सहिद परिवारको गुनासै गुनासो 

‘निरकुंश शासनविरुद्ध लोकतन्त्र प्राप्तिका लागि जसले बलिदान दिए आज त्यही व्यवस्थामा रजाइँ गरेकाहरुले सहिदको अपमान गरे ।’
शिव पुरी

रौतहटको गुजरा नगरपालिका–६ स्थित खतबैया टोलकी ७० वर्षीय सहिद पत्नी सकिला खातुनको राजनीतिक दलहरुप्रति गुनासै–गुनासा छन् । सात दसक कटेकी खातुनसँग यतिबेला गुनासो पोख्नुबाहेक विकल्प छैन ।

सहिद परिवारको गुनासै गुनासो 

उनी भन्छिन्, ‘निरकुंश शासनविरुद्ध लोकतन्त्र प्राप्तिका लागि जसले बलिदान दिए आज त्यही व्यवस्थामा रजाइँ गरेकाहरुले सहिदको अपमान गरे ।’ उनको मुहारमा पीडा प्रस्टै देखिन्थ्यो ।

खातुनको जेठो छोरा जम्सेद अन्सारी र साइँला सकिलको गुनासो पनि त्यस्तै छ । ‘सहिद परिवारलाई राज्यले कहिलै सम्झेन । दलहरुले बिर्से । सहिदकै बलले ल्याएको व्यवस्थामा रजाइँ गर्नेहरु स्वार्थी भए ।’ निरकुंश सत्ता अन्त्यको लडाइँमा होमिएका मोहम्मद ताहिर अन्सारीले २०६२/६३ को जनआन्दोलनमा ज्यान गुमाएका थिए ।

दोस्रो जनआन्दोलन उत्कर्षमा पुग्नै लाग्दा गाउँकै आफन्तलाई साथ लिएर ताहरि राजधानी गएका थिए । राति आफन्तकहाँ बास बसे । भोलिपल्ट अपरान्ह दरबारमार्गमा आन्दोलनकारीहरुले नाराबाजी गर्दैगर्दा धरपकड सुरु भयो । र अग्रपंक्तिमा रहेका ताहिरमाथि सुरक्षाकर्मीले रबरको गोली प्रहार गरे । उनी घाइते भए । साँझ रात्री बसमा राखेर उनलाई घर फर्काइयो । तत्काल काठमाडौंमा उपचार गराउन पैसा नभएपछि घाइते अवस्थामै गाउँ ल्याइएको थियो ।

गोलीको घाउले उनी निकै छटपटिए । भोलिपल्ट वीरगन्जस्थित नेसनल मेडिकल अस्पताल लगियो । त्यहाँ ३ दिन उपचारपछि उनको प्राण गएको थियो । परिवारले उनको उपचारमा ५० हजार रुपैयाँ खर्चे पनि उनलाई बचाउन सकेनन् । कहिलै नफर्कने गरि बिदा भए । ‘प्रजातन्त्रका लागि आहुति दिनेको आज कुनै खोजखबर गर्दैनन्,’ सहिद पत्नी सकिलाले भनिन्, ‘अहिलेसम्म राज्यले हाम्रो परिवारको अवस्था बुझ्ने काम गरेको छैन ।’ अन्सारीको मृत्युपछि परिवार बिचल्लीमा पर्‍यो ।

आन्दोलनको झण्डै एक वर्षपछि उनलाई राज्यले सहिद घोषणा गर्‍यो । १० लाख क्षतिपूर्ति दिने भन्यो । निकै कष्टसँग त्यो रकम लिएको परिवारका सदस्यहरु बताउँछन् । क्षतिपूर्ति लिँदाको दु:खबारे अन्सारीका जेठो छोरा जम्सेदले भने, ‘बुबा गुमाउँदाको पीडा त छँदै थियो । तर राज्यले दिने भनेको रकम लिन निकै सास्ती भोग्नु पर्‍यो ।’ कहिले यो कागज ल्याउनु । कहिले त्यो कागज पुगेन भनेर हैरान पारेको उनीहरुको गुनासो छ । राज्यबाट आएको रकमले अन्सारी परिवारले गाउँमा २ बिगाहा जमिन खरिद गरेका थिए । अन्सारीका ७ जना छोरा छन् । परिवार निकै ठूलो छ । खेती किसानीबाहेक आम्दानीको कुनै स्रोत छैन ।

सकिला खातुन

आन्दोलनमा सहिद भएका परिवारका सन्ततिलाई राज्यले पठनपाठन र जागिर दिने भने पनि अहिलेसम्म कुनै सुविधा नपाएको गुनासो परिवारका सदस्यहरु गर्छन् । जनआन्दोलनको १५ वर्षको अन्तरालमा घरमा फर्केर कुनै नेता नआएकोमा उनीहरुको गुनासो छ । एकचोटी एमाले नेतृ कल्याणी खड्का घरमा आएको स्मरण गर्छन् । छोराको बिहेमा एमाले नेता माधवकुमार नेपाललाई निम्तो दिँदा नआएकोमा उनीहरुले चित्त दुखाएका छन् । स्कुले जीवनबाट कम्युनिस्ट राजनीतिमा होमिएका ताहिर निकै सक्रिय थिए ।

'बुबा बाँचेको भए यतिखेर कुनै न कुनै पदमा हुन्थे होलान्,' छोरा जम्सेद सम्झना गर्छन् । बीएस्सी पास गरेका ताहिर गाउँले बिरामी हुँदा सामान्य उपचारमा सहयोग गर्थे । उनले स्वास्थ्यसम्बन्धी केही ज्ञान हासिल गरेकोले गाउँलेलाई सामान्य उपचारमा सघाउँथे । २०४६ सालको अन्दोलनमा बुबासित जम्सेद पनि काठमाडौं गएका थिए । त्यसबेला सुरक्षाकर्मीले प्रहार गरेको अश्रुग्यासले आँखा पोलेको उनी सम्झन्छन् । सुरक्षाकर्मीमाथि ढुंगा हानेको दिन सम्झँदै उनी भन्छन्, ‘प्रजातन्त्र अनि लोकतन्त्रका लागि हाम्रो परिवारले निकै संघर्ष गरेको छ । । तर आजसम्म मूल्यांकन भएन ।’ अन्सारीका साइँला छोरा मोहम्मद सकिलले स्थानीय तहको निर्वाचनमा एमालेबाट वडा अध्यक्षमा जितेका छन् । सकिल बुबाजस्तै समाजसेवी बन्ने सपना बोकेर हिँडको बताउँछन् ।

कम्युनिस्ट पार्टीमा जीवन बिताएका अन्सारी परिवारलाई एमाले विभाजनको संघारमा पुगेको रत्तिभर चित्त बुझेको छैन । सकिल भन्छन्, ‘प्रधानमन्त्री केपी ओलीले पार्टी डुबाए । देश बर्बाद पारे ।’ लामो समय जिल्लामा राजनीति गरेका एमाले सांसद रामकुमार भट्टराई सहिद ताहिर अन्सारीको परिवारलाई कहिलै बिर्सन नसक्ने बताउँछन् । ‘जसले लोकतन्त्रका लागि आफ्नो ज्यानको बलिदान दिए, आज उसैलाई बिर्सनु हुँदैन,’ उनले भने, ‘हामी अन्सारी परिवारप्रति सम्मान व्यक्त गर्छौं । उहाँहरुको बलिदानी राज्यले बिर्सनु हुँदैन ।’

प्रकाशित : वैशाख ११, २०७८ १९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?