१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

नाकामा  ‘मोटेग्याङ’ 

भारत र देशका विभिन्न ठाउँबाट आएका नागरिकको भोकप्याससँग स्थानीयदेखि केन्द्र सरकार बेखबरजस्तै थिए । यही बेला ‘मोटेग्याङ नेपाल’ का सदस्यहरु सुब्बाकुना नाकामा पुगेर अलपत्र परेकालाई खाना–पानी र बासको व्यवस्था गर्नदेखि गन्तव्यमा पुर्‍याउनसम्म खटिए ।
चाँदनी कठायत

एउटै घरमा बस्ने परिवारका सदस्यहरू नै नजिक हुन डराइरहेका बेला भारतबाट आएका व्यक्तिसँग नजिक हुने कसको हिम्मत ? चैत ११ देखि सरकारले घोषणा गरेको लकडाउनका कारण उनीहरू भोकभोकै पैदल हिँडेर गृहप्रदेश त पुग्थे, तर सुब्बाकुना नाकामा झन् बिजोगको सामना गर्नुपर्थ्यो । भारत र देशका विभिन्न ठाउँबाट आएका नागरिकको भोकप्याससँग स्थानीयदेखि केन्द्र सरकार बेखबरजस्तै थिए ।

नाकामा  ‘मोटेग्याङ’ 

यस्तैमा सामाजिक सञ्जालमा सक्रिय युवाको समूह ‘मोटेग्याङ नेपाल’ भर्चुअल दुनियाँबाट सडकमा आइपुग्यो । युवाको टोली सुब्बाकुना नाकामा पुगेर अलपत्र परेकालाई खाना–पानी र बासको व्यवस्था गर्नदेखि गन्तव्यमा पुर्‍याउनसम्म सारथि बन्यो ।

‘हामीसँग पैसा थिएन तर भोकभोकै बाटोमा सुतेका मान्छेहरूको पीडाले सामाजिक सञ्जालमै सीमित पारेन,’ मोटेग्याङ नेपालका एड्मिन कुमारशमशेर थापाले भने, ‘विभिन्न संघसंस्था र निकायसँग समन्वय गरेर अलपत्र परेकालाई बास बस्नका लागि टेन्ट निर्माणदेखि फ्री–वाइफाईको व्यवस्था गर्‍यौं ।’ नाकामा सहाराविहीन भएकालाई खाना, पिउने पानी, बत्ती, धारा, शौचालय, डस्टबिन, मास्क, सेनिटाइजरसमेत जुटाउन पहल गरेको उनले सम्झिए ।

लकडाउनको सुरु चरणमा उक्त समूहका सदस्यहरू घरमै बसेर सामाजिक सञ्जालमा सक्रिय भए पनि जेठदेखि सडकमा निस्किएका थिए । ग्याङले सुब्बाकुना नाकामा अलपत्र परेकालाई मात्र नभई नाकामा अग्रपंक्तिमा रहेर खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई पीपीई सेट, मास्क, सेनिटाइजरलगायत स्वास्थ्य सामग्री पनि जुटाएर सहयोग गर्‍यो । युवाको समूहले लकडाउन अवधिमा सामाजिक सञ्जालमा स्टाटस पोस्ट गर्नुका साथै सरकारी तथा निजी संघसंस्थाका प्रतिनिधिलाई भेटेर सहयोग गर्न आग्रह गरेको थियो ।

उद्योग वाणिज्य संघ, च्याम्बर अफ कमर्स, वीरेन्द्रनगर नगरपालिका, रेडक्रस, सुर्खेत उपत्यका खानेपानी कार्यालयलगायत निकायबाट विभिन्न सहयोग भएको मोटेग्याङका सदस्य अनिल ढकाल बताउँछन् । ‘उहाँहरू पनि अलपत्र परेकालाई सहयोग गर्न चाहनुहुन्थ्यो तर कोरोनाको डरले आफैं त्यहाँ जान सक्नुभएको थिएन,’ उनले भने, ‘एक किसिमले हामी सहयोगी मन र अलपत्र परेका व्यक्तिलाई जोड्ने पुल पनि बन्यौं ।’

भर्चुअल र फिजिकल दुइटै माध्यमबाट सक्रिय अभियानमा करिब एक दर्जन युवा परिचालन भएका थिए । उनीहरू राहत पुर्‍याउनका लागि मोटरसाइकल र स्कुटर प्रयोग गर्थे । सामाजिक सञ्जालबाट अलपत्र परेका व्यक्तिहरूका बारेमा पोस्ट गरेर सहयोग जुटाउन सक्रिय हुन्थे । समूहका केही युवा त पैदलै सुब्बाकुना र अलपत्र परेका व्यक्तिसम्म पुग्थे । उनीहरू विभिन्न ठाउँमा समन्वय गरेर चाउचाउ, बिस्कुट, पानी पुर्‍याउँथे ।

ढकालका अनुसार कुनै दिन त १ हजार ५ सय जनासम्मलाई खानपानको व्यवस्था गरी गन्तव्यमा पठाउने गरिएको थियो । सुर्खेतमा सरकारी तथा गैरसरकारी निकायसँग समन्वय गरी खाना–पानी पुर्‍याउने र सम्बन्धित स्थानीय तहसँग समन्वय गरी अलपत्र परेका नागरिकलाई पठाउने गरिएको उनको भनाइ छ । ‘हामीले सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिलाई फोन गरेर आफ्ना नागरिकलाई लैजान अनुरोध गर्‍यौं,’ उनी सम्झिन्छन्, ‘तर कतिपय स्थानीय तहले आफ्नै नागरिकप्रति बेवास्ता गरे । यद्यपि हामीले आफ्नै पहलमा गन्तव्यमा पठाउने काम गर्‍यौं ।’

लकडाउनको समयमा कति व्यक्तिलाई राहत र उद्धार गरियो भन्ने यकिन तथ्यांक मोटेग्याङसँग छैन न त कति रकम बराबरको सहयोग गरियो भन्ने हिसाब नै । संकटका बेला हिसाबकिताब अपडेट गर्नेभन्दा पनि जोखिममा परेका व्यक्तिको ज्यान कसरी जोगाउने भन्नमै गएको ढकाल बताउँछन् ।

कोरोना भाइरसको महामारीपछि भारतबाट फर्किएकाहरूमा मनोवैज्ञानिक डर–त्रास पनि उत्तिकै थियो । सहयोग गर्न चाहनेहरू उनीहरूसँग जान डराउँथे । अरू त टाढाको कुरा, सरकारसमेत आफैंले गरेको राहतको निर्णय कार्यान्वयन गर्न सकिरहेको थिएन । यस्तो अवस्थामा उक्त समूहले सामूहिक काउन्सिलिङ गरेर मनोत्रास हटाउने प्रयास गरेको थियो । कोरोनाको डरले हतास बनेकालाई स्वास्थ्य मापदण्ड अपनाएमा बच्न सकिन्छ भनेर सामूहिक काउन्सिलिङ गरिएको ढकालको भनाइ छ । युनिसेफले समेत उक्त कार्यको प्रशंसा गर्दै इन्स्टाग्राममा स्टाटस पोस्ट गरेको थियो ।

मोटेग्याङका सदस्यले करिब ४ महिनासम्म अलपत्र परेका नागरिकलाई खाना खुवाउनेदेखि अन्य व्यवस्थापनको काम गरे तर परिवार र समाजमा भने उनीहरू आफैं पीडित हुनुपर्‍यो । ‘भारतबाट आएकासँग नजिक हुन्छन् भनेर हामीसँग आफन्त नै डराउँथे,’ मोटेग्याङका सदस्य राज देवकोटा भन्छन्, ‘१५/२० दिनसम्म त हामी सबै होटलमै बस्यौं, घरमा गएनौं ।’ कहिले त नाकामै पहरा दिएर बस्नुपरेको उनले बताए ।

सुरुवातमा समूहका सदस्यहरूलाई सुब्बाकुना नाकामा आवतजावत गर्न पनि कठिन थियो । प्रहरी प्रशासनले समेत स्वास्थ्य सुरक्षाको कारण देखाउँदै सचेत गराएको थियो तर मोटेग्याङले अलपत्र परेका व्यक्तिलाई गरेको सहयोगले सुरक्षाकर्मीको मन जित्यो । यसले गर्दा काम गर्ने क्रममा प्रहरीसँग सहकार्य भयो । ‘हामीले जोखिमका बेला फिल्डमा प्रहरीसरह जुटेर काम गर्‍यौं, त्यसपछि त हामीलाई सामुदायिक प्रहरीको ब्याच नै दिइयो,’ ढकालले भने, ‘जिल्लाको प्रहरी नेतृत्वले हामीलाई बर्दीबिनाको प्रहरी भनेर प्रशंसा गर्‍यो ।’

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल रायमाझीले लकडाउन अवधिमा ‘होल्डिङ सेन्टर’ का रूपमा रहेको सुब्बाकुनामा मोटेग्याङ नेपालले प्रशंसनीय काम गरेको बताए । युवाले सक्रिय रूपमा काम गरेकै कारण सामुदायिक प्रहरी साझेदारीअन्तर्गत रहेर ब्याच वितरण गरिएको उनको भनाइ छ । ‘मोटेग्याङले अलपत्र नागरिकलाई मात्रै नभई पुलिसलाई पनि सहयोग गर्‍यो,’ उनले भने, ‘हामी रातदिन ड्युटीमा खटिनुपरेको अवस्थामा स्वास्थ्य सामग्रीसँगै खाना, नास्ताको समेत व्यवस्था गरिदिएको थियो ।’ युवाको यस्तो कार्यले समाज परिवर्तनमा सहयोग पुग्ने उनले बताए ।

सामाजिक यात्रा

सामाजिक कार्य गर्ने उद्देश्यका साथ २०७३ मंसिर १७ गते ३ जना सदस्यबाट मोटेग्याङ नेपालको फेसबुक पेज खोलिएको थियो । यसअघि पनि विभिन्न सामाजिक कार्यहरू गर्दै आए पनि आधिकारिक रूपमा भने पेज खोलेपछि मात्रै युवाले सुरु गरे । मोटेग्याङ नेपालका एड्मिन थापाका अनुसार ‘सहयोगविहीनका सहयोगी, आवाजविहीनका आवाज र निराशावादीका लागि आस’ बन्ने उद्देश्यका साथ मोटेग्याङको फेसबुक पेज खोलिएको हो । सुरुमा मोटेग्याङ नामबाट फेसबुक पेज खोल्दा केहीले नकारात्मक टिप्पणी पनि गरेको उनी बताउँछन् । ‘ग्याङ भनेर झट्ट सुन्दा गुन्डागर्दी गर्ने समूह हो कि भनेर खिसी गर्थे,’ उनले भने, ‘तर हामीले नामलाई लिएर खिल्ली उडाउनेका अगाडि सामाजिक कार्य गरेर देखाएका छौं ।’

फेसबुक पेजबाटै स्टाटस पोस्ट गरी मोटेग्याङले आर्थिक अवस्था कमजोर भई उपचार गर्न नसकेका, पढ्न नसकेकाका लागि पैसा संकलन गरी सहयोग गर्छ । विभिन्न घटनाको जानकारी दिने, रगत अभाव भएकालाई स्टाटस पोस्ट गरेर रक्तदाता जुटाउने काम गरिएको ढकाल बताउँछन् । सरकारले गरेका गलत कामहरूविरुद्ध शान्तिपूर्ण प्रदर्शन गर्ने, बलात्कारीविरुद्ध एकजुट भएर आवाज उठाउने काम पनि उक्त ग्याङले गरिरहेको छ ।

मोटेग्याङको सामाजिक अभियानमा नेपालसहित अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया, ओमनलगायत देशबाट पनि सहयोग जुट्ने गरेको छ । मोटेग्याङको फेसबुक पेज, ग्रुप, इन्स्टाग्राम, टिकटक, युट्युब च्यानल, वेबसाइटमा गरी करिब ७० हजार सदस्य रहेका छन् । फेसबुक पेजबाटै हालसम्म विभिन्न क्षेत्रमा १५ लाखभन्दा बढी रकम संकलन गरी सहयोग गरिसकेको सदस्य ढकाल बताउँछन् ।

प्रकाशित : फाल्गुन ७, २०७७ १२:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?