कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अरू पछि हटेका बेला...

कास्कीमा एम्बुलेन्स सञ्चालन गर्ने ५ दर्जन संस्था छन् तर कोरोना संक्रमितको शव उठाउन कोही तयार भएनन् । त्यही बेला अमजद मियाँले ग२च ७००२  नम्बरको एम्बुलेन्सका साथ ‘इन्ट्री’ मारे ।
बीचमा आफैं संक्रमित भएर आइसोलेसनमा बसेबाहेक अमजद संक्रमित र संक्रमितको शव ओसारपसारमा सधैं हाजिर भए
दीपक परियार

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा कोरोना संक्रमणबाट मृत्यु भएका ५८ वर्षीय पुरुषको शवले १८ घण्टादेखि सद्गत पर्खिरहेको थियो । शव उठाउन एम्बुलेन्स तयार थिए न व्यवस्थापन गर्ने ठाउँकै टुंगो थियो । जेठ २५ मा पोखरामा कोरोनाबाट ज्यान गुमाएका पहिलो व्यक्तिको शव बोक्न कोही एम्बुलेन्स चालक तयार भएनन् । यही अन्योलका बीच ग२च ७००२ नम्बरको एम्बुलेन्स लिएर अमजद मियाँले ‘इन्ट्री’ मारे ।

अरू पछि हटेका बेला...

पोखरा–१३ को मियाँपाटनमा छ, मुस्लिम धार्मिक संरक्षण सेवा समिति । यही समितिको एम्बुलेन्स अमजदले ५ वर्षदेखि चलाइरहेका छन् । उनले ताइवानमा ३ वर्ष, साउदीमा २ वर्ष, दुबईमा २ वर्ष र कतारमा १८ वर्ष सवारी चलाए । २०७२ मा बिदामा आउँदा समितिले एम्बुलेन्स चलाउन प्रस्ताव गर्‍यो । भारतीय दूतावासले सहयोग गरेको एम्बुलेन्स चलाउन समितिलाई उनीजस्तै अनुभवी मान्छेको खाँचो थियो । उनलाई लाग्यो एम्बुलेन्स चलाउनु संवेदनशील छ र यो सेवामूलक काम पनि हो । एम्बुलेन्स दुरुपयोग हुँदा संस्थाकै नाम खराब हुन्छ । ‘पैसा मात्रै सबै कुरा होइन, सेवा पनि दिनुपर्ने भएकाले तपाईंले हेर्दिनुपर्‍यो भनेपछि विदेशको रोजगारी छाडेर यहीं क्षेत्रमा लागें,’ ४८ वर्षीय उनले भने ।

पोखरामा कोरोना संक्रमण खासै फैलिएको थिएन । नाका खुकुलो भएपछि भारतबाट धमाधम मानिस भित्रिन थाले । संक्रमितको संख्या बढ्दै गयो । त्यतिबेला कोरोना के हो, कस्तो हो, लागेपछि मरिहालिन्छ कि भन्ने त्रास जनमानसमा थियो । सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोरोना विशेष अस्पताल घोषणा गरेको थियो ।

अस्पतालमा आइसोलेसन वार्ड छुट्याइएको थियो । आइसोलेसनमा स्याङ्जाका ५८ वर्षीय पुरुष कोरोनासँग जुधिरहेका थिए । मधुमेह, उच्च रक्तचाप र मुटुरोगीसमेत रहेका ती पुरुषले जेठ २५ को मध्यरातमा प्राण त्यागे । भोलिपल्ट पोखरा महानगरपालिकाले वडा नं ११ मा पर्ने सेती नदी किनारको रिठ्ठाघाटमा शव व्यवस्थापन गर्ने निर्णय गर्‍यो । आफ्नो घाटमा शव गाड्न नदिन स्थानीयको अवरोध छँदै थियो, महानगरलाई शववाहन खोज्न पनि सकस पर्‍यो । तत्कालीन प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, महानगर प्रमुख, प्रदेश स्वास्थ्य निर्देशनालयसमेतले शव बोक्ने एम्बुलेन्सको खोजी गरे । कोरोनाको त्रासले कोही तयार भएनन् ।

दिउँसो २ बजेको हुँदो हो, एम्बुलेन्स चालक समितिको बैठक बसिरहेको थियो । चालकको पनि परिवार हुने र शव बोक्दा केही भए जिम्मेवारी कसले लिने भन्ने कुरा उठिरहेको थियो । शव बोक्न कसैले सहमति जनाएनन् । बैठकमै थिए अमजद । उनको फोनको घण्टी बज्यो । फोन कास्कीका तत्कालीन प्रहरी प्रमुख दानबहादुर कार्कीले गरेका थिए । उनले अमजदलाई कोरोना संक्रमित पुरुषको शव बोकिदिन आग्रह गरे । अमजदले सोचे, ‘राज्य संकटमा छ । मैले बोकिदिएर सहज हुन्छ भने बोक्छु ।’ उनी अस्पताल गए । पीपीई सेट लगाएर शव बोक्न ठिक्क परे ।

जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार कास्कीमा एम्बुलेन्स सञ्चालन गर्ने ६३ वटा संस्था छन् । ३ वटा शव वाहन छन् । जिल्लाका सारा संयन्त्र र प्रदेशको संयन्त्रसमेत लागिपर्दा एम्बुलेन्स चालक फेला परेका थिएनन् । शव व्यवस्थापन गर्न सेनाको टोली तयार थियो । एम्बुलेन्स चालक नभेटिँदा टोली ‘मुभ’ हुन सकेको थिएन ।

अमजदले अस्पताल पुग्दा सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली देखे । प्रशासन, स्वास्थ्य, महानगरका प्रतिनिधिलाई त्यहीं भेटे । ‘एक हिसाबले त्यो एउटा सौभाग्य पनि रहेछ,’ त्यतिबेलाको क्षण सम्झँदै उनले भने, ‘राज्यका लागि ठूलै काम गरेको रहेछु जस्तो महसुस भयो । त्यो काम गर्दा आत्मसन्तुष्टि पनि मिल्यो ।’ सुरुमा भने डर लागेको उनले छिपाएनन् । ‘यसको औषधि छैन, उपचार छैन, सरेपछि मान्छे मर्दोरहेछ भन्ने प्रत्यक्ष देखेको थिएँ,’ उनले भने, ‘छुँदा, नजिक जाँदा सर्छ भनेर डराएका थियौं । तर पनि यस्तो संकटका बेला देशकै काम हो भनेर अघि सरें । मृतकको परिवार देखेर पनि माया लाग्यो ।’

स्वास्थ्यकर्मीले पीपीई लगाएपछि क्वारेन्टाइन बस्नु नपर्ने बताएका थिए । उनले आफ्नो परिवार सम्झिए । पछि छरछिमेकमा समस्या आउँला कि भन्ने सोचे । वडा कार्यालयले उनलाई क्वारेन्टाइन बस्ने व्यवस्था मिलायो । १० दिन होटल क्वारेन्टाइनमा बसे । कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट लिएर घर फर्किए । क्वारेन्टाइनमा बस्दा साथीभाइ भेट्न पुग्थे । फोन गर्थे । ‘महान् काम गर्नुभयो’ भनेर हौसला दिन्थे । चिन्ता मिसिएको फोन पनि आउँथ्यो । ‘मैले सही काम गरेर आएको छु, पुण्यको काम हो भन्ने सोचें,’ उनले भने, ‘लागिहाल्छ भन्ने दिमागमा कत्ति पनि आएन ।’

अमजदले गरेको कामको प्रशंसा गर्दै स्याङ्जा, बागलुङ, म्याग्दी, तनहुँबाट बधाईका फोन आए । विभिन्न संघसंस्थाले धन्यवाद दिए । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एसपी कार्कीमार्फत अमजदलाई भेट्न चाहेको सन्देश पुर्‍याए । साथीभाइ मिलाएर एक दिन जानुपर्ला भन्दाभन्दै उनी मुख्यमन्त्रीलाई भेट्न जान पाएका छैनन् ।

क्वारेन्टाइनबाट निस्किएपछि उनले कोरोना संक्रमितलाई निःशुल्क आइसोलेसनसम्म पुर्‍याउने काम गरे । जिल्ला स्वास्थ्य कार्यालयको आग्रहमा एक महिनाजति उनले संक्रमितलाई बोके । कार्यक्षेत्रमा खटिँदाखटिँदै उनी कोरोनाबाट पर हुन सकेनन् । असोजमा उनी स्वयं संक्रमित भए । कसरी सर्‍यो भन्ने उनलाई पत्तो छैन । शरीरमा अप्ठ्यारो महसुस हुने, रुघा लाग्ने भएपछि उनले स्वाब परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको थियो । एक महिना घरमै आइसोलेसनमा बसे । चौथोपल्टको परीक्षणमा बल्ल नेगेटिभ आयो । उनी आइसोलेसनमा छँदा एम्बुलेन्स सेवा रोकिएन । अर्कै चालकलाई जिम्मा दिए ।

कात्तिकमा कोरोना संक्रमितको शव बोक्ने आग्रहसहितको अर्को फोन उनलाई आयो । यसपल्टको फोन तनहुँको भिमादबाट थियो । भिमाद नजिकैको गाउँमा मुस्लिम समुदायकै व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । चितवनमा परीक्षण गराउँदा पोजिटिभ देखिएपछि घरमै आइसोलेसनमा बसेका व्यक्तिको मृत्यु भएको थियो । शव बोक्न एम्बुलेन्स चालक तयार नहुँदा भिमाद नगरपालिकाले उनलाई सम्झिएको थियो । उनी पुगेर घाटसम्म शव ल्याए । कोरोनाकै डरले एम्बुलेन्स चालकले शव बोक्न नमानेको उनी बताउँछन् । ‘जटिल काम भनेर पुष्टि भएपछि केही भइहाल्यो भने जिम्मा कसले लिने भन्ने चिन्ता पनि ठीकै हो,’ उनले भने, ‘सरकारले काम गर, केही भयो भने हामी छौं भन्दिनुपर्थ्यो । पुण्य सम्झेर गरे पनि ठीकै छ । सबैको सोच एकै हुँदैन ।’

मुस्लिमसँग सम्बन्धित संस्थाले एम्बुलेन्स चलाए पनि उनले सबै थरी अस्पताल, घर, घटनास्थल पुगेर सेवा दिइरहेका छन् । राति १२ बजे होस् वा बिहान ४ बजे, फोनको घण्टी बज्नेबित्तिकै उनी कुदिहाल्छन् । सेवा दिने क्रममा भाडा तिर्नै नसक्ने बिरामी उनले देखेका छन् । उपचार गराइरहेको अस्पताल महँगो भएपछि अर्को अस्पताल जाँदै गरेका बोकेका छन् । ‘पैसा बढी लाग्ने अस्पतालबाट कम पैसा लाग्ने अस्पतालमा मान्छे गएको देख्दा माया लाग्छ,’ उनी भन्छन्, ‘पैसा नभएरै त होला, सस्तोमा जान लागेको भनेर भाडा लिन मन लाग्दैन ।’ हजारमा १–२ जना हुन्छन्, आरोप लगाउने, तुच्छ शब्दले गाली गर्ने । कहिलेकाहीँ समयमा आइनपुग्ने भन्दै उनले सेवाग्राहीको गाली पनि खान्छन् । भन्छन्, ‘बिरामीकै चिन्ताले होला गाली गरेको भन्ने सम्झिएर चित्त बुझाउँछु ।’

मुस्लिम समुदायको बाक्लो बस्ती मियाँपाटनमा उनको संयुक्त परिवार छ । बुबा, आमा, ५ दाजुभाइ, २ दिदीबहिनीसहित २८ जनाको परिवार एकै घरमा छ । उनी लोक कवि अलि मियाँका नाति हुन् । बुबा हनिफ मियाँ ‘लोक कवि अलि मियाँ वाङ्मय प्रतिष्ठान’ को अध्यक्षको भूमिकामा लोक संस्कृति जगेर्नामा सक्रिय छन् । उनी स्वयं मियाँपाटन टोल विकास संस्थाको अध्यक्षका रूपमा समाजसेवामा सक्रिय छन् । हजुरबुबा र बुबाबाटै प्रेरणा मिलेर वैदेशिक रोजगारी छाडेर स्वदेशमै बसेको उनी सुनाउँछन् । ‘सामाजिक काम कसैलाई देखाउन गर्ने भन्दा पनि दिलैदेखि आउनुपर्दो रहेछ,’ उनले भने, ‘आजकल बानी परिसकेको छ । आपत्विपत्मा परेकालाई सहयोग गर्दा आनन्द महसुस हुन्छ, राति आनन्दको निद्रा लाग्छ ।’ उनी पहिलो शव व्यवस्थापन गर्दाको दिन कहिल्यै भुल्दैनन् । शव प्लास्टिकले पोको पारिएको छ । पीपीई लगाएका सुरक्षाकर्मीले वरिपरि सेनिटाइजर छरिरहेका थिए । मृतकका श्रीमती र छोरी शवभन्दा परै बसेर आँसु खसाइरहेका थिए ।

स्थानीयको अवरोधका कारण उनले प्रहरीको एस्कर्टिङमा रिट्ठाघाटसम्म शव पुर्‍याए । गण्डकीको तिरमा साँझपख एक्स्काभेटरले खाल्डो खनेर ठिक्क पारेको थियो । सेनाले एम्बुलेन्सबाट शव निकालेर खाल्डोमा फाल्यो । उनले आफूले लगाएको पीपीई पनि त्यहीं खाल्डोमा फाल्नुपर्ने भयो । पीपीई फाल्न जाँदा शव देखेर उनको मुटुमा गाँठो पर्‍यो । भोलि आफ्नो पनि त्यस्तै अवस्था आउने त होइन भन्ने सम्झिएर उनको मन रोयो । अल्लाहसँग भित्री आत्माले दुआ मागे, ‘यस्तो कसैलाई नहोस् ।’

प्रकाशित : फाल्गुन ७, २०७७ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?