२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

स्याउली पलाइछ, नरोऊ न नीरमाया सुख कल्लाइ छ...

एउटै वर्ष जन्मिएका दौंतरी अमर विरही गुरूङ र पुष्पकमल दाहाल परिवर्तनका मुद्दा लिएर फरक पार्टीबाट आन्दोलनकारी बने । बाटो छुट्टियो, वर्ष बिते । गुरूङ भन्छन्– ‘कतै मरिन्छ अथवा मारिइन्छ भन्ने थियो, तर अचम्मले युगको साक्षी हुन पाएझैं भएको छ ।’ 
‘कुरो गर्‍यो कुरैको दुःख भन्छन् नि । त्यही भएर पनि राजनीति र नेताहरुमा खासै सरोकार राख्दिनँ । त्यो तिकडमको दुनियाँभन्दा गाउँले चुलोको रापताप ठीक छ ।’ 
देवेन्द्र भट्टराई

नवलपरासी — चितवनको शिवनगर छँदा गाई गोठालो जाने हूलहुद्दामा पुष्पकमल र अमर सँगैजसो हुन्थे । त्यही गौचरन छेउमा फुटबल खेल्दा पनि यी दुई एउटै मैदानमा उफ्रन्थे । पढाइमा तल्लो–माथ्लो कक्षा भए पनि यी दुवै शिवनगर स्कुलमै पढ्थे । दुवैको जन्म साल एकै थियो— २०११ ।

स्याउली पलाइछ, नरोऊ न नीरमाया सुख कल्लाइ छ...

‘अलिक पछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ बनेर जंगल पसे, म कमरेड कल्याण बनेर गाउँ पसें,’ अचानकजस्तै गैंडाकोट–६ को नारायणी नदी तीर टोलटोलेमा भेटिएका अमर विरही गुरुङ पुराना दिन सम्झनमा तल्लीन थिए, ‘आज यत्रो परिवर्तन होला, उनै कमरेड प्रचण्ड यो मुलुकको प्रधानमन्त्रीसम्म होलान् भन्ने कदाचित थिएन । कतै मरिन्छ अथवा मारिइन्छ भन्ने थियो । तर, अचम्मले सिंगो युगको साक्षी हुन पाएझैं भएको छ ।’

लमजुङको घनपोखरामा जन्मेका अमरलाई ३ वर्षकै उमेरमा उनका बुबाले चितवनको पदमपोखरी ल्याएका थिए । त्यसको केही वर्षमा मात्रै कास्कीको ढिकुरपोखरीबाट दाहाल (पुष्पकमल) परिवार शिवनगर आइपुगेको थियो । ‘राजनीति, संघ–संगठन के हो भन्ने पत्तै नपाई दीनदुःखी वर्गको उत्थानका लागि घरबाट निस्किएको थिएँ । प्रचण्ड मसालतिर थिए, म भने रूपलाल विश्वकर्माको मजदुर किसान पार्टीमा थिएँ,’ अमरले सम्झिए, ‘त्यही बेला सोनाम साथीको सर्वहारावादी कम्युनिस्ट लिग पनि निकै चल्तीमा थियो ।’

अरूभन्दा पनि सोनाम साथी (उर्फ शशि शेरचन, हालै स्वर्गीय) सँग अमर निकटस्थ बनेर हिँडेका रहेछन् । मजदुर, किसान र श्रमजीवी वर्गको उत्थान नभई समाज बन्दैन भनेर रातमा ‘क. कल्याण’ बनेर पर्चा बाँड्ने र दिनमा अमर गुरुङ परिचयमा फुटबल खेल्नमा रमाउने उनको स्वभाव रहेछ । ‘सोनाम साथी र रूपलाल कमरेडको प्रशिक्षण शैली गजबकै हुन्थ्यो,’ उनी सम्झन्छन्, ‘भित्री गाउँघरमा लुकेर चल्ने यस्ता प्रशिक्षणमा तिनले बोलेका कुराले हामी उचालिन्थ्यौं । गरिब–धनी बराबर हुनेदेखि जसको जोत उसकै पोत र सामन्ती–जमिनदारका दिन अब सकिए भनेजस्ता चर्का कुराले थामिन सक्ने अवस्थै थिएन ।’ मजदुर किसानले २०३४ सालमा चलाएको जुगेडी आन्दोलनदेखि २०३७ सालको जुटपानी क्रान्तिसम्म अमर प्रत्यक्ष/परोक्ष सँगै थिए । जुटपानीको प्रहरी चौकी हान्नलाई गएका कमरेडहरूको यो योजना पहिले नै ‘लिक’ भएर योजनामा असफल बनेका रहेछन् ।

तर, नारा र भाषणले जीवन चल्न मुस्किल हुने यथार्थ साथैमा थियो । त्यो पनि दिनभर कमाइको ध्याउन्नमा लाग्ने र दुई छाक जोहो गर्ने घरपरिवारका लागि जीवन निर्वाहमा भाषणले खासै भरथेग गर्न सक्ने अवस्थै हुन्नथ्यो । ‘म नारायणी अञ्चल स्तरकै राम्रो फुटबल खेलाडी भइसकेको थिएँ, तर राजनीतिक संगतले फुटबललाई पनि असर गरेको बोध भयो,’ उनी सम्झन्छन्, ‘साथै, म गानाबजाना, लोकगीत र संगीतका निम्ति पनि साथीभाइमाझ चिनिएको थिएँ ।’

युवा अवस्थाका अमर

२०३६ सालदेखि लगातार ३ वर्ष अञ्चल स्तरमा फुटबल प्रतियोगितामा सहभागी भएपछि २०३९ सालमा काठमाडौं आउन पाएपछिको घटनाले पनि अमर विरही गुरुङको चिनारी अर्कै बनेको हो । त्यसबेला राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव शरद्चन्द्र शाहले दोहोरी गीत र लोकनृत्यलाई पनि खेलकुदअन्तर्गत मिसाएका थिए । लोकदोहोरीको पनि टुर्नामेन्टसरह लहर चल्न थाल्यो । ‘दोहोरी गीतको हेटौंडामा अञ्चलस्तरीय प्रतियोगिता भएको थियो, त्यहाँ प्रथम भएर म एकाएक कलाकारमा गनिएँ । रेडियो नेपालका कलाकार पाण्डव सुनुवारसँग पनि त्यहीँ चिनजान भयो,’ उनले सम्झे, ‘काठमाडौं आएपछि रेडियोमा स्वर परीक्षा पनि लिइएन, गीत प्रतियोगितामा प्रथम हुनेलाई स्वर परीक्षा लिनै नपर्ने नियम थियो ।’

सुरुका दिनमा त रेडियो नेपालबाट नाम आउँछ र २/४ पैसा पनि आउँछ भनेर यो गीतांगे जगत्मा छिरेको अनुभव अमरसँग छ । ‘गीतसंगीतमा लागेर लोकसंस्कृतिको जगेर्ना गर्छु, उत्थान गर्छु भनेर लागेकै होइन,’ हक्की स्वरमा अमर भन्छन्, ‘तर, गर्दै भन्दै लैजाँदा उत्थान कर्मतिर पनि लागिएछ भन्ने बोध भएको छ ।’

राजनीतिक वितृष्णा

जीवन यात्राका क्रममा र आफ्नै रोजीरोटीको उपाय पहिल्याउन चितवनबाट बसाइँ सरेर अमर २०६५ सालमा नवलपरासी, गैंडाकोट आएका रहेछन् । २ छोरी, ३ छोरासहितको परिवार पाल्न उनले टोलटोलेमा बनेको आफ्नै घरमा ‘गाउँले चुलो’ नामको लोकल होटल खोलेका रहेछन् ।

‘राजमार्ग पूर्वपश्चिम गर्ने ठूलै नेताहरूले पनि अमर के–कता छौ भनेर सोधिरहेकै हुन्छन्, अस्ति प्रचण्डलाई चितवनको एक कार्यक्रममा भेटेर भलाकुसारी भएको थियो,’ आफ्नै गाउँले चुलोको आँगनमा गाउँले स्वादकै खान्की खाँदै अमर सुनाउँदै थिए, ‘कुरो गर्‍यो कुरैको दुःख भन्छन् नि । त्यही भएर पनि राजनीति र नेताहरूमा खासै सरोकार राख्दिनँ । त्यो तिकडमको दुनियाँभन्दा गाउँले चुलोको रापताप ठीक छ ।’ पछिल्ला वर्षहरूमा नागरिकले पाएको अधिकार भन्दै आम निर्वाचनहरूमा अमर भोट हाल्न त जान्छन् तर, कुनै जुलुस, सभा–समारोहमा उनलाई कुनै प्रकारको आसक्ति छैन ।

अमर विरहीको होटलको बोर्ड

राजनीतिमा बिस्तारै पछि सरेर लोकदोहोरी र संगीतको जगत्मा भिज्न थालेका अमरले निकै नामकाम बनाइसकेका थिए । उनका ‘गैरी पर्‍यो ताल,’ ‘खोली रसायो,’ ‘काठमाडौं सिंहदरबार,’ ‘गोगन पानीमा,’ ‘गोर्खा कालिका,’ ‘काँचो सुरती’ जस्ता दर्जनौं लोकगीत अहिले रेडियोमा बज्ने लोकप्रिय विधामा पर्छन् । उनका ६० भन्दा बढी लोकगीत रेडियोमा रेकर्ड छन् । त्यसमध्ये ४० सालमा रेकर्ड भएको ‘स्याउली पलाइछ, नरोऊ न नीरमाया, सुख कल्लाइ छ’ गीतका कारण उनी देशैभर चिनिएका थिए । अमरले चितवनको रोदीघरमा यो गीत र भाका पहिलोपटक सुनेका थिए, पछि रेडियोमा रेकर्ड भएपछि रेडियोमा सबैभन्दा बढी बज्ने लोकभाका यही ‘स्याउली पलाइछ’ बनेको थियो ।

संयोगले आफ्नो सपनामा अल्झेर बसेझैं रहेको फुटबल खेलमा पनि आफ्नै कान्छो छोरो सौगात अहिले आरसीटी टिममा रहेर काठमाडौंमा फुटबल खेलिरहेका छन् । अमर अहिले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान (२०५७) को संस्थापक अध्यक्षका रूपमा पनि चिनिन्छन् । प्रतिष्ठानमा अहिले देशभरबाट ४० हजार सदस्य मात्रै छन् ।

२०७४ भदौ ३१ मा काठमाडौंमा आफ्नो जीवनकै ‘पहिलो र अन्तिम’ (अमरकै शब्दमा) एकल साँझमा आफ्ना आगत–विगत सुनाउन पाएर पनि उनी थप ऊर्जाशील बनेका देखिन्छन्, केही नयाँ लोकभाका रेकर्ड गराउन आउने वैशाख महिनामा फेरि काठमाडौं जाने उनमा उत्साह थपिएको देखिन्छ ।

नारायणीको तीरमा आफ्नै रैथाने जिन्दगी बिताइरहेका बेला फेरि सिर्जनकर्ममा प्रोत्साहित गरिदिएकामा तमु गुरुङ कलाकार संघप्रति अमर विनयशील बनिरहेका थिए । त्यही समारोहमा लोकदोहोरी प्रतिष्ठानले उनलाई राष्ट्रिय सम्मानसहित २ लाख २० रुपैयाँको पुरस्कार पनि प्रदान गरेको थियो । आफ्नी सांगीतिक चेली शिला आलेले अमेरिकाबाट ५० हजार रुपैयाँको सहयोग र अरू व्यक्ति तथा संस्था गरेर थप ५ लाख रुपैयाँको आर्थिक सहयोग उनले पाएका थिए । लोकगीत–संगीत विधामा पुर्‍याएको योगदानका खातिर अमरले गोरखा दक्षिण बाहु चौथो पनि पाएका रहेछन् ।

लोकगीत पहिलेकै ‘प्राकृतिक’

आजकलका लोक तथा दोहोरी गीतहरू अश्लील शब्द, संकेत र हाउभाउ पाइन थालेकामा अमर विरही गुरुङले पनि ‘सरोकार’ राख्ने गरेका छन् । ‘लोक गीत–संगीत गम्भीर पनि छ, उत्ताउलो पनि देखिन्छ । सबै क्षेत्रमा यस्तो दुई पक्ष हुन्छ नै । तर, एकैसाथ खबरदारी चाहिएको अवस्था छ,’ उनी भन्छन्, ‘यो लोकसंस्कृतिको मात्रै कुरा होइन । लोक गायन राष्ट्रिय पहिचानसमेत बनेका कारण बोल्दा–गाउँदा सबैतिर स्वविवेक राख्नैपर्छ, विवेक त चाहिन्छ नै ।’

उनका बुझाइमा, पहिलेको समयमा लोक गीत–संगीत ‘संकलित’ थियो, बढी प्राकृतिक थियो । तर, अहिले आफैंले कथेर–बुनेर लोक गीत–संगीतमा लागिएको अवस्थामा भने केही ‘कृत्रिमता’ झल्कन्छ जसमा त्यति मर्म नहुन पनि सक्छ । ‘पहिलेका संगीत र शब्दमा हामीले भोगेका क्षणहरू हुन्थे, ती इतिहासझैं छन् । पहिले ३/४ रातसम्म दोहोरी गीत चलिरहन्थ्यो, भाका र शब्द अघि बढेको बढ्यै गर्थ्यो । रोदीमा सहभागी हुनैका लागि कहिले भाले त कहिले धान बेचेरै पनि जाने गर्थ्यौं,’ उनी सम्झन्छन्, ‘अहिले संख्या मात्रै बढेको छ तर, मौलिकता भने हराउँदै गएको छ । लोकगीत संरक्षण र प्रवर्द्धनका लागि अलग्गै सेन्सर बोर्ड चाहिने अवस्था छ । यो स्वनियन्त्रणको पद्धतिसमेत हो, अन्यथा गोजीमा पैसा हुनासाथ लोकगायक (वा गायक) भइहाल्ने अवस्था यहाँ बढेको छ ।’

स्कुले जीवनमै लहडी बनेर आफ्नो नाममा ‘विरही’ टाइटल राखेका अमर नेपालमा ‘अम्बर गुरुङ’ नामहरूले गीत–संगीत जगत्मा नामकाम बनाएकामा दंग पनि देखिन्छन् । पोखराका अम्बर गुरुङ पोखरेली, लमजुङका अम्बर गुरुङ तमु, राष्ट्र गान धुनका रचयिता अम्बर गुरुङ र लोकदोहोरीमा आफूसमेत गरेर नामको अनौठो संयोग बनाएकामा उनी अचम्मित पनि छन् । तर, नाम चल्यो अथवा पपुलर भइयो भन्ने भ्रममा गीत–संगीतको मूल जरो र मौलिकताबारे ख्याल राख्नु नहुने भोगाइ पनि उनले बेहोरेका रहेछन् । एकपटक अमर विरहीले रेडियोमा रेकर्ड गराएका रहेछन्—

यो मायाको रेलिमाई घर कता पर्‍यो

मैले माया लगाउने सुर गर्‍यो...’

तर, यो गीत रेडियोमा बज्न थालेपछि एक जना गन्धर्व गायकले उनीमाथि ‘बात’ लगाएका रहेछन् । ‘यो मेरो गीत हो, कसरी अर्कैले गाउन सकेको हो ?’ भन्दै आएछन् । गल्ती त भइहाल्यो, अमरले यो गीत कहींकतै सुनेर ‘संकलन’ भनेर गाएका रहेछन् । अब रेकर्डका आधारमा अमरकै गीत ठहर भए पनि लोक संकलन र भाकाका आधारमा पूर्णबहादुर गन्धर्व (गोर्खा) कै गीत थियो त्यो । अमरले यो तीतो सत्यलाई स्विकारे पनि र संकलनको साटो आफैं सिर्जना थाले ।

लोकगीत र भाकाको विशेषता के पनि हो भने यसले भिन्न भूगोल, बासिन्दा र जनजीवनको झल्को पनि शब्द वा भाकाबाट उतारिरहेको हुन्छ । अमरका एक जना धादिङे साथी थिए– रामेश्वर सापकोटा । अमरले धादिङ, गोगनपानी जोडिएको एउटा गीत र भाका तयार गरेपछि उनै रामेश्वरले यसमा लगानी गरेर रेकर्ड गराइदिएका रहेछन्, जसमा शब्द थियो—

‘हे म त हजुर धादिङे ठिटो

कसैसँग बोल्दिन नमीठो

गोगनपानीमा

के–के हुन्छ थाहा छैन जिन्दगानीमा !’

पछि गएर यो गीत यसरी पपुलर भयो कि अमर विरही गुरुङको परिचय नै ‘गोगनपानी’ झैं बन्यो । सांगीतिक ज्ञान र गहिराइ नलिईकन दोहोरी लोक गायन विधामा नाम बनाउन थालेका अमरलाई यही गीतका आधारमा धेरैले ‘धादिङे’ पनि भन्ने गरेका रहेछन् । ‘कहिलेकाहीँ जे–जति नाम बनाए पनि के भएको छ र (?) भन्ने लाग्छ,’ आफूले बितेको ३ दशकमा पाएका ३ बोराभन्दा बढी पदक, मान–सम्मानका फ्रेम र दोसल्लाको रास खोतल्दै अमरले सुनाए, ‘अहिले यही आधा कट्ठा जमिनमा बसेको घरमा चलेको घरेलु लोकल होटलका भरमा जीउज्यान पालिएको छ । बोरामा राखेको ताम्रपत्र भेला गरेर गाल्न पाए पनि केही दाम आउने थियो कि भन्ने लागिरहन्छ ।’

‘काठमाडौं सिंहदरबार

यो मनजस्तो त्यो मन भइदिए

पहिले नै हुन्थ्यो घरबार’

यसो भनिरहँदा गाउँले चुलोभित्रबाट इन्द्रमाया गुरुङ (श्रीमती अमर) बाहिर आइन् । सिसाको ग्लासमा कोदाको लोकल रस भरेर लोकगायक श्रीमान्का सामु राखिदिइन् । अनि भनिन्, ‘संसारलाई फेर्छौं भनेर हिँड्ने नेताहरूका पछि लागेपछि यस्तै हो, आज उनीहरू आफैं फेरिएर कता हो कता पुगिसकेका छन् । अमर विरहीहरू भने ‘विरही’ बनेर यता नारायणी तीरमै बसिरहेका छन् ।’

‘हे नसोच है दायाँ र बायाँ

जिन्दगानी दुई दिनको रामछाया

सलल बग्यो गण्डकी

आज सँगै, भोलि त कहाँ हो काँ

यस्तै छ हाम्रो जिन्दगी’

प्रकाशित : चैत्र ७, २०७७ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?