१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

महामारीमा ‘चुपचाप’ काम गरिरहेको एउटा अस्पताल

काठमाडौँ — आईसीयू भनेर छुट्ट्याइएको एउटा कोठामा वयोवृद्ध बिरामी भेन्टिलेटरको सहारामा आफ्नो जीवनको डोरी समात्न संघर्ष गरिरहेका छन् । गाढा गुलाबी रंगको गाउन लगाएका एक चिकित्सक उनलाई दिइएको अक्सिजन र औषधिहरूको मात्रा मिलाउँदै छन् ।

महामारीमा ‘चुपचाप’ काम गरिरहेको एउटा अस्पताल

गाउन र पीपीई लगाएका सिस्टरहरू डाक्टरको निर्देशनअनुसार नै इन्फ्युजन पम्पबाट दिइने औषधिको लेभल जाँच गर्दै छन् ।

बिरामी हेरेर बाहिर निस्किएपछि डा. विदेश विष्टले सरसफाइ गरेसँगै लामो सास फेरे । ‘अहिले गम्भीर प्रकृतिका बिरामी धेरै छन् यहाँ । हामीकहाँ आईसीयू र एचडीयू गरेर ५० बेड छन्,’ उनले भने, ‘हाइफ्लो वा बाइप्यापमा रहेका बिरामीलाई कति बेला भेन्टिलेटरमा राख्नुपर्छ, थाहै हुँदैन ।’

डा. विष्ट निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)मा कार्यरत वरिष्ठ छातीरोग विशेषज्ञ हुन् । उनी आईसीयूका प्रमुख पनि हुन् । कोरोनाको दोस्रो लहरले उपत्यकालाई गाँजेसँगै उनको दैनिकी पूर्ण रूपमा फेरिएको छ । उनी बिहान अस्पताल पुगेपछि आफ्नो पालोअनुसार बिरामीको राउन्ड लिन्छन् । त्यसपछि अस्पतालमा कोभिड–१९ सँग सम्बन्धित अनेकन प्रशासनिक कामले उनको दिन खान्छ ।

‘गएको एक महिनामा मैले छोरीलाई एकपटक मात्र भेटेको छु । ऊ अहिले मामाघरमा बस्छे,’ उनले मुसुक्क हाँस्दै भने, ‘भेटूँजस्तो लाग्छ, फेरि यति धेरै बिरामी हेरिरहेकाले रिस्क किन लिनुजस्तो लाग्छ । अस्ति मन मान्दै मानेन अनि गएर भेटें ।’ दुई डोज खोप लगाएको र संक्रमणबाट जोगिनका लागि अपनाउनुपर्ने सबै मापदण्डको पालना गरेकाले आफू केही ढुक्क भएको उनको तर्क थियो ।

‘कोरोना अब केही वर्ष कतै जान्छजस्तो लाग्दैन । त्यसैले अब जनस्वास्थ्यका मापदण्डहरूलाई जीवन पद्धति बनाउन अभ्यस्त हुनु नै राम्रो हो,’ उनले भने, ‘सधैं सबै कुराबाट भागेर मात्रै पनि त हुँदैन ।’

नयाँ बानेश्वरको सिभिल अस्पताल कोभिड–१९ को उपचार गर्ने प्रमुख सरकारी केन्द्र हो । कोभिड–१९ का बिरामीका लागि आवश्यक सुविधा तथा उपकरणहरू यस अस्पतालमा उपलब्ध छन् । कोभिड–१९ बिरामीको उपचारमा पहिलो लहरदेखि नै खटिएका यहाँका स्वास्थ्यकर्मी र चिकित्सकहरूमा कोरोनासँग भागेर होइन, सामना गरेर अगाडि बढ्नुपर्छ भन्ने सोच छ ।

डा. विदेशका अनुसार अहिले सबै मेडिकल र नन मेडिकल स्टाफहरूमा पनि यो सोच आउन थालेको छ । त्यसैले पहिलोभन्दा दोस्रो लहरमा काम गर्न बढी सहज भएको छ । उनका अनुसार अहिले मेडिसिन विभागको नेतृत्वमा अन्य विभागका चिकित्सकहरूले समेत कोरोनाका बिरामीहरूको ‘राउन्ड’ लिने गरेका छन् । ‘पहिलो लहरको बेलामा प्राय सबै तर्किने गर्नुहुन्थ्यो । अहिले भने त्यो अवस्था छैन । सबैले आफ्नो स्थानबाट सहयोग नै गर्नुभएको छ,’ उनले भने ।

सिभिल अस्पतालमा सघन उपचार विशेषज्ञका रूपमा कार्यरत डा. प्रदीप तिवारी डा. विष्टसँग सहमत छन् । ‘खोपको प्राप्ति र विभिन्न अध्ययनहरूको निष्कर्षले गत वर्षभन्दा यस वर्ष स्टाफहरू सबैमा डर कम भएको छ,’ उनले भने, ‘गत वर्षभन्दा पनि बढी संक्रमण गराउन सक्ने भाइरस छ भनेर थाहा पाउँदा पनि सबैले उत्साहपूर्वक नै काम गरिरहनुभएको छ ।’

अस्पतालकी इन्फेक्सन कन्ट्रोल नर्स ज्वाला ढकाल गत वर्षभन्दा यस वर्ष नर्सहरूलाई काम गर्न सहज भएको बताउँछिन् । ‘पहिलो लहर फैलिँदा धेरै सिस्टरहरूलाई घरबेटीले घर छोड्न भने । हामी बसेको होस्टेलमा हमला नै भयो,’ उनले भनिन्, ‘तर, अहिले अवस्था त्यस्तो छैन । आइसोलेट भएर सुरक्षित बस्न मिल्नेहरू घर जानुहुन्छ । अरू अस्पतालले व्यवस्था गरेको होस्टलमा बस्नुहुन्छ ।’

उनका अनुसार अहिले सबै मेडिकल स्टाफमा ‘फ्रन्टलाइनर’ हुँ भन्ने भावना विकास भएको छ र त्यसलाई समाजले पनि आत्मसात् गरेको छ । ‘अहिले सबैमा हामी पछाडि हट्नु हुन्न भन्ने सोच पलाएको छ,’ उनले भनिन्, ‘घर, परिवार र समाजमा पनि हामीले स्वास्थ्यकर्मीको मनोबल बढाउनुपर्छ भन्ने सोच पलाएको छ ।’

सिभिल अस्पतालले कोरोनाको पहिलो लहर उपत्यकामा विस्तार हुँदा पनि कोभिड–१९ का बिरामीहरूको उपचार गरेको थियो । अस्पतालको रेकर्डअनुसार गत भदौदेखि फागुनसम्म १७८ जना बिरामी भर्ना भएका थिए । तीमध्ये ३ जनाको मात्रै मृत्यु भएको थियो ।

‘पहिलो लहरको बेला हामीसँग कोभिड डेडिकेटेड आईसीयू थिएन । त्यसैले धेरै गम्भीर खालका बिरामीहरूलाई हामीले आईसीयू भएको अस्पतालमा रिफर गर्थ्यौं,’ डा. विष्टले भने, ‘अहिले भने हामीले सकेसम्म कसैलाई फिर्ता पठाएका छैनौं । इमरजेन्सीमै ३/४ दिन राखेर उपचार गराएर पनि घर पठाएका छौं ।’

डा. विष्टका अनुसार दोस्रो लहरयता अस्पतालमा आईसीयू, एचडीयू र जनरल गरेर १०० भन्दा बढी बेडमा संक्रमितहरूको उपचार गर्ने व्यवस्था मिलाइएको छ । ‘दोस्रो लहर सुरु भएपछि हामीले फेरि कोभिड इमरजेन्सी र वार्ड सुरु गर्‍यौं । १०, २०, ५० हुँदै अहिले लगभग १०० बेड कोरोना संक्रमितको उपचारका लागि छुट्याएका छौं । एक साताअघिसम्म त बेड पाउनै मुस्किल थियो । अहिले आईसीयू भरिए पनि सामान्य वार्डमा भने बेड खाली हुन थालेका छन्,’ उनले भने, ‘हामीकहाँ फिभर क्लिनिक र कोभिड क्लिनिक पनि सञ्चालनमा छ । त्यहाँबाट पनि दैनिक ६०/७० जना बिरामीले सेवा लिनुहुन्छ ।’

नर्स ढकालका अनुसार कोभिड क्लिनिकमा कोरोना संक्रमण पुष्टि भएका बिरामीहरू चिकित्सकको परामर्शका लागि आउँछन् भने फिभर क्लिनिकमा कोरोनासँग मिल्दाझुल्दो लक्षण भएका तर कोरोना पुष्टि नभएका बिरामीहरू आउँछन् ।

सघन उपचार विशेषज्ञ डा. तिवारीे रातारात एचडीयू र आईसीयूको बेड संख्या थप गर्दै लानुपरेकोले चुस्तदुरुस्त रूपमा सेवा सञ्चालन गर्न चुनौती रहेको बताउँछन् । ‘अहिले हामीले जनरल वार्डलाई नै आईसीयू र एचडीयू सेटअपमा रूपान्तरण गरेका छौं । त्यसले गर्दा कहिलेकाहीँ काम गर्दा केही नमिलेको जस्तो हुन्छ । तर, महामारीको बेलामा त्यो सबै हिसाबकिताब गरेर पनि हुँदैन,’ उनले भने, ‘अर्को ठूलो समस्या भनेको तालिमप्राप्त जनशक्तिको अभाव हो । एचडीयू र आईसीयूमा बस्नका लागि तालिमप्राप्त स्टाफ नभए काम गर्न गाह्रो हुन्छ । त्यो भनेको यस्तो स्थान हो जहाँ बिरामीको अवस्था पलभरमा तल माथि हुन सक्छ ।’

पहिलो लहरको तुलनामा दोस्रो लहरमा भेन्टिलेटरमा राख्नुपरेका बिरामी बाँचेर आउने सम्भावना कम रहेको हो ? भन्ने प्रश्नमा भने उनी निकै गम्भीर भए । ‘हाम्रो चाहना सबै बिरामीलाई बचाउन सकियोस् भन्ने नै हुन्छ । तर त्यो सधैं हुँदैन,’ उनले भने, ‘हामीले युवा अवस्थाकै बिरामी पनि गुमाएका छौं । यसपटक तथ्यांकले पनि इन्ट्युबेट भएका बिरामीहरू एक्सट्युबेट भएको रेट कम नै रहेको देखाउँछ ।’

डा. विष्टका अनुसार उपत्यकाका अन्य अस्पतालझैं सिभिलमा पनि केही समययता अक्सिजन अभावको समस्या ठूलो छ । सिभिलमा ५० सिलिन्डर क्षमताको अक्सिजन प्लान्ट भए पनि त्यो पर्याप्त छैन । उनका अनुसार सामान्य अवस्थामा १०० देखि १५० वटा सिलिन्डरले पुग्थ्यो भने अहिले २५० वटा चाहिन्छ । ‘हामी थप ५० बेड सञ्चालन गर्न सक्छौं । तर, त्यो गर्नेबित्तिकै अक्सिजनको माग पनि ४०० सिलिन्डर हुन्छ,’ उनले भने, ‘हामीकहाँ अहिले सातवटा भेन्टिलेटर छन् । तर पर्याप्त अक्सिजन नहुँदा तीनवटालाई मात्रै प्रयोग गर्ने गरेका छौं ।’ उनका अनुसार अहिले पनि अक्सिजन सिलिन्डरका लागि मेन्टिनेन्स शाखाका कर्मचारी दिनरात नभनी दौडिरहँदा दिनको १५० सिलिन्डर मुस्किलले जोहो हुन्छ ।

यति हुँदाहुँदै पनि गत महिना मात्रै एचडीयू/आईसीयू र जनरल वार्ड गरी २ सयभन्दा बढी बिरामीको उपचार गरिएको उनले बताए । यस्तै इमरजेन्सीमा पनि २ सयभन्दा बढीले उपचार पाएका छन् । तर, हरेक दिन २/३ जनाको मृत्यु हुने गरेकाले भने उनको मनपेट पोल्ने गर्छ ।

इन्फेक्सन कन्ट्रोल नर्स ज्वाला ढकालका अनुसार लगभग अस्पतालभरि नै कोभिडका बिरामी भएका कारण पनि अक्सिजनको माग धेरै बढेको हो । ‘यो पटक भर्ना हुन आउने सबै बिरामीलाई अक्सिजन चाहिन्छ,’ उनले भनिन्, ‘अक्सिजन नचाहिने बिरामीलाई त हामीले अवस्था हेरेर घर नै पठाइदिन्छौं ।’

उनका अनुसार सिभिलमा कोभिड–१९ का बिरामीहरूको इमरजेन्सी शल्यक्रिया पनि हुने गरेको छ । ‘इमरजेन्सी शल्यक्रियाका साथै शल्यक्रियामार्फत प्रसूति पनि यहाँ गराइन्छ,’ उनले भनिन् ।

ढकालका अनुसार विभिन्न खालका बिरामी विभिन्न अपेक्षासहित अस्पताल आउने भएकाले कहिले सहज त कहिले असहज वातावरण भइदिन्छ । तर, उनीहरू सबै जना यसलाई कामकै प्रकृतिका रूपमा लिन्छन् र उपचारमै तल्लीन हुन्छन् । ‘बिरामीहरू डिस्ट्रेसमा आउनुहुन्छ । त्यसैले सुरुमा आफूलाई मात्रै डेडिकेटड सेवा दिए हुन्थ्यो जस्तो गर्नुहुन्छ । तर निको हुँदै गएपछि तनाव कम हुन्छ र निस्किने बेलामा आशीर्वाद पनि दिएर जानुहुन्छ,’ उनले भनिन् ।

कोरोना संक्रमणका कारण एचडीयूमा भर्ना गरिएका एक बिरामीका आफन्तका अनुसार सिभिल अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू निकै खटेका छन् । ‘उहाँहरूको पनि घरपरिवार होला । यहाँ हाम्रो मान्छेलाई जोगाउन यति ठूलो रिस्क लिएर काम गरिरहनुभएको छ । के गुनासो गर्नु ? बरु धन्यवाद नै दिन्छु,’ आफ्नो परिचय नखुलाइदिने सर्तमा उनले भनिन् ।

प्रकाशित : जेष्ठ १४, २०७८ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?