फिल्म प्राविधिकका दु:ख– 'पोहोर लकडाउनदेखिकै भाडा तिरेका छैनौं, अब कसरी बाँच्ने ?'- फिचर - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फिल्म प्राविधिकका दु:ख– 'पोहोर लकडाउनदेखिकै भाडा तिरेका छैनौं, अब कसरी बाँच्ने ?'

रीना मोक्तान

काठमाडौँ — १५ महिना भयो, जीवनकुमार पोख्रेलले घरबेटीलाई भाडा तिर्न सकेका छैनन् । पोहोर लकडाउनमा फिल्मको काम सबै ठप्प भयो । काम बन्द भएपछि दैनिक ज्याला रोकियो । सुटिङमा कलाकारको खुम्चिएको कपडामा आइरन लगाइदिने, टाँक फुस्किए त्यो सिलाइदिने 'ड्रेसम्यान' हुन् जीवन । त्यही काम बन्द भएपछि हातमुख जोड्न धौधौ पर्‍यो । उनको अवस्थालाई १६ वर्षदेखि आफ्नो घरमा डेरा बस्दै आएका घरबेटीले पनि बुझिदिए । भाडा तिर्नका लागि भनेनन् ।

ईश्वर शर्मा, जीवनकुमार पोख्रेल,समरा जोशी

त्यतिखेर पोख्रेलले चलचित्र प्राविधिक संघबाट राहत पाए । संघले चामल दालसँगै ५ हजार रुपैयाँ राहतमा दियो । चलचित्र विकास बोर्डले पनि पाँच हजार थपिदियो । पाँच महिनालाई पुग्ने राहत जोहो भएपछि सोचेका थिए–'काम सुरु भएपछि सुरुमै घरभाडा बुझाउँछु ।' कोठा अगाडि ठेलामा उनकी श्रीमतीले चटपटे पसल पनि खोलेकी थिइन् । गुजारा त्यसरी चलिरहेको थियो ।

लकडाउन खुकुलो हुँदा केही फिल्म छायांकनमा गए । १५ सय प्राविधिकमा केहीले ती फिल्ममा काम पाए । तर जीवनले पाएनन् । घरभाडा थपिँदै गयो ।

कोरोनाको दोस्रो लहरले देशभर निषेधाज्ञाको मिति थपिँदै गएको छ । जीवन घरअघिको पसलबाट उधारोमा रासन जुटाएर परिवारको पेट भर्दैछन् । 'अवस्था एकदमै नाजुक छ । काम नपाएको एक वर्ष भयो । अब त घरबेटी पनि दिक्क भएर भाडा माग्न आउँछन्,'उनले आफ्नो पीडा पोखे,'अब अहिलेसम्म उधारो मागेर खाइरहेका छौं । उधारो माग्न जान पनि लाज लाग्छ । तर भोकको अगाडि लाज पचाएरै उधारो माग्नुपर्छ ।'

२०५६ देखि काम थालेका जीवनले फिल्मबाट दैनिक १५ सयदेखि २ हजार ज्याला पाउँथे । हुन त प्राविधिक संघले ड्रेसम्यानको दैनिक ज्याला ३ हजार तोकिदिएको छ । तर फिल्मबाट धेरैमा २ हजार ज्याला पाउँथे उनी । तर अहिले कमाउने मुहान नै सुकेपछि महामारीमा आफूजस्ता प्राविधिकहरुको बिजोग भएको जीवन सुनाउँछन् । 'बुबा बिरामी हुनुभयो । भर्खरै गंगालाल अस्पतालबाट डिस्चार्ज गरें । आमाबुबा, दुई सन्तान र श्रीमती सबै मेरै कमाइको भरमा हो । अब अहिले दयनीय छ अवस्था, '४० वर्षीय जीवनले सुनाए, 'हामी प्राविधिकले त सुटिङमा आफूले खाए पनि घर परिवारलाई पाल्नै पर्‍यो । अहिले सुटिङ पनि छैन, कसरी पाल्ने हो परिवार ?'

जीवनको यो बेथा फिल्म क्षेत्रमा काम गर्ने प्राविधिकहरुको साझा कथा हो । ६ वर्षदेखि फिल्ममा मेकअप आर्टिस्टको काम गर्दै आएकी समरा जोशी अहिले घरमै थुनिएकी छिन् । फिल्म क्षेत्र चलमलाउन थालेपछि केही म्युजिक भिडियोमा काम पाएकी थिइन् । त्यहाँबाट पाएको थोरै पैसा बाँकी छ । त्यो पैसाले घरभाडा तिर्ने कि पेट भर्ने भनेर उनी दोधारमा छिन् । 'अहिले घरभाडा तिरौं खाना नपुग्ने, खाना खाउँ घर भाडा तिर्न नपुग्ने भइरहेको छ, 'उनले आफ्नो दुखेसो पोखिन्, 'पोहोर लकडाउनमा बसेको २ महिनाको अनि अहिलेको एक महिनाको घर भाडा दिन सकेको छैन ।'

भाडा माग्न घरबेटी दैनिक आइरहन्छन् । एकल आमा हुन् समरा । बुबा, आमा र छोराको जिम्मेवारी उनकै काँधमा छ । सरकारले निषेधाज्ञा घोषणा गर्नुअघि रामबाबु गुरुङको 'कबड्डी–४' मा आबद्ध भएकी थिइन् । छायांकनमा जाने तयारीमा रहेको फिल्म निषेधाज्ञाकै कारण रोकियो । निषेधाज्ञामा परिवारलाई कसरी खुवाउने भन्ने कुराले उनलाई पिरोल्छ । 'गाउँ जाउँ भने गाउँमा घर छैन । यता बुबाआमा र छोरालाई हेर्नै पर्‍यो । खानै पर्‍यो । अब फिल्मको सुटिङ त भीडभाडमा हुन्छ । अब काम कहिले सुरु हुने हो त्यो पनि टुङ्गो छैन । पार्लर छ, त्यो पनि खोल्न पाएको छैन । त्यसको भाडा तिर्नै पर्‍यो, 'उनले सुनाइन्, 'फिल्मका प्रदर्शन ठप्प छन् । एउटा फिल्म प्रदर्शन गर्न नपाउँदा निर्माताहरुले अर्को फिल्म बनाउन सक्दैन । अन्नदाताले नै फिल्म बनाउनु भएन भने हामी प्राविधिकले कसरी खाने ?'

पहिलो लकडाउनमा समराले क्याप्टेन विजय लामाले दिएको १० किलो चामल, नुन राहतमा पाएकी थिइन् । तर यसपालि पहिलाको जस्तो राहत नपाएको उनको गुनासो छ । 'यस्तो बेला कलाकारलाई त त्यति गाह्रो नहोला । तर हामी प्राविधिक त भए खाने हो नभए नखानेमा पर्छौं । त्यसैले पनि अवस्था गाह्रो छ । पहिलाको जस्तो राहत पाएको छैन । अब फिल्म क्षेत्रकै साथीहरुसँग सर सापटी माग्दैछु । अरु काम गरुँ यही मात्र सिप हो मेरो,' ३२ वर्षीया समराले आफ्नो समस्या सुनाइन् ।

फिल्मको काम सबै ठप्प भएपछि 'लाइटम्यान' (प्रकाश व्यवस्थापक) मोहन महर्जनले ज्यामी काम गरे । पहिलो लकडाउनपछि फिल्ममा काम पाएनन् । त्यसैले घरमा चुल्हो बाल्नकै लागि बालुवा इँटा बोके । आन्द्राको अप्रेसन गरेको केही समयमै गह्रौं भारी बोक्दा बिरामी परे । शरीरले साथ नदिएपछि ज्यामी काम छोडे । लकडाउन खुकुलो हुँदा म्युजिक भिडियोमा काम पाएका थिए । तर एउटा म्युजिक भिडियो गरेर फेरि तीन दिन खाली बस्नु पर्‍यो । अहिले जीवन चलाउन समस्या परेको मोहन सुनाउँछन् । 'पहिलाको लकडाउनदेखि काम रोकेको रोक्यै भयो । काम नहुने, पैसा पनि नहुने, त्यही त हो नि फिल्म लाइनमा । खानलाई त गाह्रो छ । हाम्रो त काम भयो भने पैसा आउँछ । भएन भने आउँदैन । समस्या त्यही हो । साथी भाइसँग माग्दा उनीहरु पनि दिँदैनन्,'उनले आफ्नो समस्या पोखे ।

५० वर्षीय मोहनले निर्माताहरुसँग पनि आफ्नो दु:ख बिसाएका छन् । साथीहरुलाई पनि सहयोग मागे । तर कतैबाट सहयोग नजुट्दा उनी तनावमा छन् । 'साथीहरु धेरैलाई दु:ख पोखेँ । तर साथीहरु आफूलाई पर्दा सहयोग नगर्ने । 'मेरो काम गर्दे न' भन्दा मैले उनीहरुको काम गरिदिएँ । तर मलाई पर्दा सहयोग नगर्दा दु:ख लाग्छ,' उनले भने । निषेधाज्ञा अगाडि केही फिल्ममा काम गर्ने कुरा चलिरहेको थियो । तर महामारीले काम रोकियो । उनलाई चिन्ता छ, 'अहिलेसम्म जसोतसो खाइरहेको छु । तर यो निषेधाज्ञा कत्ति लम्बिने हो?'

'स्पट ब्वाइ', नवराज खड्कालाई भने पहिलो लकडाउनपछि गरेका फिल्म 'डिसेम्बर फल्स' र 'कृष्णलिला'को यादले सताइरहेछ । दुई फिल्मबाट उनले आधा पारिश्रमिक पाउनु पर्ने बाँकी रहेछ । दुवै फिल्मबाट करिब ४० हजार आउन बाँकी रहेको नवराज सुनाउँछन् । यतिखेर त्यही पैसा पाएको भए दैनिकी चलाउन हम्मेहम्मे नपर्ने नवराज बताउँछन् । 'धेरै नै गाह्रो छ हामीलाई । अब काम नगरेसम्म खाना गाह्रो छ हामीलाई । त्यो दुइओटा फिल्मको पैसा पाएको भए लकडाउनमा बाँचिन्थ्यो होला । लकडाउन खुलेपछि काम गरिहाल्थे नि,'नवराजले भने ।

१९ वर्षदेखि फिल्ममा लाइटम्यानको काम गर्दै आएका नवराजले यसबाहेक कुनै पेसा अँगालेनन् । अरु सीप नहुँदा एक वर्षदेखि उनी बेरोजगार छन् । रासन सकिँदै जाँदा नवराजको चिन्ता बढ्दै गएको छ । 'कमाइयो रमाइयो । जमाइएन । यस्तो विषम् परिस्थिति आउला भनेर सोचेकै थिइनँ । के काम गर्ने, काम पाइँदैन । अहिलेको मुख्य समस्या नै खानकै लागि गाह्रो हो । कमाएर खाने वातावरण भएन,' उनले भने,'फिल्म नबन्दा गुजारा गर्न गाह्रो छ ।' ४० वर्षिय नवराज साथीभाइसँग सापटीका लागि हात फैलाइरहेका छन् ।

अर्का 'स्पट ब्वोइ' ईश्वर शर्मा पनि रामबाबुको 'कबड्डी ४' मा जाने तयारीमा थिए । तर निषेधाज्ञाले फिल्मको काम ठप्प भयो । तीन महिनादेखि घरभाडा तिरेका छैनन् ईश्वरले । 'घरबेटीले भाडा नमागे डेढ महिना खान पुग्थ्यो । तर अहिले भाडा तिर्नैपर्छ । अवस्था गाह्रो छ । यो साल राहत नपाएर पनि दुख छ,' उनले सुनाए,'बुबालाई टिबी भएको छ । अहिले बुबा आमा दाङमा हुनुहुन्छ । उहाँहरुलाई पनि खर्च पठाउन सकेको छैन ।'

प्रकाशित : जेष्ठ १५, २०७८ १३:४७
प्रतिक्रिया
पठाउनुहोस्

संविधान र राजनीतिका लागि संसदीय मर्यादा उल्लंघनको विकल्प रोजेँ : घनश्याम भुसाल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेका नेता घनश्याम भुसालले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूले गरेको हस्ताक्षर संविधानको रक्षा र राजनीतिक स्थिरताको पक्षमा भएको बताएका छन् ।

आफूबाट संसदीय मर्यादा उल्लंघन भए पनि संविधान र राजनीतिका लागि त्यो विकल्प रोज्नु परेको भुसालको भनाइ छ ।

केही दिनअघि बसेको एमाले स्थायी कमिटी बैठकले देउवाको पक्षमा हस्ताक्षर गरेका ११ नेतालाई पार्टीबाट निष्कासन गर्दै भुसालसहित १२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

तर, नेता भुसालले शनिबार सामाजिक सञ्जाल फेसबुकबाटै स्पष्टीकरण दिँदै भनेका छन्,‘एउटा सांसदको हिसाबले हेर्दा मबाट संसदीय मर्यादा उल्लंघन भएको स्वीकार गर्छु । तर हाम्रो संविधान र राजनीतिका लागि मैले उल्लंघनको विकल्प रोज्नु पर्ने ठाउँमा पुगेँ । मेरो निर्णय लोकतान्त्रिक स्थिरताका साथ बाँच्न चाहाने नेपालको आकांक्षा को पक्षमा हो, जसका लागि लाखौँ नेपालीको रगतपसिना बगेको छ ।’

यस्तो छ भुसालको स्पष्टीकरण

म दैनन्दिन सूचनाको खोजीमा खासै चासो राख्दिनँ । दलाल पुँजीवादले हाम्रो संविधानमाथि आक्रमण गरिरहने छ भन्ने मेरो अर्थराजनीतिक र भूराजनीतिक बुझाईबारे बोल्दै–लेख्दै आएको छु । एकजना कमरेडले करिब दुई वर्षदेखि हाम्रो भूराजनीति र यो लोकतान्त्रिक गणतन्त्रमाथि आइलाग्ने खतराबारे भन्दै आउनु भएको छ । त्यस्तो विश्लेषण केहि भारतीय संस्थापन नजिकका मिडियामा पनि देखिएकै हो ।

तर पोहोर सालको वैशाख ८ मा दल विभाजनसम्बन्धी अध्यादेश आएको भोलि वा पर्सिपल्ट सूचनाका सौखिन एकजना राजनीतिकर्मीले भनेको कुरा अझ स्पष्ट थियो जुन कुरा मैले धेरै साथीहरुलार्ई बताएको छु । उनले भनेका थिए : नेकपाको विवाद समाधान हुँदैन । अदालतद्वारा नेकपा एमाले र माओवादी ब्युँताइने छ र तपाईँहरुलाई विभाजित गरिनेछ । संसद विघटन गरेर निर्वाचनको घोषणा गरिनेछ तर निर्वाचन हुनेछैन वा भयो भने पनि जिताइने र हराइनेहरु पहिले नै निश्चित हुनेछन्, त्यसले वैधता गुमाउने छ । संविधानले काम गर्दैन । त्यसपछि कमरेड ओलीको उपादेयता सकिन्छ । नयाँ खिलराजहरुको अभ्यास हुनेछ । त्यसपछि फेरि ‘नयाँ’ संविधानको कोर्समा मुलुकलार्ई धकेलिने छ ।

घटनाहरु जस्ताको त्यस्तै अगाडि बढ्दै छन् । अहिले नेकपा एमालेका केहि सांसदहले शेरबहादुर देउवालार्ई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरे भनेर विरोध वा टिप्पणी भएको छ । एउटा सांसदको हिसाबले हेर्दा मबाट संसदीय मर्यादा उल्लङ्घन भएको स्वीकार गर्छु । तर हाम्रो संविधान र राजनीतिका लागि मैले उल्लङ्नको विकल्प रोज्नु पर्ने ठाउँमा पुगेँ । मेरो निर्णय लोकतान्त्रिक स्थीरताका साथ बाँच्न चाहने नेपालको आकाङ्क्षाको पक्षमा हो, जसका लागि लाखौँ नेपालीको रगतपसिना बगेको छ ।

गणतन्त्र दिवसका उपलक्ष्यमा सबैलाई शुभकामना ।

प्रकाशित : जेष्ठ १५, २०७८ १३:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×