणका क्रममा ज्यान गएको थियो ।

यसपटक ८ हजार मिटर अग्ला सगरमाथा, लोत्से, मकालु, मनास्लु, अन्नपुर्ण (प्रथम) र धौलागिरी गरी ६ हिमाल तथा ६ हजार मिटरदेखि माथि ८ हजार मिटरमुनी उचाई भएका नुब्चे, अमादब्बलम, बरुणचे, पुमरी, तेङकाङपोचे, सरिबुङ, हिमलुङ, तिलिचो, टुक्चे र मुस्ताङ हिमालगरी १० वटा हिमाल आरोहणका लागि पर्यटन विभागले अनुमति जारी गरेको थियो । कोभिड माहामारीका कारण विगतका सिजनमा जारी हुने अनुमति संख्याको दाँजोमा यसपटक हिमालको संख्या आधा हाराहारी हो ।

नेपालले आरोहणका लागि ४ सय १४ वटा हिमाल खुला गरेको छ । हालसम्म खुला गरिएका मध्ये ३ सय ३९ चुचुरामा मात्रै सफल अरोहण भएको छ भने ७५ वटा हिमचुचुरामा आरोहण भइसकेको छैन । पछिल्ला वर्ष सर्वाधिक हिमाल आरोहण हुने मुख्य वसन्तकालीन सिजनमा कम्तीमा ४० वटा हिमाल आरोहणमा विदेशी तथा स्वदेशी जाने गरेका थिए ।

वसन्तकालीन हिमाल आरोहण यसपटक वैशाख ३ गते अन्नपुर्ण हिमालबाट भएको थियो भने अन्तिम आरोहण सगरमाथामा जेठ १८ गते भएको थियो । ‘अमेरिकी गायक माइक पोजनरसहित १६ जनाले जेठ १८ गते सगरमाथा आरोहण गरे । यो नै यस सिजनको अन्तिम आरोहण दल थियो,’ यी विदेशीको आरोहण व्यवस्थापन गर्ने काठमाडौंस्थित सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले कान्तिपुरसंग भने ।

यस वर्ष सगरमाथामा ‘जेठ ९ गते सबैभन्दा धेरै आरोहण भएको दिन’ का रुपमा रेकर्ड भएको छ । विभागको पर्वतारोहण शाखा प्रमुख मीरा आचार्यले त्यसदिन कम्तीमा १ सय ८० जना सगरमाथा चुचुरोमा पुगेको बताइन् । यसअघि सन् २०१९ मे २२ मा एकै दिन २ सय २३ जनाले सगरमाथा आरोहण गरेका थिए । त्यो संख्या नै ६८ वर्षयताकै ‘एकै दिनमा सबैभन्दा धेरै आरोहण भएको’ दिनका रुपमा रेकर्ड भएको मानिएको छ ।

कोभिड माहामारी भएकाले सन् २०२० मा नेपालले वसन्तकालीन समयको हिमाल आरोहणमा रोक लगाएकाले त्यस वर्ष नेपालतर्फबाट सगरमाथालगायतका हिमालमा आरोहण सरकारले नै स्थगन गरेको थियो । विभागको तथ्यांक अनुसार, सन् २०१९ सम्म सगरमाथामा ६५ सय ७ जनाले आरोहण गरेका छन् । नेपालले वसन्त, ग्रिष्म, शरद र शिशिर गरी चारवटा सिजनमा हिमाल आरोहण खुला गर्छ । यीमध्ये सबैभन्दा सहज वसन्तकालीन सिजन मानिने हुँदा भिड बढ्छ ।

सगरमाथाका लागि विदेशीलाई प्रतिव्यक्ति ११ हजार डलर र नेपालीलाई ७५ हजार रुपैयाँ सलामी दस्तुर तोकिएको छ । पर्यटन विभागले यसपटक १६ हिमालका लागि ७ सय ५४ जनालाई आरोहण अनुमति दिएको थियो । विभागले हिमाल आरोहणमा जानेहरुबाट यस सिजनमा सलामी दस्तुरमात्रै ५४ करोड ९२ लाख हाराहारी संकलन गरेको थियो । सलामी दस्तुर, विमा, एजेन्सी शूल्कलगायत गरेर एकजना आरोहीले सगरमाथा आरोहणमा औसत ४० लाख रुपैयाँ खर्च गर्ने गरेको एक्सपिडिसन अपरेर्टस एसोसिएसन अफ नेपालले जनाएको छ ।

रेकर्ड अनुसार, हिमाल चढ्न नेपालबाहेक ७८ मुलुकका नागरिक यसपटक काठमाडौं ओर्लिएका थिए । जसमा १ सय ५२ महिला र ५ सय ८१ जना पुरुष र एक अन्य (तेस्रोलिङ्गी) थिए । नेपालका २ महिलासहित २० जना यसपाली सलामी दस्तुर तिरेर हिमाल आरोहण गर्न गएका थिए । यसमा १५ जना सगरमाथाका लागि मात्रै थिए । जसमध्ये ३ जना नेपालीको मात्रै सफल आरोहण भएको जानकारी विभागमा टिपाइएको छ ।

यसपटक सगरमाथा आरोहणका लागि पथप्रर्दशकसहित स्वदेशी र विदेशीको कुल अनुमति संख्या ११ सय जारी गरिएको थियो । तर, सगरमाथामा मात्रै कतिजनाले आरोहण गरेका थिए भन्ने तथ्यांक सार्वजनिक गर्न एक साता लाग्ने विभागले जनाएको छ । ‘अहिलेसम्म सगरमाथामा ५ सय हाराहारीले यो सिजनमा आरोहण गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ,’ विभागकी निर्देशक मीरा आचार्यले भनिन्, ‘सप्पै हिमालमा स्वदेशी, विदेशीसहित कति जनाले आरोहण गरे भन्ने जानकारी असार पहिलो सातासम्म तयार हुने छ । अहिले आरोहण दलले प्रतिवेदन बुझाउने क्रम चलिरहेको छ । यसपटक सगरमाथामा दुईजना नेपाली पथप्रर्दशक र दुई विदेशी (अमेरिकी र स्विस) गरी चार जनाको मृत्यु भएको छ ।’

५३ सय मिटर उचाईको सगरमाथाको आधार शिविरदेखि ६४ सय मिटरमा रहेको दोस्रो शिविरसम्म बाटो बनाउने सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपीसीसी) का प्रशासकिय अधिकृत निशान श्रेष्ठका अनुसार, यो साता आधार शिविर सफाईको काम चलिरहेको छ । ‘आधार शिविरमा रहलपहल उठाउने, सरसफाईको काम चलिरहेको छ,’ नाम्चे बजारबाट श्रेष्ठले कान्तिपुरसँग भने, ‘आउँदो शनिबारसम्म आधार शिविर खाली भइसक्नेछ ।’ उनका अनुसार, यतिबेला एसपीसीसीका कामदार नस्ट गर्न मिल्ने–नमिल्ने, पुनःप्रयोग गर्न मिल्ने नमिल्ने तथा मानवीय फोहोर संकलन गर्दै आधार शिविर मुनी व्यवस्थापनका लागि ओसार्दै छन् ।

एसपीसीसीले आरोहण सिजनमा आरोहीहरुका लागि दोस्रो शिविरसम्म बाटो बनाउने, फोहोर व्यवस्थापन गर्ने लगायतका काम गर्छ । गैरसरकारी संस्था भएकाले यसले बाटो बनाइदिएबापत प्रतिआरोही ६ सय डलर तथा फोहोरको तौल तथा परिणाम अनुसार बेग्लै शूल्क उठाउँछ । यसैले बनाएको बाटो हुँदै आरोहीहरु सगरमाथा, ल्होत्से र नुब्चे आरोहणका लागि अघि बढ्छन् । दोस्रो शिविरदेखि माथि सगरमाथा र ल्होत्से चुचुरोसम्म अरोहण गराउने कम्पनीहरुको संगठन ‘एक्सपीडीसन अपरेर्टर्स एसोसिएसन’ ले डोरीको सहायताले बाटो बनाउने काम गर्छ । यस संस्थाका अध्यक्ष डम्बर पराजुलीका अनुसार, हरेक वर्ष दोस्रो शिविरदेखि माथि १३ हजार मिटर डोरी, डोरीलाई अड्याउने आइस–क्रू, क्याराबाइनर लगायतका उच्चस्तरीय आधुनिक आरोहण उपकरणको जोहो यसै संस्थाले गर्छ ।

ल्होत्से हिमाल आरोहणमा जानेहरु ८ हजार मिटर उचाईमा पर्ने सगरमाथाको चौंथो शिविरमुनीबाटो अर्को बाटो समाउँदै मोडिन्छन् । त्यहाँबाट ल्होत्सेको चुचुरोसम्म २ हजार मिटर डोरी खपत हुने गरेको पराजुलीले बताए । पराजुलीका अनुसार, जेठ १९ यता आधार शिविरमाथि आरोही छैनन् । टेन्ट उठाउने कामदार छन् । सगरमाथाबाहेक अन्य हिमालबाट पनि आरोहण कम्पनीहरु लगभग फर्किकेका छन् । काठमाडौं फर्किसकेका पर्यटन व्यवसायीहरुले हिमाल आरोहणका लागि टाँगिएका पुराना डोरी, भर्‍याङ, टेन्ट, अक्सिजन बोतल, आरोहण गियर, उपकरण लगायतका सामग्री प्रायः सबै हिमालबाट आधार शिविरसम्म झार्ने काम करिब–करिब सकिएको जानकारी दिएको विभागका महानिर्देशक रुद्र तामाङले बताए । उनका अनुसार ती हिमालमा गएका विदेशी, आरोहण दलको व्यवस्थापन गर्ने कम्पनीका पथ पर्दशक, सरदार, कामखार, कर्मचारी काठमाडौं फर्किसकेका छन् । लकडाउनका कारण यातायातको सुविधा सहज नभएकाले सडकमार्गबाट केही फर्किने क्रममै छन् ।

सगरमाथामा दोस्रो शिविरभन्दामाथि यसपटक टाँगिएको डोरी निकालिने छैनन् । अर्को सिजनमा नयाँ डोरी टाँग्न र बाटो पहिल्याउन यो सहयोगी हुनेछ । तर, आरोहीहरु यसैको भर पर्दैनन् । नयाँ डोरी पनि थप्दै लैजान्छन् । यो सिजनमा टाँगिएको डोरी अर्को वर्ष (सिजन)मात्रै निकालिन्छ ।

माहामारीकै बीच यसपाली सगरमाथामा बे–अफ बंगालबाट सुरु भएको ‘यास’ र अरब सागरबाट उत्पत्ती भएको ‘ताउते’ चक्रवातको प्रभाव पर्‍यो । फरक फरक समयमा उत्पत्ती भएका हावाहुरी, हिमपातले १७ दिन असर पुर्‍यायो । डोरीको सहायताले बाटो बनाउँदै वैशाख २४ गते सगरमाथा आरोहणका लागि बाटो खुलेको थियो भने जेठ १८ गते अन्तिम आरोहण भएको थियो । यो २६ दिनसम्मको अवधिमा वैशाख ३० देखि जेठ ८ सम्म १० दिन र जेठ १० देखि १६ सम्म ७ दिन गरी १७ दिन चक्रवातका कारण आएको मौसमी खराबीका कारण आरोहण दलका नेताले आरोहण नै स्थगन गर्नु परेको मिङ्मा शेर्पाले बताए । उनका अनुसार यसपटक सगरमाथा आरोहणमा जम्मा ९ दिन ‘वेदर–विन्डो’ (मौसम) अनुकुल रह्यो ।

फागुन २७ गते क्यानेडियन नागरिकहरुको समूहलाई विभागले पहिलो आरोहण अनुमति जारी गरेपछि विदेशी सञ्चारमाध्यमले यो पटक हिमाल आरोहणलाई कोराना चुनौती रहने अड्कलबाजी गर्दै समाचार लेखे । तर, सञ्चारमाध्यममा आएजस्तो कोराना संक्रमणले धौलागिरीबाहेक अन्य हिमालमा असर पारेन भन्छन् व्यवसायी तथा सरकारी अधिकारीहरु । विभागकी निर्देशक आचार्य विदेशी मिडियाले नेपालको पर्वतारोहणमा कोभिडको असर पुर्‍याएको भनी प्रचार गरेजस्तो नभएको बताउदै कोभिडले कतै पनि केही क्षति नपुर्‍याएको बताउँछिन् । धौलागिरिमा गएकाहरुमा कोभिड देखिनुको कारण उपचारका क्रममा अस्पतालबाट सरेको हुनसक्ने उनले दाबी गरिन् । ‘धौलागिरिको दोस्रो शिविरबाट हिमतापका कारण उद्धार गरिएका आरोहीहरु पोखराबाट उपचार गरेर फर्केपछि कोभिड देखिएको हो, अन्य हिमालमा कोभिडका केस शून्य नै देखिए,’ निर्देशक आचार्यले कान्तिपुरसँग भनिन् ।

कोरोना महामारीबीच अत्यन्तै कम मानवीय क्षतिमा भएको यसपालीको आरोहणले नेपालको सकारात्मक सन्देश विश्व पर्यटन बजारमा पुगेको नेपाल पर्यटन बोर्डका सीइओ डा. धनञ्जय रेग्मीले बताए । ‘विगतका वर्षहरुको दाँजोमा कोरोना महामारीमा धेरै कम क्षतिमा नेपाली व्यवसायीहरुले उत्कृष्ट काम गरेर देखाए,’ सीइओ रेग्मीले भने, ‘अब नेपालले धेरै पर जानै पर्दैन मध्यपूर्वी मुलुकमा नेपालको प्रचार गरेमा हामी कोरोना महामारीपछि पुरानै लयमा फर्केर राम्रो विदेशी मुद्रा आर्जन गर्न सक्छौं । किनकी यो महामारीमा नेपाली शेर्पा–गाइडले बहराइनका राजकुमारलगायतका विदेशीलाई पनि सुरक्षित सगरमाथा आरोहण गराएर उनको घर फर्काउन सफल भए ।’

कोरोना संक्रमण फैलिएकै बेला नेपाली व्यवसायीले अपेक्षा गरेभन्दा दोब्बर पर्यटक हिमाल आरोहणमा आउनुले पनि नेपालको पर्यटकीय सम्भावना झनै अब्बल भएको सीइओ रेग्मीले बताए ।

नेपालमा हिमाल अरोहण अनुमति जारी भइरहँदा कोरोना संक्रमणको दोस्रो लहर हवात्तै बढेपछि नेपालले अन्तर्राष्ट्रिय उडान कटौती गर्दै विदेशी नागरिकलाई नेपाल आगमनमा रोक लगाएको थियो । तर, वैदेशिक मुद्राको एउटा महत्वपूर्ण स्रोत भएकाले यस वर्ष गत वर्षझैं आरोहणमा गएकाहरुलाई बीचबाटै फिर्ता बोलाइएन ।

प्रकाशित : जेष्ठ २४, २०७८ २१:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?