कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

जसले भोक मेटाए

कोरोना संक्रमण फैलिने भन्दै सरकारले देशव्यापी लकडाउन थालेपछि दैनन्दिनको ज्याला–मजदुरी गरेर पेट भर्नेहरुको बिचल्ली सुरू भयो । ती भुइँमान्छेप्रति राज्य र दलहरुले असहिष्णु व्यवहार देखाए तर विभिन्न मनकारी व्यक्ति र समूह उनीहरुलाई खाना खुवाउन अग्रसर भए ।
निःशुल्क खाना खुवाउन जुट्दा बब्लुसहितका साथीहरूले अनेकन अप्ठ्यारा, हैरानी र सास्ती झेले । त्योभन्दा पनि उनीहरूले मानिस किन सडकमै आएर खान बाध्य छन् भन्ने कुरा बुझे ।
जनकराज सापकोटा

कोरोना संक्रमणको जोखिम उच्च रहेका बेला रत्नपार्कमा दिनदिनै सयौंलाई खाना खुवाउने दिन हन्ड्रेड्स ग्रुपका बब्लु गुप्तालाई एउटै चिन्ता हुन्थ्यो– भोलि कसरी खाद्यान्न जोहो गर्ने ? पुरानो परिचय नभए पनि एकदिन डिल्लीबजारका किराना पसले किशोर महर्जनले उनलाई ६० हजार रुपैयाँको खाद्यान्न उधारो पत्याए ।

जसले भोक मेटाए

किशोरले भने, ‘त्यतिका मान्छे भोकै छन्, लगेर खुवाऊ । सके तिर नसके भैगो ।’ मनकारी किशोरले मन फुकाएपछि हन्ड्रेड्स ग्रुपलाई कोरोना प्रभावितलाई कैयौं दिनसम्म खाना खुवाउन स्रोत अभाव भएन । अर्को दिन पनि त्यस्तै भयो । सधैं रत्नपार्कमा खाना खान आउने नेपाल प्रहरीका एक कर्मचारी थिए । उनले खान बस्ने बेला बब्लुलाई बोलाए । गोजीबाट सुटुक्क २५ हजार रुपैयाँ दिए र भने, ‘हिजोसम्म म भोकै थिएँ, अब भोलिबाट अरू भोकै नरहुन् ।’ बब्लुले थाहा पाए– परिवारबाट परित्यक्त ती मानिसले पछि आफन्तीहरूबाट सापट मागेर त्यतिका सहयोग दिएका रहेछन् ।

कोरोना संक्रमण फैलिने भन्दै सरकारले देशव्यापी लकडाउन थालेपछि दैनन्दिनको ज्याला–मजदुरी गरेर पेट भर्नेहरूमा संक्रमणबाट त बचौंला तर भोकबाट कसरी बच्ने भन्ने साझा प्रश्न उब्जिएको थियो । कलेज पढ्दा सय जना तन्नेरी साथीभाइ मिलेर खोलेको हन्ड्रेड्स ग्रुपका बब्लुलाई पनि यस्तै प्रश्नले घोच्यो । नघोचोस् पनि किन ? उनको समूह काठमाडौंमा निःशुल्क रगत संकलन र सार्वजनिक स्थानमा पुराना कपडाको निःशुल्क बैंक स्थापना गरेर समुदायको विपन्न र गरिखाने वर्गसँग जोडिएको थियो ।

गरिखाने वर्गका मानिस र सडकमा आश्रितहरूले कसरी पेट भरेका होलान् भन्ने चिन्ताले हन्ड्रेड्स ग्रुपले २०७६ चैत १४ देखि काठमाडौंका विभिन्न ठाउँमा निःशुल्क खाना खुवाउन सुरु गर्‍यो । बब्लुले सुनाए, ‘सुरुमा हामी ८ जना र मैले गरी १६ हजार जम्मा पारेर, एउटा संस्थाबाट भाँडाकुँडा मागेर खाना खुवाउन थाल्यौं ।’ बब्लुको समूहले निःशुल्क भोजन सुरु गरेको अहिले साढे १० महिना नाघिसक्यो । निःशुल्क खाना खुवाउन जुट्दा बब्लुसहितका साथीहरूले अनेकन अप्ठ्यारा, हैरानी र सास्ती झेले । त्योभन्दा पनि उनीहरूले मानिस किन सडकमै आएर खान बाध्य छन् भन्ने बुझे ।

बब्लुको समूहसँग जमलछेउमा खाना खुवाउँदा स्थानीय जनप्रतिनिधिले धपाएकोदेखि रत्नपार्कमा खाना खुवाउन महानगरपालिकाले अवरोध गरेकोसम्मका अनुभव छन् । कसैले आफ्नो जन्मदिनको उपहार भन्दै त कसैले भोकालाई भोजन भन्दै बब्लुको समूहलाई नगद र खाद्यान्न सहयोग दिइरहेका थिए । त्यही सहयोगको भरमा चलेको भोकालाई भोजन अभियानको फोटो खिचेर केही मान्छेले आफूखुसी रकम उठाउन खोजेको बब्लुले चाल पाए । उनले सुनाए, ‘हामीले खाना खुवाएका फोटो खिच्ने र फेसबुकमा राखेर आफूले जस लिँदै पैसा उठाउन खोज्ने मान्छे पनि भेटियो ।’

आफ्नो समूहले यो अवधिमा करिब साढे दुई लाखलाई खाना खुवाएको उनले बताए । खाना खुवाउने उनको समूह यही बीचमा विभाजित पनि भयो । हन्ड्रेड्स ग्रुपबाट छुट्टिएको समूहले हाम्रो टिम नेपाल नामक समूह खोलेर भोकालाई भोजनको अभियान फरक तरिकाले सुरु गर्‍यो । अहिले यही छुटेको समूहले अनामनगरमा ६५ रुपैयाँमा खाना खुवाउने आफ्नै भोजनालय सुरु गरिसकेको छ । बब्लुले भने, ‘कहाँ कहाँ खाना बाँड्ने भन्ने विषयमा हाम्रो मनमुटाव भयो अनि हामी विभाजित भयौं ।’

उनका अनुसार अहिले दिनमा खटिने १४/१५ जनाका अलावा हन्ड्रेड्स ग्रुपमा १७/१८ जना प्रत्यक्ष जोडिएका छन् । जसले भोकालाई भोजन गराउने प्रबन्ध मिलाउने, परेको बेला सहायता खोज्ने, खाना पकाउने, ओसार्ने, भाँडा माझ्ने सबै काम गर्छ । बब्लुका अनुसार पकाएर बाँड्ने भनिएको खानामा कसैले केही मिसाइदिन्छ कि, खानाको गुणस्तर बिग्रेर खानेहरूको स्वास्थ्यमा समस्या पर्छ कि भनेर हरदम सचेत हुनुपर्थ्यो । उनले भने, ‘हामी ७/८ जना त यही निगरानीकै काममा खटिएका थियौं ।’ भोकालाई राज्यले गर्ने व्यवहार, एक दिन काम नपाउँदा भोकै बस्नुपर्ने बाध्यतामा पर्ने मान्छेबारे सरकारको उदासीनता देखेर बब्लुलाई उदेक लाग्छ तर पनि भोकाहरूलाई निःशुल्क खाना खुवाउने अवसरले सडकका भुइँमान्छेमाझ चिनिन पाउँदा उनी दंग पर्छन् । उनले सुनाए, ‘तपाईंलाई लाग्ला, ठूलाबडा मान्छे भेट्दा मात्रै आत्मसन्तुष्टि मिल्ला तर सडकका मान्छेले चिन्दा, उनीहरूले केही पर्‍यो भने हामी छौं है भनेर भन्दा त्योभन्दा बढी आत्मसन्तुष्टि मिल्छ ।’

कोरोना संकटका बेला हन्ड्रेड्स ग्रुपजस्तै भोकालाई भोजन खुवाउन खटिएको अर्को समूह थियो, हाम्रो सानो प्रयास । अहिले हन्ड्रेड्स ग्रुप, हाम्रो सानो प्रयास र हाम्रो टिम नेपालले मिलेर थापाथलीको प्रसूति गृहपछाडि नियमित खाना खुवाइरहेका छन् । हाम्रो सानो प्रयास त्यही समूह थियो, जसले रत्नपार्कछेउको खुलामञ्चमा पनि खाना खुवाएको थियो । महानगरपालिकाको अवरोध झेलेको थियो । गत वर्ष चैत ११ मा देशव्यापी लकडाउन सुरु भएको दस दिनपछि यो समूहले भोकाहरूलाई निःशुल्क भोजन बाँड्न थालेको थियो । त्यसयता निरन्तर खाना खुवाइरहेको समूहले काठमाडौं उपत्यकाका अलावा प्रदेश २, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा पनि भारतबाट कोरोना कहर झेल्दै पैदल र अनेकन सास्ती खेपेर स्वदेश छिरेकालाई खाना खुवायो । समूहको नेतृत्व गरिरहेका सामाजिक अभियन्ता पुकार बमले सुनाए, ‘सुरुमा २० जना साथी मिलेर सुरु गरेको अभियानमा प्रत्यक्ष/परोक्ष रूपमा सयौं मानिस जोडिएलान् र महिनौंसम्म अनवरत निःशुल्क खाना खुवाउन सकिएला भन्ने लागेकै थिएन ।’ पुकारका अनुसार यो त्यही समूह थियो, जुन भूकम्पका बेला पनि राहत बाँड्न खटिएको थियो ।

सुरुका दिनमा उनीहरूले कोरोना कहरबाट बच्न पैदल हिँडेरै घर फर्किरहेका मजदुर, त्यही समूहमा रहेका बालबालिका, सुत्केरी र गर्भवतीको दुःखलाई थोरै भए पनि कम गर्न सकिन्छ कि भनेर काम थालेका थिए । पुकारले सुनाए, ‘हामीले उनीहरू हिँड्ने बाटोमै बसेर तातो खाना बाँड्थ्यौं । आ–आफ्नो सम्पर्क सूत्र खोजेर तिनीहरूलाई मिलेसम्म गाडीमा चढाएर थोरै भएपछि बाटो कटाइदिने गर्थ्यौं ।’

उनले कोरोना कहरमा भोकाहरूमाथि राज्यले देखाएको अनुदार चरित्र र राजनीतिक दलहरूले देखाएको असहिष्णु व्यवहार सम्झिँदा आफूलाई अहिले पनि अचम्म लाग्ने गरेको अनुभव सुनाए । राज्यले असहयोग गरे पनि भोकाहरूलाई भोजन खुवाउन भुइँ तहकै मान्छेले उदार भएर सहयोग गरिरहे । उनले भने, ‘धार्मिक कारणले पनि होला, नेपाली समाज भोकाहरूप्रति संवेदनशील देखिन्छ । मान्छे भोकै मर्दै छन् भन्ने सुनेपछि समाज पनि जाग्दो रहेछ ।’

सुरुका दिन लगनखेल, पशुपति, रानीबारी, शिक्षण अस्पताल, पाटन अस्पताल र बालाजुमा खाना खुवाएको यो समूहले पछिल्ला महिना थापाथली र गौशालामा निःशुल्क भोजन खुवाइरहेको छ । भोकालाई भोजन खुवाउँदाखुवाउँदै कोरोनाको ग्राफ उक्लियो तर मानिसमा त्रास बिस्तारै ओर्लियो । लकडाउनको स्वरूप फेरिँदै सामान्य अवस्था सुरु हुन थाल्यो । अनि त हिजो भोजन खोज्न सडकमै आएकाहरूले पनि केही आम्दानी गर्न थाले । पुकारले सुनाए, ‘केही त यस्ता पनि छन्, जसले हिजो सडकमा आएर खाएका थिए, तिनैले आज हामीलाई खाना खुवाउन सहयोग गरेका छन् ।’

पुकारको बुझाइमा लकडाउनको सुरुवाती दिनमा सडकमा आश्रित र ज्याला गरी पेट भर्नेहरू भोकै परेपछि सडकमा आए । लकडाउन लम्बिँदै जाँदा डेरा गरी बस्ने र सडक छेउछाउमा पसल गरी जीविका चलाउनेहरू पनि सडकमै आउन बाध्य भए । ५ लाखभन्दा धेरैलाई खाना खुवाएको समूहका सक्रिय सदस्य पुकारले भने, ‘त्यतिबेला राज्य सक्रिय भएर लागेको भए भोकाहरूको समस्या केही महिनामै सम्बोधन हुन्थ्यो । त्यसो नहुँदा महिनौंसम्म कोरोनाको अन्य असर हामीमाझ रहिरह्यो ।’

जेलमा अभिभावकसँगै बस्न बाध्य बालबालिकालाई आश्रय दिएर सन् २०१७ मा बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा परेकी इन्दिरा रानाको परिचय कोरोना कहरपछि भोकालाई भोजन दिने मान्छेका रूपमा बदलियो । लकडाउन सुरु भएयता निरन्तर काठमाडौंका विभिन्न सडकमै पुगेर भोकालाई अनवरत खाना बाँडिरहेकी इन्दिराको अभियान आजपर्यन्त जारी छ । आफ्नै भान्सामा आफू र सहयोगी छोरीहरू (आफूकहाँ आश्रित किशोरी र बालिका) को सहयोगमा खाना बनाई भाडाको ट्याक्सीको पछाडि खानाका प्याकेट राखेर उनी बालाजुछेउको सुकुम्बासी बस्ती, शोभा भगवती, सोह्रखुट्टेलगायत क्षेत्रमा खाना बाँड्दै हिँड्छिन् ।

कोरोना कहरमा उनले सडकका अलावा केन्द्रीय कारागार, नख्खु कारागार र काभ्रेको धुलिखेल कारागारमा समेत पुगेर खाना खुवाइन् । भोकालाई भोजनको यो अभियानमा उनलाई कैयौं मनकारीले भेटेरै र कैयौंले नभेटीकनै सहयोग गरे । उनले सुनाइन्, ‘कसैले नगद दिए, कसैले दाल, कसैले चामल, कसैले गेडागुडी, कसैले मरमसला, कसैले पानी । जसले जे सक्छ त्यही सहयोग गरे । यस्ता सयौं मनकारीले गर्दा अभियान कहिल्यै रोकिएन ।’

इन्दिराले रात्रिकालीन होटल र रेस्टुरेन्टमा काम गर्नेदेखि रिक्सा चलाउनेसम्म र सडकमा स–साना दोकान गरेर गुजारा चलाउनेदेखि सडकमै आश्रितसम्म सबै कोरोनाका कारण भोक मेट्न सडकमा भौंतारिनुपरेको सुनाइन् । इन्दिराले एक जना रिक्साचालकको कथा सुनाइन्, जो कोरोनाकै कारण गरिखाने वर्गबाट मागिखाने भएका थिए ।

सडकमै पुगेर नियमित खाना खुवाउँदा उनले कैयौं भोकाको स्नेह पाइन् । त्यही स्नेहले होला इन्दिरालाई सडकमै पुगेर खाना खुवाउन बल मिलिरह्यो । उनले सुनाइन्, ‘महाँकालमा मैले नियमित खाना खुवाउने एक जना हाकु भन्ने थियो । एक दिन त्यो पुलबाट हाम्फालेर मर्‍यो भन्ने सुनें । मलाई कैयौं दिनसम्म ननिको लागिरह्यो ।’ सडकमा खाना खुवाउँदा भेटिएका अनेकन पात्र इन्दिराको मनमा बसेका छन् । ती पात्रको सुखले उनलाई खुसी दिन्छ, दुःखले बेचैनी । उनले नियमित खाना खुवाउने अर्का एक जना बूढा बा थिए । बा उमेरका भएर पनि तिनले इन्दिरालाई आमा भनेर सम्मान गर्थे । उनले बेलाबेला यस्ता भोका पनि भेट्थिन्, जसले हप्तौंसम्म चिया र बिस्कुटको भरमा पेट भरिरहेका हुन्थे ।

कोरोनाको कहर समयसँगै धमिलो बन्दै गइरहेको छ । भ्याक्सिनको उपलब्धता सुरु भएपछि र कोरोनासँगै बाँच्न अभ्यस्त हुँदै गएपछि धेरै थोक बदलिँदै गएको छ । इन्दिराले सुनाइन्, ‘भोकाहरूप्रति नेपाली समाज उदार छ भन्नेचाहिँ यही कोरोनाकालले पुष्टि गरिदियो ।’

प्रकाशित : फाल्गुन ७, २०७७ १३:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?