२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

कर्णालीका भरोसा

एक जना वरिष्ठ सहकर्मी गुमाए, आफूसहित १ सय ६ जनालाई संक्रमणले भेट्यो । कोरोना संक्रमित कर्णालीवासीलाई संकटबाट जोगाउने भूमिकामा विचलित भएनन् ।
विदेशका समाचार सुन्दा डराउने हामी अन्ततः कोरोनासँग डराउन छाड्यौं । सुरक्षा नीति अपनाई संयमपूर्वक काम गर्दा क्षति बेहोर्नुपरेन ।
कलेन्द्र सेजुवाल

डा. डम्बर खड्कालाई उनका सहकर्मी र परिवारका सदस्यले बारम्बार आग्रह गर्थे– कोरोना परीक्षण गराउनुस् । उनी भने सधैं टारिरहन्थे । हेर्दाहेर्दै सहकर्मी चिकित्सकलगायतका स्वास्थ्यकर्मी धमाधम संक्रमित हुन थाले । एक जना वरिष्ठ चिकित्सकको त ज्यानै गयो ।

कर्णालीका भरोसा

कर्णाली प्रदेश अस्पतालको नेतृत्व गरिरहेका डा. खड्का भने कोरोना परीक्षण गराउनबाट एउटै कारणले हच्किन्थे– केही गरी रिपोर्ट पोजिटिभ आयो भने अस्पताल कसरी सम्हालिएला ?

हुन पनि कोरोना भाइरसले विश्वव्यापी रूप लिइरहँदा नेपालमा सबैभन्दा भयभीत थियो कर्णाली प्रदेश । कर्णालीको भरोसा थियो सुर्खेतस्थित प्रदेश अस्पताल । सुरुवाती दिन सम्झिँदै उनले भने, ‘कर्णालीमा कोरोना आइहाल्यो भने सम्पूर्ण भार हामी (प्रदेश अस्पताल) माथि पर्छ भन्ने थाहा थियो, त्यसैले कसरी प्रतिकार गर्ने भन्ने योजना पनि दरैसँग बनाएका थियौं ।’

अन्ततः एउटै घरमा बस्ने भाइ विष्णु खड्कालाई कोरोना देखिएपछि उनले पनि परीक्षण गराए । कात्तिक दोस्रो साता उनीसहित श्रीमती सन्जु र छोरालाई समेत कोरोना देखियो । दुई साताको ‘होम आइसोलेसन’ पछि उनी निको भएर काममा फर्किए । कोरोना संक्रमित कर्णालीवासीलाई संकटबाट जोगाउने भरपर्दो सारथिको भूमिकालाई निरन्तरता दिए ।

चीनमा कोरोना भाइरसको संक्रमण बढ्दो थियो । विश्व स्वास्थ्य संगठनले कोरोनालाई ‘विश्वव्यापी महामारी’ घोषणा नगरे पनि सचेत र सावधान रहन भनिरहेको थियो । यही आधारमा नेपाल सरकारले फागुनमा प्रत्येक अस्पताललाई दुईवटा आइसोलेसन बेडसहित एउटा कोठा तयार गर्न निर्देशन दियो । डा. खड्का भने दुई बेडमा सीमित भएनन् । उनले प्रदेश सरकारसँग समन्वय गर्दै अस्पतालको नयाँ भवनलाई कोरोना अस्पतालका रूपमा विकास गर्ने योजना बनाए । अस्पताल हाताभित्रकै फिस्टुला उपचार केन्द्रलाई पनि जटिलखाले कोरोना संक्रमितको उपचारमा प्रयोग गर्ने व्यवस्था मिलाए ।

लकडाउन भएको तीन महिनाभित्रै प्रदेश अस्पतालमा २ सय आइसोलेसन बेडसहित २५ आईसीयू र १२ भेन्टिलेटर तयार भए । संघीय तथा कर्णाली प्रदेश सरकार, नेपाली सेना, युनिसेफ र कुमारी ट्रस्टसँगको सहयोगमा अस्पतालमा करिब ६ करोडको पूर्वाधार र उपकरण थपियो । जेठ ६ गते कर्णालीमा पहिलो कोरोना संक्रमित देखिँदासम्म फिभर क्लिनिकदेखि चिकित्सक र स्वास्थ्यकर्मी तयारी अवस्थामा थिए । डा. केएन पौडेल र डा. नवराज केसीलगायत चिकित्सकको नेतृत्वमा कोरोना प्रतिकार्य टोली आवश्यक तालिम लिईवरी तम्तयार थियो । ‘हामीले राम्रो तयारी गरेकैले कोरोनालाई सहजै परास्त गर्न सक्यौं,’ डा. खड्काले भने, ‘उत्कृष्ट टिमवर्क र सरोकारवालासँगको सुमधुर सहकार्यले झन् सहज बनायो ।’

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार माघ अन्तिमसम्म कर्णाली प्रदेशमा कोरोनाबाट करिब ७ हजार ७ सय व्यक्ति संक्रमित भएका छन् । लक्षण देखिएका र जटिल अवस्थाका बिरामीको उपचार गर्ने ठाउँ प्रदेश अस्पताल बन्यो । कोरोना विशेष अस्पतालमा माघ अन्तिमसम्म ७ सय सय ९८ जना भर्ना भएकामा ७ सय ७७ जना निको भएर घर फर्किर्एका छन् । १५ जनाको मृत्यु भयो । ४ जना अन्यत्र रिफर भए । भेन्टिलेटरमा गएका १२ जना र आईसीयूमा गएका १ सय १२ जना निको भएर घर फर्किए । हाल अस्पतालमा कोरोना फोकल पर्सनको जिम्मेवारी सम्हालिरहेका डा. केसी दैलेखकी क्यान्सरपीडित एक संक्रमित महिलालाई निको बनाएर घर फर्काइएको क्षणलाई विशेष रूपमा सम्झिन्छन् । ‘कर्णालीमा कोरोना आइहाल्यो भने सखापै हुन्छ भन्ने डर थियो तर हामीले जटिल केसलाई निको पारेर घर पठाउन सफल भयौं,’ उनले भने, ‘अस्पतालले छोटो समयमा गरेको पूर्वाधार तयारी, जनशक्ति व्यवस्थापन र हामीमा विकास भएको उच्च मनोबलले सफलता मिल्यो ।’

तस्बिर : कलेन्द्र सेजुवाल

गत जेठ २३ प्रदेश अस्पतालमात्र होइन, सिंगो कर्णाली प्रदेशका लागि खुसीको दिन बन्यो । त्यस दिन अस्पतालबाट ७ जना संक्रमित पहिलोपटक निको भएर घर फर्केका थिए । मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकासमन्त्री दल रावलले अस्पतालमै पुगेर संक्रमणमुक्त व्यक्तिलाई बिदाइ गरे । ‘त्यो कर्णालीले कोरोनामाथि विजय हासिल गरेको दिन थियो, त्यही उत्साहले हामीलाई थप प्रेरणा दियो,’ डा. खड्काले भने, ‘कर्णाली कमजोर छैन, कोरोनालाई सहजै जित्न सक्छौं भन्ने सन्देश पनि दिन सफल भयौं ।’

कोरोना संक्रमण उच्च भएका बेला अस्पतालले निकै तनाव झेल्नुपर्‍यो । अस्पतालका २३ चिकित्सकसहित ८३ स्वास्थ्यकर्मी–कर्मचारी संक्रमित भए । वरिष्ठ चिकित्सक डा. हरि सापकोटाको त ज्यानै गयो । अस्पताल प्रमुख डा. खड्का यसबाट हतास भएनन् । संक्रमित र अन्य सहकर्मीलाई ढाडस दिँदै उनी स्वयं अहोरात्र कोरोना प्रतिकार्यमा खटिइरहे । कतिपय संक्रमित स्वास्थ्यकर्मीले त आफू आइसोलेसनमा रहँदै अन्य संक्रमितको उपचार गरेका थिए । ‘संकटका बेला अस्पतालमा बलियो नेतृत्व चाहिँदो रहेछ भन्ने कोरोनाकालमा देखियो,’ अस्पतालकी स्टाफ नर्स संगीता खत्रीले भनिन्, ‘उस्तै लर्तरो मेसु (अस्पताल प्रमुख) भइदिएको भए त सम्हाल्न निकै कठिन हुन्थ्यो ।’ डा. खड्काले पूर्वाधारको उत्कृष्ट व्यवस्थापन गर्दै कार्यरत स्वास्थ्यकर्मीलाई सकारात्मक ऊर्जा दिँदा कोरोना प्रतिकार्यमा सफलता मिलेको उनले बताइन् ।

स्वास्थ्यकर्मी जोखिममा परेपछि दुईपटकसम्म अस्पतालको इमर्जेन्सी र ओपीडी सेवा बन्द गरियो । जेठ २७ गते सर्पले टोकेका संक्रमित व्यक्ति जानकारीबिनै इमर्जेन्सीमा भर्ना भएपछि एक दिनका लागि आकस्मिक कक्ष सिल गरिएको थियो । सुर्खेत तरंगाका ५० वर्षीय ती व्यक्ति भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । असार दोस्रो साता एकैपटक ९ जना चिकित्सकसहितका स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि दोस्रोपटक १० दिन ओपीडी सेवा बन्द गरियो । अस्पतालै सिल गर्नुपरेको अवस्था सम्झिँदै डा. खड्काले भने, ‘अस्पतालका अन्य स्वास्थ्यकर्मी र सेवाग्राहीलाई संक्रमणबाट जोगाउन पटक–पटक अस्पतालको नियमित सेवा बन्द गर्नुपर्‍यो, कोरोना विशेष अस्पतालको सेवा भने प्रभावित भएन ।’

कोरोना ‘हब’

चैत दोस्रो साता नेपालमा दोस्रो कोरोना संक्रमित देखिएसँगै सरकारले देशव्यापी लकडाउन घोषणा गर्‍यो । कर्णालीमा भने त्यसको करिब दुई महिनापछि मात्र कोरोना संक्रमण देखियो । भारतबाट आएका ती व्यक्तिमा कोरोना देखिएसँगै संक्रमण फैलिन बेर लागेन । त्यसको प्रत्यक्ष प्रभाव प्रदेश अस्पतालमाथि पर्‍यो । सुर्खेतमात्र होइन, प्रदेशका विभिन्न जिल्लाका संक्रमित भर्ना हुने ‘हब’ बन्यो । ‘लक्षण नदेखिएका संक्रमित पनि कोरोनालाई जित्न सकिन्छ भन्ने विश्वासका साथ हाम्रोमा आउन थाले,’ डा. खड्काले भने, ‘यसले गर्दा संक्रमितको चाप बढेर केही असहज भए पनि भरपर्दो सेवा प्रवाह गर्न पाउँदा खुसी लागेको छ ।’

सुरुमा सरकारले मेडिकल गाउनमात्र दिएको थियो । पर्याप्त सुरक्षा उपकरण थिएनन् । संक्रमित थपिँदै जाँदा अस्पतालको आफ्नै पहल र विभिन्न सहयोगमा सुरक्षा उपकरण आए । स्वास्थ्यकर्मी र अन्य कर्मचारी पनि उपचारमा अभ्यस्त हुँदै गए । ‘कोरोनाबारे कसैलाई केही थाहा थिएन, विदेशका समाचार सुन्दा डराउने हामी अन्ततः कोरोनासँग डराउन छाड्यौं,’ डा. खड्काले भने, ‘सुरक्षा नीति अपनाई संयमपूर्वक काम गर्दा क्षति बेहोर्नुपरेन ।’

चुनौतीसँग पौंठेजोरी

डा. खड्काले अस्पतालको आन्तरिकमात्र होइन, बाह्य रूपमा समेत निकै चुनौती खेप्नुपर्‍यो । स्वास्थ्य संकटका बेलासमेत चर्को राजनीतिक दबाब झेल्नुपर्दा उनी कहिलेकाहीँ त निकै तनावमा परे । लक्षण नदेखिएका संक्रमितलाई समेत राजनीतिक शक्तिको आडमा प्रदेश अस्पतालमा भर्ना गर्नुपर्नेदेखि कतिपय राजनीतिक निर्णय चुपचाप स्विकार्नुपर्नेसम्मको अवस्थाले निकै चुनौती थपेको उनी बताउँछन् ।

आफ्नो स्थानीय तहमा पर्याप्त आइसोलेसन बेड हुँदाहुँदै सल्यानको एक नगरपालिकाका मेयरले गाडीमा संक्रमितलाई पठाएको घटना उनलाई अहिले पनि नमीठो लाग्छ । ‘हामीले प्रदेश अस्पताललाई लक्षण देखिएका र जटिल अवस्थाका बिरामीको उपचार गर्ने गरी कोरोनाको रिफरर अस्पतालका रूपमा विकास गरेका छौं, तर कहिलेकाहीँ राजनीतिक दबाबले लक्षण नदेखिएका सामान्य संक्रमित पनि भरिभराउ हुने अवस्था आयो,’ उनले भने, ‘तर प्रदेश सरकार र अन्य सरोकारवालासँग समन्वय गरी समस्या समाधान गर्‍यौं ।’

डा. खड्काले यसबीच पूर्वाधार र जनशक्ति व्यवस्थापनमा थप चुनौती खेप्नुपर्‍यो । जनशक्ति कम हुँदा कोरोना अस्पतालमा कार्यरत चिकित्सकलगायतका स्वास्थ्यकर्मीले आलोपालो गरी ओपीडी, इमर्जेन्सी र इन्डोरमा काम गर्नुपर्ने बाध्यता भयो । कोरोना विशेष अस्पतालका लागि छुट्टै जनशक्ति व्यवस्थापन गर्न नसक्दा उपचारमा सक्रिय चिकित्सकलगायतका स्वास्थ्यकर्मीमा संक्रमण फैलिएको डा. खड्काको ठम्याइ छ । उनका अनुसार विशेष अस्पतालका लागि कम्तीमा २४ जना तालिम प्राप्त स्वास्थ्यकर्मी आवश्यक रहेको भन्दै सरकारसँग जनशक्ति माग गरिए पनि सुनुवाइ भएन । ‘उतिबेला कोरोना अस्पतालमा काम गरेका स्टाफलाई नै अन्यत्र खटाउनुपर्ने बाध्यता रह्यो, जनशक्ति अभावले विशेष अस्पताललाई अलग राख्न सकिएन,’ उनले भने, ‘यही कारण हामीले नसोचेको संख्यामा साथीहरू संक्रमित हुनुभयो ।’

प्रकाशित : फाल्गुन ७, २०७७ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?