लुम्बिनीमा कोभिडको कहर : अस्पतालमा छटपटिँदै बिरामी, अक्सिजन खोज्दै आफन्त

अमृता अनमोल

बुटवल — उनी बोल्न सक्दिनथिन् । शरीर लत्रेको थियो । ज्वरोले अचेत थिइन् । सास फेर्न गाह्रो भइरहेको थियो । ७९ वर्षे कुमारी थापाको शरीरमा अक्सिजन लेवल घटेर ५५ देखि ६० थियो । स्वास्थयकर्मीहरुले एक घण्टाभित्र अक्सिजन दिन नपाए बचाउन नसकिने बताएका थिए ।

लुम्बिनीमा कोभिडको कहर : अस्पतालमा छटपटिँदै बिरामी, अक्सिजन खोज्दै आफन्त

तर, लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी उनले अक्सिजन पाइनन् । चिकित्सकले आफैं जोहो गरेमात्रै लगाइदिने बताए ।

छोरा कृष्णबहादुर बिहानभर बुटवल बजार चहारे । मध्यान्ह बुटवलको प्रदर्शनी गेट अगाडि भाजुरत्न ग्यास सप्लायर्सबाट २९ हजार रुपैयाँमा सिलिन्डर खरिदे । त्यही सिलिण्डर अस्पतालमा ल्याएर आमालाई लगाइदिए । अस्पतालको बरन्डामा ह्वीलचियरमा राखिएकी वृद्धाले धीमा गतिमा अक्सिजन लिन थालिन् । देवदह ३ सिमरहनाका कृष्णबहादुरले भने ‘बिहानभर कम्ती सास्ती भएन । धन्न अक्सिजन पाएँ । अब आमालाई बचाउन सकिन्छ कि भन्ने आश छ ।’

शनिबार दिउँसो लुम्बिनी प्रादेशिक अस्पतालको बरन्डामा आफै जोहो गरेको अक्सिजन लिँदै देवदहकी श्रीकुमारी थापा ह्वीलचियरमा ।

थापालाई ४ दिनदेखि शरीर दुख्ने र सास फेर्न गाह्रो हुने भएको थियो । एन्टीजेन परिक्षणमा कोरोना पोजिटिभ देखियो । बोल्नै नसक्ने भएपछि छोराहरुले शनिबार बिहान लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याएका थिए ।

लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजनको अभाव छ । अभाव भएपछि सिकिस्त विरामीले पनि अक्सिजन पाएका छैनन् । विकल्प के त ? विरामीका आफन्तहरु हारगुहार गर्दै अक्सिजन जुटाउँदै अस्पताल लैजादै गर्न लागेका छन् । ‘अस्पतालले अक्सिजन दिन सक्दिनँ भनेपछि हामी आफैं अक्सिजन खोज्न बुटवलका उद्योग र सप्लायर्सहरु चाहार्यौं,’ बुटवल १० कालिकानगरका विकास पुनले भने, ‘धन्न दिउसो खाली अक्सिजन भेटियो । भरेर आमालाई लगाएका छौं ।’ कोरोना संक्रमित उनकी आमा अस्पतालको आकस्मिक कक्षमा आफैंले किनेको अक्सिजन लगाइराखेकी थिइन् । अक्सिजन लेवल ६० बाट बढेर ८० मा पुगेको थियो ।

शनिबार दिउँसो लुम्बिनी प्रादेशिक अस्पतालको गेटमा अटोरिक्सामा भर्नाको पालो कुर्द बुटवल ११ देवीनगरका लक्ष्मण पासी ।

यसअघि होम आइसोलेसनमा बसेकी राममाया शुक्रबार रातिदेखि शिथिल बनिन् । खोकी बढ्यो । ज्वरो आयो । ४७ वर्षीयालाई सास फेर्नै समस्या भयो । आफन्तले शनिबार बिहान ४ बजे लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याएका थिए । अस्पतालको भुईंमा ठाउँ त पाइन् । उपचार सेवा पाइनन् । अक्सिजन बिना सास लिन नसक्ने अवस्थाकी उनलाई अस्पतालले आफैं अक्सिजन खोज्न आग्रह गर्‍यो । छोरा विकासले मध्यान्हमा जसोतसो खाली सिलिन्डर पाए । भाजुरत्न ग्यास सप्लायर्समा ७ सय रुपैयाँ तिरेर अक्सिजन भरेको उनले बताए ।

शनिबार दिउसो लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्ष र फिबर क्लिनीकमा गरी ९१ विरामी थिए । त्यसमध्येका १४ विरामीले आफैं अक्सिजन खोजेका थिए । चिकित्सकका अनुसार सबै विरामी अक्सिजन लगाउनु पर्ने अवस्थाका थिए । तर, अस्पतालले ३५ विरामीलाई मात्रै अक्सिजन दिएको थियो । कोरोना फोकलपर्सन डा. नन्दु पाठकले अक्सिजन अभाव भएकाले सबै विरामीलाई अक्सिजन दिन नसकेको बताए ।

भर्ना कुर्दै, अस्पतालकै आँगनमा छटपटिँदै बिरामी

शनिबार लुम्बिनी प्रादेशिक अस्पताल परिसरमा गाडीमा पालो कुर्दै तिलोत्तमा ४ डिंगरनगरका दलबहादुर खराल ।

शनिबार दिउँसो लुम्बिनी प्रादेशिक अस्पताल पुग्दा अस्पतालको ढोकासम्म संक्रमित बिरामीले भरिएको थियो । कोही भर्ना भएका बिरामीलाई अक्सिजन जुटाउन हारगुहार गर्दैथिए । कोही भर्नाका लागि बिन्ति बिसाउँदै थिए । अस्पतालको भुई र बरन्डासमेत संक्रमितले भरिएपछि अस्पतालले विरामी भर्ना लिन छोडेको थियो ।

बुटवल ११ देवीनगरका लक्ष्मण पासी अस्पतालको गेटमा अटोरिक्सामा पल्टिएका थिए । आफन्तले खोजिदिएको अक्सिजन सकिनसकी लिँदै थिए । अस्पतालभित्र छिर्न पाए बाँच्ने आशमा बेलाबेलामा आँखा खोल्थे । निराश हुँदै आफैं आँखा बन्द गर्थे । छोरा बद्री भर्नाका लागि चिकित्सकसँग बिन्ती गर्दै थिए । पत्नी र बहिनी बिरामीलाई सम्हाल्दै थिए । ‘खोई भर्ना पाइएलाजस्तो छैन,’ छोरा बद्रीले भने, ‘आफैभित्र पसेर पनि हेरें भूइ पनि खाली देखिनँ । बचाउने आशा हराउँदैछ ।’

शनिबार अस्पतालका खाली सिलिण्डर भर्न पठाइदै । सबै तस्बिर : अमृता अनमोल /कान्तिपुर

बद्रीले बिहान ५ बजे रिक्सा चलाउँदै बाबुलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याएका थिए । अस्पतालले अक्सिजनमा राख्नुपर्ने बताउँदै भैरहवा लैजान सुझाव दिएको थियो । रिक्सा गुडाउँदै उनले भैरहवाको भीम अस्पताल र मेडिकल कलेज चहारे । कतै ठाउँ पाएनन् । त्यसपछि फर्काएर दिउसो १ बजे फेरि अस्पतालमै ल्याएका थिए । गेटभित्र भएकाले स्वास्थयकर्मीले अक्सिजन लिने र ज्वरो नाप्ने काम गरेका थिए । ‘बुबा आत्तिइरहनु भएको छ । लौन उपचार गर बचाउ भन्नुहुन्छ,’ बद्रीले भने, ‘हामी विवश छौं । टुलुटुलु हेरेर एकछिन पर्खनुस् भनेर टारेका छौं ।’

तिलोत्तमा ४ डिंगरनगरका ६९ वर्षे दलबहादुर खराल गाडीभित्रै अस्पतालमा भर्ना हुन पालो कुर्दै थिए । १४ दिनअघि कोरोना देखिएका उनी ओम शान्तिको आइसोलेसनमा थिए । छोरा विमलका अनुसार शुक्रबार च्यापेपछि तिलोत्तमाको अस्थाइ कोरोना अस्पतालमा लगियो । अस्थायी अस्पतालले उपचार गर्न नसक्ने बतायो । बिरामी बोक्न एम्बुलेन्स पनि पाएनन् । नगरप्रमुख बासुदेव घिमिरे चढ्ने गाडीमाअक्सिजन सिलिण्डर जोडेर दिउँसो बुटवलको लुम्बिनी प्रादेशिकमा ल्याइएको थियो । छोरा विमलले भने, ‘डाक्टरले अक्सिजनसहितको आइसियुमा राखेर उपचार गर्नुपर्छ भन्छन् । तर, हामीले अस्पतालको भुईं पनि पाएनौं ।’

प्रकाशित : वैशाख २५, २०७८ २१:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?