सोलो राइडर सभ्या भन्छिन् : हामी पनि पावरफुल छौँ

‘जीवनमा गर्न नसक्ने भन्ने केही पनि छैन,’ सभ्या भन्छिन्, ‘आँट्छु भनेर हिम्मत गरियो भने जहाँसुकै सफलता पाइन्छ, सँगसँगै खुसी र सन्तुष्टि पनि ।’
बुनु थारु

काठमाडौँ — माउन्टेन ड्युले ‘सोलो एडभेन्चर टुर’को अडिसन लिइरहेको थियो । पोखराकी सभ्या केसीले बुटवल जानका लागि घरमा कुरा राखिन् ।  ‘बाटोमा जंगली जनावरले आक्रमण गर्ला, केटी मान्छेलाई कसैले रोक्न सक्छ’ भन्दै आमाले उनलाई रोक्न चाहन्थिन् । तर सभ्याको जिद्दी र इच्छासामु आमाको केही लागेन । अन्तत: मम्मीलाई फकाइ छाडिन् । 

सोलो राइडर सभ्या भन्छिन् : हामी पनि पावरफुल छौँ

यो दुई वर्ष अगाडिको कुरा हो । २० वर्षीया सभ्या केसी त्यतिबेलासम्म मोटरसाइकल चलाउन पोख्त भने भइसकेकी थिइनन् । उनी अडिसनका लागि चितवन हुँदै बुटवल जान तयार भइन् । पहिलो एकल मोटरसाइकल यात्रा(सोलो राइड)को अनुभव साट्दै उनले सुनाइन्, ‘बाटोमा पानी परेको थियो । बाइक एक ठाउँमा बिग्रिएजस्तो पनि लाग्यो । कति ठाउँमा डर नलागेको पनि होइन, तर उत्साहले डर त कता भाग्यो कता ?’

पहिलोपटक एक्लै हिँड्दा अप्ठेरो महसुस गरे पनि सभ्याले आफैलाई नजिकबाट चिन्ने मौका भने पाइन् । ‘प्लान गरेर जानुभन्दा आफ्नै भागाइले धेरै कुरा सिकाउने रहेछ,’ उनी भन्छिन् ।

अडिसनमा उनी छनोट भइन् । छनोटपछि भोटेकोसीको ‘द लास्ट रिसोर्टमा’ बन्जी, क्यानोइङ, र्‍याफटिङ गर्ने मौका पनि पाइन् ।

सभ्याकी आमा पनि पहिल्यैदेखि बाइक चलाउँछिन् । त्यही कारण पनि उनमा बाइकप्रति रुचि बढ्यो । एसएलसी दिएपछि बाइक सिकिन् र लाइसेन्स निकालिन् ।

दुई वर्षदेखि बाइक चलाउँदै एक्लै घुम्न थालेकी उनलाई घरपरिवारले पनि साथ दिएका छन् । सभ्या जब सडकमा ड्युक २०० सीसीको बाइक कुदाउँछिन्, मान्छेहरु फर्कीफर्की हेर्न थाल्छन् ।

न्यु समिट कलेजमा बीएससी कम्प्युटर विज्ञान तथा सूचना प्रविधि(सीएसआईटी) दोस्रो वर्षमा अध्ययनरत सभ्या सोलो राइड गर्न मन पराउँछिन् । बाइकमा एक्लै सातै प्रदेश घुमेकी उनलाई अब हिमाली भेग जाने चाहना छ ।

सभ्या आफैलाई चुनौती दिएर काम गर्न रुचाउँछिन् । भन्छिन्, ‘जे सोच्यो त्यो पूरा नगरेसम्म मेरो मनले मान्दैन ।’

कतै यात्रामा निस्कनुपर्दा उनी आमालाई आफ्ना योजना सुनाउने गर्छिन् । त्यसअनुसार चिनजानको होटल खोज्ने गर्छिन् । पोखरा–बिर्तामोड सोलो राइड जाने योजना सुनाउँदा आमाले ‘थकाइ लागे इटहरी वा हेटौंडामा बास बस्नू तर जोखिम लिएर नहिँड्नू’ भनिन् । तर उनलाई ‘ननस्टप राइडिङ’ को सोचले रोमाञ्चित बनाइसकेको थियो ।

पुसको महिना । बिहान ५ बजे उनी तयार भइन् । ‘भाइजर लाउँदा कुहिरोजस्तै ड्याम्म छोपिने, हुस्सुको चिसो छिटा पर्ने,’ उनले भनिन्, ‘मनमनै बोल्दै गएँ ।’

त्यति लामो यात्रामा जाँदा आफूलाई धेरै समय दिन पाएको र बढी बुझ्ने मौका पाएको उनले बताइन् । बाटोमा विशेषगरी जंगल क्षेत्रमा उनले बाइकलाई कम ठाउँमा रोकिन् । तर प्यास लाग्दा पानी पिउन त रोक्नैपर्थ्यो ।

कतै भेटिएका मान्छेले ‘बहिनी धेरैबेर नरोक्नू, हिँडिहाल्नू’ भनेर सुझाव दिन्थे ।

उनी राति ९ बजे बिर्तामोड पुगिन् । त्यही दिनमा हेटौंडातिर जाँदै गर्दा बाटोमा उनलाई महिनावारी भयो । ‘ड्युक बाइकमा ढाड त दुखाउँछ नै अझ पिरियड्सले झन् गाह्रो बनायो,’ सभ्या भन्छिन्, ‘आखिर च्यालेन्ज जो गरेको थिएँ ।’

जंगलमा अपरिचित युवकले रोक्दा

लकडाउनका बेला सभ्या पोखराको कुभिन्डेस्थित पुर्ख्याैली घरमा बसिरहेकी थिइन् । त्यतिबेला एउटा मोटरसाइकलको प्रोमोको सुटिङ पनि चलिरहेको थियो । उनी हरेक दिन बिहान ९ बजे घरबाट हिँड्ने गर्थिन् र बेलुका ६ बजे फर्किन्थिन् । बजारबाट उनको घर पुग्न कम्तीमा ४५ मिनेट लाग्छ ।

एक दिन उनी घर फर्किरहेकी थिइन् । अन्दाजी २३–२४ वर्ष जतिको केटाले बीच जंगलमा बाटो रोक्यो । उसले आफू फलोअर रहेको र आज घरै जान नदिने बतायो । त्यतिबेला साँझको ७ बजिसकेको थियो ।

‘आइलागे जाइलाग्छु भन्ने मनमा त थियो तर खोई त्यतिबेला के भयो,’ उनले स्मरण गरिन्, ‘त्यो दिन मेरो मुटुले नै ठाउँ छोड्यो । म डरले काँपिरहेकी थिएँ ।’

नेटवर्क राम्रो नटिपेकाले आमा र साथीहरूलाई फोन लागिरहेको थिएन । बल्लबल्ल एकजना साथीलाई फोन लाग्यो । उनले करिब १५ मिनेटपछि आफ्ना दाइहरुलाई पठाइन् । उनीहरु आएको देखेर केटो भाग्यो । ‘केही गर्ला कि भनेर हातमा हेल्मेट बोकेकी थिएँ तर मनमा भने एकदम डर थियो,’ उनले भनिन् ।

त्यो घटनापछि उनले एउटै बाटो एउटै समय नहिँड्ने प्रण गरिन् ।

उनले यसबाहेक अहिलेसम्म अरु जोखिमपूर्ण घटना भोगेकी छैनन् । जंगली जनावरसँग पनि जम्काभेट नभएको उनले सुनाइन् । त्यसो त उनी सधैं ‘सेफ्टी’ अपनाएर नै यात्रामा निस्किन्छिन् । सुरक्षाका लागि उनको साथमा चक्कु भने कहिल्यै छुट्दैन । अहिलेसम्म मोटरसाइकल यात्रामा उनलाई ठूलो चोट भने लागेको छैन ।

‘हामी पनि पावरफुल छौं’

उनी आफूलाई नेपालको पहिलो महिला मोटो भ्लगर भन्न रुचाउँछिन् । विभिन्न ठाउँ घुम्दा त्यहाँको सांस्कृतिक तथा सामाजिक जनजीवन बुझ्ने र बुझाउने मौका प्राप्त हुने उनी बताउँछिन् । ‘म आफू मात्र होइन अरुले पनि भिडियो हेरेर घुमून् भन्ने चाहन्छु । कुनै ठाउँ जाँदाको बाटो पनि देखाइरहेको हुन्छु,’ उनी भन्छिन् ।

बाटोमा धेरैजसोले चिनेर सभ्यालाई बोलाउँछन्, कतिपय त सेल्फी नै खिचाउन आइपुग्छन् ।

उनको युट्युब च्यानल छ– सभ्या राइड्स । १ लाख ९० हजार सब्स्क्राइबर रहेको च्यालनमा उनी भ्लग अपलोड गर्छिन् । आफूले घुमेको ठाउँबारे जानकारी गराउँदै गीत गुनगुनाउँदै बाइक कुदाउँछिन् ।

युवा पुस्ता उनका फ्यान हुन् । उनलाई पछ्याउनेहरू भारतीय पनि छन् । युट्युबमा कतिले उनलाई साहसी भन्दै प्रशंसा गरेका छन् । कतिपयले भने ‘प्यारी केटी’ भनेर कमेन्ट गरेको देखिन्छ भने कतिपयले राति नहिँड्न पनि सुझाव दिएका छन् । ‘साथीभाइ तथा युट्युबमा मेरा फ्यानहरुले एकदम राम्रो मान्नुहुन्छ । यसले मलाई थप ऊर्जा मिल्छ,’ उनी भन्छिन् ।

अभिभावकले उनको इच्छा पूरा गरिदिएका छन् । सबै काम गर तर जोखिम लिएर नगर भन्ने अर्तीलाई उनी फलो गरिरहेकी छिन् । ‘मलाई केही कुरामा पनि रोक्नु हुन्न । आफ्नो जीवनको लक्ष्य के छ त्यो पूरा गर्नुपर्छ भनेर प्रोत्साहन दिइरहनुहुन्छ,’ उनी भन्छिन्, ‘त्यसले मलाई अझ अघि बढ्न हौसला दिने गरेको छ ।’

उनले केही महिनाअगाडि पर्वतको कुस्मा पुगेर बन्जी जम्प पनि गरिन् । उनलाई अब स्काई डाइभिङ गर्ने इच्छा छ । उनी बाइक स्टन्ट पनि गर्छिन् । ‘जीवनमा गर्न नसक्ने भन्ने चिज केही पनि छैन,’ उनी भन्छिन्, ‘दत्तचित्त भएर हिँड्यो भने सबै चिज पूरा गर्न सकिन्छ । हामी पनि पावरफुल छौं । आँट्छु भनेर हिम्मत गरियो भने जहाँसुकै सफलता पाइन्छ, सँगसँगै खुसी र सन्तुष्टि पनि ।’

प्रकाशित : फाल्गुन २९, २०७७ १४:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?