१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

एक जोडीको पानीफोटो कथा

गणेश राई

काठमाडौँ — दशरथ राई यतिखेर (२०७८ जेठ) हुम्ला जिल्ला प्रशासन कार्यालयको सहायक प्रमुख जिल्ला अधिकारी छन् । उनले भर्खरै फेसबुकको भित्तामा ९ वर्षअघिको एउटा फोटो पुनःरावृत्ति भएर आएको छ । पुनःस्मरणमा देखिएको फोटो भित्तामा पोस्टाउँदै दशरथले भनेका छन्– ‘भेषभूषामा दम्पती ।’

एक जोडीको पानीफोटो कथा

यो फोटोको कथा अलि रोचक छ । जसको साक्षी दशरथ राई र उनका पत्नी तारादेवी राईमात्र छैनन् । किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिका तत्कालीन पदाधिकारी सदस्यहरूको संयोजन रहेको छ । अन्तर्राष्ट्रिय मञ्च प्रकाशनले सरकारद्वारा सूचीकृत गरेको ५९ आदिवासी जनजातिको भित्तेफोटो शृंखलामा प्रकाशित गरेको छ । किरात राई जातिको प्रतिनिधित्व ‘भेषभूषामा दम्पती’ले गरेको छ ।

सरकारले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ जारी गरेपछि सूचीकरण गरेको हो । दुई दशकअघि अहिलेजस्तो मोबाइल जमानामा थिएन । जनजातिको पहिचानजन्य भित्तेफोटो सबैतिर छायो । आमसञ्चारका छापा माध्यमहरू यिनै फोटोलाई पुनरावृत्ति गराएर छापिएको पाइन्छ । सरकारी मातहतका निकाय, आदिवासी जनजातिसँग सम्बन्धित संघसंस्थामा यिनै तस्बिर राखिएको पाइन्छ । त्यतिमात्र कहाँ हो र, विभिन्न तहका पाठ्यपुस्तकमा समेत यिनै तस्बिर छापिएको पाइन्छ ।

मौका यसरी पाए

‘किरात राई यायोक्खा’ राई जातिको जातीय संस्थाको नाम हो । त्यसताका दशरथ राई यायोक्खामा सचिवालय अधिकृत थिए । ‘दशरथ कार्यालय व्यवस्थापनमा चुस्त राख्ने, मिलनसार, कहिल्यै नरिसाउने, कामलाई ध्यान दिने, इमानदार छन्,’ यायोक्खाका तत्कालीन अध्यक्ष कुलबहादुर राई (एमबीई) भन्छन्, ‘कसैले कटुवचन बोले पनि हाँसेरै काम गर्ने स्वभावका छन् । त्यतिखेरै अन्तर्राष्ट्रिय मञ्चले राई जातिको पहिचान जनाउने फोटो खिच्न अनुरोध गरेको थियो । दशरथले खोटाङकी तारादेवी राईसित भर्खरै बिहे गरेका थिए । यी दुवैजना दम्पती नै टिपिकल राई देखिने भएकाले रोलमोडलका रूपमा फोटो खिचाएका हौं ।’

घटना २०६०–६१ सालतिरको हो । यसरी सिंगो किरात राई जातिको प्रतिनिधि पात्रका रूपमा चिनिन पाएकामा दशरथ खुसी व्यक्त गर्छन् । ‘खासमा अन्तर्राष्ट्रिय मञ्चका सम्पादक नवराज अधिकारीले फोटो खिच्ने अनुरोध गर्नु र यायोक्खाले हामी दम्पतीलाई अनुमति दिनु संयोग थियो,’ राई जातिको आइकन बनेका दशरथ भन्छन्, ‘हामी दम्पतीले त्यो अवसर प्राप्त गरियो । अवसरको सदुपयोग गर्न सकियो/सकिएन त्यो आफ्नो ठाउँमा तर दुई शब्दमा भन्ने हो भने खुसी र गर्व र लाग्छ ।’

किरात राई जातिको मौलिक पहिरन पुरुषले दौरा, सुरुवाल, पटुकी, टोपी पहिरिन्छन् । ‘मैले लगाएको फेङ्गा (भोटो), छड्के भिरेको झोला, खुकुरीचाहिँ किरात राई यायोक्खाको कार्यालयमा उपलब्ध थियो,’ दशरथ सम्झिन्छन्, ‘सायद लाग्छ, त्यो ड्रेस अध्यक्षज्यू (कुलबहादुर राई)ले ओखलढुंगाबाट बायुङ राईहरूको मौलिक पहिरन झिकाएर राख्नु भएको थियो ।’

राईपत्नी तारादेवीले कालो भूइँमा टिका छिपेको गुन्यु, रातो मखमली चोली, सेतो पटुकी, कम्मरमा बारु (खुरुम्बी), हारी, नौगेडी, जन्तर, शिरफूल, कानमा चेप्टे सुन लगाएकी छिन् । नाक छेडेको भए पनि त्यतिखेर ढुंग्री र बुलाकी, हातमा काँडेचुरा उपलब्ध नभएकाले लगाउन नपाएको सुनाउँछिन् । त्यही तस्बिर आम किरात राई जातिको प्रतिनिधि पुरुष र महिला पात्रका रूपमा फिजिएको पाउँदा खुसी लागेको तारादेवी सुनाउँछिन् ।

इलामको सूर्योदय नगरपालिका जन्मिएका दशरथले जनप्रशासन विषयमा स्नातकोत्तर हासिल गरेका छन् । २०६६ सालमा निजामती सेवा प्रवेश गरेका उनले सुरुदेखि आठ वर्ष राष्ट्रपति कार्यालयमा सेवा गरेको सुनाए । त्यसपछि गृह मन्त्रालय अध्यागम विभाग र राष्ट्रिय सतर्कता केन्द्रमा रहेका काम गरे । गत चैतदेखि हुम्ला जिल्ला प्रशासन कार्यालय हुम्लाको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेको जनाए ।

त्यसैगरी खोटाङको चिप्रिङमा जन्मिएकी तारादेवी स्नातकसम्म पढेको सुनाउँछिन् । ‘त्यतिखेर पहिलोचोटी राई पहिरन लगाइयो,’ गृहिणीका रूपमा रहेकी उनीले भनिन्, ‘त्यतिखेर फोटो स्थायी रूपमा चर्चाको विषय बन्छ भन्ने थाह थिएन । निरन्तर चर्चामा रहँदा एकदम गर्व लाग्छ ।’ पाठ्यपुस्तक सामाजिक विषय पुस्तकमा त्यही दम्पतीको त्यही फोटो राखिएको र केही प्रकाशनले जातीय भेषभूषा, संस्कार संस्कृतिबारे चर्चा गरिएको उनले सुनाइन् । कति आफन्तजन, चिनजानका व्यक्ति, आदिवासी जनजातिको पहिचानजन्य सार्वजनिक महत्वका ठाउँमा फोटोहरू राखेको पाइन्छ ।

जनगणना २०६८ को तथ्यांकअनुसार मुलुकमा रहेका १ सय २५ जातिजातिमध्ये दसौं स्थानमा राई जाति रहेको छ । राईको जनसंख्या ६ लाख २० हजार रहेको छ । राई जातिभित्र २६ वटा जति भाषा बोलिन्छन् । ती भाषाहरूमा बान्तावा, चाम्लिङ, वाम्बुले, दुमी, खालिङ, कोयी, तिलुङ, दुङमाल, पुमा, लिङखिम लगायत छन् ।

किरात राई जातिको प्रतिनिधि पात्र दम्पती दशरथ राई र तारादेवी राई । तस्बिर तथा रेखाचित्र स्रोत : दशरथ राईको फेसबुक वाल, गुगल र इकान्तिपुर


प्रकाशित : जेष्ठ ६, २०७८ २२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?