कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

आँगनका भट्टीमा जो भुट्छन् भुजा

माटोको भट्टी चुलोमा बनाइने भुजाको स्वाद मेसिनले बनाउनेभन्दा फरक हुन्छ । त्यसैले परम्परागत तरिकाले बनाएको भुजा खोज्ने अझै छन् ।
सन्जु पौडेल

लुम्बिनी — उनले थाहा पाएदेखि घरमा नियम फेरिएको छैन । रूपन्देहीको सिद्धार्थनगर–१३ मालटोलका ७० वर्षीय बचन भुज सबेरै उठ्छन् । आँगनमा माटाको भट्टीचुलो छ । लिपपोत गर्छन् । त्यसलाई पूजा गर्छन् र आगो बालेर हाँडी तताउन थाल्छन् । तातिरहेको हाँडीमा कान्छी बुहारी कलवाती भुजले भुजा भुट्न थाल्छिन् ।

आँगनका भट्टीमा जो भुट्छन् भुजा

बचन दिनभरिको काम अह्राएर बाहिर निस्कन्छन् । उनको घरेलु पेसा कलावतीले सम्हाल्छिन् । जुभ परिवारको पुर्ख्यौली पेसा हो धानको भुजा बनाउने ।

‘बाजेको पालादेखि नै यही घोन्सारी (ठाउँ) भुजा भुट्ने काम सुरु भएको हो,’ बचनले भने, ‘नातिनातिनीले यही काम गर्लान् कि नगर्लान् भन्ने थाहा छैन ।’ आफू बाँचुन्जेल भुजा भुट्ने पेसालाई चलाइरहने गरी कान्छो छोरा र बुहारीलाई जिम्मा दिएको उनले बताए । आफूले जान्दा सिद्धार्थनगरका धेरै गल्ली, बुटवलका केही ठाउँ र मर्चवारतिरका धेरै गाउँमा भुजा भुट्ने पेसा गर्नेहरू देखेको बताउने उनले अहिले आफ्नो परिवारबाहेक अन्यले यो पेसा गरेको थाहा नपाएको बताए । नेपालमा बिस्तारै यो पेसा गर्नेहरू अरू कामतिर लागेको उनको भनाइ छ ।

उनको भट्टीमा भुजासँगै चना, बदाम, मटर, मकै आदि भुटिन्छ । बिहानैदेखि ग्राहक आउँछन् । ‘कहिलेकाहीँ अगेनुदेखि उठेर एकछिन आरामले बस्न पनि भ्याइँदैन,’ कलावतीले भनिन्, ‘कहिले आगो बाल्न मात्रै पनि हुन्छ ।’ ससुरा बाजेका पालामा प्रतिकिलो एक रुपैयाँमा भुजा भुट्ने गरेकी उनी अहिले २५ रुपैयाँ लिन्छिन् । बिहे भएको ४५ वर्ष पुगिसकेको भन्दै उनले अहिले पनि मानिस पैसा धेरै भयो भनी कराउने गरेको सुनाइन् ।

श्रीमान्ले भुजा भुटेको देखेर सिकेकी कलावतीले आफ्नी बुहारीलाई समेत सोही काममा लगाएकी छन् । ‘नाम मात्र लेख्न जानेकी बुहारी बिहे गरियो,’ उनले भनिन्, ‘घरभित्र मात्रै सीमित राख्नुभन्दा व्यवसायमा सघाउने हिसाबले सिकाएकी छु ।’ कलावतीकी बुहारी सन्तोषीले पहिलेपहिले आगोको रापमा साह्रै दुःख हुने गरेको र अहिले बानी परेको बताइन् । घरका परिवारले गरिरहेको पेसा आफूले अघि बढाउनुपर्छ भन्ने लागेर भान्साको काम सकी पुर्ख्यौली व्यवसायमा दिन बिताउने गरेको उनको भनाइ छ । ‘श्रीमान् र देवरले अन्य काम थाले,’ उनले भनिन्, ‘पढाइ नभएकाले म बाहिर गई काम गर्न सक्दिनँ, त्यसैले यही काम गरेर नुनतेलको खर्च उठाइरहेकी छु ।’ मानिस आइरहने र भुजा र अन्य गेडागुडी भुटिरहने गर्दा दिन गएको पत्तै नहुने उनले बताइन् । सुरु–सुरुमा हात दुख्ने, शरीर तातो हुने, धेरैबेर बस्नै नसक्ने हुने भए पनि अहिले दैनिक ६ घण्टा आगो छेउमै काम गरिरहने उनले सुनाइन् ।

उनीहरूको घर आडैमा भुजा भुट्ने अर्को भट्टी पनि छ । त्यो भट्टी बचनका ठूला छोरा कासिम अलीले चलाएका छन् । आफूले यही पेसालाई निरन्तरता दिइरहेको उनले बताए । ‘सानैदेखि यही काम गरेको देखेर हुर्किएँ,’ उनले भने, ‘अन्त गई अरू काम सिक्नु भन्दा यही सिकियो, यही गरिँदै छ ।’ बाजेले थालेको पेसा नहराओस् भनेर नछाडेको उनको भनाइ छ । ‘छोराछोरीले पढेका छन्, अरू केही गर्लान्,’ उनले भने, ‘म र श्रीमती त बाँचुन्जेल भुजा भुटेरै बसिन्छ ।’ आफूहरूको बाल्यकाल घरदेखि टाढा गई भुस किनेर ल्याउने र भुटेको भुजा बोकी गाउँ–गाउँमा बिक्री गर्दैमा बितेको उनले बताए । अहिले मानिसले रेडिमेड वस्तुमा ध्यान दिने गर्दा ग्राहक संख्या पहिलेको तुलनामा घट्दै गइरहेको उनको भनाइ छ ।

अनाज भुट्नका लागि माटोको भट्टी चाहिन्छ । भट्टीमा ४ देखि ५ वटासम्म हाँडी अट्ने गरी प्वाल बनाइएको हुन्छ । प्वालमा राखिएका हाँडी र कोहा (भुजा भुट्ने भाँडो) मा बालुवा तताएर ग्राहकले ल्याएका अनाज राखी भुट्ने गरिन्छ । बालुवा भरेर हाँडीमा चलाउन कल्छुला (डाडु) को प्रयोग हुन्छ । यी सबै सामग्री भुज परिवारले भारतदेखि ल्याउने गरेका छन् । ‘यहाँ खरिद दर महँगो पर्छ,’ कासिमले भने, ‘अहिले उतादेखि पनि ल्याउन पाइएको छैन ।’ कहिलेकाहीँ दिनकै तीन वटासम्म हाँडी फुट्ने गरेको भन्दै उनले सामग्री खरिदमै पनि धेरै खर्च हुने बताए ।

आगो बाल्नका लागि उखु सुकाएर राखेको खोया र काठको भुस ल्याइन्छ । एक बोरा भुस २ सयदेखि माथि पर्ने र आफूहरूले २५ रुपैयाँमा भुट्ने गर्दा फाइदा केही नहुने बचनले सुनाए । ‘बाउबाजे मरेर गए तर उनीहरूले गरेको पेसा जोगाउन मात्रै अहिलेसम्म मेरो परिवारले भुजा भुटिरहेको छ,’ उनले भने, ‘आम्दानी हेर्ने हो भने मासिक बढीमा १० हजार रुपैयाँसम्म हुन्छ ।’ बाहिर देखिने गरी खपटा लगाएको घरलाई पक्की बनाएर १२ जनाको परिवार एकै छतमुनि राखिरहेको उनले बताए । धेरैजसो ग्राहक बिहानै आउँछन् भने केही साँझ । दिउँसभरि उनीहरू भुटेर राखिदिन छोडेको गेडागुडी भुट्ने गर्छन् ।

भुजा भुटेको कमाइले नुनतेलको जोहोलाई मात्र सघाएको भन्दै बचनले पुर्खाको इतिहास जोगाउने प्रयासमा आफू तल्लीन रहेको सुनाए । गाउँ–गाउँमा रोजगार बढ्नु, विदेशको कमाइ, मेसिनबाट तयारी भुजाको प्याकेटको उपलब्धता, भुजा बनाउने अत्याधुनिक मिलको स्थापनाजस्ता कारणले आफूहरूको पेसा लोप भइरहेको बचनले गुनासो गरे ।

आफूहरूले भुट्ने अनाज गृहिणीले खाजाका रूपमा प्रयोग गर्न, होटलमा, घरदेखि टाढा र विदेशमा रहेका आफन्तलाई पाहुरस्वरूप पठाउन प्रयोग गरिने उनले बताए । भुटेको अनाजको स्वाद मीठो मान्नेहरूले एकपटक सकिए पनि निरन्तर भुटाउन ल्याइरहने भुजले सुनाए ।

तराईमा भुजा, मटर, चना, बदाम आदिलाई नास्ता र पाहुनाको स्वागतका लागि प्रयोग गरिन्छ । विशेष कार्यक्रममा समेत यी अनाजको प्रयोग गर्ने गरिन्छ । भुज परिवारको घोन्सार बन्द भएमा स्वादिलो भुजा, चना खान नपाइने भन्ने विषयमा चिन्तित रहेको गुल्जास खातुनले बताइन् । मासुको परिकार होस् वा दिउँसोको खाजा, भुजा, चना, नास्ता दिन सहज हुन्छ, उनले भनिन्, दोकानमा किनेका यी अनाजको स्वाद नै मीठो लाग्दैन । आफूले भुजको घोन्सारमै नियमित अनाज भुट्ने गरेको उनले सुनाइन् ।

प्रकाशित : चैत्र ३१, २०७७ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?